विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको २०७८ साल जेठ १८ गते निधन भयो । उनले नेपालको राजनीति, समाज, अर्थव्यवस्था, सार्वजनिक प्रशासन, स्वास्थ्य सेवामा देखिएका विकृतिहरूमा खबरदारी र विरोधको रचनात्मक शैली सुरूवात गरेका थिए । नेपाल बन्दको विरोधमा ‘नेपाल खुला छ’ र संविधान बन्न ढिलाइ भएको सन्दर्भमा ‘ज्याला पूरा लियौं, अब संविधान देऊ’ उनका केही रचनात्मक अभियान हुन् । उनले नेपालका मूलधारका राजनैतिक दलको विकल्पको खोजी गरे र विवेकशील नेपाली नामको राजनीतिक दल खोले । त्यो दल र नेपाल साझा पार्टीबीच एकीकरण भयो, बीचमा दुई दल फुट्यो र अहिले एकीकृत भएरै कार्यरत छ । उनले युवा पिंढीलाई आफ्नो दलको नेतृत्व सहज हस्तान्तरण गरेका थिए ।मूलधारमा रहेका राजनीतिक दलमा रहेको किचलोले नेपालको राजनीतिलाई दुर्घटनातर्फ डोहोर्याइरहेको समयमा भएको थापाको दुःखद निधनले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको ठानेको छु । नयाँ दलको रूपमा नेकपा (माओवादी) निर्वाचनबाट सत्तामा पुग्न सक्यो । तर अरू नयाँ दलले नेपालमा उति स्थान बनाउन सकेका छैनन् । डा. बाबुराम भट्टराइको नयाँ शक्ति पार्टी अहिले अस्तित्वमा छैन । नेकपा (एमाले) र नेपाली काँग्रेस विभाजन भएर बनेका नयाँ राजनीतिक दलले पनि जनताको मन जित्न सकेनन् । विवेकशील साझा पार्टीले समेत २०७४ सालको स्थानीय निकाय र संसदीय निर्वाचनमा जीत हासिल
Category: Views
सामुदायिक स्कुलः पुगेको छ त ध्यान ?
कोरोना संक्रमणको प्रभाव सर्वव्यापी छ । यसै क्रममा शिक्षा क्षेत्रमा कोरोनाको प्रभावको बारेमा समेत चर्चा भइरहेको सुन्छु । संक्रमणको त्रासका कारण सबै शिक्षण संस्था बन्द रहेका छन् । शैक्षिक गतिविधि ठप्प प्रायः छ । रेडियो, टेलिभिजन र अनलाइन शिक्षाको नाममा शैक्षिक गतिविधिमा कृत्रिम स्वासप्रश्वास गराइएको छ । परीक्षाहरू स्थगित भएका छन् । ऐतिहासिक महत्व भएको र जनमानसमा ठुलो प्रभाव जमाएको एसईई परीक्षा समेत यसपालि हुन सकेन । लाखौं विद्यार्थी अहिले घरमा बन्दी झैं बसेका छन् । स्कुल, कलेज कहिले खुल्लान् र कसरी खुल्लान् भन्ने खुलदुली कायम छ । शिक्षा सम्बन्धी चर्चा चलिरहँदा मेरो मन भने मैले माध्यमिक शिक्षा लिएको विद्यालयमा पुग्छ । सदरमुकाम गाइघाटमा स्थानान्तरण भएपछि एउटा हुलाक र स्वास्थ्य चौकीलाई छिमेकी बनाएर उदयपुरगढीमा रहेको पञ्चावती माध्यमिक विद्यालयमा मैले माध्यमिक शिक्षा पूरा गरेको थिएँ । मैले दुई प्राथमिक र एक निम्नमाध्यमिक विद्यालयका अतिरिक्त आफूले पढेको यही विद्यालयमा पनि करिब ८-९ महिना पढाउने मौका पनि पाएको थिएँ । लामो समयपछि पोहोर त्यहाँ जाँदा स्कुलको अवस्था अलि खस्केको जस्तो महसुस भयो । यसपालिको बजेटमा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूवार्धार सामग्री सहित विद्यालयको शैक्षिकस्तर सुधारको जिम्मेवारी लिनपर्ने व्यवस्था भएको सन्दर्भमा सामुदायिक स्कुलको अवस्था अलि बिग्रेको नै छ कि जस्तो
आत्महत्याः नयाँ परिभाषाको खोजीमा
मानिसको ज्यान जाने कारणहरूमध्ये आत्महत्या पनि एक हो । संसारभर वर्षमा करिब ८ लाखभन्दा बढीले आत्महत्या गर्दा रहेछन् । यसरी हेर्दा हरेक ४० सेकेन्डमा एउटा मानिसले आत्महत्या गर्दो रहेछ । महिलाभन्दा ३.५ गुना बढी पुरूषले आत्महत्या गर्दा रहेछन् । हत्या र युद्धभन्दा बढी मान्छे आत्महत्याबाट मर्दा रहेछन् । नेपालमै पनि लकडाउनको अवधिमा १२०० भन्दा बढी मानिसले आत्महत्या गरेछन् । वर्षमा १-२ करोड मानिसले आत्महत्याको प्रयास गर्दा रहेछन् ।यही जेठ २६ गते अछामको बयलपाटा अस्पतालको रोजगारी छुट्ने भएपछि आत्महत्या गरेका सिद्धार्थ आउजीले हाम्रो दिमागमा झट्का लगाएका थिए । हिन्दी सिनेमाका उदीयमान कलाकारको आत्महत्याको कारण यो विषय पुनः चर्चाको विषय बनेको थियो । आत्महत्याको कारणः आर्थिक–समाजिक परिवेश आत्महत्याको कारण खोज्दै जाँदा आर्थिक-समाजिक प्रतिकूलता मुख्य कारकको रूपमा देखिन्छ । अत्यन्त कमजोर आर्थिक अवस्था, रोजगारी गुम्नु, ठुलो आर्थिक क्षति, सामाजिक प्रतिष्ठामा आँच, प्रेम र विवाहको लागि अस्वीकृति, कलहपूर्ण वैवाहिक अवस्था, आत्मीय व्यक्तिको वियोग, आफ्ना मानिसको विश्वासघात, कानुनी वा प्रशासनिक झमेला, पक्षपात, एक्ल्याउने व्यवहार आदिका कारण मानिसले आत्महत्या गरेको देखिन्छ । साधन स्रोतको अभाव, सम्मानको समाप्ति अनि भावना र कल्पनामा आघातपछि मानिसलाई बाँच्न गाह्रो पर्छ नै । प्रतिकूल परिवेशमा पनि कतिपय मानिस आफूलाई सन्तुलन र अनुकूलनको प्रक्रियामा लैजान समर्थ हुन्छन् । तिनले विभिन्न विकल्पको खोजी गर्छन् । धैर्य र प्रतीक्षाको बाटो समात्छन् । बाधा अवरोधलाई
छुवाछुत: एउटा बाहुनको बकपत्र
यो मैले लेख्न हुँदैनथ्यो जातीय आधारमा हुने छुवाछुत नेपाली समाजको पुरानो विकृति हो । छुवाछुतको प्रश्न २०६२/६३ को दोस्रो जनआन्दोलनपछि सघन रूपमा उठेको थियो ।नेपालको संविधान, २०७२ मा यो विभेद हटाउने संवैधानिक प्रबन्ध भयो । हालै रूकुम पश्चिममा (२०७७ साल जेठ १० गते) नवराज वि. क. सहित ६ जना युवाको ज्यान गएपछि यो विषय फेरि मुखरित भएको छ । यसै मेसोमा मलाई छुवाछुतका विषयमा केही लेख्न मन लाग्यो । म इतिहास, संस्कृति, समाजविज्ञान, समाजशास्त्र, राजनीतिशास्त्र केही विषयको जानकार होइन । यी विषयमा लेखिएका लेख कुनै पत्रिकामा पढियो होला, औपचारिक शिक्षामा पनि यी विषय मिसिएर आए होलान् । तर म यी विषयमा भिजेको छैन । फेरि, म बाहुन भएको हुनाले कथित उच्च जातको परें । युगौदेखि अरू जातजातिमाथि थिचोमिचो गरेको आरोप मेरो थाप्लामाथि छ । अहिले पनि म उसै धनी मानिन्छु, म त्यसै ज्ञानी ठानिन्छु, राजनीतिमा मेरै हैकम छ भन्ने सोचिएको छ र यो शक्तिको आधारमा मैले अरूलाई शोषण गरेको छु भन्ने संकथन समाजको केही हिस्सामा व्याप्त छ । छुवाछुतको समर्थन म गर्न सक्दिन तर छुवाछुत हटाउने अभियन्ताहरूले उठाएका सबै तर्कसँग म सहमत छैन । मैले छुवाछुतको बारेमा लेख्नु अलि विवादास्पद हुनसक्छ। मैले जे देखें, जे भोगें, जे जाने, त्यही लेखें । यी तर्क र तथ्यमा कुनै कमजोरी देखिए म सच्चिन
महाकालीको तिरैतिर
अहिलेको कुरा १६ कार्तिक २०७६ (२ नोभेम्बर २०१९) मा भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्यो । त्यो नक्सामा नेपालले दावा गरिरहेको लिम्पियाधुरा, लिपुलेक र निर्विवाद रूपमा नेपाली स्वामित्वमा रहेको (नेपालको मौखिक स्वीकृति लिएर भारतीय सेना सन् १९६२ देखि बसिरहेको) कालापानी समेत भारतमा सामावेश गरिएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालले दाबी गरिरहेको र त्यस क्षेत्रको सीमा विवाद नटुङ्गिएको अवस्थामा भारतले चालेको त्यस कदमका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भयो । त्यो बैठकले कालापानी क्षेत्र नेपालकै भएको दाबीलाई पुनः दोहोर्यायो र त्यो क्षेत्र नेपालमा नै कायम राख्न कूटनैतिक प्रयास थाल्न सरकारलाई सुझाव दियो । सरकारले पनि यसमा तीव्र प्रतिक्रिया जनायो, २० नोभेम्बर २०१९ मा कूटनैतिक नोट पठाएर । यस विषयलाई वार्ताबाट हल गर्ने कुरामा कुनै प्रगति नभएकै अवस्थामा २६ वैशाख २०७७ मा विवादित जमिन हुँदै पिथौरागढबाट कैलास मानसरोवर जाने सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गर्नुभयो । यसले नेपालीको धैर्यको बाँध फुटायो । नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर कूटनैतिक नोट दियो । भारतीय राजदूतले पनि नेपाललाई कूटनैतिक नोट दिनुभयो । भारतले जस्तै एकपक्षीय रूपमा नक्सा जारी गर्न जनताले दिएको दबाब झेलिरहेको सरकारले २०७७-७८ को लागि २ जेठ २०७७ जारी नीति तथा कार्यक्रममा नेपालको पुरानो नक्सामा छुटेको भूमिसहित नयाँ नक्सा जारी गर्ने घोषणा
कृषिः पूर्वाधार विकासको पर्खाइमा
नेपाललाई स्विटजरल्यान्ड र सिंगापुर बनाउने नीति अरू नै हुन सक्लान्, गरिबबाट विकासशील देशमा रूपान्तरण हुने माध्यम भने कृषि नै हो ।
डिजिटल विभेदः भोलिको चुनौती
पञ्चावती सद्भाव समाजले लकडाउनको समयमा पनि केही सक्रियता देखायो । यो पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढीसँग जोडिएका व्यक्तिहरूको संस्था हो । लकडाउनका अवधिमा संस्थासँग आबद्ध केही व्यक्तिहरूले उदयपुरगढी गाउँपालिकाबाट काठमाडौं आएका व्यक्तिहरू लकडाउनका कारण संकटमा परेका छन् भने तिनलाई सहयोग गर्ने निर्णय गर्यौं । यो सल्लाह अनलाइन भिडियो च्याटबाट गरिएको थियो । फेसबुकमा सूचना राखियो । मेसेन्जरमा संस्था सम्बद्ध मानिसलाई सन्देश पठाएर कोही आपतमा भए खबर गर्न अनुरोध गरियो । केही सूचना आए, केहीलाई सहयोग गरियो । म आफैं फिल्डमा जान नसके पनि फिल्डमा जान सक्ने साथीको बैंक खातामा अनलाइनबाट पैसा ट्रान्सफर गरिदिएँ । आफ्नो क्षमता अनुसारको सहयोग गरियो । तर प्रश्न छ, हामीले फेसबुकमा राखेको सूचना सहयोग अति आवश्यक पर्ने वर्ग वा समुदायले पाउन सक्ने अवस्था थियो ? लकडाउनमा खान नपाउने समूहका मानिस हातमा स्मार्ट फोन लिएर, डाटा वा इन्टरनेट सेवा किनेर फेसबुक हेरेर बसेका थिए होलान् र ! भारतले गाउँबाट सहर आएका लकडाउनका समयमा गाउँ पर्कन चाहने व्यक्तिहरूका लाग अनलाइन रजिष्ट्रेसन पोर्टल बनायो र यसमा रजिस्ट्रेसन गरेको आधारमा यातायातको साधनको व्यवस्था गरी मानिस गाउँ फर्कायो । नेपालमा पनि केही समयअघि मानिसलाई उपत्यका बाहिर पठाउने क्रममा त्यसको नेतृत्व गर्ने पक्षले पनि फेसबुक, भाइबर, म्यासेन्जर जस्ता प्रविधिको प्रयोग गरे होलान्, सूचना प्रसारणका लागि । तर सयौं किलोमिटर पैदल नै गाउँमा फर्किरहेका
सल्लाहकारको कानेखुशी
सल्लाहकारले बिगारे । हामीले दैनिक जसो सुनिरहेको टिप्पणी हो यो । के सल्लाहकारले बिगारैकै हुन् त ? के तिनीहरूले बिगार्न सक्छन् ? के बिग्रनुमा जिम्मेबार तिनलाई बनाउन सकिन्छ ? कस्ता हुन्छन् सल्लाहकार ? मनमा अनेक तर्कनाहरू आइरहे । महाभारत श्रृंखला हेर्दै र कहिलेकाँही किताब पनि पल्टाउँदै समय कटाउने क्रममा भेटिएको सल्लाहकार सम्बन्धी एउटा प्रसंग मलाई रोचक लागेकोले यहाँ उल्लेख गर्ने जमर्को गरेको छु । त्यसका आधारमा केही धारणा पनि अघि सारेको छु । वरणावतको लाक्ष्यागृहबाट बचेर निस्केका पाण्डवहरू द्रोपदीसँग बिहे गरेपछि पाञ्चालबाट हस्तिनापुर फर्के । सानामा विष खुवाएर भीमलाई र अहिले लाक्ष्यागृहमा आगो लगाएर कुन्तीसमेत पाँचै भाइलाई मार्न असफल षडयन्त्र गरेको हुनाले कौरवपक्ष अपराध बोध र डरले आक्रान्त थिए । त्यसैले धृतराष्ट्रले पाण्डवलाई थामथुम पार्न आधा राज्य दिई खाण्डवप्रस्थमा बस्न भने । त्यसपछि पाण्डव खाण्डवप्रस्थलाई इन्द्रप्रस्थ नामकरण गरी त्यहीं रहिरहेका थिए । एक दिन नारद पाण्डवसमक्ष आए र राजसूय यज्ञ गर्न सुझाव दिए । स्वर्गमा राजा हरिश्चन्द्र पुगेका तर छोरा युधिष्ठिरले राजसूय यज्ञ नगरेका कारण पाण्डु स्वर्ग जान नसकेको कारण नारदले यो सुझाव दिएका थिए । नारदको सुझाव पाएपछि राजसूय यज्ञ गर्नका लागि युधिष्ठिरले मन्त्री र भाइहरूलाई बोलाए सल्लाह माग्छन् । सबैले ‘यो एकदम राम्रो कुरा हो, यसमा विचार गर्नै पर्दैन’ भनी सल्लाह दिन्छन् । व्याससँग पनि युधिष्ठिरले परामर्श लिन्छन्
धर्म अफिमको नशा हो ?
गएको पुस ३ गते (२०७६) नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए….’ भन्ने नाटक हेर्ने मौका मिल्यो । यो नाटक हवार्ड जिनको नाटक ‘मार्क्स इन सोहो’ मा आधारित रहेछ । नाटकको विषयवस्तु र प्रस्तुति निकै प्रभावकारी लागेको हुनाले मैले किताब नै इन्टरनेटमा खोजें । भेटियो पनि । सन् १९९० को दशकमा रुसमा कम्युनिष्ट सरकारको पतन र सोभियत संघको विभाजनपछि मार्क्सवादको औचित्य सकियो भन्ने विचारले विश्वमा प्रभुत्व जनाएको कुरामा विमति जनाउन उनले यो नाटक लेखेका रहेछन् । मार्क्स पुनः पृथ्वीमा फर्केर आफ्नो जीवनशैली, दर्शन र मान्यताका बारेमा स्पष्टीकरण दिएको र आफ्नो दर्शनको औचित्य पुष्टि गरेको शैलीमा यो नाटक लेखिएको छ । नाटक हेरेपछि र पढेपछि मार्क्स, मार्क्सवाद र मार्क्सवादको व्यवहारिक कार्यान्वयनसँग सम्बन्धित धेरै कुरा मनमा आए । एउटा ब्लग लेख्न मन त्यति वेलै लागेको हो तर यति ठुलो विषयमा लेख्ने आँट नै आएन । अहिले कोरोनाको कारण भएको लकडाउनमा यस विषयमा कलम चलाउँदै छु । ‘सत्य शायद ईश्वरलाई मात्र थाहा छ, बाँकी अरूले त आफूले जानेको कुरो इमानदारिताका साथ लेख्ने मात्र हो’ भन्ने आफ्नो लेखन सम्बन्धी मान्यतालाई पुनः स्मरण र आत्मसात गरेपछि मात्र लेख्ने आँट पलाएको हो । मैले त्यस नाटकमा उठाइएका विषयमध्ये मलाई मन छाएको विषयमा कलम चलाउने विचार गरेको छु । आजको विषय मार्क्सवाद र धर्मको विषयमा छ । आगामी श्रृंखलामा
कोरोनाको संत्रास
मैले यो ब्लग लेख्दासम्म संसारका १८८ देशमा नोवेल कोरोना भाइरस फैलिइसकेको छ । तीन लाख जति मानिस संक्रमित भएका छन् । यसमध्ये १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस फैलिएको जानकारी भएको पहिलो सहर चीनको बुहानले बरु यो भाइरसबाट मुक्ति पाउन लागेको छ । तर अब कोरोना इटालीलाई मुख्य केन्द्र बनाएर युरोपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रूपमा लिएको छ र अब यो भाइरस दक्षिणपूर्व एशियामा फैलिने चेतावनी दिएको छ । विभिन्न मुलुकले स्वास्थ्य संकटकाल लगाएका छन् । नेपालले पनि कोरोना भाइरस मुलुकमा पस्न नदिन विभिन्न निर्णय गरेको छ । स्कुल क्याम्पस बन्द भएका छन् । चैत ६ गतेबाट चल्ने भनिएको एसइइ पनि स्थगित भयो । विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् । मानिस भेला हुने क्लब, सिनेमाघर, खेलकुद बन्द हुने छन् । २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । धेरै देशबाट आउन रोक लगाइएको छ । अन अराइभल भिसा अलि पहिला नै बन्द गरिएको थियो । नेपालीहरुलाई पनि जोखिमयुक्त विदेश यात्रमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । लकडाउन गर्ने वा संकटकाल घोषणा गर्ने सोचाइ राखिएको समाचार प्रकाशित भएका छन् । २०७६ साल चैत ७ गते सम्माननीय प्रधानमन्त्रीबाट समेत यसै विषयमा सन्देश प्राप्त भएको छ
