मेरा तीन स्वर्ण पदक: प्रसंग १

नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा काम गर्थे । सहायक व्यवस्थापकको पद थियो । आफ्नो फाँटको नियमित काम त गर्नु परिहाल्यो । मभन्दा माथिका अधिकृत द्वितीय तहका हाकिम विदा वा काजमा रही कार्यालयमा अनुपस्थित रहेको अवस्थामा भने मैले उनको काम पनि हेर्नुपथ्र्यो । उनले गर्नुपर्ने काम अरु त सामान्य थिए तर भारतीय रुपैयाँ माग गरी आएका निवेदन स्वीकार वा अस्वीकार गर्ने र सो निवेदन अनुसार कति भारतीय रुपैयाँ दिनु उपयुक्त होला भनी निक्र्यौल गर्ने काम भने झन्झटिलो थियो ।
भारतीय रुपैयाँ उपलब्ध गराउनु तिनताक नेपाल राष्ट्र बैंकका लागि निकै चुनौतीको कुरा थियो । पहिले नेपालका सीमावर्ती बजारमा फालाफाल जस्तो हुने भारतीय रुपैयाँको अभाव हुन लागेको थियो । नेपालबाट हुने निकासी घट्नु, भारतबाट हुने पैठारी (अवैध समेत) बढ्नु र भारतीय रुपैयाँको आपूर्तिमा ठुलो भूमिका खेल्ने तेस्रो मुलुकबाट आयातीत समानको भारतमा हुने अवैध निकासी वा भारतीय नागरिकलाई गरिने बिक्रीमा कमी आएका कारण यस्तो अवस्था आएको थियो । नेपाली बजारमा जम्मा हुन आएको नोट नेपाल राष्ट्र बैंकले सटही गरी भारतीय बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्ने परम्परा रहेकोमा अब त कोलकाताबाट भारतीय नोट चार्टर प्लेनबाट काठमाडौं ल्याउने र त्यहाँबाट विभिन्न कार्यालयमा पु¥याई भारतीय रुपैयाँ माग गर्ने सर्वसाधारणलाई अड्कलेर दिन सुरु गरिएको थियो । राष्ट्र बैंकले भ्रमण तथा औषधोपचारका लागि सीमित मात्रामा मात्र भारतीय रुपैयाँ सटही दिन्थ्यो । त्यो भन्दा बढी चाहिने वा नगदमा सामान किनी भारतबाट ल्याउने व्यापारीले अनौपचारिक बजारबाट भा.रु. सटही गर्थे । भारतीय रुपैयाँको तोकिएको बिक्रीदर एक सय साटी रुपैया पन्ध्र पैसा भए पनि अनौपचारिक बजारमा मान्छेले एक सय पैंसठ्ठीसम्म हालेर भारतीय रुपैयाँ किन्नुपरेको सुनिन्थ्यो ।
निवेदन लिएर आउने मानिसमध्ये भारतमा भ्रमण गर्न चाहने नेपाली, उपचारका लागि जाने विरामी, पढ्न जाने विद्यार्थी कुन हुन् र त्यही बाहाना बनाएर भारतीय रुपैयाँ सटही गरी अनौपचारिक बजारमा महँगोमा बेच्ने सट्टेबाज को हुन् भनी छुट्याउन गाह्रो थियो । सबैलाई माग गरे जति दिन सकिने अवस्था पनि थिएन । कति आवश्यक पर्नेलाई पनि भा.रु. दिन अस्वीकार गरिन्थ्यो भने कतिले झुक्याएर सटही पाउँथे पनि । आमा बिरामी, बुवा बिरामी, बच्चा बिरामी भन्नेलाई सोझै अस्वीकार गर्न गाह्रो थियो पनि । त्यसैका बहाना बनाएर भा.रु. सटही गरी बजारमा बेच्नेको पनि कमी थिएन । बुवा बिरामी हुनुहुन्छ भनेर पचास हजार सटही माग्नेले कुरा गर्दै जाँदा म आइहालें सर, पाँच हजार त दिनुस् भनेर दलाली गरेको पनि मैले नै भोगेको छु । भारतमा छोरीको बिहे गर्ने भएकाले उतैका ज्वाइँलाई दाइजो दिने मोटरसाइकल भारतमा किन्न भा.रु. सटही माग्न आउने स्थानीय नेतासँग मेरो विवाद नै पनि परेको पनि थियो ।
म भा.रु. को निवेदन हेर्ने काममा खटिएको वेला तराई मूलका एक युवा कार्यकक्षमा पसे । उनको लवाइखवाइबाट उनी गाउँबाट आएको स्वतः देखिन्थ्यो । उनी थर्थराइ रहेका थिए । शायद उनलाई भा.रु. लिने क्रममा अहिलेसम्म पाएको हण्डर असफल हुने डर थियो । हो पनि, मेरा कार्यकक्षसम्म आउन पनि उनले गेटमा झन्झट बेहोर्नुपथ्र्यो । अरुलाई बैंकभित्र पस्न त केही गाह्रो थिएन तर भा.रु. लिनेलाई भने गेटमै केही कडाइ गरिन्थ्यो । आफूले निर्णय गर्ने झन्झटबाट बच्न हाकिमहरुले सकेसम्म गेटमै ग्राहकलाई रोक्न निर्देशन दिएका थिए, सुरक्षाकर्मीले त आदेशको पालना गर्नैप¥यो । त्यो हण्डर खेपेर उनी अहिले अन्तिम परीक्षाको घडीमा थिए ।
उनलाई मैले कुर्सीमा बस्न भनें । उनी अकमकिए र कुर्सीमा यसो अडिएर मात्र बसे । मैले उनलाई भा.रु. केका लागि चाहिएको हो भनेर सोधेँ । उनले आफ्नी दिदी बिरामी रहेकी, भारतको पूर्णियामा उपचार गराउने गरेको, बिरामी भएको कारणले दिदी हाल माइतमै रहनु परेको कुरा गरे । आफ्नी दिदी बिरामी भएको कुरा उनले वास्तविक नभई भनेका थिएनन् । विषयवस्तु र उनको भावभंगिमाले नै उनी साँचो छन् भन्ने बताइसकेको थियो । मैले उनलाई भा.रु. कति चाहिन्छ भनेर सोधें । उनले शायद दश हजारको आसपास भने होलान् । मैले उनलाई चाहेको भा.रु. पाउने गरी स्वीकृति दिएँ । अनि अर्को पटक आवश्यक भएमा र नपाइएको खण्डमा मलाई भेट्न पनि भनेँ । त्यसपछि उनलाई विदा दिएँ ।
उनी तत्काल कुर्सीबाट उठेनन् । त्यसपछि उनले भा.रु. सटही दिएको मलाई धन्यवाद दिए । अनि आफ्ना केही समस्या पनि सुनाए । तराई मूलका मानिसलाई सरकारी कार्यालयमा राम्रो व्यवहार गरिदैंन, झन् गाउँबाट आउने र सामान्य आर्थिक अवस्था भएकालाई त कसैले वास्ता गर्दैन भनेर मसँग गनासो गरे । त्यसपछि उनले मलाई दाजु भनी सम्बोधन गरेर कुरा अघि बढाए । मैले कुर्सीमा बस्न गरेको आग्रह, उनको कुरा सुन्न देखाएको धैर्य र उनको मागको स्वीकृतिबाट उनी साह्रै अनुगृहित भएछन् । यस्तो व्यवहार उनले त्यसअघि कहिल्यै र कतै नपाएको गुनासो पनि गरे । उनले कार्यालयमा यस्तो व्यवहार पाएकोमा प्रसन्नता व्यक्त गरे र मप्रति पटकपटक आभार व्यक्त गरिरहे ।
कार्यालयमा आउने ग्राहकको माग अनुसारको काम हुन पनि सक्छ, नहुन पनि सक्छ । उनको माग कानुनी वा सम्भव नहाेला पनि । तर सबै ग्राहककाे कुरा सुनिनुपर्छ र चित्त भने बुझाएर पठाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । अझ आफ्नो पारिवारिक पृष्ठभूमि पनि सामान्य रहेकाले त्यस्ता मानिसप्रति मेरो सहानुभूति रहन्थ्यो नै ।  यसै मान्यता अनुसार एक सामान्य नेपाली नागरिकलाई मैले कार्यालयको पदमा बसेर सेवा गर्न सकेछु । 
यस्ता सामान्य नागरिकले सरकारी कार्यालयबाट सजिलै सुविधा पाउनु नेपालमा गाह्रै थियो । मैले दिएँ र त्यसबापत धन्यवाद पाएँ । कालोपाटीमा सेतो चकले सानो धर्को मात्र तान्न सक्नु भयो भने पनि त्यो स्पष्ट देखिन्छ । नेपालकाे प्रशासनिक परिदृश्य त्यस्तै थियाे कि क्या हाे । मैले तानेकाे चकको डोबले मलाई आज पनि हर्षित बनाइरहेको छ । मैले गरेको सहयोगभन्दा उनको धन्यवाद मेरो लागि गह्रुँगो थियो । त्यसैले म आज पनि उनलाई सम्झिरहेछु । उनको आभार मेरो लागि स्वर्णपदक थियो ।
क्रमशः

22 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *