नयाँ वर्ष २०७७

आज सूर्य उदाएको छ निस्तेज, चन्द्रमा बिना मोहिनी हेरिरहेछ
धरा निष्प्राण झैं चुप छ, आकाश रित्तो लागिरहेछ
बसन्तले रङ पखालेको छ, बसुन्धराको यस पटक
समय निकै फरक बनेर आएको छ ।
चैतको यो शीतल हावामा कामुकता हैन, भय छ
कोइलीको निष्कपट सोधाइमा कुतूहल हैन, विरह छ
रुखका हरेक हाँगामा मुना ओइलाएको छ यस पटक
भयको बादलमुनि सिर्जना त्रस्त भएको छ ।
मौसम तात्दै गए पनि मुटु अझै चिसो नै छ
दिन लामो भए पनि समय छोटो लागेको छ
सुवास र सौरभ गुमाएका छन्, फूलहरूले यस पटक
फेरिइन् प्रकृति कि, मेरो चेतना बदलिएको छ ?
हरेक ध्वनिमा हाहाकार सुन्न अभ्यस्त भएको छ, कान
घडीको हर टिकटिकले समय सकिएको जनाउ दिएको छ
सुसेलीहरू सुस्केरामा बदलिएका छन् यस पटक
अनायास ओठबाट गीत खोसिएको छ ।
विज्ञानको बाकसबाट निस्केको विष हो कि
मदहोश मस्तीमाथि युगले दिएको सास्ती हो कि
प्रकृतिको दया क्रुरतामा बदलिएको छ यस पटक
विष बनेर अमृत जीवनमा घोलिएको छ ।
बन्द गरेर आफैंलाई ढोकाभित्र र बाँधेर गोडाहरू
सबैको साथ छोडेर अनि लिएर विचलित मनहरू
एउटा अर्थहीन यात्रामा निस्कनु परिरहेको छ यस पटक
जीवनको उद्देश्य बाँच्नुमा सीमित भएको छ ।
आशिर्वादहरू शब्दहीन भएका छन्
शुभकामनाहरू अर्थहीन भएका छन्
फेरि पनि आशाको दियो बलिरहेको छ
हुरीको बिरुवा जस्तै काँपेर
हरेक आई.सी.यु.मा, आइसोलेसनमा र क्वारेन्टिनमा
आफैंलाई बन्दी बनाइएका सबै कोठा र बस्तीहरूमा
र, ठोटरी बनेको चेतनाले सोचिरहेछ घरिघरी
यो संकटको सीमा भेटिएला कुनै दिन
यो त्रासदीले पर्दा उघार्ला कुनै दिन
यो आँधी साम्य होला कुनै दिन
जीवनको दियो बल्नेछ निरन्तर
यो सभ्यता अगाडि बढ्नेछ निरन्तर
मानवताको प्रकाशले संसार उज्यालो भइरहनेछ ।
मानवताको सान्निध्यले संसार न्यानो भइरहनेछ ।
नयाँ वर्ष २०७७ को अवसरमा हार्दिक मंगलमय शुभकामना !!!

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *