सम्झनामा रत्‍न सर

रत्‍न सर (रत्‍नप्रसाद काफ्ले) को २०७९ कात्तिक १५ गते साँझ देहावसान भएको जानकारी भोलिपल्ट सामाजिक सञ्जालमा देखें । तिहारको समयमा उहाँलाई अस्पतालबाट उदयपुरगढी गाउँपालिकाको नेपालटारस्थित घर फर्काइएको थियो र त्यो समयमा म नेपालटारमै रहेको हुनाले उहाँलाई भेट्न सकेको थिएँ । मित्र बालकृष्णजी र सरका छोराहरू सन्तोष र प्रसन्नका अनुसार उहाँको मिर्गौला र मुटुमा गम्भीर समस्या थियो । उहाँमा होश थिएन । नाकमा लगाइने नलीबाट उहाँलाई झोल खुवाउने गरिएको थियो । उहाँ कोमाको अवस्थामा हुनुहुन्थ्यो । त्यसैले उहाँको देहावसान अकल्पनीय त कसरी भनौं र तर दुःखदायी भने निस्सन्देह नै रह्यो ।

उहाँका व्यक्तित्वका निश्चय नै अनेक आयाम थिए तर मेरो लागि उहाँ पञ्चावती माध्यमिक विद्यालयको साह्रै प्रेरणादायी र प्रतिबद्ध शिक्षक र साहित्यक प्रतिभा हुनुहुन्थ्यो । त्यही विद्यालयमा मैले कक्षा १ देखि कक्षा १० सम्म पढेको थिएँ । सुरूका केही कक्षा पढेको म राम्रो सम्झन सक्दिन तर जबदेखि सम्झन्छु रत्‍न सरलाई आफ्नो गुरुको रूपमा पाउँछु । रत्‍न सरले पिटी (फिजिकल ट्रेनिङ) गराउनु भएको, कक्षागत गीत गाउन सिकाउनु भएको, अंग्रेजीको उच्चारण र फोनेटिक ट्रान्सक्रिप्सन पढाउनु भएको, अंग्रेजी पाठ्यपुस्तकमा दिइएका संवादको अभ्यास गराउनु भएको सम्झना छ । हामी २०३९ सालमा कक्षा १० मा पढ्दा अंग्रेजी उहाँले नै पढाउनु भएको थियो । त्यस समयमा थप शैक्षिक योग्यता हासिल गर्न उहाँ आफैं प्रयत्शील हुनुहुँदो रहेछ तर स्वअध्ययनसमेतको भरमा हामीलाई पढाउनु हुन्थ्यो । रेडियोलगायतका शैक्षिक सामग्रीको प्रयोग समेत गरेर पनि उहाँले हामीलाई शिक्षा दिनुभएको थियो । विभिन्न कक्षामा उहाँ विभिन्न विषयको शिक्षकको रूपमा प्रस्तुत हुनुहुन्थ्यो ।

रत्‍न सर हौसला, उत्साह र जीवन्तताको भण्डार हुनुहुन्थ्यो । पढ्न, लेख्न, खेल्न, गीत गाउन, नाच्न; भनौ न, सबै कार्यहरूका लागि उहाँ उत्साह जगाइरहनु हुन्थ्यो । पढाइमा त उहाँ उसै उत्प्रेरित गरिरहनु हुन्थ्यो, अतिरिक्त क्रियाकलापका अन्य क्षेत्रमा पनि उहाँले उत्साहित गरिरहनु हुन्थ्यो । त्यति मात्र होइन, स्कुलले सहयोगी कर्मचारी राख्न नसकेको कारण कक्षा कोठाको सरसफाइ, लिपपोत जस्ता कार्य विद्यार्थीले नै गर्नु पर्थ्यो र त्यस्ता कार्य सम्पादन गराउन रत्न सर नै अग्रणी भूमिकामा हुनुहुन्थ्यो । आफूले कहिले नभोगेकाले रत्‍न सरले गाली गर्ने, कुटपिट गर्ने, हेपेर बोल्ने जस्ता नकारात्मक कुरा अरू विद्यार्थीसँग पनि गर्नु भयो होला जस्तो लाग्दैन । हाम्रा हरेक बिरामीका लागि उहाँसँग सकारात्मक सोच र सत्प्रयासको ओखती हुन्थ्यो ।

२०२८ सालमा उदयपुर जिल्लाको सदरमुकाम हठात् गाइघाटमा स्थानान्तरण गरिएपछि म अध्ययन गरेको समयमा उदयपुरगढीमा सरकारी निकायको रूपमा माध्यमिक विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी र हुलाक मात्र बाँकी थिए । कारागार र आकाशवाणी कार्यालय त हामी विद्यार्थी छँदै गढीबाट सारिएका थिए । त्यो समयमा माध्यमिक विद्यालय विद्यार्थीबाट आउने शुल्क र अन्य स्रोतमा निर्भर हुनुपर्थ्यो, राज्यबाट पर्याप्त आर्थिक सहयोग पाउँदैनथ्यो । गाउँमा जनसंख्या कम भएकाले पञ्चावती माध्यमिक विद्यालयमा विद्यार्थी कम हुन्थे, शुल्क कम उठ्थ्यो, विद्यालय आर्थिक रूपमा बलियो थिएन । स्थानीय समुदायले बाँस, पराल, खर दिएर स्कुल छाइन्थ्यो, छाउन नसकेको साल पानी पर्लाजस्तो हुनासाथ विद्यालय छुट्टी हुन्थ्यो । शिक्षकको अभावमा एउटै शिक्षकले अनेक विषय पढाउनु पर्थ्यो ।

यसै क्रममा उदयपुरगढीको विद्यालयलाई रिस्कुमा सार्ने कुरा चल्न थाल्यो । उदयपुर विद्यालय टिकाउन विद्यालयलाई आर्थिक रूपमा बलियो बनाउनु पर्ने थियो । आर्थिक रूपमा विद्यालयलाई सबल बनाउन चन्दा संकलन गर्ने उद्देश्यले हिउँद विद्यालय छुट्टी भएको समयमा घुम्ती सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो । विद्यालयका शिक्षक र विद्यार्थी सहभागी हुने यस्तो कार्यक्रममा रत्‍न सरका गीत, कविता र नाटकहरूको महत्त्वपूर्ण भूमिका हुन्थ्यो । रत्‍न सर उदयपुरगढीभन्दा अलि तल डहरमा बस्नु हुन्थ्यो र आफ्नो ठाउँ अर्थात गढीको असाध्य माया गर्नुहुन्थ्यो । उदयपुरगढीको विद्यालय त्यहाँबाट कतै सारिनु हुन्न भन्ने पक्षमा उहाँ रहनु भएको थियो र त्यसका लागि भरपुर प्रयत्न गर्नुभएको थियो ।मैले सुने अनुसार उदयपुर गढीमा शिक्षकको अभाव पूरा गर्न उहाँ कुनै विकासे आयोजनाको जागिर छोडेर आउनु भएको थियो ।

औलो रोग नियन्त्रण र उन्मूलन भएपछि लेकबाट मानिसहरू बेंसीमा झरिरहेका थिए । पहिला सदरमुकाम गाइघाट सर्नु र अहिले विद्यालय रिस्कु सर्ने हल्ला चल्नु यही प्रक्रियाको परिणति थियो । बेंसीमा बसाइँ गएर लेकलाई बिर्सने प्रवृत्ति त्याग्न प्रेरित गर्ने गरी रत्‍न सरले एउटा कविता लेख्नु भयो-

बेंसी हो, नबिर्स लेकलाई

तिम्रा ती शिर हुन् सम्झ है ।

मैले आन्तरिक बसाइसराइका कारण रित्तिदै गरेका पहाडहरूको बारेमा लेखहरू पढेको छु, साहित्यक कृतिमा पनि सन्दर्भवश यस कुराको चर्चा गरिएको छ तर यसैलाई रचनाको कडी मानेर गरिएको कुनै सिर्जना पढ्न पाएको छैन । सरको यो कविता उदयपुरगढीजस्ता उजाडिदै गएका पुराना बस्तीहरूको गरिमा र महिमा कायम राख्न लगाउने सांस्कृतिक अभियान थियो ।

उदयपुरगढीमा साहित्य प्रकाशनको कुनै प्रबन्ध थिएन भन्नै पर्दैन । केशर दाइको पसलमा रहेको भित्ते पत्रिका र विद्यालयले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम नै रत्‍न सरको साहित्य प्रकाशनको माध्यम रह्यो जस्तो लाग्छ । सांस्कृतिक कार्यक्रमले उहाँको साहित्यिक प्रतिभालाई पनि प्रस्फुरण गराउँदै लग्यो । माथिको गीत मैले सांस्कृतिक कार्यक्रममा नै सुनेको थिएँ । त्यस्तै अर्को सांस्कृतिक कार्यक्रममा प्रदर्शित लाहुरे जीवनसँग सम्बन्धित एउटा गीति एकाङ्की रत्‍न सरको नै थियो ।त्यस नाटकको अन्तिममा रहेको मार्मिक गीतले धेरै दर्शकलाई रुवाएको थियो । मेरा जानकारीमा नआएका र सम्झनाबाट मेटिएका अनेक रचना रत्‍न सरबाट भएको हुनुपर्छ । त्यसतर्फ अब खोजी होला र केही ठोस कुरा हाम्रासामु आउला भन्ने आशा गर्दछु । उहाँका रचनालाई रचनागर्भको जानकारीका साथ प्रकाशित गर्न सकिएमा समसामयिक नेपाली जनजीवन, अझ उदयपुरगढीको इतिहासबारे राम्रो जानकारी हुनसक्छ जस्तो मलाई लाग्छ । जब रत्‍न सरका कोमल भावना र मर्मस्पर्शी साहित्यको सुवास अनुभव गर्छु, म देवकोटाको के नेपाल सानो छ शीर्षकको निबन्ध सम्झन्छु । कतै रत्‍न सर हामीलाई पढाइरहेका किट्स वा शेली त हुनुहुन्नथियो ? 

रत्‍न सरसँगको केही स्मरण पनि यहाँ राख्न चाहन्छु । २०४४ सालको फागुनको अन्तिम हप्ता नेपाल राष्ट्र बैंक प्रवेश गर्ने प्रक्रियाको लागि म काठमाडौं आएको थिएँ । त्यो वेला वासु दाइ, बोधकुमारजीको कोठा रातोपुलमा थियो, म त्यहीं बसें । रत्‍न सर पनि काठमाडौं आउनु भएको समय रहेछ, भेट भयो । सँगै बस्यौं । काठमाडौंभन्दा बाहिरबाट काठमाडौं आउनेले काठमाडौंमा डेरा लिएका आफन्तका पाहुना लाग्ने चलन नै थियो ।

त्यही समयमा रत्न सर कतैबाट हस्याङफस्याङ गर्दै आउन भयो र भन्नु भयो- जाउँ फुटबल हेर्न, आज फाइनल रैछ । टिकट उहाँले लिनु भएको थियो कि रङ्गशालाको गेटमा नै लिने भन्ने कुरा थियो मलाई अहिले सम्झना भएन । हामी लुगा फेरेर हिँडिहाल्यौं तर भद्रकाली नपुग्दै असिनापानीले हामीलाई भेट्यो । भद्रकाली मन्दिरमा ओत लागेर बस्नुपर्‍यो, दशरथ रङ्गशाला पुग्न पाइएन । पानी रोकिएपछि हामी दशरथ रङ्गशालातिर लाग्यौं तर सहिद गेटबाट रङ्गशालातिर हामीलाई जान दिइएन । कैयौं मनिस मरेका र घाइते भएका कुरा कानमा ठोक्किन थाले । हामी भद्रकालीमा ओत लागेको समयमा नै रङ्गशाला काण्ड भइसकेको रहेछ । त्यो त्रासद क्षणमा म पनि रत्न सरसँग थिएँ ।

जागिरको सिलसिलामा म काठमाडौं रहेको बेला रत्‍न सर पनि बाक्लै काठमाडौं आउनु भएको थियो । उहाँसँग फरि अलि बाक्लो भेट हुन थाल्यो । हाम्रो सम्बन्ध पनि गुरूशिष्यको दायराबाट फराकिलो हुँदै गयो । यस क्रममा रत्‍न सरका अरू बानी बेहोरा पनि थाहा हुँदै गयो ।उहाँ सोचेभन्दा बढी मिलनसार हुनुहुँदो रहेछ, उहाँमा सबैको उन्नति र प्रगति देख्‍न चाहने उदात्त भावना, कसैको कुभलो नचाहने स्वभाव र आफूले सहेर पनि झगडा नगर्ने बानी रहेछ । सबभन्दा उम्दा त उहाँको निर्दोष विनोदप्रियता रहेछ । रत्‍न सरसँग गफ हुनु र हँसीमजाक नहुनु सम्भव नै थिएन भन्दा हुन्छ । कसैलाई तल नझारी गरिने सभ्य र शिष्ट हँसीमजाकमा उहाँ निपुण हुनुहुन्थ्यो। हामीलाई रमाइलो वार्तामा रमाइलै गरी सरीक हुन जोस्याउनु हुन्थ्यो । रमाइलो गफगाफको क्रममा इतिहासको बन्धन र भविष्यको चिन्ताबाट मुक्त मान्छेझै देखिनुहुन्थ्यो रत्‍न सर ।

म विराटनगतिर लागेपछि उहाँसँग भेट पनि कम भयो । दसैंमा घर त आइन्थ्यो तर आआफ्नै तालमा लागिने हुनाले भेट पनि कमै भयो । माओवादी आन्दोलनका कारण भेटघाटका लागि बजार जाने, गफ गर्ने चलन पनि कम हुँदै गएको अवस्था थियो । यसबिचमा मैले उहाँले उदयपुरगढीबाट झिल्के, झिल्केबाट फेरि उदयपुरगढी र अन्तिममा खाटडाँडामा प्रधानाध्यापकको रूपमा काम गर्नु भएको जानकारी पाएँ । उहाँ भावुक किसिमको व्यक्ति हुनुभएको हुनाले प्रशासनिक नियन्त्रणको भावना र उत्सुकता उहाँमा कम थियो होला भन्ने अडकल काट्छु । लेखा व्यवस्थापनको प्राविधिक त्रुटिका कारण कारण उहाँले बेरूजूको आरोप खेप्नु परेको पनि सुनेको थिएँ ।

उहाँको स्वास्थ्य उमेर बढेसँगै कमजोर बन्दै गएको थियो । पछिल्लो समयमा उहाँलाई नसासम्बन्धी कुनै रोग लागेको थियो, सायद पार्किन्सन । गएको फागुनमा भेट्दा भने उहाँ अलि स्वस्थ नै रहनु भएको देखेंथें । पछि रोगले च्याप्दै लगेछ र औषधिउपचार भइरहेको समयमा उहाँको मिर्गौला र मुटुमा पनि समस्या देखिएछ । धरानमा उपचाररत रहँदै उहाँ कोमाको अवस्थामा पुग्नु भयो र तिहारअघि नेपालटार ल्याइयो । त्यही अवस्थामा मैले उहाँलाई अन्तिम पटक देखें ।

पूजन दिदी, बहिनी लक्ष्मी र भाइहरू सन्तोष, आनन्द, प्रसन्न र प्रफुल्ल मात्र हैन, उहाँको देहावसानबाट उहाँका थुप्रै नातेदार, विद्यार्थी, इष्टमित्र र चिनारूहरू दुखी भएका छन् । मेरा अति प्रेरणादायी शिक्षकको निधनबाट म पनि हतप्रभ भएको छु । उहाँको कोमल संवेगात्मक शक्तिबाट म आफूलाई अति प्रभावित महसुस गर्छु । भरखरै बन्द भएको स्नेहको त्यो अजस्र मुहानले हरेकलाई बेचैन बनाएको छ । फेरि पनि यस पीडालाई जितेर अघि बढ्नु नै छ । यस शोकलाई ईश्वरको लीला ठानेर स्वीकार गर्नु नै छ ।२००५ सालमा जन्मनु भएका रत्‍न सरले पूरा र सार्थक जीवन बाँच्नुभयो भनेर चित्त बुझाउनु बाहेक हामीसँग अरू के विकल्प छ र ?

शोकको यस घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछु।

रत्‍न सरको देहमुक्त आत्माको परमगतिको कामना गर्दछु । हार्दिक श्रद्धान्जली !!

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *