पुँजीवादको मानव ढाल

नेपालमा माओवादीले ‘जनयुद्ध’ को समयमा सर्वसाधारणको उपयोग गरेको चर्चा सुनिन्थ्यो । सानासाना बालबालिकालाई सेना वा प्रहरी आए नआएको जानकारी दिन सुराकी राख्थे रे । उनीहरूलाई सूचना आदानप्रदानको माध्यम पनि बनाउँथे रे । लडाइँको मैदानमा पनि सर्वसाधारण गाउँले, महिला, शिक्षक, विद्यार्थी आदिलाई अघिल्लो मोर्चामा राख्थे रे । लडाइँमा अरूलाई अघि लगाएपछि सेना प्रहरीलाई मनोवैज्ञानिक दबाब पनि भयो । गोली नहानौ हारको जोखिम हुन्छ । गोली हानौ, सुरक्षाकर्मीबाट सर्वसाधारणमाथि गोली प्रहार भन्ने खबर आउँछ र राज्ययन्त्रकै बदनामी हुन्छ । सर्वसाधारणको यस किसिमको उपयोगलाई युद्धको भाषामा मानव ढाल भनिदो रहेछ । यस विधिलाई अरू किसिमका युद्धमा पनि प्रयोग गरिदो रहेछ । के मानव ढालको प्रयोग कम्युनिस्टहरूले मात्र गर्छन् ? के युद्धमा मात्र मानव ढालको प्रयोग हुन्छ ? के मानव ढालको प्रयोग भए नभएको कुरा नाङ्गो आँखाले छुट्याउन सकिन्छ ? के मानव ढालको सबै किसिमको प्रयोग रोक्न सजिलो छ ? आउनुस्, एकछिन यसै विषयमा चर्चा गरौं ! अहिले (२०७९ को भदौको दोस्रो सातामा यो ब्लग लेख्दैछु) बालेन शाह (काठमाडौं महानगरपालिकाका प्रमुख) कानुनविपरीत बनेका संरचना भत्काउँदै र तोकिएभन्दा फरक तरिकाले प्रयोग भएका संरचनालाई तोकिए बमोजिम नै प्रयोग गर्न दबाब दिंदै हिंडिरहेका छन् । यस क्रममा केही अवैध घरटहरा भत्काइएका छन् र पार्किङमा व्यपार व्यवसाय गर्नेलाई हटाइएको छ । यसरी अवैध संरचना भत्काउँदा वा फरक प्रयोजनका

मैले बालाई भेटें

केही दिन आफू कार्यरत विद्यालयमा स्थानीय बिदा हुने भएकाले रसुवाको सिमबन्दी प्राथमिक विद्यालयका हामी चार जना शिक्षक बिदा बिताउने आआफ्नो तयारीमा व्यस्त र मस्त थियौं । महानन्द दाइ र लक्ष्मी दिदी काठमाडौं जाने, लीला जिबजिबेको आफ्नो घर जाने र म भने लोक सेवा आयाेगले लिने दुर्गमको खरिदारको परीक्षाको लागि धुन्चे जाने भएका थियौं । गएको भदौमा दिएको परीक्षामा असफल भए पनि र माघमा दिएको परीक्षाको नतिजा जेजस्तो भए पनि दुर्गमको लागि निर्धारित खरिदार पदको परीक्षा त पास गर्छु होला जस्तो लागेको थियो, मलाई । भदौमा परीक्षा दिँदाका कतिपय अज्ञानता र कमजोरी मैले थाहा पाइसकेको थिएँ र तिनलाई सच्याउन लागिपरेको थिएँ । यही उत्साहले मेरो यात्रालाई निकै रमाइलो बनाएको थियो । मेरो उत्साहलाई मौसमले पनि साथ दिइरहेको थियो । हिउँदको चिसो सिरेटो कम हुँदै गएको थियो । उत्तरायणतिर लागेका चैत महिनाका घामले क्रमशः शक्ति आर्जन गरिरहेका थिए । सिम्बन्दीकाे खोंचबाट देखिने साँघुरो आकासमा टुपुल्किने घामलाई हरदम ढाकिरहने बादल त्यो दिन खै कता गएको थियो ? घामको प्रकाश ढुङ्गाको गाह्रो र काठको छाना भएका घर, गोठ र बारीमा एकछत्र परेको थियो । सिम्बन्दीको त्यो बिहान निकै घमाइलो थियो । मेरो मन पनि छ्याङ्ग थियाे। हामी चार जनाको गन्तव्य एकै नभए पनि कालीकास्थानसम्म त बाटो एउटै पर्थ्यो । जिबजिबे पनि कालिकास्थानको छेवैमा थियो

श्रद्धेय प्रदीप गिरिको नाममा

श्रद्धेय प्रदीप गिरि अनन्त यात्रामा निस्कनु भयो (२०७९ भदौ ४ गते राति ९:३०) । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्छु । परिवारजन, नेपाली कांग्रेस परिवार र समस्त शुभचिन्तकहरूप्रति समवेदना ! राष्ट्रले नै प्रखर विद्वान, गहन चिन्तक र मुखर व्यक्तित्व गुमाएको छ । म पनि पत्रिकामा र टेलिभिजनमा उहाँलाई भरसक छुटाउँदिन थिएँ । अब अखबारको पाता र टेलिभिजनको पर्दा मेरा लागि पनि केही अधुरो र अपूरो पक्कै हुनेछ । संसद पनि अब चोटिलो आवाज नपाएर सुनसान हुनेछ । तैपनि विधिको मानिने यस विधानप्रति मेरो भन्नु केही छैन । सबै पालोमा लामबद्ध छौं । उसो त इहलोक र परलोक अनि आत्मा र परमात्मावाला कुराप्रति मलाई उति विश्वास छैन (मेरो जानकारी अनुसार उहाँमा पनि थिएन) । यदि त्यो सत्य हो भने उहाँ जहाँ पुग्नु हुनेछ, त्यो असल ठाउँ नै हुनेछ भन्ने मलाई विश्वास छ । मृत्युमाथि हाकाहाकी बहस गर्न सक्ने र जीवनको अन्त्य हैन, अन्तिम पन्ना मात्र मान्ने उहाँले मृत्युलाई पनि सहज वरण गर्नुभयो होला भनेर आफ्नो मनलाई केही आश्वस्त पार्न समेत खोज्दैछु । मैले उहाँलाई दुईतीन पटक प्रत्यक्षरूपले देख्न र सुन्न पाएको थिएँ । त्यही अवसरमा मेरो मनमा उहाँको नमेटिने छाप परेको थियो । उहाँको देहावसान भए पनि मेरो मन मष्तिष्कमा उहाँ जीवित नै रहनुहुनेछ । शोकको यस घडीमा म तिनै सम्झनाका पलहरूलाई

उम्मेदवारलाई सुझाव

तपाईंले विगतमा समेत चुनाव जितेर सन्तोषजनकरूपमा देश र जनताको सेवा गर्नु भएको थियो भने तपाईं बधाईको पात्र हुनुहुन्छ । देशले तपाईंमाथि गौरव गर्नेछ र जनता तपाईंको योगदानप्रति कृतज्ञ रहने छन् । तपाईंले गर्नसक्ने गर्नुभयो । तपाईं राजनीतिको शिखरमा पुगिसक्नु भयो । शिखरमा पुग्न सकिन्छ तर त्यहाँ अनन्त कालसम्म बस्न सकिन्न । शिखरमा अरूलाई पनि पुग्ने मौका दिनुस् । तेन्जिङ र हिलारी सगरमाथामा चढेर नओर्लिई त्यहीं बसिरहेको भए अरू गएर विभिन्न रेकर्ड राख्न कसरी सक्थे होलान् र ? माओत्सेतुङ महान थिए, तर देङले चीनकाे रूपान्तरण गरे । चीनले देङका लागि माओको मृत्यु कुर्नु नपरेको भए चीन अलि छिटो प्रगतिको बाटोमा अघि बढ्थ्यो कि ? नेहरू अद्वितीय थिए, तर मनमोहन सिंहले राजनीति अनुकूलको अर्थनीति अपनाए र भारतलाई आधुनिक अर्थतन्त्र दिए । यो अजब संसारमा हरेकको विकल्प छ, हुनैपर्छ । मृत्युपछि खोजिने विकल्प अलि भावुक किसिमको हुन्छ, त्यसले नोक्सानमा पार्छ । इन्दिराको मृत्युपछि भावुक कांग्रेसले छोरालाई अध्यक्ष बनायो । त्यसपछि भने पार्टी व्यवहारिक भयो र पी.भी. नरसिंह राव अध्यक्ष बने । फेरि राजीवको हत्यापछि पार्टीले अर्को भावुक निर्णय गर्‍यो । त्यसको फल आँखा अगाडि छ । राजनीतिमा भावनाको महत्त्व नभएको चैं हैन । मदनको देहावसानपछि एमालेले चुनाव जित्नु, इन्दिरा र राजीवको मृत्युपछि कांग्रेस आईले चुनाव जित्नु भावनाका प्रतिफल हुन् । यस्तो अन्यत्र पनि