म सानै छँदा गाउँकी दिदीको बिहे भो । टाढाबाट आएका जन्ती नयाँ खालको बेन्डबाजा लिएर आएका थिए । बिहे पनि धुमधामले नै भएको थियो । त्यो वेला दाइजोमा टेपरेकर्डर दिने चलन थियो र त्यो दिनु वा पाउनु प्रतिष्ठाको विषय थियो । ती भेनालाई पनि टेपरेकर्डर दाइजो दिइएको थियो ।
केही दिनपछि दिदीभेना हाम्रो गाउँ अर्थात ससुराली आए । दुरान फर्काउन आएका रहेछन् । दुरान फर्काएर गए पनि । फेरि पन्ध/बीस दिनमा उनी ससुराली आए । नयाँ ज्वाइँ आए होलान् भनेर कसैले वास्ता गरेनन् । यसरी पटकपटक ससुराली आउन थालेपछि गाउँमा कुराकाट्ने पनि देखिन थाले । कतिले भन्न थाले- यिनको कमाइधमाइ केही रैनछ । टेपरेकर्डरको ब्याट्री फेर्न ससुराल आउँदा रहेछन् ।
नेपालका राष्ट्रिय राजमार्गहरू विभिन्न देशको सहयोगमा बनेका हुन् । यहाँ चर्चा गर्न खोजिएको खुर्कोटको बाटो अर्थात् बिपी राजमार्ग जापान सरकारको सहयोगमा बनेको हो । यो राजमार्गले काभ्रेपलान्चोक रामेछाप र सिन्धुली जिल्लाका दुर्गमस्थानलाई सुगम बनायो । पूर्वी नेपालतर्फको यात्रा पनि छिटो र सजिलो भयो ।
तर जब यो बाटो बिग्रिन्छ अनि हामीलाई आपत् पर्छ । बहत्तर सालको भूकम्पले बिगारेको यो राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । असोजको दोस्रो साता आएको बाढीले यो राजमार्गलाई फेरि बिगारेको छ । फेरि पनि हामीमा यो राजमार्ग आफैंले मर्मत गर्न सक्ने क्षमता छैन । हामी पुनः जापान सरकारको मुख ताकिरहेका छौं । यति मात्र होइन, चीन जोड्ने र चीनले नै बनाइदिएको अरनिको राजमार्ग बिग्रँदा पनि हाम्रो आशामुखी नजर चीनतिरै सोझिन्छ ।
यस्ता पूर्वाधारको बनिसकेपछि आर्थिक गतिविधिको विस्तार भई हाम्रो वित्तीय क्षमता राम्रो हुनुपर्ने र मर्मत सम्भारको लागि अरूको मुख ताक्ने अवस्था नरहनुपर्ने हो । आत्मनिर्भर अर्थतन्त्रको निर्माण हाम्रो पुरानै प्रतिबद्धता हो । ‘तेल पनि ले घसी पनि दे’ भनेर त कहिलेसम्म चल्ला र ? तर, हामी त्यही गरिरहेका छौं । सुरूमा बनाइदिनेको टाउकोमा मर्मतको भार पनि थप्न पनि खोजिरहेका छौ । उनीहरूले हाम्रो चालामालालाई कसरी हेरेका छन्, थाहा छैन ।
हामीलाई पनि टेपरेकर्डरको ब्याट्री फेर्न ससुराली आएको ज्वाइँ भनेर ती भेनालाई गिज्याए झैं गिज्याइरहेका छन् कि ? मित्र राष्ट्र हुन्, त्यसो त नगर्लान् । तर, आफैंलाई लाज लाग्ने क्या !
