म सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । पुराना लेखापालले जागिर छोडेका र नयाँ लेखापालको सो कार्यालयमा सरूवा भइनसकेको हुनाले कार्यालयको खातापाता मेरै जिम्मामा थियो । २०४३ सालतिरको कुरो हो, जिल्ला प्रशासन कार्यालयको वार्षिक बजेट तीन लाख जति थियो, सवा दुई लाख त तलब भत्ता शीर्षकमा । टेलिफोन लाइन थिएन, पैसा तिर्नै परेन । बिजुलीबाट चल्ने कुरामा बल्बबाहेक अरू उपकरण पनि नभएकाले यो शीर्षकमा पनि खासै खर्च थिएन (पङ्खा पनि भए जस्तो लाग्दैन) । स्टेसनरी र अरू कार्यालय खर्च पनि जेनतेन चल्थ्यो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले चढ्ने ल्यान्डक्रुजर जिप पाल्न भने धौधौ नै थियो । कहिले सवारी इन्धनमा बजेट नपुग्ने, कहिले मर्मत सम्भारमा ! तैपनि जिल्ला प्रशासन कार्यालय न पर्यो ! शान्ति सुरक्षा कायम राख्न यो शीर्षकमा यति बजेट चाहियो भनेपछि नपाइने कुरो पनि थिएन । अलिकति नखरा पार्नुपर्थ्यो, त्यत्ति हो ।
यस पटक त टायर नै फेर्नुपर्ने थियो । बजेटको पनि व्यवस्था भएको थियो । दुइटा टायर किन्न आठ हजार निकासा भएको थियो जस्तो लाग्छ । ल्यान्ड क्रुजरले दुइटा टायर पाउने टुङ्गो भइसकेको थियो ।
“ड्राइभरले टायर किन्नुपर्ने छ भन्दै थियो । तिमीसँग केही कुरो गरेको छ ?”- कुनै कागजमा सही गराउन जाँदा सिडिओबाट सोधनी भयो ।
“ड्राइभरले त केही भनेका छैनन् । बजेट छँदैछ । काठमाडौं जानुपरेको समयमा ड्राइभरलाई पेश्की दिए किनेर ल्याउलान् नि त !”- मैले जवाफ फर्काएँ ।
“तिमी यस्तै कुरा गर्छौं !”- उनले चित्त बुझाएनन् । “ड्राइभरले कहाँ किन्छ, कस्तो किन्छ, कतिमा किन्छ, के गर्छ, तिमीलाई थाहा हुन्छ ? तिमी नै गएर किन ।”
मलाई टायरको कुरो के थाहा । मैले साइकल चढ्न सिक्न अझै दश वर्ष बाँकी थियो । अट्ठाइस वर्षको उमेरमा मैले साइकल सिकेको थिएँ र सवारी साधनको पाङ्ग्रामा टायर र ट्युब भन्ने दुई अलग्गै अवयव हुन्छ भन्ने आफ्नै आँखाले देखेको थिएँ ।
“मैले कसरी किन्नु र सर ! मलाई त केही थाहा छैन ।“- मैले आफ्नो कुरा राखें ।
त्यो समयमा सिडियो बलराम कापर थिए र मलाई साह्रै माया गर्थे । त्यो वेला मेरो उमेर बिस वर्ष पनि पुगेको थिएन । उनी मलाई अबोध बालक ठान्थे । सबै कुरा बुझाउँथे, सम्झाउँथे र सिकाउँथे । उनी बजेटको अपचलन वा अन्य कुनै माध्यमबाट निहित स्वार्थ पूरा गर्न लागेको मलाई महसुस भएन । म पनि भरखर पाएको सहलेखापालको जागिरमा मख्ख थिएँ, थप दायाँबायाँ गर्ने मन र महोल दुवै थिएन । शनिवारको दिन सारा कर्मचारी वृत्त तेह्र पत्ती मिलाउन (त्यतिवेला म्यारिज खेल आइसकेको थिएन जस्तो लाग्छ) व्यस्त रहेको वेला दिनभर सिडिओसँग गफ गरेर बसेको सम्झना पनि छ । व्यक्तिगत जिन्दगी, घर-व्यवहार र समाजका बारेमा उनका साह्रै सटीक धारणा थिए । उनले दिएका केही अर्ती अझै मलाई घाँटी लागिरहेका छन् ।
“अर्को हप्ता काठमाडौं जानु छ, तिमी पनि सँगै जानू । पेश्की तिमी लिनू, टायर पनि तिमी नै किन्नू ।“
मजा भै गयो नि, दुईचार दिन काठमाडौं घुम्न पाइने भो । टिएडिए आउने भो । काठमाडौंमा दाइहरूसँग चौताराको गफ गर्न पाइने भो ।
काठमाडौं पुगेपछि सिडिओको अनुकूलता अनुसार टायर किन्ने दिनको टुङ्गो लाग्यो । म खाना खाएर बिहानै सिडिओको घर कोपुन्डोल पुगें । हामी तीनै जना टायर किन्न बजारतिर लाग्यौं । लाजिम्पाटतिरको कुनै भव्य सोरूमको कम्पाउन्डमा मोटर पस्यो र सोरुमको ढोकामा रोकियो । सिडियो र म मोटरबाट ओर्लियौं । ड्राइभर मोटर पार्किङ गर्न गए ।
सिडिओले टायरको बारेमा सोधखोज गरे । मैले धुपौरेको भूमिका निर्वाह गरें । प्राविधिक विषय त उनलाई पनि उति थाहा थिएन, मेरो कुरो त माथि नै भनिहालें । हामीले यताउताको कुरा गर्दागर्दै ड्राइभर पनि आइपुगे । पार्किङ सजिलो ठाउँमा थियो र नजिकै पनि ।
“हामीलाई यी दुइटा टायर चाहियो । कति पर्ने हो ?”- हामीमध्ये कसैले सोध्यो । ड्राइभर आएपछि टायरको साइज र गुणस्तरको टुङ्गो लागिसकेको थियो ।
“यो त बिकिसकेको टायर हो, हजुर !”- सोरूमको कर्मचारीले भन्यो ।
“यो बिकेर के भयो त ! यस्तै अर्को दुइटा टायर निकाल्नु न !”- हामीले भन्यौं ।
“लास्ट पिस यही हो, सर ! अरू छैन ।“- उसले आफ्नो निरीहता देखायो ।
ऊ के निरीह ? निरीह त हामी पो थियौं । फर्किने सल्लाह भयो ।
सिडिओ नै त्यहाँ नभए त हामी सिडिओ साहेबले लिन पठाउनु भएको भनेर अलिअलि घुर्क्याउँथ्यौं कि ? सिडिओ नै त्यहीँ भएको अवस्थामा त्यो पनि उपयुक्त देखिएन । सामान्य परिचय त हामीले पहिला नै दिएका थियौं । अब वास्ता गरेन त, के गर्नु र ?
ड्राइभर मोटर लिन गए, हामी पर्खेर बस्यौं । मोटर चढ्यौं र अगाडि बढ्यौं ।
मोटर गेटमा नपुग्दै पछाडिबाट केही सङ्केत आयो । सायद कोही मोटर रोक्न भनिरहेको थियो । इसारा अनदेखा गर्ने कुरो पनि भएन । ड्राइभरले मोटर रोके । पछाडिबाट कसैले दिएको सङ्केतका सम्बन्धमा जानकारी लिन सिडिओ जाने कुरा भएन । ड्राइभर छँदै म किन जाने भन्ने सोचेर म पनि झरिनँ । ड्राइभर नै ओर्लिए । सोरूमका तिनै कर्मचारीले ड्राइभरलाई बोलाए । ड्राइभर दौडिदैं गए । सिडिओलाई मोटरमा छोडेर जाँदा लामो समय लिनु शोभनीय पनि त थिएन ।
ड्राइभर सोरुममा पुगे । सोरुमका कर्मचारीले उनीसँग केही सेकेन्ड कुरा गरे । फर्कँदा ड्राइभरले अघि बिकिसकेको भनिएका दुइवटा टायरमध्ये एउटा गुडाउँदै लिएर आए र मोटरको पछाडि राखे । उनले ‘एकाउन्टेन् साहेब पैसा दिनु त, आठ हजार’ भनेर मसँग पैसा मागे । मैले उनलाई पैसा दिनुको विकल्प थिएन । पाइन्टको चोर गोजीमा राखेको आठ हजार उनको हातमा राखिदिएँ । उनी फेरि दौडिदैं गए र केही छिनमा अर्को टायर लिएर आए । टायर थन्क्याएर उनी ड्राइभिङ सिटमा बसे । मोटर स्टार्ट गरे र मलाई एउटा कागज थमाए । त्यो टायरको बिल थियो । मोटर गुड्यो, हामी हिँड्यौं ।
हाकिम र ड्राइभर पद सोपानमा धेरै माथि र तल पर्छन् । यस गोलो संसारको सबैभन्दा पूर्व र पश्चिमको ठाउँ नजिक भएजस्तै उनीहरू निकै नजिक पनि हुन्छन् । हाकिमको घरमा ड्राइभरको आउजाउ हुन्छ, हाकिमको परिवारका सदस्यहरूलाई ड्राइभरले चिनेका हुन्छन्, व्यक्तिगत काममा सहयोग गरेका हुन्छन् । बलराम कापर मेरो शङ्काको घेरबाट बाहिर भए पनि कतिपय हाकिम र ड्राइभर मिलेर नै मोटर मर्मत र इन्धनको पैसा हजम गर्छन् भन्ने पनि ठान्छु । अनुचित लाभका लागि ड्राइभरसँग साँठगाठ नगरे पनि ड्राइभरलाई रिस उठाउन कुनै हाकिम चाहँदैन । ड्राइभर रिसायो भने मोटर बिग्रियो हजुर भनेर जुनसुकै वेला धोका दिनसक्छ भन्ने त्रास पनि हुँदो हो । सधैं सँगै हिंड्नुपर्ने मानिससँग मुख बिगार्नु उसै पनि ठिक होइन । त्यसैले म हाकिम र ड्राइभरको बिचमा पर्न चाहिनँ, अरू कसैले पनि केही बोलेन । यात्राभर टायरको ‘ट’ पनि उच्चारण भएन ।
२०४४ सालको वैशाखमा गाउँ/नगर पञ्चायतको चुनाव थियो । त्यस चुनावको लागि निर्वाचन अधिकृत प्रमुख जिल्ला अधिकारी नै हुन्थे । शान्तिसुरक्षाको जिम्मा त चुनाव भए पनि नभए पनि प्रमुख जिल्ला अधिकारीको जिम्मा भइहाल्यो । यिनै केही प्रसङ्गमा सिडिओ काठमाडौं आउनु परेको हुनसक्छ । त्यसको लागि उनी एकदुई दिन अलमलिए होलान् । मेरो टायर किन्ने काम थियो, सकियो । म पनि आफ्नै तालमा स्वतन्त्र भएर घुमें । काठमाडौंबाट चौतारा सबैजना सँगै फर्क्यौं ।
बेच्न राखिएको टायर हामीलाई किन बिकिसकेको छ भनेर बेच्न खोजिएन ? बेचिसकेको टायर हामीलाई कसरी दिइयो ? सोरुमका कर्मचारीहरूबिच टाढाबाट आएका ग्राहक फर्काउन उपयुक्त हुने सल्लाह भयो कि यसमा अरू नै रहस्य थियो ? हामी फर्किसकेपछि ड्राइभरलाई किन टायर लिन बोलाइयो ? मेरो लागि यी प्रश्न अझै अनुत्तरित छन् ।
चौतारामा एक दिन कुरैकुरामा ड्राइभरलाई सोधें- तपाईंलाई सोरुमवालाले कति दियो हँ, टायर किन्दा ?
मेरो प्रश्नमा ड्राइभर एक हलको मेलो हाँसे ।
उनको हाँसोले मलाई भनिरहेको थियो- सक्यौ टायर किन्न ? ड्राइभरलाई अल्मल्याउन खोज्ने ? चलेको चलन बिथोल्न खोज्ने ?
हाँसो सकिन लाग्दा उनले दाहिने हात माथि उठाए ।
उनका हातका सबै औंला फैलिएका थिए, बुढी औंला भने मोडिएको थियो ।
चार सय पाएका रहेछन् । चार सय मात्र पाएका थिए कि मलाई त्यति भन्न चाहे, उनै जानुन् ।
चार सय नै भए पनि त्यो वेलाको पन्ध्र दिनको तलब थियो ।