शिक्षा, शिक्षक र विद्यालय

काठमाडौंलाई तोरीको फूल देखाएर शिक्षक आन्दोलनले विश्राम लिएको छ । शिक्षकहरूमध्ये कसैले माग पूरा हुने भए र कसैले माग पूरा हुन बाँकी रहे भने पनि आन्दोलन त अब अन्त्य भयो नै भनौं । यो आन्दोलनले नेपालको शिक्षा, शिक्षक र विद्यालयलाई चर्चाको केन्द्रमा ल्याएको छ ।

शिक्षा- शिक्षा ज्ञान आर्जनको सर्वस्वीकार्य आधार हो । तर कस्तो ज्ञान ? आत्माको बारेमा जानकारी दिने धर्मशास्त्र, जीवनको बारेमा जानकारी दिने दर्शन, कला र साहित्य कि संसारको बारेमा जानकारी दिने विज्ञान । जान्नुको आनन्दबाट सन्तुष्ट हुने झानका लागि ज्ञान कि जीविकाको लागि अर्थ उपार्जनको स्रोतलाई व्यवस्थित पार्ने ज्ञान । संसारमा मतमतान्तर होलान् । तर आजको नेपाललाई जीविकाको लागि अर्थोपार्जनको ज्ञान नै आवश्यक देखिएको छ । सबैको आकर्षण त्यसैमा छ । अभिभावक त्यही चाहिरहेका छन् । विद्यार्थी त्यही खोजिरहेका छन् ।

विद्यालय- शिक्षक र विद्यार्थीको साझा मिलनस्थल विद्यालय हो । यसले ज्ञान आदानप्रदानलाई सजिलो बनाउँछ । त्यसका लागि उपयुक्त पूर्वाधार, साधनस्रोत र उपकरण आवश्यक हुन्छ । विद्यालयमा ती कुरा जति बढी भयो उति राम्रो । रुखमुनि पनि ज्ञान आदानप्रदान हुनसक्ने कुरामा जसरी विमति हुँदैन त्यसैगरी आजको आधुनिक र वैज्ञानिक शिक्षाका लागि सुविधासम्पन्न विद्यालय आवश्यक पर्छ भन्नेमा पनि विमति नहोला । यसैले आज राज्यले विद्यालय/ महाविद्यालयको पूर्वाधार र साधनस्रोत व्यवस्थामा ठुलो धनराशी खर्च गरिरहेको छ । राज्य पूरा गर्न नसकेको शिक्षाको माग र आवश्यकतालाई निजी विद्यालयले पूरा गरिरहेका छन् ।

शिक्षक- शिक्षा प्रणालीको नायक नै शिक्षक हो । एउटा शिक्षकले कक्षाकोठामा जे गर्नसक्छ त्यो अरू कसैले कहीं गर्न सक्दैन भन्ने मान्यता छ । विश्वविजेता अलेक्जेन्डरले आफ्नो साहसिक र सफल विजय अभियानको श्रेय गुरु अरिस्टोटललाई दिएका थिए रे । हामी पनि आफूलाई बाटो देखाउने र शिक्षा दिने प्रभावशाली गुरुहरूबाट कृतज्ञ नै रहन्छौ । समयसमयमा सम्झना आउँछ, आदरभाव जाग्छ । त्यसैले गुरुको महिमा गानबाट हाम्रा साहित्य चुकेका छैनन् । मन्त्र नै छ- गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥

शिक्षा, शिक्षक र विद्यालयका बारेमा सबैका आआफ्ना धारणा होलान्, आआफ्ना अनुभूति र अवलोकन होलान् । म पनि विद्यार्थी हुनुको अतिरिक्त केही विद्यालयहरूमा केही समय शिक्षक पनि रहेको हुनाले मेरा पनि आफ्ना अनुभूति र अवलोकन छन् ।

आज सामुदायिक विद्यालयका भवन त राम्रा भएका छन् तर शैक्षिक वातावरण बिग्रदै गएको छ, सिकाइ उपलब्धिमा स्खलन छ । शिक्षक अनुशासित छैनन्, विद्यार्थी अनुशासित छैनन् । शिक्षकमा प्रतिबद्धता र विद्यार्थीमा समर्पण घट्दो छ । पढ्ने पढाउने काम नै कम हुँदैछ । राजनीतिको माध्यम शिक्षक र विद्यालय भएका छन् । पेशागत इमानदारी न पाइन्छ, नखोजिन्छ । माध्यमिक तह पास गरेको विद्यार्थी सामान्य लेखपढ गर्न, हिसाब राख्न र तार्किक ढङ्गले सोच्न असमर्थ छ । विद्यालयको गुणस्तरमा निरन्तर ह्रास आएको छ । आज पनि राम्रा सामुदायिक विद्यालय र राम्रा शिक्षक नभएका हैनन्, तिनको संख्या घट्दो छ ।

शिक्षा क्षेत्रमा देखिएको यो स्खलनले शिक्षकको गरिमा पनि घटाएकै छ । रोटी पनि हेर्नाका हुन्छन् भनेझै शिक्षक पनि हेर्नाका हुन्छन् भन्न आइतबार मान्नु पर्ने अवस्था छैन । गुरु ब्रह्मा, गुरुः विष्णु, गुरुदेव महेश्वर भनेर कतै लेखिएको छ भन्दैमा आजको शिक्षकले शिक्षक पदको नियुक्ति हातमा पर्ने बित्तिकै म उत्तिकै आदरको हकदार छु भनेर शिक्षकले सोच्नु अनाधिकार चेष्टा हुनेछ । हरेक मानिस पाएका सबै ज्ञानका लागि आफ्नै योगदान रहेको भनेर पनि ठान्नु हुन्न । सबै राम्रा मान्छे हामीबाट ज्ञान लिएर त्यस्ता भएका हुन् भन्ने दम्भ त जति चाँडो हटायो उति राम्रो । ज्ञान प्राप्तिका अनेक उपाय छन्, त्यसमध्ये एक शिक्षक हुन् । बरू शिक्षकहरू आफ्ना विद्यार्थीको असफलताप्रति जिम्मेवार र जागरूक भए सुधारका ढोका खुल्न सक्छन् । विद्यालय र कलेजतहका पनि शिक्षा हासिल गरेर बाध्यतावश कठिन, तल्लोस्तरको मानिएको र जोखिमयुक्त श्रमका लागि विदेश जाने विद्यार्थीहरू हाम्रो शिक्षा नीतिको असफलता हो, शिक्षा प्रणालीको नायक भएकाले यसमा शिक्षकको असफलताको भूमिका ठुलो छ । द्रोणाचार्यको पगरी आफ्नो टाउकोमा छ भन्ने सोच्नुभन्दा अगाडि आफ्ना अर्जुनहरूको अवस्था के छ भनेर हेर्नुपर्छ । यही आन्दोलनको क्रममा पनि सामाजिक सञ्जालमा शिक्षकलाई सरकारले हेप्यो भनेर आन्दोलनप्रति समर्थन थियो भने शिक्षकका गतिविधिप्रति नकारात्मक प्रतिक्रिया पनि कम थिएनन् ।

विद्यालयमा अति राजनीतिकरण, लामो राजनीतिक संक्रमणकाल, लोकरिझ्याइँको परम्पराले अपवादबाहेक सबै विद्यालय बिग्रेका हुन् । निजी विद्यालयमा सक्नेजति सबैले आफ्ना छोराछोरी पढाउने होड चलेको छ, यसमा बाध्यताको बन्धन पनि छ । सबैलाई आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन मन लाग्छ, सामुदायिक विद्यालयमा त्यो छैन । सामुदायिक विद्यालयका शिक्षकहरूले पनि आफ्ना छोराछोरी निजी विद्यालमा नै पढाउँछन् । हामीले शिक्षकका छोराछोरी, भाइबहिनी, भान्जाभान्जी, सालासालीसँग पढ्यौं । अहिले त्यो वातावरण छैन । समाजका कुरो सुनिने मानिसको सकारात्मक सरोकार विद्यालयमा रहेन, फगत् राजनीतिको थलो बन्यो, धेरथोर आर्थिक अनियमितताको पनि । निमुखाका छोराछोरीलाई त जे गर्दा पनि हुन्छ भन्ने भावना आयो । यसरी समाजको निगरानी पनि पुगेन । अपवादबाहेक सामुदायिक विद्यालयको अवस्था यही छ । यसमा  सकारात्मक हस्तक्षेप आवश्यक छ । र, आधुनिक समाजमा त्सस्तो हस्तक्षेप कानुनको माध्यमबाट नै हुन्छ ।

शिक्षा कस्तो दिने, कुन उद्देश्यका लागि दिने र कसरी दिने भन्ने कुराले पनि शिक्षाको प्रभावकारितामा ठुलो प्रभाव पार्छ । तर यी सवालहरूलाई थाती राख्दा पनि शिक्षकको प्रभावकारितामा सुधार गरेर ल्याउन सकिने सकारात्मक परिवर्तको सम्भावना ठुलो छ । शिक्षक योग्य हुनुपर्छ, प्रतिबद्ध हुनुपर्छ, उच्च चरित्र र नैतिक बल भएको हुनुपर्छ, अनुशासित हुनुपर्छ । उसले निश्चित विषयको निश्चित ज्ञान दिने मात्र मेरो काम हो भन्न पाउन्न । विद्यार्थीले हरेक शिक्षकभित्र रोल मोडल खोजिरहेको हुन्छ । शिक्षक नै शिक्षा प्रणालीको केन्द्र हो । पढाउने समय निर्धारित होला तर शिक्षकले चौबिसै घण्टा शिक्षक भइरहनुपर्छ । विद्यार्थी त्यही चाहन्छ, समाज त्यही चाहन्छ ।

सुधार रातारात हुँदैन र सुधारको क्रममा मानवीय पक्षलाई पनि भुल्न मिल्दैन । शिक्षकको जागिरमा जसरी छिरेका भए पनि तिनको योग्यता, क्षमता र हैसियत बढाउने प्रयास हुनुपर्छ । पुराना पात झरेर नयाँ पात आउँदा राम्रा र आशलाग्दा आउन् । संस्था र व्यवस्था पहिला राम्रा थिए, योग्य थिए, ठिक थिए, अहिले बिग्रिए भनेर सोच्न बाध्य हुनु भनेको त्यो हाम्रो समाजको पतनको सङ्केत हो । सामुदायिक विद्यालयले समाजको पतनको सङ्केत गरेका छन् । अहिले भएका शिक्षकलाई मौका दिऊँ, पछि झन् राम्रो आउने ग्यारेन्टी गरौं । नयाँ शिक्षकहरू योग्य हुन्, प्रतिस्पर्धाबाट छानियुन्, पेशाप्रति उनीहरूको रूझानको पनि परीक्षण होस् । नयाँ कानुनबाट त्यसको आशा गरौं ।

सामुदायिक विद्यालयहरू राम्रो भएका र निजी विद्यालयका विद्यार्थीहरू सामुदायिक विद्यालयमा आएका समाचारहरू पनि हामीले पढेका छौं । स्थानीय तह, समाज र शिक्षकहरूको सहकार्य र प्रयासबाट त्यो सम्भव भएको देखिएको छ । यस्ता राम्रा उदाहरणहरू अन्यत्र पनि अनुशरण गर्न सकिन्छ । गुरूहरूलाई ब्रम्हा, विष्णु, महेश्वरको पगरी पाउन लायक बनाउनु पर्छ । गुरूलाई देउता र विद्यालयलाई मन्दिर मुखले भन्ने मात्र हैन मनले मान्ने परिपाटी बनाउने कानुन आओस् भन्ने मेरो कामना छ ।

शिक्षकहरूले तीन दिन माइतीघर मण्डला र नयाँ बानेश्वर क्षेत्रमा देखाएको सक्रियता कक्षा कोठमा देखाए भने सुधारको लागि धेरै दिन कुर्नु पनि नपर्ला पनि ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *