श्रद्धेय प्रदीप गिरि अनन्त यात्रामा निस्कनु भयो (२०७९ भदौ ४ गते राति ९:३०) । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्छु । परिवारजन, नेपाली कांग्रेस परिवार र समस्त शुभचिन्तकहरूप्रति समवेदना ! राष्ट्रले नै प्रखर विद्वान, गहन चिन्तक र मुखर व्यक्तित्व गुमाएको छ । म पनि पत्रिकामा र टेलिभिजनमा उहाँलाई भरसक छुटाउँदिन थिएँ । अब अखबारको पाता र टेलिभिजनको पर्दा मेरा लागि पनि केही अधुरो र अपूरो पक्कै हुनेछ । संसद पनि अब चोटिलो आवाज नपाएर सुनसान हुनेछ । तैपनि विधिको मानिने यस विधानप्रति मेरो भन्नु केही छैन । सबै पालोमा लामबद्ध छौं । उसो त इहलोक र परलोक अनि आत्मा र परमात्मावाला कुराप्रति मलाई उति विश्वास छैन (मेरो जानकारी अनुसार उहाँमा पनि थिएन) । यदि त्यो सत्य हो भने उहाँ जहाँ पुग्नु हुनेछ, त्यो असल ठाउँ नै हुनेछ भन्ने मलाई विश्वास छ । मृत्युमाथि हाकाहाकी बहस गर्न सक्ने र जीवनको अन्त्य हैन, अन्तिम पन्ना मात्र मान्ने उहाँले मृत्युलाई पनि सहज वरण गर्नुभयो होला भनेर आफ्नो मनलाई केही आश्वस्त पार्न समेत खोज्दैछु ।
मैले उहाँलाई दुईतीन पटक प्रत्यक्षरूपले देख्न र सुन्न पाएको थिएँ । त्यही अवसरमा मेरो मनमा उहाँको नमेटिने छाप परेको थियो । उहाँको देहावसान भए पनि मेरो मन मष्तिष्कमा उहाँ जीवित नै रहनुहुनेछ । शोकको यस घडीमा म तिनै सम्झनाका पलहरूलाई उहाँप्रतिको श्रद्धाञ्जलिको रुपमा पस्किने जमर्को गर्दैछु ।
प्रसङ्ग – १
२०५२ सालमा मेरो विराटनगर सरूवा भयो र म विराटनगर गएँ । त्यो समयमा विराटनगरमा पत्रिका नै आजको भोलिजस्तो पुग्थ्यो । काठमाडौंभन्दा पूर्वमा भए पनि विराटनगर काठमाडौंभन्दा एक दिन नै ढिलो थियो । कर्मचारी भए पनि राजनीतिक नेताहरूको भाषण सुन्न विदाको दिन खुलामञ्च जाने बानी परेको मलाई विराटनगर सुनसान सहर जस्तो लाग्यो । नेताहरू आउने जाने र भाषण गर्ने क्रम काठमाडौंको तुलनामा विराटनगरमा निकै कम थियो । त्यसै गरी समय बितिरहेको समयमा मोरङ उद्योग वाणिज्य संघको सभाकक्षमा एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो । त्यस कार्यक्रममा नेकपा (एमाले) का सीपी मैनाली र नेपाली कांग्रेसका प्रदीप गिरि आमन्त्रित हुनुहुन्थ्यो । मैले प्रदीप गिरिलाई देखेको र सुनेको सायद त्यही पहिलो अवसर थियो ।
एमाले र कांग्रेसका बीच तीव्र राजनीतिक प्रतिस्पर्धा भइरहेको अवस्थामा मञ्चमा सँगै बसेका यी नेताले के भन्लान् भन्ने मेरो मनमा कौतुहल थियो । प्रदीप गिरिले शानदार इनिङ गर्नुभयो– अब हामीले जनतालाई सार्वभौम बनायौं, जननिर्वाचित सरकार हुने व्यवस्था मिलायौं । नेपाली जनताले झेल्नु परेको अभाव, गरिबी, अशिक्षा, विभेद नै हाम्रो साझा शत्रु हो । कम्युनिष्टहरू प्रमुख शत्रु खोज्न थाल्छन् अनि यो दल वा त्यो दललाई प्रमुख शत्रुको बिल्ला भिराइदिन्छन् । हामी एक आपसमा शत्रुको घोषणा गरेर भिड्ने हो भने यो साझा शत्रुको विरूद्ध कहिले लड्ने, कसले लड्ने ? उहाँले यस्तै आशय व्यक्त गरेर दर्शकको मन जित्नु भयो । म पनि एक दर्शक नै त थिएँ । यति मात्र होइन, नेपाली समाजमा रहेका चलनचाँजो, गाली, सराप र लोकवार्तामा रहेका चेतनाको अभावका प्रभावहरू उदाहरणका साथ प्रस्तुत गरेर उहाँ नेपाली समाज र जनजीवनसँग निकै नजिक हुनुभएको समेत प्रमाण दिनुभयो ।
त्यही वेला उहाँले भन्नु भएको एउटा किस्सा पनि सम्झनामा आइरहेको छ । त्यो वेला शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको थियो, एमालेको नौ महिने सरकारलाई अविश्वासको प्रस्तावबाट हटाएर । दलभित्रैको खिचातानीका कारण सरकारले प्रभावकारी ढङ्गले काम गर्न सकेको थिएन । एमालेको प्रभावकारी सरकारको छायाँमा परेको थियो, देउवा सरकार । उहाँले भन्नु भयो- संसदमा २०५ जना सदस्य छन् । सबै मन्त्री बन्न चाहन्छन् । सबैलाई मन्त्री बनाउन सम्भव छैन । नबनाए उनीहरूले फेरि विरोध गर्न पनि बेर छैन । तपाईंहरू देउवाले काम गरेनन् भन्नुहुन्छ । देउवाले तिनै सांसदलाई अल्मल्याउने काम गरिरहनु भएको छ । यो सानो काम छ ? (पाठकहरू जानकार नै हुनुहुन्छ, सम्झनाका आधारमा लेखिएको यस लेखमा शब्द सम्झन सकिएको छैन, आशय छल्न खोजिएको छैन) । एकछिन रमाइलो भयो । तर विडम्बना, अहिले उहाँको निधन हुँदाका बखत पनि प्रधानमन्त्री उनै शेरबहादुर हुनुहुन्छ र त्यस वेला नेपालको राजनीतिमा सुरू भएको संख्यातन्त्र झ्याङ्गिएर राजनीतिलाई नै छोपिसकेको छ । त्यो वेलादेखि अहिलेसम्म नै प्रधानमन्त्रीको काम संसदको संख्या मिलाउनुमा नै सीमित भएको छ । आफ्नै पार्टी, नेता र सरकारलाई पनि आलोचना गर्नसक्ने बौद्धिक क्षमता र नैतिक बल उहाँमा थियो ।
उहाँ नेपाली काँग्रेसभित्रका समाजवादी विचारमा विश्वास गर्ने विद्वान हुनुहुँदो रहेछ । नेपाली कांग्रेसमा खुला बजार अर्थतन्त्रमा विश्वास गर्ने र समाजवादी अर्थतन्त्रमा विश्वास गर्ने दुई धारका चिन्तक छन् । प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने नेपाली कांग्रेसमा समाजवादमा विश्वास गर्ने चिन्तक हुनु स्वभाविकै हो पनि । शास्त्रीय रूपमा गैरकम्युनिस्ट मार्क्सवादी धारको अस्तित्वलाई स्वीकार गर्नैपर्छ पनि । बरू बजार अर्थतन्त्रलाई अन्धाधुन्ध अनुकरण गर्ने ‘मिमिक्री अर्थशास्त्री’ नेपाली कांग्रेसमा कसरी भित्रिए, त्यो चैं विचारणीय छ । गिरिको त्यो रूझानका कारण त्यस कार्यक्रमका अर्का वक्ता सीपी मैनालीले खासै फरक मत राख्नु पनि परेन । जनताको बहुदलीय जनवाद प्रजातान्त्रिक समाजवादभन्दा तात्विकरूपमा फरक पनि त थिएन । तर समय बित्दै जाँदा न नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादमा प्रतिबद्ध देखियो, न एमाले बहुदलीय जनवादमा। बस् खाओवाद हाबी भयो । पजेरो संस्कृति भित्रियो, सुरा–सुन्दरीको खेल भयो, रातारात सांसदलाई विदेश भगाइन थालियो । सैद्धान्तिक मियो उखेलिएका कारण दुवै पार्टीले कुशलतापूर्वक शासनको दाइँ गर्न सकेनन् अनि माओवादीको ‘जनयुद्ध’ रूपी हावामा उड्न पुगे। त्यसपछि कथा कता पुग्यो सबैलाई थाहा छँदैछ ।
पच्चीस वर्षभन्दा अगाडिको त्यो कार्यक्रमको पूरा विवरण त म सम्झन सक्दिन । माथि मैले प्रदीप गिरिले भन्नु भएको भनेर मैले लेखेका शब्द मेरा नै हुन्, उहाँको भाव भने त्यस्तै थियो भन्ने मलाई लागिरहेको छ । त्यो कार्यक्रमपछि उहाँप्रति मेरो मनमा सम्मान उर्लियो । मैले सञ्चारमाध्यममा उहाँलाई पछ्याउन सुरू गरें ।
प्रसङ्ग – २
२०५२ सालमा नै एम. ए. प्रथम श्रेणीमा उत्तीर्ण गरे पनि विराटनगरमा बसोबास भएका कारण दीक्षान्त समारोहमा सहभागी हुन पाएको थिइन । २०७५ सालमा एलएल. बी. गरेपछि दीक्षान्त समारोहमा सरीक हुन मन लाग्यो । बसाइ काठमाडौंमा नै थियो, जागिरबाट अवकाश पाएकाले फुर्सद पनि । दीक्षान्त समारोहमा सरीक हुन सपरिवार पुल्चोक गएँ । सोही मेसोमा भेटिनुभएका बमबहादुर मिश्र (हाल डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक) ले एउटा टिकट देखाउँदै नाटक हेर्न जाने दाइ, जाने भए जानु है, म भ्याउँदिन भन्नुभयो । एक हजारको टिकट फोकटमा पाउँदा किन नजानु ?
त्यो २०७६ सालको पुस ३ गतेको दिन थियो जस्तो लाग्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको हल खचाखच थियो । नेकपाको सांस्कृतिक विभागले नाटकको आयोजना गरेको थियो जस्तो लाग्छ । अमेरिकी इतिहासकार होवार्ड जिनको कृति ‘मार्क्स इन सोहो’ लाई नेपालीमा नाट्य रूपान्तर गरेर ‘मार्क्स फर्किए…’ शीर्षकमा नाटक देखाइएको रहेछ ।
नाटक सुरू हुनुभन्दा अघि नाटकको भावभूमिबारेमा बताउन प्रदीप गिरि मञ्चमा आउनु भयो । यो पटक उहाँ अलि रसिक शैलीमा प्रस्तुत हुनुभयो । तर मार्क्सवादको सटीक व्याख्यामा उहाँ चुक्नुभएन । कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्ससँग सम्बन्धित नाटकमा पूर्वकथनका लागि नेपाली कांग्रेसका प्रदीप गिरिलाई निमन्त्रणा गर्नुका कारण दलीय सद्भाव हो जस्तो मलाई लाग्दैन । मार्क्सवादका तन्तुलाई पक्डन सक्ने उहाँको अध्ययन र अध्ययनका आधारमा विश्लेषण र निष्कर्षण गर्न सक्ने प्रखर क्षमताले नै उहाँलाई त्यहाँ पुर्याएको थियो । नाटक हेर्न आउने विभिन्न वर्ग र विचारका मानिस सहमत हुनसक्ने गरी मार्क्स र मार्क्सवादको व्याख्या गर्नसक्ने उपयुक्त पात्र सायद उहाँ नै हुनुहुन्थ्यो । उहाँ समकालीन नेपालका उम्दा मार्क्सवादी दर्शनको प्रखर अध्येता र व्याख्याता हुनुहुन्थ्यो ।
प्रसङ्ग – ३
उदयपुरको कटारीमा बसोबास गर्नुहुने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर सिंह राउतको निधनको शोकसभामा म उपस्थित थिएँ । यो २०७६ साल फागुनतिरको कुरो हुनुपर्छ । यस सभामा प्रदीप गिरि पनि वक्ताको रूपमा आमन्त्रित हुनुहुन्थ्यो । शोकसभा उचित मन्तव्य राख्नुभयो जस्तो लाग्छ, विशेष कुरा सम्झन्न । तर त्यसै समारोहमा लामो समयदेखि सम्पर्कमा नरहनु भएका मेरा साथी बालकृष्ण भट्टराई भेटिनु भयो । उहाँ प्रदीप गिरिको निकट हुनुहुँदो रहेछ ।
कार्यक्रमपछि प्रदीप गिरिसँग फोटो खिचाउनेहरूको भीड जस्तै भयो । डाक्टरलाई भेट्न उहाँले लिनुभएको समय निकै बितिसकेको जानकारी बालकृष्णजीले अघि नै दिइसक्नु भएको थियो । म भने दोहोर्याएर भेट्दा अपरिचित मानिससँग फोटो खिच्नुको औचित्य फेला पार्न नसकेर उसै उभिइरहेको थिएँ । यसै व्यस्तताका बीचमा बालकृष्णजीले उहाँसँग स्कुलको सहपाठीको रूपमा मेरो परिचय गराइदिनु भयो । नमस्कार गरें । हतारका कारण होला, उहाँले अलि झर्कोफर्को गरेको हो कि जस्तो पनि मानें । तर पूरा कुरा नबुझेको र आफ्नो सरोकार पनि नभएकोले मैले उति वास्ता गर्नु पनि परेन । मैले उहाँलाई प्रत्यक्ष भेट्ने मौका चाहिं त्यो नै पहिलाे र अन्तिम पटक भयो ।
प्रदीप गिरिका कति अन्तर्वाता पढिए, कति टेलिभिजन कार्यक्रम हेरिए त्यसको वर्णन न यो लेखको उद्देश्य हो, न यो सानो लेखमा सम्भव छ । उहाँको विद्वता, सुझबुझ, देश र समाजलाई योगदान, वक्तृत्व क्षमताका बारेमा मैले केही लेख्न खोज्नु अनाधिकार चेष्टा हुनेछ । उहाँ प्रतिनिधिसभाका सदस्य र नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो तर उहाँको टाउकाको लागि ती पगरी साना हुन् जस्तो लागिरहन्छ । बालकृष्णजीसँग गफ हुँदा उहाँको कुरा पनि हुन्थ्यो । यसैबीच उहाँ बिरामी पर्नुभयो । उपचारपछि निको हुनुहोला भन्ने आशा र कामना गरिरहेको अवस्थामा उहाँलाई रोगले पुनः च्यापेको खबर आयो । यसरी हामी सबैलाई स्तब्ध बनाएर अनपेक्षित समयमा नै उहाँ जानु भयो ।
अब समकालीन नेपाली राजनीति, पूर्वीय र पाश्चात्य दर्शन र अर्थसामाजिक विषयमाथिकाे विमर्श उहाँको अनुपस्थितिले ओजविहीन हुनेछ । राजनीतिमा गणेश प्रवृत्ति बलशाली बनेको यस अँध्यारो समयमा आफ्नै पार्टीका गलत कृत्यको विरोध गर्ने स्वतन्त्रता पाउने र त्यसको उपयोग गर्न सक्ने प्रदीप गिरिजस्तो राजनीतिज्ञ पाउन मुस्किल छ । संवेदनशील, प्रखर र मुखर प्रवृत्तिको यो त्रिवेणी अस्ताउँदा नेपाललाई अपूरणीय क्षति भएको छ । सुदूर भविष्यमा समेत उहाँको ठाउँ लिने सामर्थ्य बिरलाकोटिमा नै पाइएला ।
सार्थक जीवन र गरिमामय महाप्रस्थानका लागि श्रद्धेय गिरि बधाईका पात्र हुनुहुन्छ । तर के यो त्यसका लागि उचित समय हो र ?
हार्दिक श्रद्धाञ्जलि !!!
