घर कहाँ प¥यो ?

‘अनि केदारजी, तपाईंको घर चाहिँ कहाँ प¥यो नि ?’ घर ठेगानाबिनाको मेरो परिचय पाएपछि धेरैजसो मानिस मसँग यो प्रश्न गर्छन् । घर ठेगानाबिनाको परिचय कसैलाई पनि अधुरो लाग्नु स्वभाविकै हो । त्यसैले घरको बारेमा जानकारीको आवश्यकता प्रश्न बनेर मेरो सामु आइपुग्छ । मानिसको घर ठेगाना अरुको पनि सरोकारको विषय रहेछ ।उदयपुर जिल्लाको नेपालटारमा म जन्में, त्यहीँ हुर्के । त्यही ठाउँ नै मेरो घर ठेगाना हो । काम र मामको खोजीमा नेपालटार छोडेर २५ वर्षअघि हिडेपछि म जहाँजहाँ पुगे पनि मेरो घर ठेगाना त्यहीँ बताएँ । नागरिकताको प्रमाणपत्र पनि त त्यहीबाट लिएको थिएँ । जहाँ पुगे र जे काम गरे पनि म सोच्थेँ पछि नेपालटार नै जान्छु, त्यहीं बस्छु । तर अहिले बुढेसकाल नेपालटारमा बिताइएला जस्तो लाग्न छोडेको छ । छुट्टपुट्ट भएकाले आफ्नो घर पनि त्यहाँ छैन । आमा हुनुहुन्छ, त्यसैले चाडबाडमा जान्छु । नेपालटार अहिले घर होइन तीर्थ भएको छ । डेरालाई त के स्थायी ठेगाना भन्नु र ? यसरी मेरो घर र स्थायी ठेगाना हराएको छ ।त्यसैले होला नेपालटार घर बताउन र आफ्नो स्थायी ठेगाना नेपालटार लेख्न धक लाग्न थालेको छ । अनि परिचय दिँदा घर ठेगाना बताउन छोडेको छु, नाम काम बतायो, भइहाल्यो ।मानिसको ठेगाना उसको परिचयको एउटा आधार हो । अमूक स्थानमा जन्मेहुर्केका कारणले मानिसमा अमूक संस्कार,

कपट कला

कपट मानिसमात्रको अधिकारको कुरा हो । मूक बोट बिरुवाको बारेमा त के कुरा गर्नु ? कुनै पशु वा पंक्षीले पनि झुठ बोलेको मलाई थाहा छैन । मानिसले कपट कलामा अधिकार पाएको भाषिक क्षमताको कारणले नै होला । हुन त अरु जनावर पनि सञ्चारका लागि केही ध्वनिको प्रयोग गर्दछन् तर कहाँ मानिसले प्रयोग गर्ने भाषाको क्षमता, कहाँ ती जनावरले प्रयोग गर्ने ध्वनिको सीमितता ? निश्चित वातावरणमा निश्चित ध्वनि प्रयोग गरी निश्चित खबर आफ्ना साथीहरुलाई सूचित गर्नका लागि ती बाध्य छन्, कसैले मनमौजी कुनै आवाज निकाल्न सक्दैन । मौरीले पूmलबारी देखेको बेलामा मात्र घारमा फर्केर नाच्न सक्छ, कागले संकटमा मात्र ‘कागकाग’ गरी कराएर साथी जम्मा पार्न सक्छ । कुखुराको भालेले पनि विहानीपख मात्र ‘कुखुरी काँ’ गरी कुखुरीलाई ‘प्रेमपत्र’ पठाउँछ । यसैगरी अरु प्राणीले पनि प्रणय ध्वनि निश्चित समयमा मात्र निकाल्न सक्छन्, सँधै प्रेम प्रकट गर्न सक्दैनन् । न नक्कली प्रेम, न नक्कली खुशी, न नक्कली दुःख, न नक्कली डर जनावरले केही प्रकट गर्न सक्दैनन् । उनीहरुसँग भाषा होइन, स्वस्फूर्त ध्वनि संकेतको व्यवस्था मात्र भएकाले होला उनीहरु अरुलाई झुक्याउने सामथ्र्य राख्दैनन्, झुक्याउँदैनन् । बरु मानिसहरु जनावरको नक्कली आवाज निकालेर उनीहरुलाई झुक्याउँछन् । स्यालमाराले स्यालको नक्कली आवाज निकालेर स्याल बोलाएर मारेको दृष्टान्त हामीसँग छँदैछन् ।मानिसको अभिव्यक्ति क्षमता असीमित छ, ऊसँग भाषा जो छ ।

मक्किएको जरा

मलाई नेपालटार जाने अवसर त्यति मिल्दैन । आफ्नो जन्मभूमिमा पाइला राख्न पनि मलाई साइत जुर्नु पर्छ । काठमाडौंको छक्क र दिक्कलाग्दो बेफुर्सदीले गर्दा त्यहाँ जान दसैँ वा त्यस्तै कुनै लामो विदा पर्खनु पर्छ, कि कुनै जरुरी काम पर्नुपर्छ । जरुरी काम परे जान्छु भन्ने मेरो धारणा मात्र हो, म त्यसरी गएको छैन । जरुरी कामका लागि काठमाडौं बसेको मानिसको नेपालटारमा के महत्व ? जरुरी कामका लागि त नजिकमा रहेका मानिस नै महत्वपूर्ण हुन्छन् । ‘टाढाको देउता र नजिकको भूत’ भन्ने उखान त्यसै चलेको हो र ? फेरि, जरुरी कामले त गाउँबाट मानिस काठमाडौं पो आउने हो त ! ठुला ठुला अड्डा अदालत यहीँ छन्, अस्पताल यहीँ छन् । जरुरी परेर नै भनौँ, आमा बिरामी पर्नुहुँदा भने म एक पटक नेपालटार पुगेको थिएँ । म पुग्दा उहाँ सञ्चो भइसक्नु भएको थियो । त्यसैले आमालाई पनि बिरामी परेको बेला मलाई बोलाउनु भन्दा आफैँ म बसेको ठाउँमा आउनु जाती भनी अर्ती दिएर फर्कें । हो बिरामी भएर मलाई खबर गरेपछि उहाँ मलाई कुरेर बस्न सक्नुहुन्छ तर रोगमा त्यति धैर्य नहुन पनि सक्छ । आखिर औषधि गर्न सहर आइहाल्नु पर्छ । गाउँको स्वास्थ्य चौकीमा गए पनि मसँग भएको यही हो भनी १,२ चक्की औषधि दिएर सहरको बाटो नै देखाइदिने हुन् । यसरी आफ्नो बाध्यताले

आफ्नो दियालो, आफ्नै उज्यालो

किन लेख्नु पर्‍यो यो ? म उदयपुर जिल्लाको नेपालटारमा जन्में, त्यहीं हुर्कें। उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढें। एस. एल. सी. पास गरेपछि केही समय प्राथमिक विद्यालय, जगरेटार; पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा पढाउने काम गरें । शिक्षकको जागिर खोज्न रसुवा जिल्लाको सिमबन्दी पनि पुगें । त्यहाँको कठिन भौगोलिक र फरक सांस्कृतिक परिवेशमा करिब ५ महिना काम गरें। रसुवामा रहँदै लोक सेवा आयोगको परीक्षा पास गरेर सहलेखापालको नियुक्ति लिन सिन्धुपाल्चोकको चौतारा पुगें र जिल्ला प्रशासन कार्यालयको सहलेखापालको रूपमा करिब १८ महिना काम गरें। नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको लागि दिएको परीक्षा पास गरेपछि म तत्कालीन श्री ५ को सरकारको सेवाबाट राजीनामा दिएर काठमाडौंमा रहेको नेपाल राष्ट्र बैंकमा आएँ। सुरूका आठ र अन्तिमका चार वर्ष काठमाडौंमा र बाँकी १८ वर्ष विराटनगरमा बसी बैंकको सेवा गरेपछि २०७४ सालमा अवकाश पाएँ। अवकाशपछि पनि एउटा निकायमा केही समय काम गर्ने मौका पाएको थिएँ। आई. ए. मैले प्राइभेट विद्यार्थीको रूपमा उत्तीर्ण गरें। बी. ए. र एम. ए. तहको अध्ययन भने नेपाल राष्ट्र बैंकमा सेवारत हुँदा नै नियमित विद्यार्थीको रूपमा पूरा गरें। अवकाश हुने समयमा एल. एल. बी. पनि पढ्न जाँगर चल्यो र पूरा पनि गरें। मैले निकै साँघुरो परिवेशमा रहेर आफ्नो उन्नतिका लागि प्रयास गरें। मेरो कुनै विशिष्ट

खाली आकाश

केही जान्ने, केही सिक्ने र केही बुझ्ने जिज्ञासाभन्दा पनि समय कटाउने बाहानाको रूपमा एउटा किताब पढ्दै थिएँ । किताब थियो भिक्टर फ्र्याङ्कलले लेखेको ‘द सर्च फर मिनिङ’ । अंग्रेजी किताब, नेपालीको विद्यार्थी । घोर जङ्गलमा पसेको अनुभूति भइरहेको थियो । कति शब्द अपरिचित थिए, कति वाक्य संरचना । कतिपय विषयलाई आफ्नै तालले बुझ्दै, कति बुझेजस्तो गर्दै र कतिपय कुरा नबुझ्दै पाना पल्टाइरहेको थिएँ । एउटा मनोवैज्ञानिक सिद्धान्तका प्रणेता अनि नाजी शासनको ज्यादती भोगेका डाक्टरको लेखाइले एउटा मोहनी त लगाइरहेकै थियो । मन पर्न कुरो बुझ्नु पर्दैन पनि त ! एउटा हिन्दी गीत छ- न मैले तिमीले भनेको बुझे, न जानें, तैपनि तिमीले भनेको कुरो सुनेर मलाई खुशी लागिरहेको छ (न मैं समझा, न मै जाना, जो भी तुमने मुझ से कहा है सेनोरिटा, मगर फिर भी मुझे सुनके अच्छा लगा है सेनोरिटा) । किताबको पानाहरूको माध्यमबाट म एउटा अज्ञाततर्फको यात्रामा थिएँ । तन्द्राजस्तो मनस्थिति थियो मेरो । अलिअलि थाहा पनि छ, धेरै थाहा छैन पनि । तैपनि तानिएको छु, तानिइरहेको छु । नेपाली किताब त एक पटक पढेर बुझिन्न, गहन अर्थ र अन्तर्य जान्न सकिन्न भने अंग्रेजी किताब किन एकै पढाइमा बुझिनु पर्‍यो त ! यही सोचका साथ म अंग्रेजी किताब पढ्न थालेको छु । दोस्रो विश्वयुद्धताकाको जर्मनी, यहुदीहरूलाई कैद

संसारीको मन्दिरयात्रा

‘पर्सि शनिवार पशुपति जानुपर्छ ।‘ कहिलेकाहीँ यस्तो प्रस्ताव आउँछ । जागिरबाट अवकाश भएपछि सबै दिन शनिवारसरह नै हुन् । तर कहिले कतै सम्बद्ध भएका कारण मेरै फुर्सद नहुने, कहिले छोराहरूको कारण बिहान फुर्सद नहुने हुनाले पशुपति जाने दिन अक्सर शनिवार नै जुर्छ । ‘भैहाल्छ नि !’ नेपालकै आराध्य देव, देवाधिदेव महादेव, मैले फरक मत राख्नुपर्ने के हुन्छ र । फरक मतका आधार र कारण भए पनि तिनलाई एउटा कुनामा थन्क्याएर म तयार हुन्छु । तयार हुनु भनेको के हो र ? दुई जग मनतातो पानी टाउकोबाट खन्याउनु । धोएका तर धोएपछि नलाएका लुगा लगाउनु । ‘खुद्रा पैसा पनि ठिक पार्नु है ।‘ तयारीको अर्को बुँदा आइलाग्छ । यो काम उनैले गरेको भए पनि हुने नि । किनमेल गर्दा आएको खुद्रा जम्मा पारेर राखे भै हाल्छ नि । फेरि कति पो चाहिने हो र ! देउताकहाँ जाँदा हात खाली नगर्ने मेलो त होला नि यो । नेपाल राष्ट्र बैंकमा जागिर खाएपछि आइलागेको खुद्रा व्यवस्थापनको व्यक्तिगत, पारिवारिक, नातागोता र सामाजिक जिम्मेवारीको धङधङी अझै कायम छ । ‘भैहाल्छ नि ।‘ यो सानो कुरोका लागि किन यति बेलिबिस्तार लगाउनु ? ‘कति हो खुद्रा भनेको ?’ मेरो मनले सोध्छ । म सानो छँदा १, २ खुद्रा मानिन्थ्यो । अहिलो १०, २० खुद्रा मानिन्छ । मानिन्छ

बोट, रूख र लहरा

आजको संसारमा आध्यात्मिक चेतना र विज्ञानको तीव्र विकास भएको छ । सनातन मानिएको हिन्दू धर्मको स्थापना आजभन्दा करिब ५,००० वर्षअघि भएको मानिन्छ । त्यसछि बुद्ध, यहुदी, ईसाइ, इस्लाम आदि धर्मको प्रादुर्भाव भयो । आज पनि धर्म पहिचानको आधार हो । विभिन्न धर्मसँग सम्बन्धित धर्मग्रन्थको व्याख्या, विवेना र पुष्ट्याइँ आज पनि चालु छ । धर्मले राजनीति, समाज व्यवस्था र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । आज पनि धार्मिक स्थान र क्रियाकलापले मानिसलाई आकर्षित  गरिरहेका छन् । मानिसलाई धेरै प्रभावित पार्ने मुख्य विषय आज पनि धर्म नै रहेको छ । युरोपमा पुनर्जागरणकालबाट सुरू भएको आधुनिक विज्ञान पनि आज विकासको उत्कर्षमा पुगेको छ । खगोल, रसायन, चिकित्सा र मनोविज्ञान, भौतिक विज्ञान जस्ता अनेक शाखामा विज्ञानको प्रगति अवर्णनीय छ । संसारमा मावनजातिले शासन चलाउनु र मानव जीवन पहिलाभन्दा सरल र सुखद हुनुको मुख्य कारण विज्ञान र प्रविधिको विकास नै हो । आधुनिक विज्ञानको विकास धर्मको उद्भवभन्दा पछि भयो । अझ ईशाई धर्म स्थापनाको १६०० वर्षसम्म त युरोप पूरै अन्कार युगमा बाँच्यो । ईशाई धर्मका स्थापनाहरूको सत्यापनको क्रममा विकास भएको विज्ञानले धर्मका कतिपय मान्यताको खण्डन गरेको छ । विज्ञान तथ्य र प्रमाणमा आधारित विषय भएकाले यसको निष्कर्षलाई प्रामाणिक मान्नुपर्ने हो तर विज्ञानले दिएका निष्कर्षलाई धर्मले संयोजन गर्न मानेको छैन । कतिपय धार्मिक मान्यता विज्ञानको कसीमा घोट्न

अँध्यारा दिनहरू

आज बिहान म उठ्दा पानी परिरहेको रहेछ । केही हप्ताबाट नै दिन धुम्मिएको छ । शायद प्रिमनसुनको समय भएर होला । वैशाखको महिनामा पनि चिसो महसुस भइरहेको छ । अझै घाम ताप्‍न मन लाग्छ । तर घाम उति लागिरहेको छैन । दिन नै अँध्यारो लागिरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरले ल्याएको त्रासदीको कारण मन पनि धुम्मिएको नै छ । हालसम्म आफू स्वस्थ नै रहे पनि आफन्त र चिनजानका मानिसहरू संक्रमणको चपेटामा छन् । तिनको चिन्ताले मनलाई जकडेर राखेको छ । आफैंलाई भोलि केही होला कि भन्ने त्रासले मनमा डेरा जमाएको मात्र हैन, घर नै बनाएको छ । मन पनि अँध्यारै छ, अहिले । हुन पनि कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा बढी भयावह देखियो । पहिलो लहरमा संक्रमण कम थियो, अस्पतालमा भर्नाको सुविधा थियो । निःशुल्क जाँचको व्यवस्था थियो । सरकारले नै उपचार गरेको थियो । कुनै समुदायमा कोरोना देखियो भने सरकारी स्वास्थ्य टोली गएर आवश्यक सेवा दिएका थिए । मृत्युदर कम थियो । सामान्यतयाः कुनै दीर्घरोग नभएका तन्नेरीहरूको ज्यान कोरोनाले लिन सकेको थिएन । मानिसमा निकै त्रास भएका कारण सुरक्षाका मापदण्डको पालना पनि अपेक्षाकृत राम्ररी भएको थियो । लकडाउन पनि दुई चरणमा लामो समयसम्म लगाइयो । त्यसैले कोरोनाको पहिलो लहरमा जनधनको क्षति कमै भयो भन्न सकिन्छ । कोरोनाको दोस्रो

कोरोना सँगसँगै

२०७६ सालको चैत ११ बाट सुरू भएको लकडाउन आजका दिनसम्म पनि जारी छ । कोरोना सुरू भएको चीनको बुहानमा लकडाउन खुला भयो । त्यसपछि कोरोनाबाट आक्रान्त भएको युरोपले पनि लकडाउनलाई खुकुलो बनाइसकेको छ । अमेरिका, कोरिया, सिंगापुर र केही युरोपेली देशहरूले भने लकडाउन विना नै कोरोना नियन्त्रण गरे । भारतमा पनि लकडाउन जारी छ तर यही जुन १ (जेठ १९) बाट आर्थिक कारोबारलाई अलि सजिलो पारिएको छ । नेपालमा पनि जेठ १८ गते म्याद थपिएको आठौं चरणको लकडाउन (२०७७ जेठ २१-३२) को स्वरूपमा केही परिवर्तन गरिने कुरा थियो तर अहिलेसम्म कुनै खबर पाउन सकिएको छैन । लकडाउन घोषणा गरिएसँगै अन्तर्राष्ट्रिय हवाई यातायात र सीमा बन्द गरियो ।  सीमा बन्द गरिए पनि भारतसँग खुला सिमाना भएको र घर फर्कन चाहने नेपालीलाई रोकिरहन उचित नदेखिएका कारण भारतबाट नेपाल आउनलाई रोक्न सकिएन । स्वदेश फर्कन चाहने हजारौंका लागि क्वारेन्टाइनको उचित व्यवस्थापन हुन सकेन । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणलाई व्यापक बनाउन सकिएन । त्यसैले कोरोना अलि फैलियो पनि । कोरोना संक्रमितका लागि व्यवस्था गरिएका अस्पतालका बेड अब भरिन लागेका छन् ।संक्रमण दर दैनिक करिब २०० मा पुगेको छ र गएको एक सातामा नै संक्रमितको संख्या दोब्बर भई २,३०० पुगिसकेको छ । कोरोनाको कारण हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।

फोक्सोः एक चिन्तन

कोरोना भाइरसको सन्त्रास बढिरहेको अहिलेको समयमा फोक्सो फेरि मेरो मनसचर्चाको ज्वलन्त विषय भएको छ । यस अघि आएका स्वाइन फ्लु, बर्ड फ्लू, सार्स, मार्स जस्तै कोरोना भाइरसले नोक्सान पार्ने मुख्य अङ्ग फोक्सो नै रहेछ । उसो त सबै खाले रूघाखोकीदेखि न्यूमोनिया, ब्रोङ्काइटिस, क्षयरोग र दमले पनि त्यतै घर बनाइरहेका थिए । हामीले पनि धुमपान गरेर त्यहीँ चोट पुर्‍याइरहेका थियौं । कोरोना भाइरसको त आक्रमणको पहिलो केन्द्र नै त्यहीं रहेछ । हामीलाई प्राणवायु दिएर जीवित राख्ने फोक्सोमा नै कोरोना संक्रमणले हानि पुर्‍याउने रहेछ । यो महामारीको पृष्ठभूमिमा म मनमनै मेरो फोक्सोलाई छाम्छु । यो अलि कमजोर छ । सानामा न्युमोनियाले हिर्काएर हो, युवामा चिसोले कठ्याङ्ग्रिएर हो वा समयमै यसमा परेका असरका संकेतलाई बुझी उपचार नगरेर हो, यो सबुत रहेको छैन । अरूले सास लिन सक्ने हावामा पनि यो निस्सासिन्छ । समय समयमा डाक्टरलाई देखाएर र नियमित औषधि लिएर मैले यसबाटै काम चलाइराखेको छु । यो कमजोर भएकाले आफ्नै अन्तप्रेरणाले काम गर्न सक्दैन । यसलाई बाहिरबाट प्रेरणा चाहिन्छ । आज धेरै देशले सीमित सार्वभौमसत्ताको अभ्यास गरिरहेका छन् र बाह्य प्रेरणाले काम गरिरहेका छन् भन्ने सुनेको छु । मेरो फोक्सोले पनि त्यस्तै सीमित सार्वभौमसत्ताको अभ्यास गरेको छ । अलिअलि आफैं सास फेर्छ । अलिअलि बाहिरी प्रभाव पारेर बलजफ्ती सास फेराउनु पर्छ । कहिलेकाहीं