अहिले विश्वकप फुटबल चलिरहेको छ । म पनि यो खेल हेर्छु । अधिकांश खेलहरू राति थिए, केही खेलहरू बिहान । रातिका खेलहरू निद्रा पातलो भएको अवस्थामा मात्र हेरेँ, बिहानका खेलहरू अक्सर हेर्छु । मेरो खेलकुदमा पकड छैन, म कुनै खेल खेल्दिन । तैपनि मलाई विश्वकप फुटबलको यो चारवर्षे मेला छुटाउन मन लाग्दैन । सारा दुनियाँ यही खेलको वरिपरि घुमिरहेको प्रतीत हुन्छ । खेल समाचारमा त यही मेलाको साम्राज्य छ नै, कहिलेकाहीं त मुख्य समाचारको पहिलो पानामा यसैसँग सम्बन्धित समाचारले ठाउँ पाउँछ । त्यसैले पनि होला, यो मेलाबाट बेखबर हुन मलाई पनि मन लाग्दैन । भलै मेरा कदम छोटा हुन्, यसका शक्ति कमजोर हुन् तर विश्वको कदममा कदम मिलाउन त मनले कर गरिहाल्छ नि ! यो विश्वकप फुटबलमा मैले समर्थन गर्नुपर्ने टिम छैन । नेपाल सहभागी भएको छैन । नेपालको खेलकुद क्षेत्र नै अस्तव्यस्त छ । अखिल नेपाल फुटबल संघलाई अन्तर्राष्ट्रिय फुटबल महासंघले निलम्बन गरेको छ । संसारका अरू देशसँग मेरो निकटता हुनुपर्ने के नै छ र ? न म कतै लामो समय बस्ने गरी गएको छु, न अरू कुनै सम्पर्क सम्बन्ध छ । खेलाडीहरूलाई चिन्ने त कुरै भएन । म पत्रिकाको खेलकुद स्तम्भ त खासै नहेर्ने मानिसले खेलाडीबारे के जानकारी हुनु ? त्यसैले म खाली दिमाग लिएर नै खेल हेर्न
