आई. ए. पास गर्ने बित्तिकै दिएको नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको परीक्षा पास भएकाले मेरो खुट्टो भुइँमा थिएन । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल रहेको समयमा नै मैले त्यो परीक्षा पास गरेको थिएँ । सहलेखापालको चार्ज बुझाई जागिरबाट राजीनामा दिएर काठमाडौं प्रस्थान गर्दाको उत्साह अहिले लेख्न नै सक्दिन ।
सहलेखापाल खरिदार तहको पद थियो, म अब राष्ट्र बैंकमा नायव सुब्बा सरहको पदमा जाँदै थिएँ । सहलेखापाल छँदा तलब, दुर्गम भत्ता, लेखाभत्ता गरेर जम्मा नौसय बैसठ्ठी रुपैयाँ पचास पैसा तलब हुन्थ्यो, अब नेपाल राष्ट्र बैंकले त करिब चौध सय रुपैयाँ दिनेवाला थियो । मैले आई. ए. प्राइभेट जाँच दिएर पास गरेको थिएँ । मलाई क्याम्पसको मुख हेर्न मन थियो । त्यसैले सहलेखापाल छँदा नै मैले पढाइलाई अगाडि बढाउन काठमाडौं सरुवा मागेको थिएँ । महालेखा नियन्त्रक कार्यालयका हाकिमले साह्रै नमिठो मुखले मेरो आग्रहलाई तिरस्कार गरेका थिए । अब मेरो त्यो माग शानदार तरिकाले पूरा हुँदै थियो । काठमाडौंमा त गाउँका दाइहरू हुनुहुन्थ्यो, भेट्न पाउँथे, कुरा गर्न पाउँथे । यो अर्को राम्रो कुरा थियो ।
नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीमा हाजिर हुन काठमाडौं आएँ । नियुक्ति त पहिला नै लिएको थिएँ । बरबुझारथ गर्न र राजीनामा दिन बाँकी रहेकोले हाजिर भएको थिइनँ । केन्द्रीय सरकार भन्ने फाँट रहेछ । त्यही काम गर्नुपर्ने भयो । नेपाल सरकारको बैंकिङ कार्यालयमा रहेका केन्द्रीयस्तरका खाताहरूको व्यवस्थापन त्यसले गर्थ्यो । राजस्व जम्मा, निकासा र विदेशी सहायोगको हिसाब त्यहाँ राखिन्थ्यो ।
बिस्तारै सो फाँटका अरू सहकर्मीहरूसँग चिनजान हुन थाल्यो । अधिकांश कर्मचारीहरू अस्थायी रहेछन् । सबैजसोले मास्टर्स गरेका रहेछन् । कीर्तिपुरमा पढ्दाको गफ गर्थे । सबै जसोको काठमाडौंमा घर थियो । दुईतीन जना कर्मचारीहरू भने स्थायी थिए । एक जना रइस बाबुसाहेब पनि थिए, ५५५ चुरोट खान्थे, मोटरसाइकलमा आउजाउ गर्थे । उनलाई भेट्न अरू फाँटबाट साथीहरू आइरहन्थे । कसैले उनको चश्माको चर्चा गर्थे, कसैले कपडाको, कसैले अत्तरको ! त्यतिन्जेलसम्म उनको जग्गा कति छ भन्ने टुङ्गो लागिसकेको थिएन । म छक्क परेर सुनिरहन्थें । पुराना कर्मचारीहरू कि त काठमाडौंकै थिए कि त काठमाडौंमा स्थायी बसोबास गरिसकेका थिए । म भने काठमाडौंमा पाइला टेक्न पाउनुलाई नै सफलता मानिरहेको थिएँ । सहकर्मीहरू र मेरो जीवनशैलीमा कुनै तालमेल थिएन । म त त्यो परिवेशमा अलग्गै ग्रहबाट आएको प्राणीसरह थिएँ ।
प्रधान सहायकको त्यो लटमा हामी ४२ जना नियुक्त भएका थियौं । म ढिलो हाजिर हुन आएको र फरक फाँटमा खटिएको हुनाले सँगै प्रधान सहायकमा नियुक्ति लिएका साथीहरूसँग राम्रो हिमचिम हुन पाएन । जसलाई भेट्थें, जसका बारेमा सुन्थें, एक से एक प्रतिभाशाली र सुपठित पाउँथें । केही महिनापछि आयोजना गरिएको त्यस समूहको पिकनिक कार्यक्रममा साथीहरूलाई चिन्ने मौका पाएँ । पिकनिकमा उनीहरूले आफ्नो योग्यता, प्रतिभा र क्षमता झल्काए, समयक्रममा प्रमाणित गरेर पनि देखाए । तिनीहरूको तुलनामा मसँग न पर्याप्त शैक्षिक योग्यता थियो, न त प्रतिभा र न कलाकारिता !!! म त त्यो समूहमा भएर पनि कतै हराइरहेको थिएँ । मलाई आफू जोकर फाल्टो भएको महसुस भयो ।
वैशाखतिर स्थायी सहायकहरूको नयाँ समूह बैंकमा प्रवेश गर्यो । ती प्रतिस्पर्धात्मक परीक्षा पास गरेर आएका थिए । तीमध्ये अधिकांशले ब्याचलर उत्तीर्ण गरिसकेका रहेछन् । मास्टर्समा अध्ययन गरिरहेका थिए । म भने भरखर आइ. ए. पास गरेको थिएँ । अब ब्याचलरमा भर्ना भएर पढ्न खोजिरहेको थिएँ । सबैले क्याम्पस पढेका थिए । मजस्तो प्राइभेट परीक्षा दिएर पास भएका कोही थिएनन् । पढाइमा ती मभन्दा माथि थिए, पढ्न पाएका मौका मात्र हेर्दा पनि ती मभन्दा बलियो अवस्थामा नै थिए। प्रधान सहायक वा त्योभन्दा माथि वा अगाडिका कर्मचारीहरूको त के कुरा, सहायकहरू नै मेरो अगाडि भारी थिए ।
सहायकहरूको के कुरा गर्नु ? लेजर लेखाबाट भौचर बुझाउन आउने एक जना कार्यालय सहयोगी ब्याचर पढिरहेका रहेछन् । ती मभन्दा पढाइमा सिनियर थिए । काठमाडौंका स्थानीयहरूलाई उपलब्ध अवसर अरूलाई त के उपलब्ध हुन्थ्यो र ? हाम्रोतिर घर नजिकको स्कुलको पढाइ सकेर क्याम्पस जानु एउटा ठुलो फड्को मानिन्छ । काठमाडौंमा त (अरू ठुला सहरमा पनि) स्कुलबाट क्याम्पस जानु वल्लो घरबाट पल्लो घर जानु जस्तो मात्र रहेछ । म आफूलाई पछि परेको मान्न विवश भएँ ।
म गाउँमा रहँदा राम्रा विद्यार्थीमा गनिन्थें । आफ्नो गाउँमा ‘वर्ल्ड फेमस’ थिएँ । चौतारामा पनि युवा वयमा लोक सेवा पास गरेर आएको मेधावी खरिदार नै ठानिएको थिएँ । मेरो परिवेशमा म राम्रै मानिन्थें । तर यहाँ आइपुग्दा त मेरो स्थितिमा आनको तान फरक पर्यो । म कुनै दृष्टिले पनि सफल थिइन । म त त्यो समाजको पिँधमा थिएँ । मेरो सफलताले मलाई यस्तो ठाउँमा पुर्यायो जहाँ मेरो सफलताको कुनै मूल्य थिएन ।
मैले त्यही परिवेशमा जागिर खान थालें । निराशा छोप्न होला, गफाडी भएँ । सबै सहकर्मीको लागि सहयोगी व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गरेर आफ्नो अस्तित्व बचाउने प्रयास गरें । रत्न राज्य कलेजमा बिहान कक्षामा भर्ना भएँ र पढाइ सुरू गरें । पछि कीर्तिपुर क्याम्पसबाट नेपालीमा स्नातकोत्तर पनि गरें । अहिले मलाई लाग्छ, त्यतिवेला म नजानिदो गरी निराशाको खाल्डोमा परेको थिएँ । मैले काठमाडौं आएपछि आफ्नो व्यक्तित्वलाई जसरी र जति विकसित गर्नुपर्ने थियो, त्यति गर्न सकिन । म बिरामी पनि पर्न थालें । म खिइँदै गएको महसुस भयो । मलाई काठमाडौं बस्छु जस्तो लागेन, बस्न सक्छु जस्तो पनि लागेन, टिक्छु जस्तो पनि लागेन । म मैले काठमाडौंलाई आफ्नो वशको कुरा ठान्नै सकिन ।
अरूको नजरमा हेर्दा यसरी र यति निराश हुनुपर्ने कारण देखिदैन थियो । राम्रै जागिर थियो । पढिरहेको थिएँ । तर मेरो मनले मलाई एकदम कमजोर ठानिरहेको थियो । काठमाडौं आउँदा उत्साही भएको मान्छे यो खाल्डमा छिरेपछि भने निराश बने । एउटा सफलताले नै म यो ठाउँमा पुगेको थिएँ तर त्यो सफलताले मलाई निराशाको सुरूङमा धकेलेको थियो । नयाँ वातावरणमा आफूलाई अनुकूलन गर्न मलाई कठिन भयो ।
हामी मानसिकरूपमा विचलित कुनै मानिसलाई त्यस्तो हुनुपर्ने कारण के थियो र भनी प्रश्न गर्छौ । सफलता प्राप्त गरेको मानिस विचलित भएको खबरले आश्चर्यचकित हुन्छौ । अर्ब वा करोडमा कमाइ गर्ने नायक, नायिका, खेलाडी वा अरू पेसा व्यवसायको मानिस मानसिक विचलनको सिकार भएको सुन्दा छक्क पर्छौं । तर परिस्थिति र मनस्थितिका कुरा फरक कुरा रहेछन् । मान्छे जुन अवस्थामा छ, मन त्यही अवस्थामा नहुन सक्छ । त्यसैले कोही अप्ठेरो अवस्थामा पनि उत्साहित देखिन्छन्, कोही सजिलो अवस्थामा पनि निराश । अझ हामी कुन मानसिक अवस्थामा छौं भन्ने हामीलाई वास्तविकरूपमा थाहा नै हुँदो रहेनछ ।
मैले किन त्यो बेला त्यसरी सोचें होला ? निराश हुनुपर्ने खास केही थिएन । सिङ्गो जीवन बाँकी थियो । मैले त्यो वेला अर्कै ढङ्गले सोचेको भए अर्कै जिन्दगी बाँच्थें होला । सायद मैले आफूभन्दा धेरै उमेर र अनुभव भएका मानिससँग आफ्नो तुलना गरें । उसो त, समाज, समुदाय र समूहमा मेरो स्थान कहाँ छ भनी खोजी गर्नु मानिसको स्वभाव नै हो । विश्लेषण र मूल्याङ्कनको आधार नै तुलना हो । मलाई मेरो भने उत्साहमा पुगेको अवरोधले नै निराश बनाएको हो जस्तो पनि लाग्छ । मेरा अघिल्ला सफलताको मूल्य न्यून रहेको बोध भएर म निराशाको अवस्थामा पुगेको पनि हुनसक्छु । यति उक्लेर पनि पहाडको फेदीमै रहेको आभास भयो मलाई ।
काठमाडौंमा रहेर पढाइ एम. ए. सम्म पुर्याएँ । जागिरमा उक्लन र फड्किन सकिन । सुरूमा अधिकृतमा लोक सेवा दिन मेरो योग्यता नै पुगेको थिएन । योग्यता पुगेको केही समय विज्ञापन नै भएन । त्यसपछि मेरो उत्साह पनि सेलायो । जागिरतर्फ मेरो उन्नत र प्रगति सकिए झैं लाग्यो । मैले जन्दगीको यात्रालाई अर्को बाटो दिएँ । म वैवाहिक जीवनमा प्रवेश गरें र विराटनगर पलायन भएँ । विराटनगर पुगेको केही महिनापछि नै जेठो छोरा जन्मियो, केही वर्षको अन्तरालमा अर्को छोरा पनि । घडेरी खोजें, सानो घर बनाएँ । घरपरिवारमा रमाउन सिकें । नयाँ वातावरणमा विस्तारै निराशाको बादल पनि फाट्दै गयो होला जस्तो लाग्छ । कहिलेकाहीं लाग्छ, नियतिले जिन्दगीको उत्तम विकल्पको खोजीकै लागि यो तिकडम गरेको थियो कि !!!!
