मेरा बा र म

छुट्टै अस्तित्वको गर्व मडारिन्छ घरिघरि          

उनको रगत नै बग्छ नसाभित्र सँधैभरी

आनुवंशिक छापहरू बोकेको छु जिउभरी

उनकै चेतना फैलिन्छ सुवासझैं मनैभरी ।

ताते गराई हामीलाई सहारा हाम्रै चाहनु

प्राण दिई सन्तानलाई काखमा आँखा चिम्लिनु

दुःख झेली खुशी दिनु र फेरि केही सुख चाहनु

नियतिको पाङ्ग्रा यस्तो घुम्नु अनि घुमिरनु ।

धूमिल स्मृतिमा छन् अनेक पल स्नेहसिक्त

केही त लागेको थियो होला कि उहाँलाई तिक्त

कति पल डुबे होलान् विस्मृति पोखरीभित्र

फेरि पनि त ताजै छ भावना स्मृति चित्र ।

सधैं छाया सधैं माया भाका फरक परे पनि

खोज्ने प्रगतिको बाटो बाधा अनेक आए पनि

प्रेरणा दिइरहने सधैं साथमा फुर्तिलो बन्ने

सन्तानको हाँसो खोज्न आँखा सधैं ओछ्याउने ।

अतीतको सम्झनामा उहाँको साथ पाउँछु

भोलिका यात्रामा फेरि आशिर्वादको साथ हुन्छु

सँगै कहाँ रहियो र उहाँ उता गएपछि

भेट होला फेरि म नै यताबाट हिँडेपछि ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *