छुट्टै अस्तित्वको गर्व मडारिन्छ घरिघरि
उनको रगत नै बग्छ नसाभित्र सँधैभरी
आनुवंशिक छापहरू बोकेको छु जिउभरी
उनकै चेतना फैलिन्छ सुवासझैं मनैभरी ।
ताते गराई हामीलाई सहारा हाम्रै चाहनु
प्राण दिई सन्तानलाई काखमा आँखा चिम्लिनु
दुःख झेली खुशी दिनु र फेरि केही सुख चाहनु
नियतिको पाङ्ग्रा यस्तो घुम्नु अनि घुमिर‘नु ।
धूमिल स्मृतिमा छन् अनेक पल स्नेहसिक्त
केही त लागेको थियो होला कि उहाँलाई तिक्त
कति पल डुबे होलान् विस्मृति पोखरीभित्र
फेरि पनि त ताजै छ भावना स्मृति चित्र ।
सधैं छाया सधैं माया भाका फरक परे पनि
खोज्ने प्रगतिको बाटो बाधा अनेक आए पनि
प्रेरणा दिइरहने सधैं साथमा फुर्तिलो बन्ने
सन्तानको हाँसो खोज्न आँखा सधैं ओछ्याउने ।
अतीतको सम्झनामा उहाँको साथ पाउँछु
भोलिका यात्रामा फेरि आशिर्वादको साथ हुन्छु
सँगै कहाँ रहियो र उहाँ उता गएपछि
भेट होला फेरि म नै यताबाट हिँडेपछि ।
