नेपालले प्रजातन्त्रको अभ्यास गरेको ३२ वर्ष भइसकेको छ । पञ्चायती व्यवस्थालाई २०४६ सालमा बिदा गरेपछि नेपालमा प्रजातन्त्रको पुनरोदय भएको हो । जब प्रजातन्त्रको बारेमा चर्चा हुन्छ, अब्राहम लिंकनको प्रजातन्त्रको मन्त्रजस्तो परिभाषा सम्झनामा आइहाल्छ- अफ द पिपल, बाइ द पिपल, फर द पिपल । अर्थात्, प्रजातन्त्र भनेको त्यो व्यवस्था र अवस्था हो जहाँ जनताको सरकार हुन्छ, त्यो सरकार जनताबाट चुनाबमार्फत गठित हुन्छ र जनताको हितको लागि काम गर्छ । लिंकनले यो मन्त्र समेटिएको भाषण पेन्सिलभेनियाको गेटिसबर्गमा सन् १८६३ को नोभेम्बर १९ मा दिएका थिए । अमेरिकी गृहयुद्धमा उत्तरी संघीय सेनाले पृथकतावादी दक्षिणी परिसंघीय सेनालाई १८६३ जुलाई १ देखि ३ तारिखसम्म त्यही स्थानमा भएको भीषण युद्धमा पराजित गरेको थियो । सो युद्धमा हताहत भएका सेनाको सम्मानका लागि लिंकन गेटिसबर्ग गएका थिए र सोही समयमा उनले सो मन्तव्य दिएका थिए । उनले आफ्नो भाषणमा अब ती वीरले अघि बढाएर अधुरा छोडेका कामलाई पूरा गर्ने जिम्मेवारी बाँचेकाहरूमा रहने बताएका थिए । त्यस युद्धमा वीरगति हासिल गर्नेहरूबाट उनीहरूको लक्ष्य हासिल गर्ने कुरामा थप प्रेरणा प्राप्त हुने आशय उनको थियो । उनले ती वीरगति प्राप्त भएका मानिसहरूको उत्सर्ग व्यर्थ नजाने बताउँदै अमेरिकाले ईश्वरको अधीनमा स्वतन्त्रताको नयाँ प्रारूपको खोजी गर्ने र जनताबाट आएको, जनताको लागि काम गर्ने, जनताको सरकार यस संसारबाट अलप नहुने उद्घोष गरेका थिए ।
