मेरो पहिलो काठमाडौं भ्रमण


यो २०४२ साल भदौको समय थियो । म उदयपुरगढीमा रहेको श्री पञ्चावती माध्यमिक विद्यालयमा पढाउँथे । मावली दाइ कृष्णप्रसाद दहालको प्रेरणाले मैले लोक सेवा आयोगमा खरिदारको पदमा फारम भरेको थिएँ । कृष्ण दाइले लोक सेवा आयोगको परीक्षा पास गरेर सरकारी जागिर खाएर काठमाडौ बस्नु भएको थियो । शिक्षकबाहेक अरु जागिर खाने उद्देश्य राख्न नसकेका र मौका नदेखेका म जस्ता मानिसलाई उहाँले लोक सेवा आयोगको ढोका अभेद्य होइन भन्ने सन्देश दिएर सरकारी जागिरमा लोभ्याउनु भएको थियो । उहाँले खरिदारमा पहिलो नम्बरमा नाम निकाल्नु भएको थियो र अध्ययन गर्न सुविधा हुन्छ भन्ने ठानी काठमाडौंबाहिर जानु नपर्ने सामान्य प्रशासन मन्त्रालय रोजेर त्यहीं काम गर्नुहुन्थ्यो ।
मैले पनि लोक सेवा आयोगको परीक्षा दिन अब काठमाडौं जानुपर्ने थियो । त्यो मेरो पहिलो काठमाडौं यात्रा थियो । त्यसभन्दा अघि दिवा सेवाको बस चढेको अनुभव थियो । उदयपुर जिल्लाको नेपालटारबाट आठ घण्टा हिँडेर पुगिने लाहान बजारबाट बस चढेर विराटनगर गएको थिएँ । विराटनगरबाट सोनापुर, इटहरी, इनरुवा ओहोरदोहोर गर्दा बस सञ्चालन प्रणालीको बारेमा केही जानकारी पाएको थिएँ । तर त्यो जानकारी दिवा सेवा र छोटो दूरीको बसको लागि मात्र थियो । चढ्यो, पैसा ति¥यो, ओर्लियो । अग्रिम टिकट, सिट बुकिङ र रात्रिबस सेवाका बारेमा केही थाहा थिएन । त्यो समयमा काठमाडौं त रात्रि बस चढेर नै आउनु पथ्र्यो । त्यसैले ती समस्याको समाधानका लागि म राजविराज गएँ ।
बोधकुमारजी (बोधकुमार घिमिरे) राजविराजमा बसेर पढ्दै हुनुुहुन्थ्यो । उहाँले ती सब व्यवस्था गर्ने वचन दिनु भएको थियो । उहाँले कोशी–गुह्येश्वरी (नाम फरक पर्न सक्छ) बसको टिकट काटिदिनु भयो । ाजविराजबाट त्यो समयमा काठमाडौंका लागि सोझो बस सेवा थिएन कि क्या हो ? विराटनगरबाट राजविराज हुँदै काठमाडौ आउने त्यो नाइट बस झमक्क साँझ परेपछि विराटनगरबाट राजविराज आएको थियो । बोधकुमारजीहरु मिलेर बस चढाइदिनुभयो । नौ नम्बरको सिटमा बसेर म काठमाडौका लागि प्रस्थान गरेँ ।
खानाको पैसा तिरिन
बसका यात्रुका लागि लाहानमा खाना खाने व्यवस्था रहेछ । होटलको छेउमा बस रोकियो । बसका सहचालकले कोशी–गुह्येश्वरी बसको खाना खाने यता भनेर पटकपटक कराए । सबै जसो यात्रु ओर्ले । कतिपयले आफ्नै सिटमा घरबाट ल्याएको खानेकुरा खाने तरखर गरे । मसँग त केही थिएन । होटलमा नै खानुथियो । बसबाट तल झरेँ । घर छोडेर बाहिर नहिंडेको कारण खासमा मलाई होटलमा खाना खाने बानी पनि थिएन । लाज जस्तो हिचकिचाहट पनि भइरहेको थियो ।
खान खान बढी समय लगाएँ भने बसले मलाई छोड्ला भन्ने डर मेरो मनमा पस्यो । रात्रिबसको पहिलो यात्रा न थियो । हतारहतार होटलपछाडिको ट्वाइलेट गएँ । कलमा हात मुख धोएँ र खान खान बसेँ । अरु ट्वाइलेट र कलमा लाइन लाग्दालाग्दै म खाना खान तयार भइसकेको थिएँ । होटलका मानिसलाई भ्याइनभ्याई थियो । टेबुलमा पानी राख्ने, खोर्सानी र प्याज राख्ने, खाना पस्कने र राख्ने, माछामासुका बारेमा सोधपुछ गर्ने काम सुरु भइसकेको थियो । म शाकाहारी थिएँ । सादा खानाको लागि अर्डर गरेँ । मैले खाना खाइसक्दा अरु मानिस खान खाने तयारी गर्दै थिए ।
मैले खाना खान सुरु गर्दा काउन्टरमा कोही मानिस बसेको थिएन र खाना खाइसक्दा पनि कोही त्यहाँ आएन । खानाका लागि सह–चालकले अनुरोध गर्नु र खानाको पैसा लिन काउन्टरमा कोही पनि नबस्नुको अर्थ मैले निकाल्न खोजेँ । खानाको पैसा बसको टिकटमा जोडेर लिइएको हुँदो रहेछ त्यसैले सह–चालकले सबैलाई खाना खान अनुरोध गर्दा रहेछन् अनि बसवालाले नै अन्तिममा पैसा तिर्ने हुनाले काउन्टरमा कोही नबसेका होलान् भन्ने अर्थ लगाउन मलाई सजिलो भयो । फेरि पनि यात्रामा खाना खाएको पैसा नतिरेको आरोप लागि बेइज्जत हुनुपर्ने हो कि भन्ने डर पनि मनमा थियो । काउन्टरमा राखेको मिस्री र मसला खाएँ । त्यतिन्जेल पनि काउन्टरमा कोही थिएन । त्यसपछि काउन्टर नजिक तर होटलबाहिर उभिएँ । अझै काउन्टरमा कोही आएन । अनि म बसमा गएर सिटमा बसेँ । म सिटमा बसेको केही समयपछि काउन्टरमा मानिस आए । खाना खाएका मानिसले पैसा तिर्दै गए । यता म भने पैसा नतिरी बसको सिटमा बसिसकेको थिएँ । बसबाट झरेर पैसा तिर्न भने मेरो मनमा रहेको लोभले अनुमति दिएन । काठमाडौं आएपछि यो कथनले निकै हँसायो पनि । सह–चालकको विज्ञापन त कमिसनको खेल रहेछ भन्ने पछि मात्र थाहा पाएँ । खाना बाढ्ने कामको बोझले गर्दा काउन्टरमा बस्ने मानिस पनि खाना बाढ्न खटिएका रहेछन् भन्ने पनि पछि बुझे । यो अज्ञानताले दश रुपियाँ बचायो ।
काठमाडौं त आइपुगियो तर….
बसको गतिसँगै मेरो मनमा आशा र अन्योलको भाव एकपछि अर्को गर्दै दौडिरहेका थिए । काठमाडौं गएर सामान्य प्रशासन मन्त्रालयमा काम गर्नुहुने कृष्ण दाइलाई भेट्नु थियो । उहाँलाई नभेटे होमनाथ खत्रीलाई (भुलबश पहिला दाहाल लेखेको थिएँ, त्यसका लागि क्षमाप्रार्थी छु ।) भेट्नु थियो । सुन्धारा वा बसपार्कमा बसले ओराल्थ्यो र उहाँहरुलाई भेट्न मैले रत्नपार्क गई साझाको बस चढेर हरिहर भवनमा ओर्लिनु थियो । हरिहर भवनमा रहेको सामान्य प्रशासन मन्त्रालयमा गई उहाँहरुको सोधखोज गर्नुथियो । यसमा अलिकति अलमल भएमा म हराउँथें । होमनाथ दाहाललाई भेट्नु नै मलाई अप्ठ्यारो लागेको थियो । नौलो ठाउँमा नचिनेको मान्छे, म गाउँले केटो । कसरी बोल्ने होला, कसरी चिन्ने होला !
बसले काठमाडौँमा ओराल्यो । काठमाडौंलाई हुस्सुले ढोकेको थियो । म कहाँ आर्लिएँ भन्ने थाहा पाउन सकिन । कृष्ण दाइले कि सुन्धारा ओराल्छ कि बसपार्क ओराल्छ भन्नु भएको थियो । नयाँ बसपार्क नभएकाले हाल पुरानो बसपार्क भनिने बसपार्क नै त्यो वेला एक मात्र बसपार्क थियो । ती दुई ठाउँमा ओर्लिंदा कृष्ण दाइलाई भेट्न अपनाउनु पर्ने कार्यविधि फरक पर्ने भएकाले म सुन्धारा ओर्लें कि बसपार्क ओलिएँ भन्ने जान्नु अति आवश्यक थियो । मैले एक जनालाई यो कुन ठाउँ हो भनेर सोधें । उनले मेरो झुकेको टाउको उचाल्नु पर्ने गरी आफ्नो औंला माथि उठाए र यो सुन्धारा हो, ऊ धरहरा त्यही हो भनेर देखाए । हुस्सुको घुम्टो हटेको वेला धरहराले आफ्नो स्वरुप झल्याकझुलुक देखाइरहेको रहेछ ।
म कृष्ण दाइले चिठीमा कोरेर पठाउनु भएको नक्सा अनुसार रत्नपार्क पुगेँ । मलाई साझाको बस चढेर हरिहर भवन जानुथियो, उहाँलाई भेट्न । साझा बस रत्नपार्कबाट थोरै समयको अन्तरालमा लागिरहन्छ र हरिहर भवनसम्मको भाडा पचहत्तर पैसा लाग्छ भनेर उहाँले चिठीमा नै लेखिसक्नु भएको थियो । म रत्नपार्क पुगें, साझा बस चढें र हरिहर भवन ओर्लें । हरिहर भवनमा कसैलाई सोधेर सामान्य प्रशासन मन्त्रालय लेखेको पहरो जत्रो घरमा पुगें ।
म शायद आठ बजेतिर मन्त्रालय पुगेँ । मैले १० बजे अफिस आउने कृष्ण दाइलाई भेट्न अझै दुई घण्टा पर्खनु थियो । त्यो समय कतै घुमेर समय सदुपयोग गर्न मसँग कुनै उपाय थिएन । एक्लै घुम्न कतै जान सक्ने अवस्था थिएन । बल्ल त एउटा टुंगोमा पुगेको थिएँ । अब फेरि हराउने जोखिम लिने त कुरै थिएन । त्यो मोबाइलको जमाना थिएन । लाइनवाला टेलिफोन पनि निकै पातलो थियो । त्यसैले सामान्य प्रशासन मन्त्रालयको गेटको आसपास रहेको पसलमा चिया खाने विचार गरें । चिया बिस्कुटको भरमा दुई घण्टा बिताउनु थियो । चिया बिस्कुट खाँदै घडी हेर्दै त्यही बसिरहेँ । नौबिसेको उकालोमा अमलिो पानी बान्ता भएर दाँत नै कुडिएको रहेछ । बिस्कुट टोक्न पनि दाँतलाई गाह्रो परेको थियो । सित्तै खाएको भातले के सुख देओस् ।
सामान्य प्रशासन मन्त्रालयको कम्पाउन्डबाट बस कर्मचारी लिन हिंड्यो । अब यसले कृष्ण दाइलाई पनि लिएर आउँछ भन्ने सोचेर मन ढुक्क भयो । प्रतीक्षाको घडी समाप्त हुनै लागेको थियो । अब थप एक कप चिया खाँदा त बस कसो नफर्केला भन्ने लाग्यो र चिया थपें । केही समयपछि बस आइपुग्यो । मैले बसबाट ओर्लने एक एक कर्मचारीलाई नियालेर हेरेँ । मानिस क्रमशः झर्दै गए तर कृष्ण दाइ देखिनुभएन । बसबाट झरेका हरेक अपरिचित मानिससँग कम हँदै गएको सम्भावना अन्तिममा शून्य भयो ।
होइन, शून्य भएको होइन रहेछ । बसले अर्को टिप पनि गर्ने रहेछ ।
तर अर्को टिपको पनि परिणाम उही भयो । कृष्ण दाइ आउनु भएन ।
कृष्ण दाइले चिठीमा यदि म अफिसमा भेटिइन भने होमनाथलाई भेट्नु, उहाँले डेरामा ल्याइदिनुहुन्छ भनेर लेख्नु भएको थियो । तर म कृष्ण दाइलाई नै भेट्न इच्छुक थिएँ र भेटिहाल्छु नि भन्नेमा ढुक्क थिएँ । होमनाथको नाम कण्ठ पारे पनि त्यो बाटो हिँड्नुपर्ला जस्तो लागेको थिएन । तर बसमा कृष्ण दाइ नआउनु भएपछि म होमनाथको खोजीमा लाग्नुपर्ने भयो । नजानेको ठाउँमा नचिनेको मान्छे खोज्नु मेरो लागि कम अप्ठेरो काम थिएन । फेरि त्यो पहरो जत्रो भवन नयाँ मान्छे त हराउने खालको थियो ।
मै हुँ होमनाथ
मन्त्रालयको भवनमा पसेर पहिलो कोठा (दर्ताचलानी हो जस्तो लाग्छ) मा पुगेर मैले ‘होमनाथ खत्रीलाई भेट्नुपर्ने थियो, उहाँलाई कसरी भेट्न सकिएला’ भनेर सोधें । एक जना मनिसले मतिर हेरेर ‘ए, दाहालजीको भाइ हो ? म नै हुँ होमनाथ’ भने । आफूले खोजे मान्छे पहिलो प्रयासमा नै ठ्याक्कै भेटिंदा अघि कृष्ण दाइसँग भेट नहुँदाको चिन्ता सिनित्तै हट्यो । अब मैले पस्दै हराउने घरमा होमनाथ खोज्न भौंतारिनै परेन । यो संयोगले मलाई तनावमुक्त बनायो । मैले काठमाडौं छिरेपछि शायद पहिलोपल्ट लामो सास फेरेँ । उनीसँग दाइले उहाँ नहुनु भएको अवस्थामा म आइपुगे डेरामा पु¥याइदिन भनिसक्नु भएको रहेछ । मलाई ‘एकछिन पर्खनुस् है’ भनी होमनाथ हराए । शायद उनी कार्यालयबाहिर जाने अनुमति माग्न गएका थिए होलान् । उनी आएर मलाई बस चढाए अनि पुतली सडकमा बसबाट ओरालेर हिँडाउँदै कृष्ण दाइको घट्टेकुलोमा रहेको डेरामा पुर्‌याएर फर्के ।

त्यति वेला काठमाडौंमा महामारी झैं फैलिएको जन्डिस लागेर दाइ थला पर्नु भएको रहेछ । स्वास्थ्यमा सामान्य सुधार आएको हुनाले चिन्ता भने कम थियो । कोठामा पूर्णराज कार्की र विष्णु ढुंगाना पनि बस्नुहुन्थ्यो । तर विष्णु दाइ त त्यो वेला टेकु हस्पिटलमा भर्ना हुनुभएको थियो, जन्डिस र टाइफाइडले थलिएर । लोक सेवा आयोगको परीक्षा दिन धुन्चेबाट मोहन ढुंगाना र केशब दाहाल पनि आउनु भयो । उस समयमा काठमाडौं डेरा जसको भए पनि सार्वजनिक जस्तो हुन्थ्यो । गाउँका आफन्त र छिमेकी पनि काठमाडौं आउँदा त्यहीं बस्थे । मैले पनि त्यस्तो आतिथ्य धेरै पटक ग्रहण गरेको छु । त्यो मौका नमिलेको भए त म अहिले खै कहाँ के पो गर्दै हुन्थें हुँला ? हुन पनि, डेराबासीलाई जति असुविधा भए पनि बाहिरबाट काठमाडौं आउनेका लागि अर्को विकल्प थिएन । होटलमा बस्ने त न पैसा हुन्थ्यो, न चलन थियो ।
होमनाथसँग केही समय बस चढेर अनि केही समय हिंडेर दाइको डेरामा जाँदा नै म आत्तिइसकेको थिएँ । फराकिलो बाटो, उस्तैउस्ता चोक, मोटरको घचारो, मान्छेको भीड, एकैनासका देखिने दोकानहरु ! गाउँबाट भरखर आएको केटाका लागि काठमाडौं कम्ताको थिएन । अलिकति छलियो कि अलमलियो ! म एक्लै त कसैगरी काठमाडौमा कतै निस्कन सक्दिन थिएँ । लोक सेवा आयोगले हाम्रो परीक्षा केन्द्र कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखामा तोकेको थियो । घट्टेकुलाबाट न्योखा जाने कुरा त मरो लागि कल्पनाबाहिरको कुरा थियो । म परीक्षा केन्द्र मोहन ढुंगानासँग जान्थें । परीक्षा दिउन्जेल पनि परीक्षापछि मोहनलाई नभेटेर हराउने पो हुँ कि भन्ने चिन्ता भइरहन्थ्यो । मेरो तयारी पनि राम्रो भएको रहेनछ । त्यो परीक्षाले मलाई जागिर खुवाउन सकेन । काठमाडौंको दर्शन मात्र गरायो ।

23 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *