रेमिटान्स क्रान्ति

नेपालको कृषिपछिको सबैभन्दा ठुलो आर्थिक क्षेत्र अब रेमिटान्स भएको छ । करीब पचास लाख नेपाली विदेशमा भएको अनुमान गरिएको छ । दैनिक करिब पन्ध्र सय नेपाली रोजगारीका लागि विदेश गइरहेका छन् । पूर्वमा कोरिया र जापानदेखि पश्चिमको अमेरिकासम्म नेपालीहरु कामका लागि पुगेका छन् । कामदारको रुपमा जान नपाउनेहरु पनि पर्यटक वा विद्यार्थीको रुपमा विदेश गएर काम गरिरहेका छन् । तिनको कमाइ नेपाल आइरहेको छ । यो कमाइले नेपालमा रहेका परिवारको सदस्यको उचित लालनपालन, शिक्षादीक्षा, औषधिउपचार भइरहेको छ । रेमिटान्सको कमाइले गाउँको झुप्रे घर छोडेर बजारतिर बसाइँ आउन सकेका छन् । नेपालीको जीवनस्तर बढेको छ । गरिबी घटेको छ । देशको लागि पनि विदेशी मुद्रा प्राप्त भएको छ । यही रेमिटान्सले नेपालको अर्थतन्त्र धानिएको छ ।

विदेशमा काम गर्ने र पैसा कमाएर ल्याउने चलन शायद पहिलो विश्वयुद्धबाट सुरु भयो । नेपालीहरु अंग्रेजको तर्फबाट लडाइमा भाग लिन सेनामा भर्ती भए । दोश्रो विश्वयुद्धमा पनि यही क्रम दोहोरियो । त्यसपछि नेपालमा पनि प्रजातन्त्र आयो र आधुनिक विश्वमा नेपालले पनि प्रवेश पायो । यसपछि नेपालीहरु विभिन्न प्रयोजनका लागि विदेश जान थाले । छयालीस सालपछि विदेश जाने प्रवृत्ति झन् बढ्यो । जनयुद्धको क्रममा नेपालको आर्थिक विकासमा अवरोध देखा परेपछि विदेशजानु बाध्यता बन्यो । अहिले पनि देशमा गरीखाने वातावरण नभएकाले मानिसहरु विदेश गइरहेका छन् । यसबाट समाजको आर्थिक पक्ष, सामाजिक र सांस्कृतिक पक्षमा परिवर्तन आइरहेको छ । यसलाई मानिसहरुले रेमिटान्स क्रान्तिको नाम दिएका छन् । तर म भने अर्को रेमिटान्स क्रान्तिको प्रतीक्षामा छु ।

अघिल्लो पुस्तामा विदेश जाने मनिसहरु कि त विदेशमा नै स्थायी बसोबास गरी बस्न थाले कि राम्रो कमाइका साथ नेपाल आएर सुखको जिन्दगी बिताइरहेका छन् । अहिले विदेश जाने नेपालीहरु कडा आप्रवासन नियमका कारण विदेशमा स्थायी रुपले बस्न सक्दैनन् । अरबको संस्कृति र हावापानी फरक भएकाले पनि नेपालीहरु स्थायी रुपमा बस्छन् जस्तो लाग्दैन । यो पुस्ता युवावयका केही वर्ष विदेशमा बसेर नेपाल पर्कन्छ । अहिले औषत नेपालीको विदेशमा काम गर्दाको ज्यालादर हेर्ने हो भने विदेशमा काम गरेर नेपाल फर्कने व्यक्तिको नेपाल बसाइ पनि आर्थिक समस्याबाट मुक्त हुने देखिंदैन । त्यसका अतिरिक्त उनीहरुले पारिवारिक, सामाजिक र सांस्कृतिक समस्याकोसामना गर्नपर्ने देखिन्छ ।

विदेशमा बसेर आउने नेपालीहरुले केवल पैसा मात्र होइन विदेशी संस्कार पनि लिएर आउने छन् । विदेशी भूमिमा उनीहरुले गरेको कडा परिश्रम नेपाली भूमिमा गर्न पाएको भए नेपाल नै अर्को हुने थियो भन्ने भावना पनि लिएर आउने छन् । लामो समय विदेशी भूमिमा रहनुपर्दा उनीहरुको मनमा देशप्रतिको माया पनि असाध्यै उर्लिएको हुनेछ । उनीहरु केही व्यवसायिक सीप पनि लिएर आउनेछन् । नेपाल बस्ने नेपालीले नदेखेका नेपालका सम्भावनाहरु देख्न सक्ने भएर आउने छन् । विदेशबाट फर्केर आएका नेपालीहरुले विभिन्न स्थानमा आधुनिक तथा व्यवसायिक खेती सुरु गरेका त हामीले देखिसकेकै छौं । यसरी विदेशमा कमाएको पैसाले नेपालमा उनीहरुले उद्यम गर्नेछन् र नेपालको विकासमा योगदान पनि दिनेछन् ।

उनीहरुले नेपालको राजनीतिमा पनि प्रत्यक्ष/परोक्ष रुपमा प्रभाव पार्नेछन् । उनीहरु आफू आप्रवासनमा रहेका देशमा स्थापित राज्य र नागरिकबीचको सम्बन्ध पनि देखेर आउने छन् । साँचो लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र कस्तो हुन्छ, त्यो उनीहरुले बुझेका हुनेछन् । जनमैत्री, उत्तरदायी र पारदर्शी सरकार कस्तो हुन्छ भन्ने पनि जानेर आउने छन् । विदेशबाट नेपाल फर्कदा उनीहरु विवेकशील र कर्मठ नागरिक भई फर्केका हुनेछन् । मदारीले बाँदर नचाएजस्तो नेताले जनता नचाउने राजनीतिलाई उनीहरु बहिष्कार गर्नेछन् । आफू पनि चेतनशील नागरिक हुनेछन्, छिमेकीलाई पनि बन्न मद्दत गर्नेछन् । जिन्दगीभर मिहिनेत गरेको अनुभवले उनीहरु श्रम र सीपको पूजा गर्न मान्ने र जान्ने भइसकेका हुनेछन् र त्यस्तै राजनैतिक नेतृत्वलाई उनीहरु चुन्नेछन् । नेपललाई एशियाली मापदण्डमा पुर्‍याउछु भन्दा पनि पत्याउने, सिंगापुर बनाउंछु भन्दा पनि पत्याउने अनि स्वीटजरल्याण्ड बनाउछु भन्दा पनि पत्याउने गल्ती उनीहरु गर्ने छैनन् । इतिहास र ल्याकतको विश्लेषण गरेर मात्र राजनैतिक निर्णय लिनेछन् ।

विश्वमा भएका सबैजसो परिवर्तनमा विदेशी प्रभाव परेको छ । अमेरिकी स्वतन्त्रता संग्राममा भाग लिन गएका फ्रान्सेलीहरुले आफ्नै देशमा राज्यक्रान्तिको आगो फुके र लुई राजतन्त्रको पतन भयो । नेपालको सातसालको क्रान्तिमा पनि भारतीय स्वतन्तता संग्रामको प्रभाव थियो र विश्वयुद्धमा लडेका नेपालीले क्रान्तिमा साथ दिएका थिए । त्यसपछिको राजनैतिक विकासमा पनि विदेशका घटनाको प्रभाव परेको छ । तर त्यो प्रभाव जनस्तरमा नपरेको हुनाले नेपालका अग्रगामी राजनैतिक परिवर्तनहरु चिरस्थायी हुन सकेनन् । विदेशमा काम गर्न गई नेपाल फर्केका मानिसले ल्याएको राजनैतिक प्रभाव दिगो हुनेछ ।

नेपालमा सातसालबाट नै प्रजातान्त्रिक आन्दोलनको जग बस्यो । तर आज उनन्सत्तरी सालसम्म आइपुग्दा पनि नेपाली लोकतन्त्र संस्थागत हुन सकेको छैन । यस क्रममा नेपाली राजनीतिमा थुप्रै उतारचढावहरु आए । राजतन्त्रदेखि गणतन्त्रसम्म र केन्द्रीकृत शासनदेखि संघीयताका कुरासम्म नेपाली राजनीतिले देख्यो । यी सबै बहस, विवाद, अन्दोलन र संघर्ष कुनै ठोस, दिगो र बोधगम्य उपलब्धिबिनै समाप्त होलान् भन्ने त्रास घटेको छैन । जनताहरु नेताले भनेको बाटमा हिंडे तर लोकतन्त्रको मूल्य बमोजिम जनताले भनेको बाटोमा नेताहरु जान सकेनन् । ७४ प्रतिशत जनता एकल जातीय पहिचान भएको संघीयतको विपक्षमा छन् भन्ने सर्वेक्षण पत्रिकाले सार्वजनिक गर्दा पनि यही मुद्दामा सहमति नभई संविधान बन्न नसक्नु जनमैत्री राजनीति स्थापित हुन नसकेको उदाहरण हो । यस पृष्ठभूमिमा मलाई विदेशमा रहेका ती कर्मठ नेपाली दाजुभाइको मात्र आश लागिरहेको छ, जसले नेपाल फर्केर नेताको नौटङ्कीलाई चुनौती दिनेछन् र वास्तविक लोकतन्त्रको विकासको बाटो खोल्नेछन् । नेपालमा आएको यो रेमिटान्स क्रान्ति ‘गरी खान देऊ’ को माग पूरा गर्न समर्थ बन्नेछ ।

उद्घोस २०६९.३.१३

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *