दाहिने हात

संसदमा सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको समाचार फैलिने बित्तिकै सुकेखोला खानेपानीका आयोजना प्रमुख रमेशकाजी र ठेकेदार सानुमान काठमाडौ हानिए । खानेपानी आयोजनाको जिप घाम नझुल्किँदै साँवरी भन्ज्याङ कटिसकेको थियो भनेर भान्टाबारी बजारबाट आएका मानिसले भनेका थिए । सुकेखोलाका चिया पसलमा भने आयोजना प्रमुख ठेकेदारको मोटरमा हिजो बेलुकै काठमाडौ गएका हुन्, आयोजनाको मोटर त ड्राइभरले रमेशकाजीको घर विराटनगर लगेको हो भन्ने हल्ला चलिसकेको थियो । रमेशकाजीले पियन सानुकान्छलाई ‘हाकिमसा’ब बिहान जानु भएको हो’ भन्नु भनेर ठेकेदार सानुमानसँग काठमाडौ हान्निएका थिए तर ठेकेदार र हाकिमको बैठकपछि बाँकी रहेको बिजुली पानी लगाएपछि सानुकान्छाले ‘कसैलाई नभन्नु है भनी’ हाकिमको यात्रा वृत्तान्त एक कान दुई कान मैदान बनाइसकेको थियो ।हाकिम र ठेकेदारका बारेमा बजारमा त हल्ला चलिरहेको थियो भने आयोजनाको अफिसमा चर्चा हुनु स्वभाविक नै थियो । सत्तारुढ पार्टी र त्यसका नेतालाई रिझाएर आयोजना प्रमुख बनेका राजेशकाजीको अब सरुवा हुने लख काटिएको थियो । अविश्वासको प्रस्ताव पारित भएर नयाँ सरकार बनेपछि पुरानो सरकारका समर्थक मानिएका उनी आयोजना प्रमुख रहिरहने कुरै थिएन । पदबाट हट्ने निश्चित भएको राजेशकाजीले गरेको भनिएका दुष्कर्मको चर्चाले कार्यालयका कोठा दुर्गन्धित भइरहेका थिए, सबैजसो उसको बदख्वाइँमा लागेका थिए । ‘ए हो र !’ भनेर एउटाको कुरामा सही थापेपछि अर्को फेरि अर्को बदख्वाइँको किस्सा निकाल्न लागिहाल्थ्यो । बोलक्कड र गफाडीको त कुरै

निरीक्षण

“मेनेजर साहेब, नमस्कार ।” उताबाट कसैको फोन थियो ।“नमस्कार, को बोल्नुभयो होला ?” मेनेजरले फर्काए ।“म शिवराम, निरीक्षण विभागबाट हो सर ।” उताबाट जवाफ आयो ।“ओहो, शिवरामजी, के छ खबर ? कसरी सम्झनुभयो ?”“हामी भोलि त्यहाँ निरीक्षणका लागि आउँदैछौं । सवा एक बजेको फ्लाइट छ । एयरपोर्टमा मोटर पठाइदिनुहुन्छ कि भनेर हो सर ।”“ए भइहाल्छ नि । म ड्राइभरको नम्बर मेसेज गरिदिन्छु । सजिलो हुन्छ । अनि विशेष अरु केही ?”“अरु कुरा भेटेरै गरौँला नि । अखिर त्यहीँ त आइएको छ ।”“ल त अहिलेलाई राखेँ ।”विराटनगर शाखाका मेनेजर रामकुमार शर्मा यो फोनपछि अलि चिन्तित देखिए । उनले एक गिलास पानी घुट्क्याए अनि पानपराग मुखमा चेपे । निरीक्षण बैंकको लागि एउटा नियमित प्रक्रिया भए पनि निरीक्षण टोली आएपछि टेन्सन बढिहाल्छ । उनीहरुलाई खुवाऊ, पियाऊ, बसाऊ । उनीहरुको चाहिने नचाहिने स्पष्टीकरणको जवाफ देऊ । काम गर्दा, गराउँदा कति व्यवहारिक समस्या पर्छ उनीहरुलाई मतलब हुँदैन । परिपत्रको एउटा दफामा टाङ अडाइरहेका हुन्छन् । त्यस्ता दफा सँधै पक्डेर त साध्य नै हुँदैन ।‘फेरि अहिले त निरीक्षण टोली आउने बेला नै होइन ।’ उनको अनुभवी मनले उनलाई झस्कायो । तर भरखरै निरीक्षण विभागको शिवराम भोलि आउने खबर दिने टेलिफोन सेट आफैँ अगाडिको टेबुलमा बसिरहेको थियो । अनि शिवरामको बोली अझै कानमा गुञ्जिरहेको थियो ।यो बेमौसमी

अर्को डेरा

“म यो महिनाभित्रमा डेरा सर्छु है ।” मैले भने । हुन त डेरा सर्ने कुरा घरपट्टीलाई सरप्राइज दिने चलन पनि छ । डेरा सर्न मन लाग्यो भने खुसुक्क कोठा खोज्ने र कोठा फेला पारेर सर्ने बेलामा मात्र घरपट्टीलाई थाहा दिने । घरपट्टीले भाडामा बसुन्जेल गरेका हेपाहा ब्यवहारको बदला डेरा सर्ने बेलामा लिने । सारा किचकिचको एउटै जवाफ, पूर्व जानकारी विना कोठा सर्ने र साहुजीको घर खाली राख्ने । उनलाई नयाँ डेरावालको खोजीको चिन्ता भिडाइदिने । अघिल्लो दिनसम्म कोठा खाली छ भनेर सोध्नेलाई छैन भनेर जवाफ दिएकोमा पश्चात्ताप गर्न लगाउने । तर मलाई भने त्यो मन परेन । मैले महिना लाग्दै उनलाई आफूले कोठा सर्ने जानकारी गराएँ । उनले पनि समयमा नै अर्को भाडावालको व्यवस्था गर्न सकून् र भाडा खान पाउन् जस्तो लाग्यो ।“ए हो र ! किन जान लाग्नु भएको त । केही भए भन्नु भएको भए हुन्थ्यो ।” उनले भने अनि मैले बुझाउन लगेको अग्रिम घरभाडा दश हजार गोजीमा हाले, दुई चोटि गनेर । केही त थियो तर उनलाई भन्नु बेकार थियो । दुई महिना अघि उनले आठ हजार चलिरहको घरभाडा बढाएर दश हजार बनाएका थिए । त्यो मेरो बजेटभन्दा माथि थियो । अखिर एउटा बस चढ्नु परिहाल्छ, पन्ध्र मिनट अघि निस्कौँला, अलि टाढा जाऔला र उही महिनाको आठ

काजीमानको कायापलट

परिस्थितिले काजीमानलाई फेरि हर्कवीर साहुको आँगनमा पुर्‍यायो । काजीमानका पुर्खाहरू गोरखाबाट आएका हुन् । यिनका पुर्खा पृथ्वीनारायण शाहको फौजमा रहेछन् । अनि त्यो फौजले यहीँ गढी कायम गरेर बस्दा उनका पुर्खा पनि यतै बस्न थालेछन् । पहिला यिनीहरूको खेतीपाती प्रशस्तै थियो । भाइअंश लाग्दै गयो, खेतबारी बाँडिदै गयो, बिक्रीबट्टा हुँदै गयो । समयसँगै कुनै परिवार बलियो हुँदै जान्छ, कुनै परिवार कमजोर बन्दै जान्छ । काजीमानको परिवार कमजोर हुँदै गयो । हर्कवीरको आँगनमा पुग्नुको उद्देश्य पुरानै थियो, सापटी । साउँब्याज समयमा नै तिर्ने आश्वासन । गर्जो टार्नुपर्ने बाध्यता । समयले ठगेको बाहाना । बाइस वर्षको उमेरमा बिहे गरेर बाउसँग छुट्टिएपछि उसले गाउँमा होटल खोल्यो । अंशमा परेको एक कित्ता खेत बेचेर उसले होटल खोलेको थियो । गाउँमा बाटो खुलेको र मानिसको चहलपहल बढेकाले होटल चल्ने उसको आश थियो । बाहिरबाट आउने मानिसले यसो खाना खाजा खान्थे, जान्थे । बासै बस्नेगरी मानिस उति आउँदैनथे । बरू गाउँकै मानिसले उधारो खान्थे । बिस्तारै काजीमान आफू नै होटलको सबभन्दा ठुलो ग्राहक भयो । होटल सुक्दै गयो र बन्द भयो । “होटल चलेन, अब कुखुरा पालन गर्छु ।” काजीमानले नयाँ योजना ल्यायो ।  कुखुराको खोर बन्यो । गाउँपालिकाले कुखुराको खोरमा चाहिने चारो खुवाउने भाँडा लगायतका सामान अनुदान दियो । ज्वाइँले उद्यम गर्छन् भने सहयोग गरौं

हाम्रो यात्राको कथा

“सबै यात्रुहरू विमानमा आइसक्नु भएको छ । हामीले उहाँका सामानहरू पनि राखिसकेका छौं । अब यात्रुहरूले सिटको पेटी बाँध्नुहोला। हामी चाँडै आकासमा उड्दैछौं र लामो समयदेखि सोचिरहेको आफ्नो गन्तव्यमा पुग्दैछौं । यो नयाँ यात्राको लागि हामी सबैलाई बधाई छ।” सुमधुर सङ्गीतका बिच एयसहोस्टेसको यो उद्घोषले सबैलाई रोमाञ्चित बनायो। सबैले सिटको पेटी बाँधे।भुइँ छोड्ने वेला दुर्घटनाको सम्भावना धेरै हुने भएकाले सबै मौन प्रायः थिए।हुन पनि दक्षिणबाट कालो बादल उठेर केही अनिष्ट पो गरिहाल्छ कि जस्तो भइरहेको थियो। यो रोमाञ्चलाई मनमा समेट्न नसक्नेहरू मसिनो आवाजमा नजिकका यात्रु साथीहरूसँग गफ गरिरहेका थिए। “कहिले पुगिन्छ ? त्यहाँको मौसम कस्तो छ ? त्यहाँका घर कस्ता हुन्छन् ? खानेकुरा के हुन्छ ? यहाँ जस्तो दुःख त हुन्न होला नि ? त्यहाँ त छोराछोरी पढाउन र बिरामीको उपचार गर्न पनि पैसा लाग्दैन रे, हो ?” उत्तर पनि आइरहेको छ, मन गढन्ते, स्वर्गको बयान जस्तो । के पो पुगेको छ र, स्वर्गमा ? झट्ट हेर्दा नयाँ जस्तो देखिए पनि यो यात्रा पूरै नयाँ चाहिँ थिएन। जहाज कुन टिमले उडाउने भन्ने विवादको कारण यो जहाज केही समय रनवेमा रोकिएको थियो । रन वेमा कुद्‍ने र रोकिने क्रम पटकपटक चलेको थियो । केही पटक त उडेको जहाज पनि रनवेमा फर्काइएको थियो । यसपटक पाइलटहरूको नयाँ टिमले जहाज चलाउने भएका थिए।

राजीनामा

१काठमाडौको नयाँ सडकमा रहेको प्रधान कार्यालयबाट नेपाल बैंक लिमिटेड, सटी अफिस विराटनगरमा पनि हल्ला आइपुग्यो — पच्चीस वर्ष नोकरी अवधि पुगेका कर्मचारीलाई जागिरबाट हटाउन स्वेच्छिक अवकाश योजना ल्याउने रे । स्वेच्छिक अवकाश योजना अर्थात भीआरएस (भोलेन्टियर रिटायरमेन्ट स्कीम) को यो हल्ला बैंकको प्रत्येक कोठा, कोठाका प्रत्येक कुर्सी र कुर्सीका प्रत्येक कानमा एकै छिनमा पुग्यो । सबै कर्मचारीे भीआरएस आउने भयो भनी एकअर्कालाई सुनाउनमा मस्त र व्यस्त भए । हातमा चेक र रकम जम्मा गर्ने भौचर बोकेका ग्राहक पनि आफ्नो काम बिर्सेर त्यसै हल्लाको खोजीनितीमा लागे ।यो हल्लापछि केही कर्मचारी मलिन भए, केही उत्साहित भए, कतिमा जिज्ञासा मात्र रह्यो । भीआरएस बारे कर्मचारीहरुले विस्तारै आफ्नो धारणा राख्न पनि सुरु गरे ।“म त अब जागिर छोडेर धर्मकर्मतिर लाग्छु ।”“म व्यापार गर्छु ।”“म त गाउँ फर्कन्छु र उतै कुनै व्यवसाय गर्छु ।”“मेरो त समय नै भएको छैन । नत्र .. …. . .।”“नयाँ कर्मचारीलाई राम्रो भयो । खाली पदमा चाँडै प्रमोशन पाउँछन् ।”“कर्मचारी हटाउन त यो नियम ल्याएको हो । के प्रमोशन होला ?”“म अर्को कम्पनीमा काम गर्छु ।”“म …. गर्छु ।”यी आवाजहरु कानमा ठोक्किरहँदा सुधीरका आँखामा आफ्ना अतीतका तस्वीरहरु घुम्न थाले । बिस वर्षको लक्का जवानमा ऊ यो जागिरमा आएको थियो । कलिलो उमेरमै जागिरमा लागेकोमा उसका बाबुआमा कति खुशी भएका थिए

फुली

“अब त्यो पनि त्यस्तो निस्क्यो । हरे शिव ! मेरो भाग्य खोटो ।” कोइराल्नी बज्यै भुतभुताई रहेकी थिइन“के भएर भाग्य खोटो भयो ? म मरेँ ?” कोइराला बाजे पनि रन्किए ।“त्यसो नभन्नुस आमा, त्यस्तो नराम्रो नमान्नुस् । केही त भएको छैन । सबैलाई राम्रै त छ ।” छोरी रमिलाले सम्झाइन् । उनी पनि भरखरै माइत आइपुगेकी थिइन् ।“तँलाई पहिला नै यो कुरा थाहा रहेछ त । मलाई अलि पहिला भन्नु पर्दैन ?” उनी छोरीसँग पनि झर्किन् ।“पहिला भनेको थिएँ नि । तपाईंले छेउ पर्न दिनु भएन । त्यसपछिका कुरा त मलाई पनि के थाहा र ?” उनले सफाइ दिइन् ।कोइराल्नी बज्यैको कानमा रमिलाले यस कुराको भनक पहिला पनि पारेकी थिइन् । ‘आमा, हाम्रो रमेशको त सँगै पढ्ने नेवार केटीसँग पो हिमचिम छ रे त !’ भनेर । कोइराल्नी बज्यैले सुरुमा ‘हाम्रो रमेश त्यस्तो छैन, उडन्ते कुरा होला, छोरी’ भनिन् । एकछिन पछि ‘अल्लारे उमेर छ, सँगै पढ्ने केटीसँग यसो बोल्यो होला, जोरीपारीले त्यही कुरा काटेका होलान नि !’ भनिन् । अनि लामो सास तानेर ‘अजातकी केटीसँग बिहे ग¥यो भने त त्यसको खुट्टा भाँच्छु’ पनि थपिन् । ‘त्यसो नभन्नुस है आमा ! जुग जमाना खराब छ । तपाईंका पालाको समय छैन ।’ भनेर रमिलाले त्यतिबेला आमालाई अलिकता हच्काएकी थिइन् पनि ।तर

अवकाश

तीन बज्यो ।आज अफिसपछि विवाहको पार्टीमा जानुछ । दुई बजे बोलाएका थिए ।एक मनले सोच्छु, हाकिमलाई सोधेर अलि चाँडै जाऊ कि ? अर्को मनले सोच्छु, पार्टीमा चाँडो जाने कामका लागि पनि के हाकिमको स्वीकृति लिने झन्झट गरिरहनु ? आखिर अफिस छुट्टी भएपछि गए पनि पुगिहालिन्छ । आखिर अब यो अफिस आउनु र पाँच बजेसम्म रुङ्न नै पो कति छ र ! अब एक हप्तापछि त रिटायर नै हुँदैछु । फेरि, चाँडै पार्टीमा जानु भनेको चाँडै जम्न सुरु गर्नु र बढी पिउनु त हो । दुई बजे बोलाए पनि सबै जना साँझ नै त आउँछन् । म चुपचाप काममै व्यस्त हुन्छु ।यो व्यक्तिगत र सामाजिक काम अनि अफिसको कामबीचको तानातान अब यही एक हप्ता त हो । त्यसपछि त एक हिसाबले आनन्दै हुन्छ । न दशको बन्धन, न पाँचको प्रतीक्षा । समय आफ्नो, जिन्दगी आफ्नो । समयको तानातान भएको वेला अवकाश हुन पाए त ढुक्क हुन्थ्यो जस्तो हुन्छ । हो पनि, यही अफिसको कारण न आफन्तको मलाम जान पाइएको छ, न स्नेहीको विवाहमा जन्त । समाजमा बसेर पनि समाजबाटै बहिष्कृत जस्तो भइन्छ कतिपय अवस्थामा त । कथमंकदाचित कतै पुगियो भने पनि फर्कन हतार । रिटायर भएपछिलाई नै भनेर पनि कति कुरा त मनमा साँचेर राखेको छु ।अर्को मनले सोच्छ, कुरा यति

पराजित अपराजिता

आज सोह्र गते । संधैभन्दा पाँच मिनट अघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रित परिवार पेन्सन लिन दश नबज्दै कार्यालयमा आइसकेका हुन्छन् । तीमध्ये धेरै अशक्त, बूढा र रोगी हुन्छन् । थर्थराएका हातगोडा, लर्वराएको जिब्रो र धमिलिएका आंँखा लिएर ती ग्राहकहरु भीडमा धेरवेर सल्बलाउन नपरोस् भनी आवश्यक व्यवस्था मिलाउन म कोशिस गर्छु । समयको खोलाले पाखा लगाएका तिनलाई भरसक सुविधा उपलब्ध गराउन बुढौतीदेखि डराइरहेको मेरो मन मलाई बारम्बार ताकेता गरिरहन्छ । यिनको कुनै समयमा नाम थियो, पद थियो, शक्ति थियो, प्रतिष्ठा थियो । तर आज यी पेन्सन पट्टाको एउटा नम्बर बनेका छन् । र म यी नम्बरलाई मानिसको पहिचान र मान दिन प्रयत्नशील रहन्छु । यसरी पेन्सनपट्टाको नम्बरमा आफूलाई रुपान्तरण गर्न बाध्य हुनेको समूहमा अब युवतीहरुले पनि प्रवेश पाएका छन् । देशमा रहेको दश वर्षे ‘जनयुद्ध’मा पति गुमाएका सेना र प्रहरीका कलिला पत्नीहरु कोही एक्लै, कोही नानी च्यापेर र कोही नानीलाई स्कूल पठाएर पेन्सन लिन आइपुग्छन् । सरिता एउटी यस्तै  पेन्सनहोल्डर हो । पेन्सन बाड्ने दिन ऊ आउछे । लाम लाग्छे र पेन्सन लैजान्छे । पेन्सन भने पनि यो पेन्सन होइन । उसको पति सिपाही राजकुमार कार्कीले खाइपाइ आएको तलव रकम हो । राजकुमार कार्की ‘जनयुद्ध’मा मारिए