राजा रणबहादुर शाह साँढेका सोखिन थिए । साँढेका नाममा गुठी र हेरचाहका लागि मान्छे राखेका थिए । उनी आफैं पनि साँढेको सह्यार गर्थे । एकपटक उनको एउटा प्रिय साँढे बिरामी परेछ । दरबारको प्राङ्गणमा नै त्यो साँढेलाई राखिएछ र उपचारका लागि वैद्यहरू बोलाइएछ । वैद्यहरू पनि साँढेको उपचारका लागि त्यहीं बसेर अहोरात्र खटेछन् । एकएक घण्टामा साँढेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन राजासमक्ष पुग्नुपर्ने आदेश रहेछ र त्यसको लागि वैद्यहरू पालैपालो जाँदा रहेछन् ।
साँढे निको हुने अवस्थामा थिएन तर राजालाई साँचो कुरा सुनाउन सकिने कुरा पनि थिएन । ‘अवस्था स्थिर छ’, ‘खासै बिग्रन दिएका छैनौ’, ‘उपचारमा कुनै कसर बाँकी राखेका छैनौ’, ‘ म बाँचुन्जेल साँढेलाई केही हुँदैन’ जस्ता आश्वासनका कुराहरू भनेर वैद्यहरू फर्कंदा रहेछन् ।
यस्तैमा साँढे मरेछ । अब साँढे मरेको जानकारी लिएर राजाकहाँ कसरी जाने ? उनले तत्काल मृत्युदण्डको आदेश दिँदैनन् भन्ने आधार केही थिएन । उनको व्यवहार कसैले अनुमान गर्न सक्दैनथ्यो । रणबहादुरका काम र व्यवहारलाई हेरेर कतिपय इतिहासकारहरूले उनलाई लहडी भनेका छन् । राजा भएकाले लहडी कहलाइए, जनता भएका भए त बौलाहा ठानिन्थे होलान् । तैपनि कसैले त जानै पर्थ्यो । जुन वैद्यको जानकारी दिने पालो परेको थियो उनी आफ्नो ज्यान माया मारेर राजाकहाँ पुगेछन् ।
राजालाई उनले भन्न सुरू गरेछन् – साँढेको आँखा, मुख, कान, नाक, सिङ सबै उस्तै छ सरकार । खुट्टा र जिउ पनि उस्तै छ । पुच्छर पनि केही भएको छैन । जुरो त अलिकति पनि फरक परेको छैन । गला मुनिको सरकारले सुम्सुम्याइबक्सने माल पनि उस्तै छ । तर, अहिले सास चैं फेर्न छाडेको छ सरकार ।
यसरी राजालाई मरेको साँढेको स्वास्थ्यका बारेमा रिपोर्टिङ गरेर ती वैद्य दरबारबाट फर्केका थिए रे ।
अब आउँ नेपालको अर्थतन्त्रतिर । नेपालको अर्थतन्त्रको उपचार गर्ने वैद्यहरूको कुरा पनि रणबहादुरको साँढे-वैद्यको जस्तै छ । रेमिटान्स बढेकोमा हर्षबढाइँ छ । बैकमा कर्जा दिने रकम पर्याप्त भएको र ब्याजदर एक अङ्कमा आइसकेको हुनाले ढुक्क परिएको छ । मूल्यवृद्धि भने ५ प्रतिशतको आसपास मात्र देखिएकोले जनतालाई सुखै छ भन्ने विश्वास लिइएको छ । सेयर बजार चलमलायो भने त यसले अर्थतन्त्र कुदेको व्याख्या गर्दा भइहाल्छ ।
आर्थिक वृद्धि पनि ५ प्रतिशतको हाराहारीमा भइरहेकै छ । जलविद्युत उत्पादनमा नेपालले छलाङ मारेको छ । भारत मात्र होइन बङ्गलादेशमा विद्यु निर्यात हुने बाटो खुलिसकेको छ । कच्चा पदार्थ र मेसिनरीको कुरा बिर्सने हो भने सिमेन्ट, दूध र कुखुरामा नेपाल आत्मनिर्भर भइसकेको छ । पर्यटन क्षेत्र पनि कोरोनाकालको सङ्कटबाट उक्सिसकेको छ । यस्तै उपलब्धि र सम्भावनाको आधारमा नेपाललाई कहिले सिङ्गापुर र कहिले स्विजरल्यान्ड बनाउने घोषणा गर्न पाइएकै छ ।
नेपालको कन्ट्री रेटिङ भइसकेको छ र बीबी माइनस हासिल गरेको छ । यो रेटिङपछि त हाम्रो अर्थतन्त्रको स्वास्थ्य सोचेभन्दा राम्रो आयो भनेर दङ्ग परिएको छ ।
तीन सरकार अदलीबदलीका साथ चलिरहेका छन् । हरेक अदलीबदलीपछि अब चैं अर्थतन्त्रको राम्रो उपचार हुने भनेर घोषणा भइरहेकै छ । तलबभत्ता, सामाजिक सुरक्षा र ऋणको साँवा ब्याज तिर्न रकमको अभाव भएर बक्यौता रहेको छैन । उपलब्ध साधन स्रोतबाट पिर्के सलामी लिन पुगिरहेको छ, विकासको जिम्मेवारी त घोषित रूपमा नै मित्रराष्ट्रकाे काँधमा राखिएकोले हाम्रो चिन्ताको कुरै भएन ।
तर, रणबहादुरको साँढेले सास नफेरेजस्तै नेपालको अर्थतन्त्र गतिशील चाहिँ छैन । नेपालमा लगानी गर्न कोही उत्साहित छैनन् । बैंकमा कर्जाको माग कम छ । रोजगारीको अभाव छ । सबै विदेश जान खोजिरहेका छन् । युवाहरू यो देशमा बसेर आफ्नो भविष्य राम्रो हुन्छ भन्ने कुरामा आशावादी छैनन् । कृषियोग्य जमिन बाँझो हुँदै छ । अर्थतन्त्रमा उद्योगधन्दाको हिस्सा घटिरहेको छ । बैंकिङ क्षेत्रमा खराब कर्जाको अनुपात बढिरहेको छ । मुलुकभरका सरकारीपीडितको बिचल्ली भनेर साध्य छैन ।
सरकारी बजेट निकै सङ्कटमा छ । राजस्व लक्ष्य अनुसार उठेको छैन । चालू खर्च अपेक्षा गरेभन्दा बढी भइरहेको छ । पुँजीगत खर्च उत्साहजनक छैन । साँवाब्याज बापत तिर्नुपर्ने रकम डरलाग्दो गरी बढ्दै गएका कारण सरकार विदेशबाट ऋण लिन डराउन थालेको छ । आन्तरिक स्रोत तलबभत्ता पेन्सन खाँदै ठिक्क हुने भएकाले पूँजीगत खर्चको स्रोत जुटाउन कठिन भएको छ । निजी क्षेत्रबाट पनि ऋणको माग ठप्पप्रायः छ । यस्तो अवस्थामा पुगेको सरकार बेरूजु र अनियमिताको बोझले थिचिएको छ । सुशासन कमजोर छ ।
सेयर बजारलाई भिटामिन खुवाएर र जग्गाको कित्ताकाट खोलेर अर्थतन्त्रलाई गति दिने कुराले हावा खाइसकेका छन् । ठुला दल मिलेर गरिएको जनतामा आशा जगाउने बाचाले पनि उल्लेखनीय उपलब्धि विना नै हनिमुन अवधि पूरा गरेर छ महिने परीक्षणकाल पूरा गर्न खोज्दैछ । समय बित्दै जाँदा नेपालीको भविष्य झन् झन् अन्योलग्रस्त हुँदै गएको छ ।
रणबहादुरको साँढेमा सास नफर्के पनि नेपाली अर्थतन्त्रमा त पुनः गतिशील बन्ने सामर्थ्य छ । तर कहिले र कसरी ? बेइमानी पुरस्कृत भइरहेको यो समाजमा इमानदार बनेर बेबकुफ ठानिने आँट भएका मान्छेहरूको समूहले मात्र यस प्रश्नको जवाफ दिन सक्ला ! तर कसरी विकसित होला त्यो सामूहिक शक्ति ??