साँघुरो गल्ली र अँध्यारा घरहरु
संकीर्ण सोच र संकुचित मनहरु
जहाँ मानिस चाउरिएर मरिच बन्छ
जब धरती खुम्चिन्छ, अनि काठमाडौं बन्छ ।
चिसो हावा र ठिहिर्याउँदो पानी
खुराफाती दिमाग र अविश्वासी मन
जहाँ संवेदना चिसिएर निष्प्राण बन्छ
जब धरती चिसिन्छ, अनि काठमाडौं बन्छ ।
आशाको दियो र निराशाको हुरी
तीतो यथार्थ अनि असरल्ल सपना
जहाँ सुन्दर भविष्य केवल चिहान बन्छ
जब जिन्दगी निसासिन्छ, अनि काठमाडौं बन्छ ।
चोरिएका मुस्कान र चिरिएका मुटु
लुटिएका सपना र थुतिएको हाँसो
जहाँ उत्साह हरपल पराजित हुन्छ
जब सत्य हार्छ, अनि काठमाडौं बन्छ ।
झल्कन्छ कतै र टल्कन्छ कतै
पोतिएर चिल्लो, सुन्दर छ कतै
जहाँ कृत्रिमता घसेर कुरूपता चम्कन्छ
जब धरती बिग्रन्छ, अनि काठमाडौं बन्छ ।
कुटिल दृष्टि र लोभी नजर
स्वार्थी सम्बन्ध, कृतघ्न व्यवहार
रक्ताम्य खुकुरी, उम्मुक्तिको उद्घोष
जब सभ्यता खिइन्छ, अनि काठमाडौं बन्छ ।
