कविता: मेरो काठमाडौं

साँघुरो गल्ली र अँध्यारा घरहरु

संकीर्ण सोच र संकुचित मनहरु

जहाँ मानिस चाउरिएर मरिच बन्छ

जब धरती खुम्चिन्छ, अनि काठमाडौं बन्छ ।

चिसो हावा र ठिहिर्‌याउँदो पानी

खुराफाती दिमाग र अविश्वासी मन

जहाँ संवेदना चिसिएर निष्प्राण बन्छ

जब धरती चिसिन्छ, अनि काठमाडौं बन्छ ।

आशाको दियो र निराशाको हुरी

तीतो यथार्थ अनि असरल्ल सपना

जहाँ सुन्दर भविष्य केवल चिहान बन्छ

जब जिन्दगी निसासिन्छ, अनि काठमाडौं बन्छ ।

चोरिएका मुस्कान र चिरिएका मुटु

लुटिएका सपना र थुतिएको हाँसो

जहाँ उत्साह हरपल पराजित हुन्छ

जब सत्य हार्छ, अनि काठमाडौं बन्छ ।

झल्कन्छ कतै र टल्कन्छ कतै

पोतिएर चिल्लो, सुन्दर छ कतै

जहाँ कृत्रिमता घसेर कुरूपता चम्कन्छ

जब धरती बिग्रन्छ, अनि काठमाडौं बन्छ ।

कुटिल दृष्टि र लोभी नजर

स्वार्थी सम्बन्ध, कृतघ्न व्यवहार

रक्ताम्य खुकुरी, उम्मुक्तिको उद्‍घोष

जब सभ्यता खिइन्छ, अनि काठमाडौं बन्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *