२०४४ साल चैत १४ गते (आफ्ना समूहका अरू साथीहरूभन्दा ७ दिन ढिलो) बाट सुरू भएको मेरो नेपाल राष्ट्र बैंकको जागिर यात्रा २०७४ सालको चैत १४ मा टुङ्गियो । आज (२०७९ चैत १४) त्यो जागिर यात्राको अन्त्य भएको पनि पाँच वर्ष पुग्यो । यस लेखमा यी पाँच वर्षलाई समग्रमा सम्झने कोसिस गरेको छु ।
१. शिक्षा र सीपः ५० वर्षमा जागिर छुट्ने हुनाले त्यसपछि के गर्ने भन्ने प्रश्न मेरो मनमा रहनु स्वभाविकै थियो । त्यसैले कानुन पढिहेरौं, कतै कानुनी पेशा पो अपनाउन सकिन्छ कि भन्ने सोच जागिर छँदै राखेको थिएँ । त्यसैले अवकाशको समयमा म कानुन संकायको तीन वर्षे स्नातक कोर्स पढ्दै थिएँ । अवकाशको केही समयपछि आएको अन्तिम परीक्षा पनि अरू दुइटा परीक्षा झै कुनै विषयमा फेल नभई उत्तीर्ण गरें । त्यसको अर्को साल नेपाल बार काउन्सिलको परीक्षामा पनि उत्तीर्ण भएँ र अधिवक्ताको प्रमाणपत्र प्राप्त गरें । म अहिले कानुनी पेशामा सक्रिय नै त छैन तर सकेको कानुनी सल्लाह र उपचारको बाटो खोज्नमा आवश्यक सहयोग भने गरिरहेकै छु । यसतर्फ अहिलेसम्मको संलग्नता सन्तोषजनक नै छ ।
अर्को सीपको भने ड्राइभिङसँग सम्बन्धित छ । मसँग चारपाङ्ग्रे मोटर हाँक्न इजाजतपत्र त थियो तर मोटर लिएर बाटोमा जाने आँट थिएन । कोरोना महामारीले सार्वजनिक यातायातलाई निकै असुरक्षित बनायो । अनि मैले ड्राइभिङ लाइसेन्समा लागेको धुलो टक्टक्याउने विचार गरें । पुरानो अल्टो किने । केही समयका लागि प्रशिक्षक ड्राइभरको सहयोग लिएँ । त्यसपछि हत्केलामा मुटु राखेर आफैं ड्राइभिङ सिटमा सरूवा भएँ । सुरूका दिनमा मुख सुक्थ्यो, एकछिन मोटर हाँक्दा नै जिउ गल्थ्यो, मोटरसम्म नपुगुन्जेल डर लागिरहन्थ्यो । सकारात्मक कुरा के थियो भने मोटरमा बसेपछि भने मेरो खुट्टा काम्दैनथियो, हात लर्बराउँदैनथियो । बिस्तारै बानी पर्दै गएँ । लामो ड्राइभिङको नाममा एक पटक उदयपुरको नेपालटारबाट बिपी राजमार्ग हुँदै काठमाडौं आएको र थानकोट कटेर नारायणगढ पुगेर फर्केको अनुभव मात्र छ । अहिले पनि डर घटेको छ, हटेको छैन । सानो र अप्ठ्यारो ठाउँमा पार्किङ गर्नु पर्दा अझै चिटचिट पसिना आउँछ, ट्रकमा जस्तो पछाडि हेर्ने सहयोगी चाहिन्छ । नयाँ ठाउँमा जानुपर्दा बाटो कस्तो होला भन्ने चिन्ता लागिरहन्छ । काठमाडौंमा घार्रघुर्र पार्दैछु । यो तहको ड्राइभिङ सीपलाई पनि मैले उपलब्धि नै मानेको छु ।
२. जागिर र इलमः नेपाल राष्ट्र बैंकको जागिरबाट अवकाश पाएको समयमा म थप काम नगर्ने सोचमा थिएँ । अवकाश हुँदा एकमुष्ठ पैसा हात परेको हुनाले त्यो सोच पलाएको पनि हुनसक्थ्यो । बजारमा चाँडो बिक्ने विषयहरूमा मेरो विज्ञता पनि थिएन । म बजारमा भिज्न सक्ने खालको मानिस पनि थिइनँ । काठमाडौं भरखर आएको थिएँ, मेरो नेटवर्क थिएन । कानुनी पेशामा सक्रियतापूर्वक लाग्न अलि ढिला भएको महसुस गरें ।
तर समयले मलाई लगानी बोर्डको कार्यालयमा पुर्यायो । त्यहाँ स्वयंसेवकदेखि परामर्शदाताको रूपमा मैले करिब दुई वर्ष काम गरें । त्यहाँ निकै मिहिनेत गरें । धरै कुरा सिकें पनि । गैरसरकारी संस्थाको तर्फबाट नियुक्त परामर्शदाताको करार समाप्त भए पनि लगानी बोर्डको कार्यालयसँग म सम्पर्कमा नै रहेको छु । त्यो मिहिनेतले काम गर्यो भन्ने लागिरहेको छ ।
मैले जागिरको सिलसिलामा ‘जाइ कटक नगर्ने, झिकी कटक गर्ने’ अर्थात् जागिरका लागि कुदाकुद नगर्ने, सामान्य प्रयासले पाइए काम गरिहाल्ने नीति लिएको छु । ठिकै पारिश्रमिकमा सकेको काम गर्ने सोच छ । खाली समयमा केही योगदान गर्न पाउनु राम्रो हो । ‘एक छाक खाने, बनारसमा रहने’ नीति बुढेसकालका लागि अपरिहार्य छ र म पालन गर्ने कोसिस गरिरहेको छु ।
३. ओखती र स्वास्थ्यः मेरो स्वास्थ्य अवस्था राम्रो भन्न सकिने अवस्थामा त पहिलादेखि नै थिएन । त्यसैले ‘दो वक्त की रोटी’ ले मलाई पुग्दैन, ‘दो वक्त की गोटी’ पनि चाहिन्छ । ‘दो वक्त की गोटी’ कै बलमा सही मेरो स्वास्थ्य कामचलाउ चाहिँ छ । औषधि खान पाउनुलाई म अहोभाग्य ठान्छु । पथपहरेजका सन्दर्भमा मेरो अनुशासन राम्रो छ । स्वास्थ्यको कारण मेरो दैनिक कार्यतालिका कमै मात्र बिग्रेको छ । मलाई थाहा छ, सञ्चो रहनु जस्तो खुशी र रमाइलोको स्रोत अरू कुनै छैन ।
यी पछिल्ला पाँच वर्ष भने स्वास्थ्यको दृष्टिले राम्रो रहेन । कोरोना महामारीको पहिलो चरणमा जोगिन सके पनि दोस्रो लहरमा म पनि संक्रमित हुन पुगें । करिब १५ दिन ज्वरो र खोकी भोगे पनि अस्पतालमा बास भने नबसी नै म कोरोनामुक्त भएँ । कमजोरी भने लामो समयसम्म रह्यो ।
यसपालिको दसैंअघि डेङ्गुले पनि थला पार्यो । ४, ५ दिनमा सञ्चो त भएँ तर पीडा र कमजोरीले सातो लियो । तर अहिले स्वास्थ्य राम्रो नै छ । चिन्ता गर्नु पर्ने केही छैन, केही नहुन्जेल केही हुन्न ।
४. पैसो र जेथोः नियमित आयस्रोत नभएपछि आर्थिकरूपमा अलि असुरक्षित महसुस हुँदो रहेछ । अवकाश हुँदा पाएको सुविधा र दश वर्षे पेन्सनको पैसा हात पर्दा आएको आँट समय बित्दै गएपछि कम हुँदै जाँदो रहेछ । मैले पाएको पैसा अलिकति अचल सम्पत्तिमा लगानी गरेको थिएँ, त्यो अचल नै छ । अलिकति पैसा चल सम्पत्तिमा लगानी गरेको थिएँ, त्यसमध्ये केही चलिसक्यो, केही चल्दैछ । यसरी चल्ने क्रम आगामी पाँच वर्षसम्म चल्नसक्यो भने त त्यसपछि मासिक पेन्सन आइहाल्छ । यसैगरी चलाउने विचार छ, चल्ला पनि ।
५. घर परिवारः आमा ८० वर्षको उमेरमा सन्तोषजनकरूपमा स्वस्थ हुनुहुन्छ । मुना (पत्नी) को स्वास्थ्यमा केही बाधा उत्पन्न भए पनि उनले विजय हासिल गर्दै आएकी छिन् । अहिले स्वस्थ नै छिन् । छोराहरूको गतिविधि सन्तोषजनक नै मानेको छु । घरमा नै छन् र पेशागत कामका साथै शैक्षिक उन्नयनको बाटोमा लागिरहेका छन् । भाइबहिनीको अवस्था पनि राम्रो छ ।
केही नातेदार र आफन्तलाई यो अवधिमा गुमाउनु पर्यो । त्यसै क्रममा ससुरालीतिर वासुदाइ, सागर र निर्मला (जेठान, उहाँका छोरा र बुहारी) लाई असमयमा नै गुमाउनु पर्यो । यो भने निकै दुःखद रह्यो । लामो समय निकै घुलमिल भएर बसिएको थियो ।
६. सामाजिक सञ्जाल र ब्लगः मैले फेसबुक एकाउन्ट खोलेको त धेरै भइसकेको छ । फेसबुकमा अलि सक्रिय चाहिँ अवकाशपछि भएको छु । आफ्ना विचार, भावना र गतिविधिहरू चित्र र भाषाको रूपमा मैले त्यहाँ मनग्गै राख्ने गरेको छु ।
मैले अवकाश भएपछि ब्लग एकाउन्ट पनि बनाएको छु (kedaracharya.com.np) । यसमा पुगनपुग ७०-८० वटा विविध विषयका र विभिन्न खाले रचना राखेको पनि छु । यसलाई सकेसम्म निरन्तरता दिने प्रयासमा छु ।
इन्स्टाग्राम र टिकटकमा जाने सोच छैन । त्यसका लागि आवश्यक कलाको ममा अभाव छ । ट्विटर ह्यान्डल त छ तर मलाई किनकिन त्यो मन परेन र चलाएको पनि छैन ।
मेरो ब्लगका पाठक चैं कति छन् त भनेर तपाईले सोध्न पनि सक्नुहोला । यसको उत्तर चैं निराशाजनक छ । एकदम कम पाठकहरूलाई मात्र मेरो ब्लगले तान्न सकेको छ । मेरो ब्लगका पाठक कम हुनु मेरो कमजोरी हैन, प्रजातन्त्रको विशेषता हो । प्रजातन्त्र भनेको बोल्न र लेख्न पाइने व्यवस्था हो, सुन्नु र पढ्नुपर्ने व्यवस्था होइन । एकाधिकारवादी व्यवस्थामा मात्र सुनिन्छ र पढिन्छ । राणाकालमा भित्ताको पनि कान हुन्छ भन्ने मानिन्थ्यो, सायद आँखा पनि हुन्थ्यो होला । त्यतिवेला खस्याकखुसुक पनि सुनिन्थ्यो । शुक्रराजको भाषण सुनियो । प्रजापरिषद्को पर्चा पढियो । पञ्चायतकालमा यसरी पनि सुनिएका र पढिएका उदाहरणहरू छन् । प्रजातन्त्रमा त कसले कसको सुन्ने ? सबैसँग बोल्ने र लेख्ने हक छ, सुन्ने र पढ्ने कर्तव्य कसैको छैन । यहाँ कस्ताकस्ता दिग्गजको त सुनिएको छैन, पढिएको छैन, म को हुँ र ? फेरि पनि केही साथीहरूले मेरो ब्लग पढ्नुभएको छ, त्यसको लागि म आभारी छु ।
७. भ्रमण र मनोरञ्जनः
भन्नेहरू भन्छन्, अवकाशको समय भ्रमण र मनोरञ्जनको हो, जागिरको व्यवस्ताले गर्न नसकिएको रमाइलो गर्ने हो । हो कि क्या हो भनेर अवकाश हुने बित्तिकै हामी बुढाबुढी प्याकेज लिएर एक हप्ते विदेश भ्रमणमा गयौं । त्यसको केही समयपछि दिल्ली, आगरा, मथुरा, वृन्दावन, हरिद्वार, ऋषिकेशको धार्मिक र पर्यटकीय यात्रा पनि गर्ने मौका मिल्यो । तर पछि गएर यो क्रम ठप्प जस्तै भएको छ । आफ्नो काममा हिंडेको, आफ्नो वा आफन्तको गाउँघर पुगेको कुरालाई त के घुमफिर भन्नु र ? भ्रमणको लागि धेरै चाँजोपाँजो मिलाउनु पर्ने रहेछ । कहिले के मिल्दैन, कहिले के । गएको दसैं भन्दा आउनलागेको दसैं रमाइलो हुन्छ । भविष्यमा घुम्ने मौका मिल्ला भनेर मख्ख परेर बसिएको छ ।
कोरोनाकालमा टेलिभिजन र युट्युबमा फिल्म, टेलिफिल्म, सिरियल र डकुमेन्ट्री खुब हेरियो । अचेल फाट्टफुट्ट हलतिर पनि छिर्न थालिएको छ ।
गएको पाँच वर्षको समयलाई यसरी मूल्याङ्कन गरेर सन्तोष मानेर बसेको छु । आगामी वर्ष पनि सजिला रहुन् भन्ने आशा र कामना छ ।
