अदृश्य हातहरूको खोजी

भदौ २३ गते काठमाडौं र २४ गते सिङ्गो नेपाल आन्दोलनको चपेटामा रह्यो । त्यस क्रममा अहिलेसम्म ७२ जनाले मृत्युवरण गर्नुपरेको छ (म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु), घाइतेको संख्या ५०० भन्दा बढी छ (म शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु) । सार्वजनिक, सरकारी, निजी सम्पत्तिको अपार नोक्सान भएको छ । त्यही आन्दोलनको जोडमा श्री सुशीला कार्की (पूर्वप्रधानन्यायाधीश) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । संसद विघटन भएको छ र आउँदो फागुन २१ गते नयाँ निर्वाचन तोकिएको छ । संविधानका केही धाराहरू निस्तेज भएका छन् । सार्वजनिक जीवनका चर्चित व्यक्तिहरू अहिले ‘भूमिगत’ भएका छन् । दुई दिन चलेको आन्दोलनले नेपालमा ठुलो फेरबदल ल्याइएदिएको छ ।

यो आन्दोलन जेन-जी पुस्ता (सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका युवाहरू) ले आह्वान गरेको थियो । उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिको माग राखेर आन्दोलन गरेका थिए । उनीहरूले सत्ता र शक्तिको आडमा नेताका सन्तानहरूले बिताइरहेको बिलासी जीवनशैलीको विरोधमा सामाजिक सञ्जालमा ‘नेपोबेबी’ आन्दोलन चलाइरहेका थिए । त्यही समयमा सरकारले फेसबुक, एक्स (ट्वीटर), युट्युव, ह्वाट्स्एप लगायतका सामाजिक सञ्जालमा लगायो (भदौ १८ देखि) । सरकारले सर्वोच्च अदालतको आदेशका कारण यी सामाजिक सञ्जालमा रोक लगाएको भनिरहेको थियो तर सरकारका काम कारवाहीका बारेमा यी सञ्जालमार्फत हुने आलोचना रोक्न यसो गरिएको आम बुझाइ थियो । सामाजिक सञ्जाल नियमन गर्ने कानुन (ऐन) सरकारले बनाएकै थिएन । घाम, पानी, हावा र वर्षामा रमाएसरह निर्वाध इन्टरनेटमा सामाजिक सञ्जाल चलाइरहेका युवाहरू आत्तिएका थिए । सरकारको यो कदमले आगोमा घिउको काम गर्‍यो ।

जेन-जीलाई कसले परिचालित गरेको हो भनेर अहिले अदृश्य हातहरूको खोजी भइरहेको छ । नेपालका मात्र होइन, भारतका सञ्चार माध्यम र सामाजिक सञ्जाल त्यतै केन्द्रित भएका छन् । काठमाडौंका मेयर बालेन साह र ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सुदन गुरूङ यसका नेतृत्वकर्ता भएको मानिएको छ । अझै पर गएर हामी नेपालीको दातृ संगठनको पनि यसमा हात रहेको बताइएको छ । सिरियालगायतका मध्यपूर्वका देशहरू, श्रीङ्का, पाकिस्तान र बङ्गलादेशपछि नेपालमा यस्तो ‘कलर मुभमेन्ट’ त्यही दातृसंस्थाले चलाएको आरोप छ । भारत र राजावादी आन्दोलनसँग पनि यसको सम्बन्ध स्थापित गर्ने प्रयास भएको छ । कतिपयले यो आन्दोलनलाई नेपाली युवाले गरेको अर्ग्यानिक (मौलिक) आन्दोलन पनि मानेका छन् । (जेन-जी को आन्दोलनमा घुसपैठ गरेर आफ्नो अभीष्ट पूरा गर्ने तत्त्वको बारेमा खोजी गर्नु भने यो लेखोटको उद्देश्य होइन ।)

आन्दोलन गर्ने शक्तिले सो आन्दोलनलाई मौलिक मान्ने र अरूले विदेशीको इशारामा भएको आन्दोलन ठान्ने प्रचलन नयाँ होइन । फेरि, नेपालमा हुने आन्दोलनमा विदेशी शक्तिको परोक्ष वा प्रत्यक्ष हात रहने गरेको इतिहास पनि झुटो होइन । जङ्गबहादुरले गरेको कोतपर्व नै ब्रिटिश रेजिडेन्सीको आडमा गरिएको भन्ने मत छ । नेपाली काग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतमा भयो । २००७ सालको त्रिपक्षीय सम्झौता र २०६२ सालमा भएको बाह्र बुँदे सहमति भारतको सहयोगमा नै भएको थियो । राजाले २०१७ सालमा चालेको कदमपछि अनेक नेता कार्यकर्ता भारतमा नै त्यहाँका नेताहरूको सान्निध्यमा बसेका थिए । नाकाबन्दीका कारण २०४६ सालमा भारतबाट नेपालतर्फ नुनतेल आउन बन्द भयो तर भारतीय नेताहरू आएर चाक्सीबारीमा भाषण सुनाएर गए । मलाई नाकाबन्दीको सामना गर्न पञ्चायतलाई सघाएर व्यापार तथा पारवहन सन्धि भइसकेपछि आन्दोलन गरेको भए राम्रो हुने थियो जस्तो लागिरहन्छ । दश वर्षे जनयुद्धको जरा भारतमा रहेको पुष्टि गर्ने किताबहरू नै बजारमा आइसकेका छन् । फेरि पनि यी आन्दोलन र गतिविधिलाई हामी नेपालीले धेरथोर हाम्रो मौलिक प्रयास नै मानिरहेका छौं ।

विदेशी हस्तक्षेप कुनै नयाँ कुरा होइन । तिब्बतलाई स्वतन्त्र बनाउन लागिरहेका खम्पा विद्रोहीलाई विभिन्न तालिम र साधन दिएर प्रोत्साहित गरियो र त्यो भूमि नेपाल थियो । बङ्गलादेशको स्थापनामा भारतको संलग्नता थियो । सिक्किमको त विलय नै भयो । अमेरिकी राष्ट्रपति निर्वाचनमा रूसले प्रभाव पारेको चर्चासमेत चलेको थियो । पाकिस्तानको बलुचिस्तान र भारतका उत्तरपूर्वी राज्यहरूलाई छुट्टै देश बनाउने अभियान पनि चलेको छ रे । दक्षिण कोरियामा उत्तर कोरियालाई मिलाउने उद्देश रहेको एकीकरण (Ministry of Unification) मन्त्रालय  नै छ । पुराना कुरा कति गर्नु, अहिले नै क्यानडा र ग्रीनल्यान्डमाथि अधिकार जमाउन अमेरिकी राष्ट्रपति घोषितरूपमा लागिरहेका छन् । विदेशी राजनीतिमा प्रभाव पार्न र आफ्नो स्वार्थ पूरा गर्न शक्तिशाली देशहरूले विभिन्न संगठन नै खोलेका छन् । एउटा गाउँ भएको विश्वमा विदेश र विदेशी शक्तिको प्रभावलाई अनदेखा गर्न सकिन्न ।

हामी विदेशी शक्ति र निकायलाई नियन्त्रण गर्न सक्दैनौ तर आफू बलियो भएर उनीहरूका गलत क्रियाकलापलाई निस्तेज बनाउन सक्छौं । परिवारका सदस्यहरूको बिचमा बेमेल र बैमनस्य नभई अरू नातेदार र छिमेकीहरूले चलखेल गर्ने अवस्था सिर्जना नै हुन्न । त्यसैगरी, शासक र जनताको बिचमा दूरी कायम नभई विदेशी शक्तिले खेल्ने ठाउँ नै रहन्न । पञ्चायतकालमा उत्तरी सीमामा रहेका चेकपोस्ट बन्द गर्ने, कोदारी राजमार्ग बनाउने र २०७२ सालमा संविधान जारी गर्ने जस्ता केही काम हामीले आफ्नो बलबुतामा गर्न सकेका छौं । संयुक्त राष्ट्र संघको सदस्य बन्ने सङ्कल्प पनि सानो प्रयासले सफल भएको थिएन । शासकहरूले जनताको आवधिक मत मात्र होइन, पूर्ण नैतिक समर्थन पाएको समयमा विदेशी चलखेल स्वतः निस्तेज हुन्छ । स्कान्डेनिभियन र कतिपय मुलुकका शासकहरू साइकलमा बजार जाने गरेको र जनतासँग सौहार्द सम्बन्ध राखेको घटनाबाट हामीजस्ता कमजोर देशहरूले सिक्नुपर्छ । विदेशी शक्तिलाई परास्त पार्न आपसी एकताभन्दा ठुलो अर्को शक्ति कुनै छैन ।

जेन-जी आन्दोलनको लागि विदेशी शक्तितिर चोर औंला देखाइरहँदा बाँकी तीन ‌औंलाहरू सत्तासीनहरूतिरै फर्कन्छन् । विदेशी शक्तिका नजिक त उनीहरू नै छन् । विदेशी मन्त्री, नेता र राजदूत मात्र होइन जासुसहरूलाई पनि उनीहरू लाइन लागेर भेटिहरन्छन् । आन्दोलनकारीलाई विदेशी शक्तिले हौस्याएको मान्ने हो भने सत्तासीनहरूलाई पनि त जनतासँग दूरी बढाउन हौस्याएको होला नि । भ्रष्टाचार मार्फत अकूत सम्पत्ति आर्जन गर्न र देशमा कुशासन स्थापित गर्न उनीहरूलाई कुन शक्तिले प्रेरणा दियो ? कानुन निर्माणको चरणमा रहेको भनेर अदालतलाई जवाफ दिनुको साटो सामाजिक सञ्जालत बन्द गर्नु र सरकारी कामकारवाहीमा प्रश्न गर्ने सामाजिक अभियन्तालाई थुन्नुमा कसको हात थियो ? नक्कली भुटानी शरणार्थी प्रकरण र भिजिट भिसामा कामदार पठाउने गिरोहको राजनीतिक संलग्नता खोज्न केले रोकेको थियो ? कानुनको कार्यान्वयनमा पक्षपात गर्न कसले भनेको थियो ? पार्टी र शासनमा नयाँ अनुहार स्थापित गरेर जनतामा शङ्काको सुविधा उपलब्ध गराई आशाको सञ्चार गराउन कुन शक्तिले रोकेको थियो ? जनताको विश्वास भङ्ग गराउने, आफ्नै चुनावी वाचा र गठबन्धनको सर्त उल्लंघन गरी सरकार बनाउने  र चलाउने, सरकार निर्माणको क्रममा भएको सातबुँदे सहमति कार्यान्वयन गर्नबाट रोक्ने अदृश्य हात कुन हो ? किसान आन्दोलनमा थिए, जनता असन्तुष्ट थिए । जेन-जीको आन्दोलन हुँदै गरेको धेरैलाई पहिला नै थाहा रहेछ (म टिकटक नचलाउने र अरू सामाजिक सञ्जाल बन्द भएको कारण मलाई चैं अघिल्लो दिन मात्र थाहा भयो) । उनीहरूसँग समयमै संवाद गर्नुका साटो सुरूमा खिस्याएर उडाउने, पछि बन्दूकले उडाउने को हो ? आफूलाई कुकृत्य गर्न उक्साउने अन्तः र बाह्य प्रेरणाको खोजी नगरी आन्दोलनमा सरीक अदृश्य हातको खोजी अर्थहीन हुन्छ ।

आफ्ना जनतालाई विश्वासमा लिन नसक्ने अनि आन्दोलनको पछि अदृश्य हातहरूको खोजी गर्ने कामले उपयुक्त प्रतिफल दिँदैन । विश्वमा ठुला सामाज्य ठलेका छन्, देशको अस्तित्त्व नामेट भएको छ । यसमा जनताको भूमिका गौण छ, शासकको कुकृत्य मुख्य छ । जनताले स्वाधीनताको लडाइँ लडेका छन्, स्वतन्त्रताको बिगुल फुकेका छन् । रजनीशले भनेका छन्- भारत कसरी स्वतन्त्र भयो भन्ने कुरा महत्त्वपूर्ण छैन, कसरी परतन्त्र भयो भन्ने कुरा महत्त्वपूर्ण छ । सुशासन र कल्याणकारी राज्यका माध्यबाट जनतासँग सुमधुर सम्बन्ध बनाउन नसक्ने शासकले ढिलोचाँडो आफ्नो र देशकै पतन गराउँछ ।

आन्दोलनका क्रममा अपार जनधनको क्षति भएको छ । अबोध बालबालिकालाई गोली हानेर सरकारले ठुलो भूल गरेको छ । भोलिपल्ट अमूल्य सम्पदा र सम्पत्तिमाथि आगजनी भएको छ । यसले आन्दोलनको ज्योतिमा धब्बा लगाएको छ । युवाहरूले आफ्नो आवेगलाई विकेकले नियन्त्रण गर्न सकेनन् वा अवाञ्छित तत्त्वको घुसपैठ भयो, त्यसको छानबिन गर्नैपर्छ । आन्दोलनमा भएको बलिदान र क्षतिको आधारमा उपलब्धि हासिल हुनसक्छ वा सक्दैन भन्ने प्रश्न टड्कारो छ । भ्रष्टाचार र त्यसको संरक्षण लागि कुख्यात पात्र, संस्था र संयन्त्र अहिले पनि यथावत् नै छन् । नयाँ सरकारलाई छ महिनाको समय छ र निश्चित कार्यभार । त्यो समय र कार्यभारअनुसार स्वच्छ राज्ययन्त्रको प्रत्याभूति हुन सक्ला वा नसक्ला, यसै भन्न सकिने स्थिति छैन ।

जनजीवन सामान्य बन्दै गएको छ तर आगामी दिन अझ चुनौतीपूर्ण छन्, सायद कष्टप्रद पनि । कुशासनका नाइकेहरूबाट आत्मालोचनासमेत भएको छैन । केही नेताहरू ‘श्मसान वैराग्य’ को अवस्थामा छन् र आफ्नो गल्ती स्वीकार गरिरहेका छन् । ती अत्याचारका लाचार साक्षी मात्र हुन् । षडयन्त्र र चलखेलको माध्यमबाट लुटतन्त्र कायम राख्ने कोसिस पनि त हुँदै होला । सुशासनका लागि प्रतिबद्ध राजनैतिक विकल्पको विकास हाम्रो समाजले गर्न सक्छ कि सक्दैन भन्ने परीक्षाको घडी सामुन्नेमा छ । यो राजनीतिक परिवर्तनलाई घिसारेर प्रतिगमनतिर लैजाने तत्त्व पनि सलबलाएकै होलान् ।

माथि पनि लेखें, हरेक राजनीतिक आन्दोलनमा विदेशी तत्त्वको हात भएको आरोप लगाउने प्रचलन नयाँ होइन र इतिहास हेर्दा यो आरोप सर्वथा गलत पनि होइन । तर, हामी यसरी सत्तोसराप गरेर कतै पुग्दैनौं । राष्ट्रिय एकतालाई बलियो बनाएर मात्र हामीले यो मुलुकलाई जोगाउन सक्छौं । विदेशी हस्तक्षेपको हौवा देखाएर वा राष्ट्रियताको नारा घन्काएर भ्रष्टचार र कुशासनलाई छोप्ने प्रयासले देशलाई नोक्सान मात्र गराउँछ । शासक, शासन र जनताबिचको सुमधुर सम्बन्धले स्वस्थ राष्ट्रिय जीवनको आधार हो । हामी यो वातावरणमा फङ्गस्, ब्याक्टेरिया वा भाइरस नभएको कारण बाँचेका हैनौ, हामीभित्र रोग प्रतिरोधात्मक क्षमता भएका कारण बाँचेका हौं । त्यो क्षमता कम हुनासाथ हामी सकिन्छौं ।

के यो देशलाई सुशासनतर्फ अघि बनाउन भएका प्रयासलाई सघाउन तयार छौं ?

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *