राजेशले आफ्नो घरवरिपरी आँखा दौडायो । घरमुनि रोपेको कलमी आँपको बोट हिउँदको जाडोमा कक्रेर बसेको थियो । केरा र बाँसका झाँङमा बास बस्न आउने चराहरु चिरबिर गर्दैथिए । घाँस झारेर नाङ्गा बनाइएका कुटमिरो र काभ्राका रुखहरु वसन्तको प्रतीक्षामा थिए । डाँडाको फेदमा रहेको माथिल्लो तला होचो भएको टाँडे घरको धुरीबाट धुवाँ पुतपुताइरहेको थियो । पालीमा रहेको खोरमा कुखुराहरु पस्न खोजिरहेका थिए । घर वरपर नयाँ परिवर्तन केही थिएन । उसले झोला दलानको खाटमा राख्यो । देशमा लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापना जस्ता ठूला परिवर्तन भए पनि आफ्नो घर भने जस्ताको तस्तै पाउँदा उ विस्मित भयो ।
“ए, तँ आइपुगिस् बाबु । अनि यस पटक त आउने बेलामा फोन पनि गरिनस् त ।” आमाले यसो भन्दै गर्दा ऊ आमाको खुट्टामा झुकिसकेको थियो ।
“हिड्ने बेलामा त्यस्तै भयो । बाटामा गरुँ भनको फोनै लागेन ।” उसले स्पष्टीकरण दियो ।
लडाकु वर्गीकरणमा अयोग्य ठहरिएपछि ऊ निराश भएको थियो । पार्टीका नेता र कमान्डरहरुबाट उसले आश्वासन, आँट र हौसला पाएको थियो तर उसको चिसिएको मन तात्न सकेको थिएन । जागिरका लागि यो उत्सर्ग गरिएको थिएन भन्ने कुरा मनमा ल्याएर आफ्नो चित्त बुझाउन खोज्दा पनि उसको मन मानिरहेको थिएन । उसका साथीहरु एउटा जागिर खाएर ढुक्कको जीवन बिताउने फिराकमा लागेका थिए । सेनामा जानु नै अब सबैको अन्तिम उद्देश्य बनेको थियो । त्यस्तो माहौलमा उसको चित्त के बुझ्थ्यो ? यही मानसिक उथलपुथलका बीच एउटा झोला र एकसरो लुगामा पूर्वसूचना बिना नै ऊ घर आइपुगेको थियो । यस पटक उसलाई लाग्यो, सोधेर गएको भए पो भनेर आउनु ?
“भोकाएर आइस होला, म छिटै भात पकाउँछु । यति भनेर आमा घरभित्र पसिन् । गाउँतिर डुल्न गएका सरोज र सरला तत्कालै हस्याङफस्याङ गर्दै आइपुगे ।
“आउनुस् दाजु माथि ।” “ बहिनी झोला च्यापेर लिस्नोतिर संकेत गरिरहेकी थिइन् ।
उ तलामाथि गयो । घर ंंंआउदा उ सुत्ने गरेको खाटमा अहिले थोत्रा लुगा रहेछन् । सरलाले त्यो एकातिर पन्छाइदिई । ऊ त्यही बस्यो । माथिल्लो तला पनि त उस्तै थियो । कोठाको भित्तामा उसको ठूलो फोटो फ्रेममा हालेर टाँगिएको थियो । उसले एसएलसी दिन खिचाएको फेटोलाई पछि ठूलो पारेर राखिएको रहेछ । फोटोमा व्यक्त खुशी र आनन्दको भाव हेरेर ऊ पनि खुशी भयो ।
“वर्गीकरणमा अनमिनले अयोग्य ठहराए पनि पार्टीमा कुनै फरक व्यवहार हुँदैन । मलाई पार्टीमा बसेर काम गर्नु भनेका छन् ।” उसले आफूलाई समेत आश्वस्त पार्ने स्वरमा भन्यो ।
“तिमी शिविरमा बसेर आउने केटाहरु अबको राजनीतिमा कागको बथानका बकुल्ला हुन्छौ । अब राजनीति गर्ने कुरा छोड्दे । अहिले गाउँको पार्टी नेता को छ थाहा छ ? दिउँसै रक्सी खाएर बजारमा हल्ला गर्यो भनेर तिमीहरुले नै भाटे कारबाही गरेको बीरमाने ।” बाबुले भने ।
ऊ चुपचाप बस्यो । ऊ यस्तो यात्री थियो जसको बाटो टुंगिएको थियो । के बोलोस ?
“पढ्न उमेरले छेक्दैन । अव एसएलसी दे । पहिले लागेको एक विषय दिएको भए अहिले कहाँ पुगिसक्थिस् । अब पनि केही बितेको छैन । खेप गयो, जुनी गएको छैन । भोलि स्कूलमा गएर प्राइभेट एसएलसी परीक्षा दिने फाराम कहिले खुल्छ, बुझेर आइज ।” बाबुले थपे । उनको आँखामा छोराको अनिश्चित र अँध्यारो भविष्य घुमिरहेको थियो ।
“घर आइस यही नै राम्रो भयो । त्यत्रो लडाइमा मानिसले ज्यान पनि भन्न पाएनन् । हाम्रो भाग्य रहेछ, तँलाई केही भएन । अब ती कुरामा मन न दे । घर बस्, मन लागेको काम गर । पढ्न मन भए पढ । पढ्न मन नभए व्यपार व्यवसाय गर । तल्लो बारीको पुछार भएर बर्रे जाने बाटो खुलेकाले पसल खोल्ने लहर चलेको छ । अरु त जग्गा किनेर पसल थाप्ने भन्दैछन् । हाम्रो त जग्गै छ । तँ पनि पसल थाप्छस भने थाप । आघौ तिर बिहे पनि गर्नुपर्छ ।” आमाले राय दिइन् ।
फेरि पढाइ, घर व्यवहार र बिहा । उसलाई यही कुराले दिक्क लगाउँछ । उसलाई पहिला आफू आम मानिसभन्दा कति फरक भए जस्तो लाग्यो, युगबोध भएको, क्रान्ति चेत भएको अनि यो संसारको गोल चक्करलाई उल्ट्याइदिने सामथ्र्य भएको । तर अहिले ती आममान्छे जत्तिको हुन उसलाई हम्मेहम्मे परिरहेको छ । शिविरमा पनि अहिले यही कुरा छ, प्राइभेट एसएलसी दिने, सेनामा जागिर खाएर घर व्यवहार चलाउने, समाजमा पुनरस्थापना भएर व्यवसाय गर्ने । ऊ यी सब छोडेर त युद्धमा लागेको थियो । युद्धपछि पनि ऊ यहीँ आइपुगेको छ ।
राजेशले शर्मिलालाई भेट्यो । आफ्नो मन र आमाबाबुको भनाइका बीचमा तालमेल नमिलेर उसलाई के गरौ र कसो गरौ भइरहेको थियो । यस्तो बेला आफ्नो कुरा बुझ्ने र आफुजस्तै मानिसलाई भेट्न मन लाग्छ । यसै पनि ऊ घर आउँदा सँधै शर्मिलालाई भेट्छ । शर्मिलाका पति रामप्रसाद भने अहिले बेपत्ता छन् । खास नाता नभए पनि उनलाई राजेश दाजु भनेर सम्बोधन गथ्र्यो । राजेशलाई क्रान्तिको चेतना भर्नेमा एक जना उनै थिए । राजेश अहिले तिनै रामप्रसाद दाइ र शर्मिला भाउजुलाई सम्झेर चित्त बुझाउंछ । रामप्रसादको ज्यानको टुंगो छैन, भाउजु बेसहारा बनेकी छन् । त्यो हेरी उसको के पो भएको छ र ?
“भाउजु, नमस्कार । के कसो छ खबर ?”
“के छ भन्नु र बाबाु, यस्तै छ । अनि बाबु कताबाट त ?” शर्मिलाले भनिन् ।
“एसएलसीको फाराम बारे बुझ्न स्कूल गएको थिएँ फर्कदा भाउजुलाई भेटेर जाउँ भनेर निस्केको नि ।”
“पढ्नुस् बाबु पढ्नुस् । यी दस वर्षका कतिका पढाइ छुटे, कतिका घरबार टुटे । जसले जे भने पनि आफूभन्दा ठूलो केही रहेनछ बाबु ।”
“त्यो मात्र होइन भाउजु, देशमा गणतन्त्र आयो, नयाँ संविधान आउँछ । जनतामा चेतना फैलिएको छ ।”
“त्यो त हो बाबु । उहाँ घर छोडेर हिँडेदेखि आफ्नो आङमा घाम लागेको छैन । न सास भेटिएको छ, न लाश । क्रान्ति भनेको मर्नेले रोपेका फसल बाँच्नेले काट्ने इलम रहेछ बाबु । तपाईँ त फर्कनु भो । अब पढ्नुस्, जागिर खान नमिले आफ्नो इलम गर्नुस् । जिउ रहे घिउ खान पाइन्छ ।”
“त्यति निराश नहुनुस् भाउजु । क्रान्तिको इतिहास मानव सभ्यता जत्तिकै पुरानो छ । सबै देशका इतिहास क्रान्तिकारीले लेखेका छन् । एउटा मानिसले बगाएको रगतले युगलाई नयाँ जीवन दिन्छ भने त्यो मानिस धन्य नै हुन्छ, भाउजु ।”
“हो, तर यहाँ त खै के भो के भो । न यो सम्झेर चित्त बुझाउन सक्छु न त्यो । जनताको मुखमा माड लगाउने काम त केही पनि त ुहन सकेको छैन । तपाईं आफै पनि त पहिलो पटक एसएलसी दिएको पाँच वर्षपछि फेरि त्यही जाँच दिन खोज्दै हुनुहुन्छ । सँगैका साथीले बी.ए.पास गर्ने बेला भयो । साँची अब के गर्नुहुन्छ बाबु । फेरि शिविरमा जानुहुन्छ ? अब त शिविरै खाली गर्ने कुरा हुँदैछ ।”
“जान्न होला भाउजु अब । तैपनि हेरौ के हुन्छ । अब जे गरे पनि भो । उताबाट विदा भइहालियो ।”
“गाउँमा बस्न पनि सजिलो त छैन बाबु । तर अब उपाय पनि त के रह्यो र ? जोरीपारीको घोचपेच खपिसक्नु हुँदैन । युद्ध हारेर बाँच्न गाह्रो छ बाबु । झन् मैले त जीवन नै हारिसकेकी छु ।”
“धेरै चिन्ता नगर्नुस् भाउजु । हामी जस्ता मानिस पनि धेरै छन् । अरुलाई हेरेर पनि त चित्त बुझाउनु पर्छ नि भाउजु ।”
“चित्त त बुझाएकै थिएँ नि । जतिजति दिन बित्दै जान्छ, घाउको पाप्रा उप्किदै गएको छ, घाउ अरु आलो हुँदै आएको छ । तपाईंलाई चित्त बुझेको छ, आजको देश, आजको समाज र आजको अवस्था ?”
“अब हाम्रो ठुलो समूह गाउँ फर्कन्छ र गाउँमा पनि हामीलाई सजिलो हुन्छ भन्ने सोचाइमा छु म त ।”
यस्तै कुरा गरेर ऊ शर्मिला भाउजुहाँबाट फर्कियो । यस कुराकानी पछि उसको मनमा विभिन्न अन्यौल उब्जिए । आफू बाँच्नुको खुशी र रामप्रसाद दाइ बेपत्ता हुनुको पीडाले उसको मनलाई पालैपालो जकडिरहे ।
“राजेशजी, शिविर कहिले फर्कने ?” समीर फोनमा थियो ।
“किन र ?” उसले भन्यो ।
“छिटो आउनुस न । अब के गर्ने भन्ने बारेमा छलफल गर्नु छ ।”
“हामीले के गर्नु छ र । सबै कुरा त भइ नै सक्यो ।” उसले निराशा व्यक्त गर्यो ।
“त्यसो नभन्नुस राजेशजी । आफैले लडेको युद्धलाई अपमानित नगर्नुस् । हामीले बगाएको रगतको हिसाबकिताब हुनैपर्छ । कि हाम्रो सपना साकार हुनुपर्छ, कि हामी अर्को बलिदानका लागि तयार हुनुपर्छ ।” समीर उत्तेजित भएको थियो ।
“भन्नोस न त मैले के गर्नुपर्यो ?” राजेश अलि गल्यो ।
“हेर्नोस राजेशजी, सबै कुरा त फोनबाट भन्न मिल्दैन । यहाँ आउनुस् अनि कुरा गरौंला । तर यत्ति सोचेर आउनुस्, हामी जटिल मोडमा छौ ।” समीरले फोन राख्यो ।
यो जटिल मोडले पनि उसलाई कहिले छोडेन । ती दिन पनि कम जाटिल थिए त ? लखतरान परुन्जेलको हिंडाइ, बेटुङ्गाको खुवाइ र ओछ्यानबिनाको सुताइ । क्रान्ति र क्रान्तिपछिको सुन्दर जीवनको एक धर्को उज्यालो, अरु सब अन्धकार । त्यही उज्यालोको सहारामा तय गरिएको त्यो महाअन्धकारको यात्रा । किन, के, कहिले, कसरी, कहाँ सब अज्ञात । घाइते बनेर छोडिने साथीहरु, मरेर छोडिने साथीहरु र पक्डाउ खाएर छोडिने साथीहरुको सम्झना । किताबमा लेखिएको बलिदान र शहादत शब्दभन्दा कति गाह्रो छ मर्नुृ र मार्नु ? बम र बारुदसँगको मैत्री, हत्केलामा रहेका जीवन । पानीको फोका जस्तो जीवन, आफ्नो पनि अर्काको पनि । यी जटिलतापछि त जीवन अलि सरल हुनुपर्ने हो नि । अरु जटिल ?
“आमा म भोलि शिविर फर्कन्छु । ” उसले आमालाई भन्यो ।
“शिविर फर्कने ? तँ अब उताबाट सँधैका लागि घर फर्केको होइनस् र ? ” आमाले सोधिन ।
“साथीहरुले बोलाइ रहेका छन् ।” उसले आफ्नो बचाउ गर्यो ।
“साथीहरुले बोलाएको ठाउँमा तँ धेरै हिडिस् बाबु । बाले भनेको मान, अब घरै बस, घरमै जे मनलाग्छ गर । ती चार वर्ष मेरो मुटु नौ चिरा भएका थिए । अब घर छोडेर न जा ।”
“त्यत्रो बलिदान र दु:ख पनि खेर जान लाग्यो भनेर साथीहरु भनिरहेका छन् । न जनताको जीवनमा कुनै परिवर्तन आयो, न आफ्नै केही प्रगति भयो । भविष्य झन् अनिश्चित छ । अब के गर्ने भन्ने बारेमा साथीहरुसँग बैठक छ ।” उसले आफ्नो मनको कुरा गर्यो ।
“मैले उतिबेला पनि भनेकी थिएँ, न जा । तैले मानिनस् । अब चाहिँ न जा । बाबु पनि अलि गल्नु भएको छ । घर बस । बुढेसकालमा हामीलाई दु:ख नदे । एक युगमा एक पटक क्रान्ति हुन्छ भन्थिस् । यो जुगको क्रान्ति भो, अब अर्को जुगमा होला । भाग्यभन्दा क्रान्ति ठूलो होइन । लेखेको हुृन्छ, नलेखेको हुँदैन ।” आमाले भनिन् ।
उसले पढेको थियो । क्रान्तिले भाग्यका बन्धनलाई चुडाउँछ, ईश्वरका आदेशहरुको अवज्ञा गर्छ । त्यही क्रान्तिको अभ्यर्थनामा त उसले ती चार वर्ष विताएको थियो । ती इतिहास अहिले पनि पढाइन्छन् र पढिन्छन् तर अझै आमा भन्दैछिन्, लेखेको हुन्छ, नलेखेको हुँदैन । उसले शर्मिला भाउजुलाई सम्झ्यो । शर्मिला भाउजुले भनेकी थिइन्, क्रान्ति यस्तो खेल हो जसमा हार्नेका बाँच्ने विकल्प साँघुरा हुन्छन् । प्रगतिको गौरव र आत्मसम्मानको सौरभ गुमाएर अब उसको जीवनको बाटो साँघुरो भएको छ । कैयौँ दोवाटोबाट बिना हिचकिचाहट आफ्नो यात्रा तय गरेको राजेशको अघि फेरि अर्को दोबाटो आइपुगेको छ र ऊ रनभुल्लमा छ ।
