अग्ला पहाड र होचा मानिसहरू
सेता हिमाल र काला मनहरू
हरिया डाँडा र सुकेका ओठहरू
निर्मल खोला र कलुषित सोचहरू ।
इतिहासको गाथा र वर्तमानका व्यथाहरू
वीरहरूको रगत र काँतर मुटुहरू
विशाल भूगोल र संकुचित विचारहरू
कर्मशील पाखुरा र याचक आँखाहरू ।
जाज्वल्य सम्भावना र अँध्यारा दिनहरू
तीखो प्रहार र आत्मघाती निशानाहरू
महान कर्तव्य र स्वार्थी कर्तुतहरू
शानदार पहिरन र निर्वस्त्र प्रस्तुतिहरू ।
चैतन्य परमात्मा र दुःखी आत्माहरू
सुन्दर सृष्टि र यी दुर्गन्धित फूलहरू
एक बारको जिन्दगी र हर बार झेलहरू
शास्वत मृत्यु र हारिने खेलहरू ।