मिस्टर आचार्य, आर यु रिटायर्ड ?

‘मिस्टर आचार्य, आर यु रिटायर्ड ?’ अवकाश पाएर श्रीमतीसहित घुमफिरका लागि मलेसियाको क्वालालम्पुर पुगेको थिएँ । बटुकेभ लैजानका लागि हामीलाई लिन होटलको लबीमा आएकी पथप्रदर्शक तथा ड्राइभर मोनिकाले अलिपर राकेको गाडीमा नपुग्दै बाटैमा यो प्रश्न गरेकी थिई । राष्ट्र बैंकमा तीस वर्ष काम गरेको आधारमा मैले एकाउन्न वर्षमा अवकाश पाएको थिएँ । पातलो शरीर र उतिसारो नफुलेको कपालको कारण म त्यति बुढो जस्तो पनि देखिन्नथेँ (यो तथ्यचाहिँ विवादित पनि हुनसक्छ, आफूलाई लागेको भने त्यही हो) । काठमाडौंमा मैले अवकाश पाएको कुरा सुनाउँदा धेरै जना मेरो उमेर र अवस्थाको कारण पत्याउँदैनथे । मैले पत्यार पारेपछि ‘हेर, काम गर्ने उमेर हुँदाहुँदै रिटायर’ भनेर सहानुभूति दिन्थे । सहानुभूतिका यस्ता गुलिया कुरा सुन्न बानी परेका मेरा यी कानमा मोनिकाले सोझै ‘तपाईं रिटायर्ड हो नि !’ भनेर ठोकुवाको शैलीमा प्रश्न सोधेपछि म हतप्रभ भएको थिएँ । साँच्चै, त्यो प्रश्नले मलाई लल्याकलुलुक पार्‍यो । मैले उसलाई हेरेँ । ऊ निकै ढुक्क देखिन्थी । ऊ ओठमा स्मित मुस्कान छरेर दायाँ हातको चोर औंलाले कारको साँचो घुमाउँदै थिई । मानौ मनमनै भनिरहेकी थिई, ‘हामी एक नजरमा मान्छे चिन्छौं । मैले भनेको मिल्यो कि मिलेन त, मिस्टर आचार्य !’ ‘हो, तर कसरी थाहा पाउनु भो !’ मैले आफूलाई सीआईडी (भारतीय सिरियल) को एसीपी प्रद्युम्नको अघि परेको अपराधी जस्तै महसुस