संसारीको मन्दिरयात्रा

‘पर्सि शनिवार पशुपति जानुपर्छ ।‘ कहिलेकाहीँ यस्तो प्रस्ताव आउँछ ।

जागिरबाट अवकाश भएपछि सबै दिन शनिवारसरह नै हुन् । तर कहिले कतै सम्बद्ध भएका कारण मेरै फुर्सद नहुने, कहिले छोराहरूको कारण बिहान फुर्सद नहुने हुनाले पशुपति जाने दिन अक्सर शनिवार नै जुर्छ ।

‘भैहाल्छ नि !’ नेपालकै आराध्य देव, देवाधिदेव महादेव, मैले फरक मत राख्नुपर्ने के हुन्छ र । फरक मतका आधार र कारण भए पनि तिनलाई एउटा कुनामा थन्क्याएर म तयार हुन्छु ।

तयार हुनु भनेको के हो र ?

दुई जग मनतातो पानी टाउकोबाट खन्याउनु ।

धोएका तर धोएपछि नलाएका लुगा लगाउनु ।

‘खुद्रा पैसा पनि ठिक पार्नु है ।‘

तयारीको अर्को बुँदा आइलाग्छ ।

यो काम उनैले गरेको भए पनि हुने नि । किनमेल गर्दा आएको खुद्रा जम्मा पारेर राखे भै हाल्छ नि । फेरि कति पो चाहिने हो र ! देउताकहाँ जाँदा हात खाली नगर्ने मेलो त होला नि यो । नेपाल राष्ट्र बैंकमा जागिर खाएपछि आइलागेको खुद्रा व्यवस्थापनको व्यक्तिगत, पारिवारिक, नातागोता र सामाजिक जिम्मेवारीको धङधङी अझै कायम छ ।

‘भैहाल्छ नि ।‘ यो सानो कुरोका लागि किन यति बेलिबिस्तार लगाउनु ?

‘कति हो खुद्रा भनेको ?’ मेरो मनले सोध्छ ।

म सानो छँदा १, २ खुद्रा मानिन्थ्यो । अहिलो १०, २० खुद्रा मानिन्छ । मानिन्छ पनि के भन्नु म मान्छु भनौं न ! कसैको लागि १००, ५० नै खुद्रा होला । केही समय पहिले १०,००० को नोट निकाल्नु पर्छ भन्ने आवाज पनि सुनेथें । तिनीहरूको लागि ५००, १००० नै खुद्रा होला । खुद्रा एउटा सापेक्षिक परिभाषा हो, आफूसँग धेरै सम्पत्ति छ भने ठुलो नोट पनि खुद्रा हो ।

म आफूसँग भएका ठुला नोटहरूको मौज्दात अनुमान गरेर खुद्रा नोट ठिक पार्छु ।

पशुपति परिसरमा पस्ने बित्तिकै फूलप्रसाद पसलमा पुगिन्छ । अस्पतालअघि औषधि पसल र क्याम्पसअघि किताब पसल भएजस्तै स्वाभाविक कुरा हो यो । हामी किन्न खोज्छौं ।

‘पचास रुपियाँ, सय रुपियाँ, नरिवल हालेर ……, रूद्राक्ष हालेर …… ।‘

पसलेले उज्याएको प्रसादको टोकरीले त्यो मोल बोक्नसक्छ जस्तो मलाई लाग्दैन ।

‘भगवानलाई चढाउने कुरा हो हजुर, पैसाको के कुरा भो र ?’

हो त नि ! म आफूलाई हुस्सु ठान्छु ।

व्यापारमा जसले भावना मिसाउन सक्यो, त्यसले जित्यो । ज्यानको कुरा हो नि भनेर अहिले कतिपय अस्पताले पैसा कमाइरहेका छन् । क्यारियरको कुरो भनेर अहिले कतिपय विद्यालयले व्यापार गरिरहेका छन् । उनीहरूलाई मात्र के दोष दिनु ? हामी पनि हो, हो गरिरहेका छौं ।

किसानले पनि ‘यो नसानसामा बग्ने रगत बनाउने र तागत दिने कुरो यही हो, हावा र पानीपछि तेस्रो महत्त्वपूर्ण कुरो यही हो’ भनेर कृषि उपज बेच्न सके अलि राम्रो भाउ पाउँथे कि ? उनीहरू हाम्रो भावनामा खेल्न सकेका छैनन् । ‘नबिके कुहिएर जान्छ ।‘ यही सोचिएको छ । नकिने अर्थात नखाए हामी पनि त कुहिन्छौं नि !

सुन्तलाको मिठास अमूल्य छ तर सुन्तलाको निश्चित मूल्य छ । त्यही मूल्यको आधारमा व्यापार हुनुपर्छ । भावनाको आधारमा व्यापार गर्न नहुने हो तर भइरहेको छ ।

थुप्रै पसल छन्, भाउ समान छन् । कहाँ किन्ने र पैसा कसलाई तिर्ने भन्ने निर्णय गर्न म स्वतन्त्र छु । कुनै पसलबाट प्रसादको टोकरी किनेर हामी अघि बढ्छौं ।

निःशुल्क जुत्ता राख्ने सेवाको उपयोग गरी हामी दर्शनका लागि लाइन लाग्छौं । पशुपति जाँदा म लाइनका लागि मानसिकरूपमा तयार हुन्न, मेरो मानसपटलमा २०४४/४५ सालको झल्को आउँछ । त्यो वेला मन्दिरमा लामो लाइन हुँदैनथ्यो, १००/५० जनाको लाइनलाई हामी भिड भन्थ्यौं । अचेल भने अचम्मैगरी लाइन बढेको छ । भारतीय तीर्थयात्री र विदेशी पर्यटक पनि बढेको देख्छु । पर्यटनलाई यसले मद्दत नै गर्ला । अर्थतन्त्र चलायमान बनाउला । मन्दीको हल्लाले मन्दिरलाई छुन सकेको छैन । यो राम्रै हो ।

म दर्शनार्थीको लाइनमा युवाहरूलाई पनि मनग्गे भेटिरहेको छु । पशुपतिमा मात्र हैन अन्यत्र पनि । यसरी मन्दिरमा युवा देख्दा मेरो मनमा खुशी र दुःखको भावना एकसाथ आउँछ । म दुर्योधन भए त्यही बेला मरिसक्थें होला । दुर्योधनलाई दुःख र सुखको भावना एकसाथ आएमा मर्ने श्राप थियो रे । अश्वत्थामाले पाँच पाण्डव भनेर काटेका उनीहरूका पाँच छोराहरूको टाउको देखाउँदा शत्रुपक्षको नाश भएकोमा खुशी र निर्दोष व्यक्तिको हत्या भएकोमा दुःखी भएका थिए र तत्काल मरेका थिए रे ।

म युवालाई मन्दिरमा देख्दा खुशी हुनुको कारण बताउँदै म कुरालाई फेरि लिकमा ल्याउँछु । धर्मको एउटा राम्रो र महत्त्वपूर्ण कुरा के छ भने यसले सारा संसार र यसमा रहेका जीवित/निर्जीव सबै अस्तित्त्वलाई एकै परमशक्तिको सिर्जनाको रूपमा व्याख्या गर्छ । यसले संसारका सबै मानिस, जीव, वनस्पति र निर्जीव तत्त्वसँग पनि हाम्रो सम्बन्ध स्थापित गर्छ र सहानुभूति, अपनत्व र सह-अस्तित्त्वको भावना जगाउँछ । धर्मले जीवनको क्षणभङ्गुरताको बोध गराउँछ पनि । मर्नुभन्दा पहिले नै मरिन्छ भन्ने सत्यसँग आत्मसात गर्दा जीवन सुसङ्गत हुन्छ । यो संसारलाई यी भावनाको खाँचो छ । ईश्वरको कल्पना गर्न नसकिएको भए कला र साहित्यले यो उचाइ पाउन सक्ने थिएनन् ।

फेरि यी युवा भाग्यवाद, ग्रहदशा, आशिर्वाद र भाकलको चक्करमा परेका त छैनन् भन्ने आशङ्काले मलाई दुःखी बनाउँछ । औषधि जस्तै धर्मको पनि साइड इफेक्ट हुन्छ । युवा त्यसमा सचेत छैनन् कि भन्ने चिन्ता छ मलाई ।

ती युवा आफ्ना मनपरेका जोडीका साथ सस्तैमा गफिने ठाउँ खोज्दै मन्दिर आएका हुन् भने मलाई धेरै खुशी हुन्छ । मेरो विचारमा जीवनप्रतिको अनुराग र धर्मप्रतिको निष्ठा त्यति भए पुग्छ ।

‘अङ्कल यसो अगाडि छिर्न दिनु न ! भिड रैछ, हतार छ ।‘

कसैले अनुरोध गर्छ । धर्म गर्नुअघि नै धर्मसङ्कट आइपर्छ ।

अगाडि छिर्न नदिऊँ, आग्रहको तिरस्कार हुने । धर्मिक स्थानमा आएर पनि त्यति सानो सहयोग नगर्ने स्वार्थी भइने । अगाडि छिर्न दिऊँ, आफूलगायत आफूपछिका अनेक दर्शनार्थीलाई अन्याय हुने ।

कहिले छिर्न दिन्छु, कहिले दिन्न । यो मेरो तत्कालको मनस्थितिमा भरपर्छ । अझै स्पष्ट त्यो मानिसले मेरो मन कस्तो बनाउँछ, त्यसमा भर पर्ला । यसको लेखाजोखा मैले गरिसकेको छैन ।

अगाडि छिर्न दिएको अवस्थामा सहयोग गरेको र छिर्न नदिएको अवस्थामा पछाडिका दर्शनार्थी र लाइन प्रणालीको रक्षा गरेको हुनाले धर्म हुन्छ भन्नेमा म ढुक्क देखिन्छु । यसरी ‘पाडो पाए पनि पाडी पाए पनि बिगौती’ मेरै भागमा पार्छु ।

उसो त परिस्थितवश पछि परेका मानिसहरूलाई लाइनको बिचबाट छिराउने प्रणाली नेपालमा छ । त्यो प्रणालीबाट कसलाई फाइदा दिने कसलाई नदिने भन्ने निर्णय भने सधैं विवादमा पर्ने गरेको छ । पछिपरेकालाई छिराउने व्यवस्थाबाट अल्छेले पनि फाइदा लिइरहेका छन् । लेनदेन, नातागोता, भनसुनको समानान्तर प्रथा पनि प्रचलनमा नै छ । सोझासाझाको लागि नियमकानुनको पनि अभाव छैन । देशको शासकीय प्रणाली पशुपतिको लाइन प्रणालीबाट अनुप्राणित भएको महसुस हुन्छ । म पनि यही प्रणालीको अनुशरण गर्छु र कसैलाई लाइनमा पस्न दिन्छु, कसैलाई दिन्न ।

लाइन सर्दै जाँदा मन्दिर छेउमा पुगिसकेपछि एउटा नोट फूलको टोकरीमा राख्छु । त्यही पहिला तयारी गरिराखेको खुद्रा नोट ।

म सोच्छु, मैले भगवानको नाममा चढाउन लागेको यो नोट कता पुग्छ होला ।

के यो नोट मन्दिर परिसरको संरचनाको निर्माण, सरसफाइ जिर्णोद्धारमा यो उपयोग हुन्छ होला ?

के यो नोट कसैको निजी आर्जनको रूपमा परिणत हुन्छ होला ?

के यो नोट कमिसन र भ्रष्टाचारको विषयवस्तु बन्छ होला ?

के यो थैली भेटको आधुनिक अवतार बनेको ब्रिफकेस उपहारको रूपमा कुनै शक्तिकेन्द्रमा पुग्छ होला ?

अनेकौं विचार र तर्कवितर्क मनमा उठ्छ । म मनले अर्पेको भेटी पनि एक चित्तले चढाउन सक्दिन ।

‘टोकरीमा दश रूपियाँको नोट राखेर के सोचिराखेको तैंले ? लोभ पनि कत्ति गर्न सकेको ! तेरो काम हो चढाउने । त्यसपछि हुने कुरो तेरो अधिकारक्षेत्रमा पर्दैन । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।‘ मेरो मनको एउटा कुनाले मलाई गाली गर्छ । हो पनि, कर तिर्ने अधिकारमा छ । नेता चुन्ने अधिकार छ । संविधान बनाउने अधिकार छ । आन्दोलन गर्ने अधिकार छ । त्यसपछिको कुरामा कहिले हाम्रो अधिकार रहेन । यो पनि त्यस्तै त होला । आशा गरौं राम्रै होला ।

मन्दिरहरू पनि सांसारिक प्रतिस्पर्धामा नै त छन् । कुन मन्दिरमा कति सुन छ, कुन मन्दिर कति धनी छ । कुन मन्दिरको धर्मशाला कस्तो, कुन मन्दिरको प्रसादी कस्तो ! संसारका ठुलाठुला व्यापारिक प्रतिष्ठान टाटपल्टेका खबरले मन्दिरका हर्ताकर्तालाई पनि चिन्तित बनाउँदो हो । त्यसैले उनीहरू पनि आकर्षक योजनाका साथ प्रस्तुत भएका छन् । यतिमा तत्काल दर्शन, यतिमा यस्तो पूजा, उतिमा उस्तो पूजा । कसैकसैले त भयादोहन पनि गर्छन् – यसो नगरे नर्कमा बास भनेर । यी योजना चलिरहेका छन् । त्यसैले आजसम्म व्यापारिक अर्थतन्त्र डगमगाए पनि धार्मिक अर्थतन्त्र डगमगाएको छैन । ईश्वरका लागि त फलाम र सुन आफ्नै सिर्जना भएकाले उत्तिकै प्यारा लाग्लान् तर मन्दिर व्यवस्थापनले त्यसरी सोचेर हुन्न होला । म चित्त बुझाउँछु ।

छिटो, छिटो !

लाइन व्यवस्थापनमा खटिएका जनशक्तिबाट यस्तो आदेश आइरहन्छ । कुनै पनि काम छिटो होस् भन्ने सोच्नु राम्रो हो । तर दर्शनार्थीका लागि दिइएको यो छिटोको आदेश मलाई अशिष्ट लाग्छ । घरजम गर्न को गएको छ र त्यहाँ ? दर्शन गएर फर्कने नै हो । खाने कुरो त्यहाँ छैन, बस्ने व्यवस्था त्यहाँ छैन । शान्तिले पूजा गर्न दिऊँ, त्यसपछि विदा दिऊँ । बग्दै गएको समय स्थिर भएको महसुस होस् न, मन्दिरमा एकछिन । मन्दिर पनि संसारकै एउटा अंश हो, तर दर्शनार्थीहरू त्यसलाई संसारभन्दा फरक मानेर गइरहेका छन् । उनीहरूको भावनाको एउटा सीमासम्म कदर गरौं । भागदौड नै मच्चाउने गरी अत्तालिएर दिइएको छिटोको आदेश मलाई उचित लागेको छैन ।

किन यति हतार ? के आज मन्दिर चाँडै बन्द हुने हो र ? रिस उठेर मैले एक दिन सोधें पनि । उनी चुप लागे । तर म अगाडि बढ्नेबित्तिकै पछाडिबाट आवाज आइरहेको थियो, छिटो, छिटो ।

दर्शनको प्रक्रिया लामो हुँदैन । फूलप्रसाद पूजा गराउने काममा सहजीकरण गर्न बसेका व्यक्तिलाई दियो । भेटी कतै दानपेटिकामा, कतै मूर्तिमा राख्यो, फूलप्रसाद पाए ग्रहण गर्यो, सकियो । अचेलचाहिँ पशुपति जाँदा जलहरी देखिन्छ कि भनेर कुर्कुच्चा उचालेर हेर्न खोज्छु, तर देख्दिन । केही समयअघि सुनको जलहरी राख्दा सुनमा घोटाला भएको समाचार आएको थियो । मलाई पूजा गरिरहँदा पनि नकारात्मक घटनाप्रतिको मोहनीले छोडेको हुँदो रहेनछ ।

मन्दिरबाहिर निस्केपछि मलाई त्यो छिटोछिटोको आदेश ठिकै रहेको महसुस हुन्छ । केही काम त त्यही दि गर्नुपर्ने हुन्छ । भाग्यमा लेखेभन्दा बढी पाइँदैन भनिए पनि भाग्यमा लेखेको छ भन्दैमा डोकामा दूध अडिदैन भन्ने भनाइले मलाई तान्छ । अनि म छिटोछटो घर फर्कन्छु र डोकाका प्वालहरू टालेर त्यसलाई दूध अडिने बनाउने काममा लागिरहन्छु ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *