किल्लाबाहिरको सिपाही

नेपाल राष्ट्र बैंकमा तीस वर्ष काम गरेर अवकाश पाएको पनि डेढ वर्ष बितिसकेको छ । आफ्ना समवयी साथीहरुले पनि क्रमशः अवकाश पाउँदै गएकाले अब नेपाल राष्ट्र बैंकमा आफूले चिनेजानेका कर्मचारीको संख्या निकै कम भइसकेको छ । भुइँचालोले काठमाडौंका पुराना कार्यालय भवन भत्काएको र टक्सार पनि धरहराको सेरोफेरोमा पर्ने भएकाले विभागहरू यताउता सारिएका छन् र अहिले त कुन विभाग कता छ भनेर मलाई पनि थाहा हुन छोडेको छ । कर्मचारीको सरुवाको कारण चिनेका साथी कुन विभागमा छन् भनेर हेक्का गर्न सकिने अवस्था पनि छैन । नयाँनयाँ प्रविधि वित्तीय बजारमा आइरहेको कारणले अहिले कुन काम कसरी हुन्छ भन्न पनि सक्दिन । नीति र कार्यनीतिमा हुने सामयिक परिवर्तनले कुन अवस्था र समस्यालाई सम्बोधन गर्न कस्तो काम कसरी गरिन्छ भनेर अड्कल काट्न त झन् के सक्नु र ?
तर छिमेकी, साथीभाइ र अन्य चिनारुका लागि म राष्ट्र बैंकसँग अझै सम्बन्धित नै देखिन्छु । कसैलाई त म रिटायर भएको थाहा नै हुँदो रहेनछ । उनीहरू म अझै राष्ट्र बैंकमा कार्यरत रहे झै कुरो गर्छन् । दसैंमा नयाँ नोट सटही, अर्वपर्वमा चानचुने पैसाको जोहो, उपचार, तीर्थ र भ्रमणका लागि भारत जान चाहिने भा.रू. को बन्दोबस्त र छोराछोरी विदेश पठाउन चाहिने विदेशी मुद्राको बारेमा समयसमयमा मसँग सोधखोज गरिरहन्छन् । म अब खासै के गर्न सक्छु र ? सामान्य प्रक्रियाको कुरो बताइदिन्छु । हाम्रा पालामा यसो गर्थ्यौं भन्छु, सकियो । सम्बन्धित विभागमा मनले खाएको साथी भएको थाहा भयो भने ‘यसो भेट्नु न’ भनेर सल्लाह दिन्छु । राष्ट्र बैंकको महत्त्वपूर्ण विभाग र निर्णायक पदमा नपुगेको कारण गम्भीर र जटिल समस्या मकहाँ जागिरे हुँदा त आउँदैनथ्यो भने अहिले के आओस् । हुने कुरालाई झन् सजिलो पारिदिनुस् भन्ने मात्र आग्रह राखेको पाएको छु । यस्तो काम त मलाई ठिकै पनि लाग्छ ।
रिटायर भएर बसेपछि कुरो यतिमै सकिन्न रै’छ । अर्थतन्त्रका कतिपय खबर र विश्लेषणका बारेमा पनि चिनारुहरूले प्रतिक्रिया माग्दा रै’छन् । सेयर बजारको हालत यही हो कि सुध्रेला, राजस्व सबै चालू खर्चमा गयो विकास कसरी होला, जग्गाको भाउ कता जाला, तरलताको समस्या कति लामो चल्ला, नेपाल राष्ट्र बैंकलाई बैंकहरूले टेर्न छोडे रे नि, महँगी नियन्त्रण त राष्ट्र बैंकले गर्ने होइन र जस्ता चासो मानिसले राख्छन् । बैंकका कतिपय नीतिका बारेमा खुला आलोचना पनि सुन्नु पर्दोरहेछ । पदमा रहेको वेला कुर्सीमा रही कार्यरत रहेको समयमा त्यही संस्थाको बारेमा नकारात्मक प्रतिक्रिया राख्न मानिसलाई गाह्रो हुँदो रहेछ । बाहिर रहेको अवस्थामा त जसले जे भने पनि भो, जे सोधे पनि भो । यस अवस्थामा म आफूलाई नेपाल राष्ट्र बैंकरूपी किल्लाबाट बाहिर निस्केको त्यहीं बैंकको सिपाहीको रूपमा पाउँछु । आफू किल्लामा सुरक्षित नरहे पनि आफूले किल्लाको सुरक्षा गर्नु नै छ । म आफ्नो ज्ञानले भेटेको र ब्रह्मले देखेको कुरा गर्छु । नेपाल राष्ट्र बैंकको पेन्सनपट्टा सिरानमा भएकाले नेपाल राष्ट्र बैंकको नाम र शान अलिकति पनि तल नपरोस् जस्तो लाग्दो रहेछ । राष्ट्र बैंकको झण्डा उँचो राख्न खोजिरहन्छु । सफलता र असफलताका आफ्नै कथा व्यथा छन् ।
किल्लाबाहिर देखापर्ने सङ्कटका श्रृंखला यहीं सकिदैनन्। बैंकले नयाँ नीति लिँदा वा नीति परिवर्तनको खबर पत्रिकामा छापिएको अवस्था निकै चुनौतीपूर्ण हुन्छ। कहिलेकाँही त त्यो खबर आफैंलाई पनि थाहा हुन्न । घरमा सबै पत्रिका किन्ने कुरा पनि हुँदैन । बैंकमा कसैले कुन समस्यालाई सम्बोधन गर्न के आधारमा कुन नीति बैंकले अनुशरण गर्न लागेको हो र त्यो कुरालाई पत्रिकाले कसरी छापेको हो आफूलाई केही थाहा नभएको अवस्थामा चिया पसलमा प्राप्त प्रतिक्रियालाई कसरी सम्बोधन गर्ने ? चुप बसौं ‘मौनं सम्मति लक्षणम्’ होला, बोलौं, के बोलौं, के बोलौं हुन्छ । कति कुरा त आफैंलाई पनि अलि अनौठो लाग्छ । किल्लामा रहेको भए त्यस बारेमा विस्तृत जानकारी हुन्थ्यो र त्यस भनाइको सैद्धान्तिक आधारमा पक्ष पोषण गर्न सकिन्थ्यो होला । किल्लाबाहिर रहँदा निकै असजिलो महसुस हुँदो रहेछ । प्रतिरक्षा नगरौं, चित्त नबुझ्ने, प्रतिरक्षा गरौं, बुद्धिले साथ नदिने ।
सबैभन्दा असजिलो परिवेश हो बैंकभित्र भएका अनियमितता बारेमा पत्रिकामा आउने समाचार । त्यस वेला ‘फलानाले त यसो पो गर्‍यो रे त केदारजी, कस्तो हो त्यो मान्छे’ भन्ने प्रश्नले घेरिरहन्छ । नेपाल राष्ट्र बैंक मूलतः स्वच्छ संस्था हो भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । तर यहाँ कसैले ‘केही’ गर्न सक्दैन वा गरेको छैन त कसरी भन्न सकिन्छ र ? ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट, विभिन्न निकायका छानबिनमा परेका व्यक्तिको विवरण र पत्रपत्रिकाका खबर हेर्दा कुनै संस्था पूर्णरूपमा चोखो छ भन्न सकिने अवस्था पनि छैन । कुनै व्यक्ति वा कुनै घटनाका बारेमा ठोकुवा गरेर यसो हो भन्न त सकिएला तर सोलोढोलो जिम्मेवारी त कसरी लिनु ? कतिपय व्यक्तिका संदिग्ध गतिविधिको गन्ध बैंकमा आफूले काम गर्दाकै अवस्थामा नपाएको पनि हैन । फेरि नेपाल राष्ट्र बैंकको इज्जतमा दाग लगाउने घटनालाई कसरी सजिलै स्वीकार्नु ? व्यक्तिका बारेमा धारणा राख्न त झन् गाह्रो छ । म अलमल्लमा पर्छु । पत्रिकाले नकारात्मक टिप्पणी गरेका व्यक्तिका बारेमा सकारात्मक प्रतिक्रिया दिऊँ, आफैं मतियार जस्तो देखिइने, हो भनी ‘हाँ’ मा ‘हाँ’ मिलाऊँ, त्यस बारेमा आफूलाई थाहापत्तो नाइँ ! दुई जँड्याहामध्ये एउटाले सडक बत्तीलाई घाम र अर्कोले जून भनेर झगडा गरिरहेको अवस्थामा झट्ट पुगेको मानिसलाई निर्णय दिन अनुरोध गर्दा त्यो व्यक्तिले ‘म यो ठाउँको होइन भाइ’ भनेर फुत्किए जस्तो फुत्किनु पर्ने अवस्था पनि पर्दोरहेछ कहिलेकाँहीं ।
आफू नेपाल राष्ट बैंकबाट निस्के पनि मुटुबाट नेपाल राष्ट्र बैंकप्रतिको माया आस्था र विश्वास निस्किएको छैन । मुलुकको केन्द्रीय बैंक वित्तीय क्षेत्रको ‘राजा’ भएको कारण यसप्रति सबैको आस्था र विश्वास हुनु पनि पर्छ । म त झन् त्यही बैंकको सिपाही । किन विश्वास नहुनु ? तर समय घर्किंदै जाँदा परिस्थितिमा परिवर्तन हुँदो रहेछ र कहिलेकाहीं नेपाल राष्ट्र बैंकको समाचार पढेर आफैं छक्क पर्नुपर्दो रहेछ । राष्ट्र बैंकको बारेमा मुटुमा सकारात्मक धारणा रहेकै अवस्थामा आँखाले नकारात्मक खबर दिमागमा लैजाँदा किल्लाबाहिरको सिपाहीले रन्थनिनु पर्दोरैछ । एकछिन रन्थनिए पनि दीर्घकालमा सत्यको सामना गर्नै पर्छ । आफ्नो हात नभएको र आफूले सम्हाल्न नसकिने घटनाका बारेमा धेरै दिमाग खपाएर फाइदा पनि त छैन । किल्लाभित्र बस्नेले नै किल्लालाई सुरक्षित राख्नुपर्छ । हामी त के गर्न सक्छौं र अब ? सर्वसाधारणले बैंकको गुणगान गरेको सुन्न पाउँ भन्नु‌बाहेक स्वार्थ पनि के छ र ? किल्लाबाहिरको सिपाहीले राष्ट्र बैंकको यात्रामा हैसे मात्र गर्न सक्दो रहेछ, होस्टे त किल्लाभित्रबाटै हुनुपर्ने रै’छ ।
राष्ट्र बैंकको सुस्वास्थ्यको लागि किल्लाबाहिरबाट शुभकामना !

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *