कोरोना सँगसँगै

२०७६ सालको चैत ११ बाट सुरू भएको लकडाउन आजका दिनसम्म पनि जारी छ । कोरोना सुरू भएको चीनको बुहानमा लकडाउन खुला भयो । त्यसपछि कोरोनाबाट आक्रान्त भएको युरोपले पनि लकडाउनलाई खुकुलो बनाइसकेको छ । अमेरिका, कोरिया, सिंगापुर र केही युरोपेली देशहरूले भने लकडाउन विना नै कोरोना नियन्त्रण गरे । भारतमा पनि लकडाउन जारी छ तर यही जुन १ (जेठ १९) बाट आर्थिक कारोबारलाई अलि सजिलो पारिएको छ । नेपालमा पनि जेठ १८ गते म्याद थपिएको आठौं चरणको लकडाउन (२०७७ जेठ २१-३२) को स्वरूपमा केही परिवर्तन गरिने कुरा थियो तर अहिलेसम्म कुनै खबर पाउन सकिएको छैन ।

लकडाउन घोषणा गरिएसँगै अन्तर्राष्ट्रिय हवाई यातायात र सीमा बन्द गरियो ।  सीमा बन्द गरिए पनि भारतसँग खुला सिमाना भएको र घर फर्कन चाहने नेपालीलाई रोकिरहन उचित नदेखिएका कारण भारतबाट नेपाल आउनलाई रोक्न सकिएन । स्वदेश फर्कन चाहने हजारौंका लागि क्वारेन्टाइनको उचित व्यवस्थापन हुन सकेन । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणलाई व्यापक बनाउन सकिएन । त्यसैले कोरोना अलि फैलियो पनि । कोरोना संक्रमितका लागि व्यवस्था गरिएका अस्पतालका बेड अब भरिन लागेका छन् ।संक्रमण दर दैनिक करिब २०० मा पुगेको छ र गएको एक सातामा नै संक्रमितको संख्या दोब्बर भई २,३०० पुगिसकेको छ । कोरोनाको कारण हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । यातायात बन्द रहेकोकारण बिरामी अस्पताल पुग्न नसकेका, कोरोना संक्रमणको डरले अस्पतालले बिरामी नहेरेका, बदलिंदो परिस्थितिका कारण सिर्जित मानसिक दुर्बलताले आत्महत्या बढाएको र रोजीरोटीको अभावमा फैंलिदै गएको भोकको कारण पनि मानिसको ज्यान गइरहेको खबर सुनिएको छ ।

लकडाउनको लम्बिदै जाँदा र यसको स्वरूप बदल्ने कुरा उच्चतहमा हुँदैगर्दा कतै लकडाउनको उल्लंघन भएको र कतै उल्लंघनकर्तालाई कारबाही भएको खबर आइरहेका छन् । यस अवधिमा राम्रो आर्थिक अवस्था भएकाले बचतबाट खाए होलान्, सरकारी र संगठित क्षेत्रका कर्मचारीहरूको तलब नियमित आयो होला तर आज कमाएर आजै खानेहरू अहिले के गरिरहेका होलान् भनी कल्पना गर्न सकिएको छैन । गाउँबाट आएका अधिकांश सहरी श्रमिक ज्यान बचाउन गाउँ पुगेका छन् । उनीहरूको यात्रा वृत्तान्त सुनिसक्नु थिएन, अहिलेको अवस्था अज्ञात छ, राम्रै होला भन्ने सोचौं । कोरोना संक्रमणको डरका कारण गाउँका किसानको तरकारी र फलफूल बारीमा कुहिएका छन्, बाटोमा फालिएका छन्, बजार पुग्न सकेका छैनन् । सरकारी र निजी अस्पतालमा हरदिन लाइनमा बस्ने बिरामीहरू अहिले छटपटाइरहेका होलान् । कोरोनाको कारण स्वास्थ्य सेवाको पहुँच नै खुम्चेको छ । यसबाट पनि मानिसको स्वास्थ्य र ज्यानमा असर गरिरहेको छ । लकडाउन भोग्दै जाँदा मानिसको आर्थिक, सामाजिक र व्यक्तिगत संसार हल्लिसकेको छ ।

कोरोनाको समस्या समाधान गर्ने उपाय लकडाउन पहिला पनि थिएन, अहिले पनि होइन । थोरै समयमा नै धेरै मानिसमा संक्रमण फैलिएला र बिरामीको व्यवस्थापन गर्न नसकिएला भनेर लकडाउन गरिने हो । संक्रमणदर कम गर्न र कोरोना विरूद्धको तयारीलाई सघन बनाउन सुरुवाती चरणमा मात्र लकडाउन आवश्यक हुन्छ । लकडाउनले संक्रमणदर कम गराउने भए पनि आजको दुनियाँ लामो समय यसरी ठप्प भएर बस्न सक्दैन । लकडाउन त कोरोनाको सामना गर्ने तयारी म्याद जस्तो मात्र हो । यो अवधिमा हामीले राम्रो तयारी गर्न सकेनौ भन्ने कुरा पनि आइरहेको छ । जनताको भाग्य र सरकारको क्षमता यस्तै थियो भनेर चित्त बुझाउनुको विकल्प छैन ।

कोरोनाको सामना गर्न हाम्रो तयारी जे जस्तो भए पनि कोरोनाका बारेमा केही तथ्य जानकारीमा आएका छन् र केही सुरक्षित अभ्यासहरू हामीले अखबारमा पढेका छौं, टेलिभिजनमा देखेका छौं । व्यक्ति व्यक्तिका बीच करिब १ मिटरको दूरी कायम गर्नुपर्छ । राल, थुक र सिंगानबाट रोग सर्ने भएकाले खोक्दा र हाच्छिउँ गर्दा सावधानी अपनाउनु पर्छ । भीडभाडमा जानु हुन्न। समयसमयमा हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने लगायतका काम अब दैनिकीमा थप गर्नुपर्छ । ज्वरो र सुख्खा खोकीमा निकै सतर्क हुनुपर्छ । यात्रालाई अब बाध्यताको विषय बनाउनु पर्छ ।

नेपालमा कोरोनाको संक्रमण अहिले पनि बढ्दो छ । यसलाई हेरेर लकडाउन बढाउन पर्ला पनि । लकडाउन लम्ब्याउन सकिएला तर लम्ब्याइरहन सकिन्न । कोरोनाको लहर अझै एक दुई वर्ष रहने र कोरोनासँगै बाँच्नुपर्ने कुराहरू प्रकाशमा आइरहेका छन् । लकडाउन अब कोरोनाको त्रासका बीचमा नै खोल्ने हो, जहिले खोले पनि । अझै लामो लकडाउनको पालना गर्न चाहिने आर्थिक सामर्थ्य सर्वसाधारणसँग छैन । असल नियतले सुरू गरेको लकडाउन लम्बिंदै जाँदा विभिन्न कोणबाट यसको गलत अर्थ लगाएको पनि सुनिन थालिएको छ । लामो लकडाउन धान्न सक्ने क्षमता मुलुकको पनि छैन । अर्थतन्त्रको हाँगा सुकिसकेको छ, यो लम्बियो भने जरा मक्किन्छ । चाँडै लकडाउन अन्त्य होला भन्ने आशयले नै हुनुपर्छ असार ७ गते सम्म कर तिर्ने म्याद थपिएको छ ।

कोरोनाको माहामारी कायमै रहेको बेला घरबाट निस्कनु सजिलो पनि छैन । फेरि संक्रमितको संख्या लगातार बढिरहेको समयमा लकडाउन पूरै खोल्नु उचित पनि छैन । लकडाउनको पालना गराउन सुरूमा “घरै बसौं, कोरोनालाई हराऔं” भन्ने आशयका सन्देश जनताको सामु पुर्‍याइयो । अहिले न भ्याक्सिन निस्केको छ, न ओखती । फेरि चाहिने/नचाहिने समाचार र जानकारीका कारण हाम्रो मन निकै दुर्बल भइसकेको छ । घरबाट बाहिर निस्कँदा कहिले अपराध बोध भएजस्तो हुन्छ, कहिले अब कोरोनाले भेट्यो जस्तो लाग्छ । हरेक मानिसलाई संक्रमितको नजरले हेर्ने अवधारणाको विकास भएको छ । यी दुई महिना हामीले कोरोनाबाट निकै डराउनका लागि सल्लाह पाइरहेका थियौं, अहिले पनि पाइरहेका छौं । यसैले हामी निकै डराएका पनि छौं । परिवारका सदस्यले नै काममा नगइदिए हुन्थ्यो भन्ने सोचिरहेका छन् । परिवारका सदस्यले नै काममा नगइदिए हुन्थ्यो भन्ने सोचिरहेका छन् । यो मनस्थितिलाई बिस्तारै बदल्दै जानुपर्छ । अब दैनिकीलाई फेरि पुरानो लयमा फर्काउने कोसिस  गर्नुपर्छ । कोरोना नहुँदा पनि मृत्यु थियो । रोग नयाँ हो, मृत्यु नयाँ होइन ।

गाउँले जीवनशैलीमा रहेर कृषि पेशामा रहँदा कोरोना संक्रमणबाट जोगिन केही सजिलो होला । यसमा भौतिक दूरी कायम राख्न उति गाह्रो हुँदैन । तर शहरी जीवनशैली कोरोनाबाट बचाउने खालको छैन । अफिस, पसल, कारखानामा सानो कार्यकक्षमा धेरै जना बसेर काम गर्नुपर्ने अवस्था छ । कार्यस्थलमा भौतिक दूरी कायम राख्न कठिन छ । सार्वजनिक यातायात शहरी जीवनका धमनी हुन् । हाम्रा सहरी यातायात पहिले असुविधाजनक थिए, कोरोनाको कारण अस्वस्थकर पनि ठहरिए । त्यो ठेलमठेलमा कुन आँटले चढ्नु ? दिनभर काम गर्नेले होटल रेस्टुराँमा खाजा, खाना खान्थे, अब ती कति सुरक्षित ठहरिने छन्, थाहा छैन । बजारको किनमेल शैली पनि फेरिने छ । कतिपय व्यवसाय धराशायी होलान्, कतिपयले सफलताको धुरी छोलान् । स्कुल, कलेज कसरी चल्लान्, अज्ञात जस्तै छ । नयाँ वातावरण बन्नेछ, नयाँ बनाउनु पनि पर्नेछ र त्यसमा अभ्यस्त पनि हुनुपर्नेछ । नयाँ परस्थितिमा कार्यस्थलमा हुने लामा चिया गफ, पट्यार लाग्दा बैठक, अर्थहीन भेटघाट, अनावश्यक स्वदेश र विदेश भ्रमण कम भयो भने यसलाई सकारात्मक नै मान्नुपर्छ ।

अब मुख्य कुरो त स्वास्थ्य सेवालाई सर्वसुलभ र भरपर्दो बनाउनु पर्छ । आपत परेको बेला विदेशमा रहेका ठुला र राम्रा अस्पताल ‘आकासको फल, आँखा तरी मर’ भने जस्तै रहेछन् । स्वदेशी निजी अस्पतालले पनि ‘माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात’ गर्दा रहेछन् । नेपालका ‘अन्तर्राष्ट्रियस्तरका’ निजी अस्पतालको सोच र शक्ति यसपालि देखियो । सरकारी र सामुदायिक अस्पताल नै एकमात्र विकल्प रहेछन् । यसका लागि अस्पताल भवन बनाउन सकिएला, उपकरण किन्न सकिएला तर निजी कलेजमा साठी/सत्तरी लाख तिरेर एमबीबीएस गरका अनि करिब एक करोड तिरेर पोस्ट ग्राजुएट गरेका डाक्टरलाई सरल र सुपथ स्वास्थ्य सेवाको वाहक बनाउने कुरा जटिल देखिन्छ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुपर्छ । सरकारले अहिले यस क्षेत्रमा लगानी गरे सिन्डिकेटवालाले पनि दबाब नदेलान् । विद्युतीय कारोबारलाई व्यापक र प्रभावकारी बनाउनु पर्छ । सरकारले सार्वजनिक पूर्वाधार र सुविधामा पैसा खर्च गर्ने अहिले नै हो ।

लकडाउनमा पूर्णरूपमा सरकारी र गैर सरकारी क्षेत्रका गतिविधि ठप्प पार्नुभन्दा सीमित रूपमा खोल्नेतर्फ ध्यान दिनुपर्छ । कार्यघण्टा घटाएर, कार्यसमय खुकुलो पारेर र विभिन्न निकाय र संस्थाका कार्यसमय फरक पारेर लकडाउनलाई नियन्त्रित रूपमा खोल्नु ठिक होला । कारखानाहरूमा धेरै उत्पादन एकाइहरू छन् भने केही एकाइ मात्र चलाउन सकिन्छ । सुरुमा कुनै क्षेत्रलाई सुरूमा खोलेर त्यसबाट अनुभव लिएर लकडाउन अलि फराकिलो गराउँदै लैजानुपर्ला । भारतले पनि सुरूमा ‘जान है त जहान’ है (जिउ रहे घिउ खान पाइन्छ) भन्ने नीति लिएको थियो । लकडाउन लम्बिने अनि कोरोनाको खोप र औषधिको छेउटुप्पो नभेटिने अवस्थामा अहिले ‘जान भी, जहान भी’ (ज्यान पनि बचाउनु पर्‍यो, दुनियाँलाई पनि हेर्नुपर्‍यो) को नीति लिएको छ । कोरोनाले पार्ने नोक्सानभन्दा लकडाउनले पार्ने नोक्सान कम हुनुपर्छ ।

यस्तो कठिन अवस्थामा पनि मानिसले केही कुरा सिक्न भने असफल भएको छ । कोरोनाको प्रकोपलाई विश्वव्यापी महामारी भनियो तर यसको समाधानमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय हुन सकेको छैन । चीनमा पहिलो पटक देखिएको भएर केही शक्तिले चीनलाई एक्ल्याउनमा यसलाई प्रयोग गरे । अहिले यसको खोप र औषधि पत्ता लगाउने काममा पनि एकीकृत प्रयास भएको देखिएको छैन । अरूलाई उछिनेर खोप र औषधिको उत्पादन गरेर व्यवसायिक लाभ लिने दाउमा धेरै देश र कम्पनी लागिरहेका छन् । विश्व स्वास्थ्य संगठनले अमेरिकाको साथ नपाउने भएको छ । अहंकार, लोभ र स्वार्थले हामीलाई छोडेनन् । कोरोनाको कहरका बीचमा नेपालमा रुकुम पश्चिममा छ जना युवाको नृशंस हत्या गरियो र भेरीमा फालियो । अमेरिकामा एक प्रहरीले आफूले नियन्त्रणमा लिएको व्यक्तिलाई घाँटी थिचेर मारे । अहिले अमेरिकामा विरोध प्रदर्शनको लहर चलेको छ । हाम्रा कल्पनाका विपरीत प्रदर्शन, तोडफोड, लुटपाट र कर्फ्यु अहिले अमेरिकाका केही दर्जन सहरका नियति भएका छन् । मानिसको शरीरमा सिकारी युगमा विकासित जिन अझै घुमिरहेकै होला । त्यो जिनमा निर्धारित मनोवृत्ति कुन दिन कुन प्रेरणाले भड्किन्छ, केही ठेगान रहेनछ ।

प्रकृतिका सीमितता, रोगका जटिलता र आफ्ना कमजोरीका बीच मानिसले जिन्दगीलाई घिसार्नै छ । लकडाउनको अस्त्र लामो समय चलाइराख्न सकिने अवस्था छैन । अब जिन्दगी बिताउनु छ, कोरोनासँगै । इन्डोनेसियाका एक मन्त्रीले ‘कोरोना तपाईंकी पत्नी जस्तै हो । सुरुमा तपाईंले नियन्त्रण गर्न चाहनु भयो तर त्यसपछि तपाईंले यो काम गर्न नसकिने रहेछ भनेर स्वीकार गर्नु भयो । अनि तपाईं उसैसँग बाँच्न सिक्नुभयो ।’ भन्ने अभिव्यक्ति दिए । लैङ्गिक विभेदका दृष्टिले यो अभिव्यक्ति आपत्तिजनक हो । फेरि पनि, कोरोनालाई हाम्रो धरातलीय यथार्थ भएको सन्देश भने उनले स्पष्ट रूपमा दिए । हाम्रोमा पनि कोरोनासँग लिभिङ टुगेदर गर्ने कुरा आइसकेको छ । अब कोरोना भएको संसारमा बस्ने हो । कोरोनासँग लुकामारी गर्दै बाँच्ने हो । डराएर हैन, सामना गरेर बाँच्ने हो । आज हामीसँग भएका विज्ञानका चमत्कार र प्रजातान्त्रिक वातावरण मृत्यसँग डराएर हैन, जुधेर प्राप्त भएको हो ।

https://www.straitstimes.com/asia/se-asia/indonesian-minister-slammed-for-saying-coronavirus-is-like-your-wife

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *