मेरा तीन स्वर्ण पदकः प्रसंग २

विराटनगरमै काम गर्दै थिएँ (राष्ट्र बैंकमा काम गर्ने कुरा र भा.रु. सटहीका बारेमा त पहिलो प्रसंगमा लेखिसकेको छु) । तिहारको छुट्टी थियो । लक्ष्मीपूजाको दिन थियो जस्तो लाग्छ । विराटनगरको गुदरी बजारमा मानिसको भीड सानो थिएन । म मोटरसाइकल मेनरोडतिरै छोडेर किनमेल गर्दै थिएँ ।
“नमस्कार सर ।” भीडतिर नै हेरिरहेको वेला भीडबाट यो आवाज आयो । आवाजतिर आँखा दिएँ । नमस्कार गर्ने मानिस मैले चिने जस्तो नलागेको हुनाले मैले त्यसमा ध्यान पनि दिनुपरेन । आफ्नो दृष्टि समेटें र म पसलतिर नै अलमलिएँ । भीडलाई छिचोल्दै ती नमस्कार गर्ने मानिस मेरो छेउमा आइपुगेछन् । मलाई कोट्याएर उनले सोधे, “सर, मलाई चिन्नु भएन ?” उनको अनुहार मुस्कुराइरहेको थियो र त्यो मुस्कुराएको अनुहारले मलाई भने थप अप्ठेरोमा पारिरहेको थियो ।
“हाम्रो भेट कहाँ भएको थियो ?” म उपायविहीन थिएँ । सोझै चिनिन त कसरी भन्नु र ?
“सरकै अफिसमा हो नि ! सर राष्ट्र बैंकमा होइन र ?” उनले चिनेकै रहेछन् ।
“हो नि ! तर मैले पो चिन्न सकिन । ” म लाचार थिएँ ।
“म भा.रु. साट्न आएको थिएँ ।” उनले केही सुराक दिए । गफ लम्बिने देखिएकाले हामी बजारबाट हटेर यसो एउटा कुनामा उभिएका थियाँै ।
“अनि मैले साटिदिएँ त ?” भा.रु. माग्न आउने कतिपयलाई उनीहरुको कामको औचित्य र आवश्यकता प्रमाणित नभएको अवस्थामा भा.रु. दिन अस्वीकार गरिन्थ्यो । मैले नै एकपटक दसैको किनमल गर्न सिलिगुढी जानुप¥यो, एक लाख भा.रु. चहियो भन्ने बहालवाला सांसदकी पत्नीको माग अस्वीकार गरेको थिएँ । त्यसैले उनलाई पनि दिएको थिएँ कि दिइन सम्झना नै भएन । दैनिक पचासौंको संख्यामा आउने मानिससँग यस सम्बन्धी कुरा गर्नुपथ्र्यो । सम्झना पनि के होस् ?
“भा.रु.साटिदिनुभएको थियो । अनि सुन्नु न ! मेरा जुम्ल्याहा छोरी पनि भए नि अस्ति ।” उनले एक सासमा भने ।
भा.रु. साट्नु र जुम्ल्याहा छोरी हुनुको सम्बन्ध मैले भने थाहा पाउन सकिन ।
उनी सरकारी जागिरे रहेछन् । सामान्य रुपमा सन्तान नभएपछि उनीहरु कृत्रिम गर्भाधारणबाट सन्तान जन्माउने निश्चयमा पुगेका रहेछन् । विराटनगरबाट नजिकै पर्ने भारतीय सहर पूर्णियामा त्यो सुविधा रहेछ र उनीहरु त्यहाँ जाने सोचाइमा रहेछन् । भा.रु. सटहीको लागि मसँग आएका रहेछन् र मैले सहर्ष सटही सुविधा दिएको रहेछु । फेरि आवश्यक परे भन्न पनि भनेको रहेछु । उनी साह्रै खुशी भएका रहेछन् । उनी सन्तान पाएर खुशी भएका थिए र भा.रु. सटहीमा सरलीकरण गर्ने मलाई पनि त्यो खुशी बाँढे ।
सन्तान भनेको सबैको भावनात्मक आवश्यकता हो । जीवको सृष्टिको मूल मर्म नै सन्तानको उत्पादन हो । सन्तान किन चाहिन्छ भन्ने विषयमा सबैका फरक जबाफ होलन् तर चाहिन्छ भन्ने नै धेरै हुन्छन् । पश्चिमा संसारले विवाह र सन्तानोत्पादनलाई बेवास्ता गर्दै गएको छ रे । नेपाली समाज त त्यता पुगिसेकेको छैन । लालाबाला हाम्रालागि सबैभन्दा प्रिय चीज हो । त्यो प्रियको प्राप्तिमा म पनि सहयोगी भएको रहेछु । मलाई साह्रै खुशी लाग्यो । धार्मिक महत्व, सामाजिक सुरक्षा, मनोवैज्ञानिक आवश्यकता, आर्थिक भरथेग । हाम्रो समाजमा सन्तानको काम कति छ कति ?
उनी सरकारी जागिरे भएकाले भा.रु.पाउन त्यति गाह्रो थिएन । मैले नभए अर्कोले उपलब्ध गराउँथ्यो । उनी बजारबाट महँगोमा किन्न पनि सक्थे होलान् । मैले उनलाई कुनै विशेष सुविधा दिएको थिइन । तर उनले पाउने त्यो सुविधा आफ्नो हातबाट प्रदान गर्ने अवसर पाएको थिएँ । यही अवसरले आज यति व्यस्त दिन र स्थानमा उनले मप्रति आभार व्यक्त गरिरहेका थिए । यो कृतज्ञता मेरो लागि अर्को स्वर्ण पदक थियो ।
इतिहासले खलनायकलाई त महानायक बनाउँछ रे । मैले पनि ‘केही गरेँ’ भन्न पनि नमिल्ने सहयोगका लागि अति बढी कृतज्ञता पाइरहेको थिएँ । फेरि, कसैको मन नै अनुगृहित हुने र अरुको सहयोगमा बढ्तै आभारी हुने खालकाे छ त म के गरुँ ?

12 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *