कोरोना भाइरसबाट मानिसमा लाग्ने कोभिड-१९ नाम दिइएको रोगका कारण अहिले विश्व संत्रस्त छ । वैशाख ३ गते बिहान यो ब्लग लेखिरहँदा १९,९७,९०६ संक्रमित भएका छन् जसमध्ये १,२६,६०० को मृत्यु भइसकेको छ । ४,७८,५५७ भने निको भएर घर फर्केका छन् । यसरी हेर्दा १३,९२,७४९ जना अहिले कोभिड-१९ सँग जीवनमृत्युको युद्ध लडिरहेका छन् । विश्वभर संक्रमण फैलँदो छ, मृतकको संख्या बढिरहेको छ । यसको खोप र विश्वसनीय उपचार पत्ता लागेको छैन । खोप पत्ता नलगाई यस रोगलाई रोक्न नसकिने कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । स्वास्थ्य उपकरणको अभाव भएको कारण आवश्यक चिकित्सकीय सेवा पुर्याउन सकिएको छैन । सरुवा रोग भएकाले यसलाई फैलन नदिन लकडाउनको नीति करिब विश्वभर अवलम्बन गरिएको छ । कोभिड-१९ को कारक रहेको भाइरसको उत्पत्तिको कारण जे भए पनि, निदान जसरी र जहिले पत्ता लागे पनि यसले अहिले सारा दुनियाँलाई मृत्युको भयबाट संत्रस्त पारिरहेको छ ।
जन्मपछि मृत्यु अनिवार्य छ । तर यही मृत्युको डर हरेक जीवको लागि सबैभन्दा ठुलो डर देखिएको छ । मनिसको जीवनमा पनि यही सत्य हुनुपर्छ । त्यसैले त हिंसा सबैभन्दा ठुलो अपराध हो, मृत्यु दण्ड सबैभन्दा ठुलो दण्ड । बोध विक्रम अधिकारीले सम्पादन गरेका दन्त्यकथाहरू सम्झन खोज्छु । पात्रको नाम र कथानकको श्रृंखला त बिर्सेछु तर केही मूल प्रवृत्ति सम्झन्छु । राजकुमारहरू वीर र बहादुर हुन्थे । राजकुमारीहरू असाध्यै रुपवती हुन्थे । उनीहरूलाई मार्नु कठिन हुन्थ्यो । कुनै कठिन र विशेष शर्त पूरा भएपछि मात्र उनीहरु मर्थे । तर मर्थे जरूर । उनीहरू पनि मृत्युको दायराभन्दा पर हुँदैनथे । हरेक वीरताको सीमा देखिन्छ मृत्यु । हरेक सौन्दर्यको सीमा देखिन्छ मृत्यु ।
पुराण सुन्छु । त्यहाँ पनि मृत्युको कोलाहल पाउँछु । मृत्युको डरले सबै भयभीत छन् । दीर्घ जीवनको पुकारा गरिरहेका छन् । मृत्युबाट छुटकारा पाउने उपाय खोजिरहेका छन् । हिरण्यकश्यपुले नमर्ने वरदान माग्छ । त्यो पाउँदैन । फेरि दिनमा पनि नमर्ने, रातमा पनि नमर्ने, मानिसबाट पनि नमर्ने, पशुबाट पनि नमर्ने, अस्त्रशस्त्रबाट पनि नमर्ने वरदान पाउँछ । तर नृसिंह अवतारको उत्पत्ति हुन्छ अनि न दिन, न रातको समयमा नङ्ग्राबाट चिथोरिएर मर्छ । अमरत्वको वरदान दिने शक्ति ईश्वरलाई पनि छैन होला । मृत्यु बरू नयाँ रुप धारण गर्छ तर प्रकट हुनबाट चुक्दैन ।
आफ्नो मृत्युमाथि विजय पाउन कंशले ६ जना भाञ्जाको हत्या गर्छ । आठौं भाञ्जाको खोजीमा सारा ब्रजभूमिका केटाकेटी मराउँछ । कंशको काल बनेर जन्मेका कृष्ण पुतनाको विषालु दूध खाएर पनि मर्दैनन् बरु पुतना नै मर्छिन् । कृष्ण बाँच्छन् र कंशको बध गर्छन् । मृत्युको प्वाल कसैगरी टाल्न सकिन्न । अनेक अचम्म घटित हुन्छ तर मृत्यु हारेर अपवाद घटित हुँदैन।
शिशुपाल जन्मदै तीन आँखा र चार हात लिएर जन्मन्छन् । आमा आत्तिएर सोध्छिन् – यसरी जन्म्यो, कसरी मर्ला ? आकाशवाणी हुन्छ- जसको काखमा राख्दा यसको तेस्रो आँखा र चारहातमध्ये एक आँखा र दुई हात खस्छ उसकै हातबाट यसको निधन हुन्छ । सबैको काखमा पालैपालो शिशुपाललाई राखिन्छ । कृष्णको काखमा राखेपछि उसको तेस्रो आँखा विलीन हुन्छ, दुई हात खस्छ । शिशुपालकी आमाले शिशुपाललाई नमार्ने वचन माग्छिन कृष्णसँग । कृष्णले १०० गल्तीमा क्षमा दिने बताउँछन् ।
पाण्डवले आयोजना गर्ने राजसूय यज्ञमा शिशुपाल कृष्णको प्रखर विरोधी भएर निस्कन्छन् । १०० गालीसम्म कृष्ण चुप बस्छन् । त्यसपछि पनि शिशुपालको मुख बन्द हुँदैन । शिशुपालको १०० अपराध पुगिसकेपछि पूजाको थाली कृष्णले शिशुपालतिर हुइँक्याउँछन् । त्यसैल शिशुपालको घाँटी छिनाउँछ (मुकुन्दशरण उपाध्यायको ‘महाभारत सूक्ति’मा सुदर्शनचक्रको कुरा छैन) र शिशुपाल मर्छन् । शिशुपालकी आमाले उसको मृत्युको कारण नखोजेकी भए उनी कसरी मर्थे होलान् ? कृष्णलाई त्यति गाली गर्ने प्रेरणा शिशुपाललाई केले दियो होला ? काल आउँछ मात्र होइन, कालले कुत्कुत्याउँछ पनि ।
रावणले महादेवको कठिन तपस्या गरेर असीम वरदान पाएको रहेछ । उसको पेटमा अमृतको घ्याम्पो रहेछ । त्यो घ्याम्पो नसुकी ऊ नमर्ने रहेछ तर मृत्युबाट मुक्ति उसले पनि पाएको रहेनछ । उसको वरदानले उसलाई सामान्य मृत्युभन्दा केवल एक खुट्किलो मात्र पर पुर्याएको रहेछ ।
भष्मासुरले जसको टाउकामा उसको हात पर्छ त्यो व्यक्ति तत्काल भष्म हुने बरदान पायो । त्यो वरदान पाएको बेला उसले झुक्किएर भए पनि कहिलेकाँही त हात आफ्नो टाउकामा पनि जान्छ भन्ने सोचेनछ । विष्णुको लहैलहैमा लागेर आफ्नै टाउकामा हात राखेर आत्मघाती शक्तिपरीक्षण गर्छ र ज्यान गुमाउँछ । बढ्ता जान्ने हुँदा पनि पुगिने बाटो त्यही रहेछ ।
राजा शन्तनुले भीष्म बनेका युवा छोरा देवव्रतलाई इच्छा मरणको वरदान दिए, युवराज भए पनि राजगद्दीको हक त्याग्ने, आजीवन ब्रह्मचारी बस्ने र निसन्तान नै बाँच्ने, निसन्तान नै मर्ने बाचा गरेर दासराजकी सुगन्धमयी रुपवती छोरीसँग विवाहको तारतम्य मिलाइदिएकोमा । यति धेरै त्यागको मूल्य पनि मृत्युसँग जोडिएको छ । भीष्मले इच्छामरणको वरदान पाउँछन् । भीष्मले हस्तिनापुर सुरक्षित नपारी नमर्ने प्रण गर्छन् ।
भीष्मले छोरा विचित्रवीर्यसँग विवाहको लागि हरण गरेर ल्याएकी काशी नरेशका छोरीहरू अम्बा, अम्बिका र अम्बालिकामध्ये अम्बाले शाल्वराजसँग प्रेम भएको जानकारी गराउँछिन् । अम्बाले शाल्वराजसँग विवाह गर्ने छुट पाउँछिन् र शाल्वराजकहाँ जान्छिन् तर शाल्वराज हरण भएकी कन्यालाई विवाह गर्न तयार हुँदैनन् । यता न उता परेपछि उनी भीष्मलाई नै आफूसँग विवाह गर्न भन्छिन् । ब्रह्मचर्यको प्रतीज्ञामा रहेका भीष्मलाई त्यो स्वीकार्य हुन्न । आफ्नो जीवन बरबाद पारेको आरोप भीष्मलाई लगाउँछिन् र उनी भीष्म बधको आराधनामा लाग्छिन् । अर्को जन्ममा त्यो इच्छा पूरा हुने वरदान पनि पाउँछिन । उनी अर्को जन्ममा शिखण्डी भएर जन्मिन्छिन् र भीष्मको बध गर्छिन् । भीष्मले इच्छामरणको शक्ति आशिर्वादमा पाएका रहेछन् अनि मृत्यु हरण गरेर ल्याएका रहेछन् ।
परीक्षित राजाले तक्षक नागबाट डसिएर मर्नुपर्ने श्राप पाए । उनलाई तक्षकको डसाइपछि जीवित बनाउन कश्यप ऋषि पनि दरबारमा आउँदै थिए । बाटामा तक्षक र ऋषिको भेट भयो । ऋषिले आफू राजालाई बचाउन दरबार जान लागेको कुरा तक्षकलाई बताए । यतिमात्र होइन तक्षकले डसेर खरानी बनाएको हरियो रूखलाई कश्यपले उस्तै हराभरा बनाएर आफ्नो शक्ति तक्षकसामु प्रमाणित पनि गरे । तक्षकले कश्यपलाई मागेजति रकम दिएर दरबार जानबाट फर्काए । कश्यप फर्के । तक्षकले करामत देखायो । परीक्षित मरे । बिरामीलाई होइन ब्यालेन्स सिटलाई प्राथमिकता दिने कश्यप जस्ता अस्पताल र औषधि कम्पनीको जिम्मामा हाम्रो ज्यान छ । हेरौं, के हुन्छ ।
तक्षककको दंशबाट मरेका परीक्षितका छोरा जनमेजयले नागयज्ञ गरी अनेकौ नागको हत्या गरे (नागलाई कतिपय सन्दर्भमा सर्पको अर्थमा प्रयोग गरेको देखिए पनि यो मानवकै अर्को जाति रहेको भनाइ पाइन्छ)। नागराज बासुकी र तक्षक समेत यज्ञकुण्डमा परी भष्म हुन लागेको बेला एक ऋषि र बासुकी नागकी बहिनीबाट जन्मेका ऋषि आस्तीकले नागहरूको पूर्णनाश हुनबाट जोगाए । जातीय द्वन्द्वबाट हुने हिंसाबाट बचाउन अन्तरजातीय विवाह र जातीय अन्तर्घुलन निकै प्रभावकारी हुने पुराणले पनि देखाएको छ । नागजातिले ठुलो नोक्सानी खाए तर पृथ्वीमा कायम रहे ।
महाभारतको युद्ध भारतवर्षको सभ्यताको शायद अन्तिम भीषण युद्ध थियो होला । विद्वानहरुले महाभारतको युद्ध र यसको प्रभावबाट करिब ६० करोड मानिस मरेको बताएका छन् । अत्याचारको अन्त्यको लागि हिंसा र युद्ध बाहेक कुनै उपाय नभएको त्यस समयमा कृष्ण गीतामार्फत जीवनको मरणशीलता र आत्माको अमरताको सन्देश दिन्छन् । यो जीवन पहिला पनि थिएन, पछिसम्म पनि रहँदैन, यस्तो अनित्य चोलाको किन चिन्ता लिनु भन्छन् । युगले लेखेको पटकथाले मागेको चरित्र इमानदारितका साथ निर्वाह गर्नुपर्छ, बाँकी अज्ञातको हातमा छोड्नुपर्छ भन्ने उनको भनाइ देखिन्छ । गीता पढ्न सजिलो होला, बुझ्न केही गाह्रो होला । गीताले निर्देश गरेको जीवन बाँच्न निकै कठिन छ ।
यसको केही समयपछि द्वारकामा यदुवंशीहरूका बीचमा मारामार भयो र बालक, वृद्ध र महिलाबाहेक सबै यदुवंशी मारिए । त्यसको केही समयमा कृष्ण नै मारिए, व्याधाको हातबाट । बालक, वृद्ध र महिला यदुवंशीलाई हस्तिनापुरमा शरणका लागि पठाइयो । त्यसको केही दिनमा द्वारका पनि डुब्यो । शायद महाभारतमा असीम क्षति पुगेको हुनाले भारतवर्षको सभ्यता तङ्ग्रिन समय लाग्यो । यही क्षतिको निराशामा कृष्णको काममा प्रवृत रहन सिकाउने कर्मयोग भाग्यमा बाँच्न विवश गराउने कर्मयोग (भाग्यवाद)मा रूपान्तरित भएको मेरो अनुमान छ ।
न महाभारतको युद्धबाट सबै सखाप भयो । न सर्पसत्रबाट सबै नाग मरे । न आपसी कलह र द्वारकाको डुबानबाट सबै यदुवैशी मासिए । यतिमात्र होइन यसपछिका कयौं युद्धबाट मानव सभ्यतामा ठुलो क्षति भयो । संसारभरका भुरेटाकुरे राजा रजौटाहरूले एक आपसमा गरेका युद्धबाट पनि मानव जातिले ठुलो विनाशलीला भोग्यो, देख्यो । पहिलो र दोस्रो विश्वयुद्धका विभिषिका त मानव मृत्युको कारखाना भएको साक्ष्य हामीसँग छ । यस बाहेक पनि रोग र भोक अनेक श्रृंखला पनि मृत्युको हुण्डरी भएर मानव सभ्यतामा आएका थिए । अहिले कोरोनाले देखाएको कठोर नियति मानिसले युगयुगदेखि विभिन्न रूपमा भोग्दै आएको रहेछ । यसले मानवीय भावना र मानव सभ्यतामा अवर्णनीय क्षति निश्चय नै पुर्यायो होला तर मानवजातिको नाश भएको छैन ।
व्यक्तिले चिरञ्जीवी हुन गरेका सबै प्रयास असफल भएका छन् । मानिस मृत्युबाट सधैं हारेको छ । मानिसको जीवनमा व्यापक आघात पर्ने अनेक प्राकृतिक र मानवीय क्रियाकलाप भएका छन् । मृत्युले मान्छेलाई निल्यो, मान्छेहरूलाई निल्यो तर मानवजातिलाई निल्न सकेको छैन । मानव जातिले यस धरामा आफ्नो शक्तिशाली उपस्थिति देखाउन छोडेको छैन ।
मृत्यु अविजित छ, मान्छे अजेय छ ।
(पोराणिक घटनाहरू आफ्नो जानकारीका आधारमा इमानदारिताका साथ प्रस्तुत गरेको छु । प्रमाणिकताका लागि सन्दर्भग्रन्थ नै हेर्न हुन विनम्र अनुरोध छ ।)