एसएलसी पास गरेपछि घरगाउँ वरपरका विद्यालयमा पढाउन थालें । प्राथमिक विद्यालय जगरेटार, आफैंले अध्ययन समेत गरेको पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा केही समय पढाएँ । पढाउँदै जाँदा परिस्थिति प्रतिकूल बनेको हुनाले एकपछि अर्को ठाउँ खोजेर जागिर खाइरहेको थिएँ । बर्रेपछि भने गाउँ वरपर त के आफ्नो जिल्लामा टाढा नै भए पनि ठाउँ पाइएन । अलि टाढाबाट पहिला त बोलाएका नै थिए, मेरो पढाइ राम्रो छ भनेर तर त्यो वेला म नै गइन । घरछेउमा काम पाइरहनुन्जेल के टाढा जानु भन्ने सोचें । घरछेउमा काम पाइन छोडेपछि टाढाको अवसरले पनि मलाई पर्खेर बसेन ।2039 मा एस.एल.सी. दिएर 2040 मा रिजल्ट आएपछि कहिले काम पाउने, कहिले नपाउने गरी समय कटाउँदै थिएँ । 2042 सालको मंसिरमा बर्रेको जागिर टुंगिएपछि भने म पूर्ण बेरोजगार भएँ । गाई चराउन गयो, आयो । प्राइभेट आइ.ए. पढ्दै थिएँ, किताब भए त्यही पढ्यो, बस्यो । दिन त यसरी नै बितिरहेको थियो तर जिन्दगी यसरी कट्नेवाला थिएन । दिन काट्नु र जिन्दगी कटाउनुमा धेरै फरक थियो ।अब कता जाने र के गर्ने भन्ने कुराले मनमा उकुसमुकुस उब्जाइरहेको थियो । आफ्नो जागिर नभएको त्यही समयमा बुवालाई बिरामीले च्याप्दै ल्यायो । उहाँ केही वर्षअघिबाट नै बिरामी हुन थाल्नु भएको थियो । उदयपुर गढी स्वास्थ्य चौकीका ‘डाक्टर’
