‘केदार सर, तपाईंलाई गुर्जोको लहरो बारे थाहा छ ?’
दुर्गा परियारले फोन गर्नु भयो । उहाँ मेरो कक्षासाथी विष्णु परियारकी पत्नी हुनुहुन्छ । कपडासम्बन्धी व्यवसाय छ । संविधान सभाको एक कार्यकाल समानुपातिकतर्फबाट संविधानसभा सदस्य पनि हुनुहुन्थो । हाम्रो सम्बन्धचाहिँ छिमेकीको रूपमा छ । यसो गर्दा मैले बढी औपचारिक पनि हुनु परेन । हुन पनि उदयपुरमा हाम्रो घर नजिक नै थियो। जडिबुटीमै बस्नुभएको हुनाले अहिले पनि भेट भइरहन्छ, कोठामा आउजाउ पनि छ । यस वाक्यलाई त भूतकालमा पो लेख्नुपर्थ्यो होला । लकडाउनको कारण अहिले त के भेटघाट हुनु ? के आउजाउ हुनु ? यो संवाद चैं म्यासेन्जरको भ्वाइसकलमार्फत भएको थियो ।
‘छैन त, गाउँतिरै यसो सुनेकोसम्म हो ।’ हुन त मलाई गुर्जोको लहरोका बारेमा थाहै नभएको होइन । गुर्जोलाई हिन्दीमा गिलोय भनिदो रहेछ र गुडुची पनि यसको नाम रहेछ भन्ने मलाई केही समय पहिला थाहा भएको थियो । त्यसैले आयुर्वेदिक औषधि पसलेलाई ‘कोरोनाको औषधि दिनुस् न’ भन्दा उसले यही सुझाएको थियो र गुडुचीको दुई बट्टा आयुर्वेदिक औषधि पसलबाट दुई पटकगरी किनेर ल्याएको थिएँ । कोरोना भाइरसको महामारीपछि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनी चर्चा पनि भएको थियो । र, त्यो सपरिवार खाँदै थियौं ।
‘गुर्जो त कोरोना भाइरसबाट हुने संक्रमण रोक्नका लागि निकै फाइदाजनक छ नि ! पुष्कर खरेलजीको घरमा त्यसको बोट नै छ । अलिकति मागेर लैजानुस् न । तपाईंको घरमा त खाली ठाउँ पनि छ । लहारा लगेर लगाउनुस् पनि । सरले त झन् लिइरहनु होला ।’ दुर्गा म्याडमले सुझाव दिनु भयो ।
मैले दुर्गा म्याडमसँग गुर्जोको बारेमा थाहा छैन भन्नुको कारण उहाँलाई केही बढी जानकारी छ कि भनेर हो । कुनै कुरा भन्यो भने आफुले जानेको कुरो दाहोरिन्छ, सुन्दा नजानेको कुरो पनि थाहा हुन्छ । गुर्जोको फाइदाको बारेमा त उहाँलाई पनि मलाई जस्तै मात्रै जानकारी रहेछ । थप जानकारी भने के पाइयो भने यो पुष्करजीको घरमा त्यो रहेछ । पुष्करजी मेरो छिमेकी नै हो तर लकडाउनको यो अवधिमा लिन कसरी जानु, झन् ल्याइदिनु भनेर के अह्राउनु ?
हामी हिन्दू पुराकथा (मिथोलोजी) मा विश्वास गर्नेहरूका लागि के रमाइलो छ भने सबै भविष्यवाणी हाम्रा धर्मग्रन्थमा लेखिसकिएका हुन्छन् र सबै रोगको उपचारको व्यवस्था आयुर्वेदमा गरिएको हुन्छ । अरू केही नसुझेमा गोमुत्र त छँदैछ, सबैले, सबै रोगमा, सधैं खान मिल्ने औषधि । भारतमा केही समयअघि कोरोनाको उपचारमा गोमुत्र र गोबरको प्रयोग गरिएको खबर पाएको थिएँ । अहिले चाहिँ कोरोनाको उपचारको उपाय लसुन-पानी, ज्वानो, बेसार-पानी, असुरोको पात आदि हुँदै कुरो गुर्जोमा पुगेको छ । र, दुर्गा म्याडमले पनि त्यही सुझाव दिदै हुनुहुन्छ ।
योभन्दा अघिल्लो पटक चाहिँ दुर्गा म्याडमलाई मैले नै फोन गरेको थिएँ । कोरोना भाइरसबाट पीडित बिरामीले रोग सार्लान् भनेर धेरै स्वास्थ्य संस्थाले सेवा दिन बन्द गरेका र बिरामीको बिचल्ली भएको समाचारको सेरोफेरोमा हाम्रो कुरा भएको थियो । कोरोना त कोरोना नै भइहाल्यो, अरू रोगका बिरामीले पनि उपचार पाउन सक्ने अवस्था थिएन । अनि मैले ‘कुनै डाक्टरसँग तपाईंको चिनजान छ भने जानकारी पाउँ’ है भनेर फोन गरेको थिएँ, आसन्न संकटको सामना गर्नका लागि । अझ मैले त ‘मेरो श्वासप्रस्वास प्रणाली अलि खराब छ । मलाई त भेन्टिलेटर पनि चाहिन सक्छ । कता के सुविधा छ बुझिदिनु है’ पनि भनेको थिएँ । कोरोना संक्रमित बिरामीले कालसँग घम्साघम्सी गर्ने हतियार यही भेन्टिलेटर हो भन्ने बुझेको थिएँ । तर संसारभर त्यसको माग थियो र संसारभर नै त्यसको अभाव थियो ।
तर उहाँ त गुर्जोको लहरो लिएर मकहाँ आइपुग्नु भयो, त्यो पनि भिडियो कलमा । उहाँसँग यही थियो त, के दिनुहोस् ? मेरा साथीहरू जति साधन सम्पन्न हुन्छन्, मलाई त्यति मात्र नै त फाइदा हुने हो । बढीको आशा गरेर के गर्नु र ? उहाँको सदाशयताको सम्मान गर्छु । बरू मैले पो त्यो औषधि किनेको कुरा उहाँलाई भनेको रहेनछु ।
संसार कोरोनाविरुद्धको युद्धमा लागिरहेको छ । परीक्षणका लागि सरल प्रविधि, खोप र उपचारको खोजमा संसारका स्वास्थ्य वैज्ञानिकहरू लागिरहेका छन् । तैपनि विकसित देशका उन्नत स्वास्थ्य सेवा भएका मुलुकमा दैनिक हजारका हाराहारीमा मानिसको मृत्यु भइरहेको छ । लकडाउनको रणनीति धेरै देशले अपनाएका छन् र संसार ठप्पप्रायः छ । संसार कोरोनाकै भयले हायलकायल छ । प्रधानमन्त्री, मन्त्री जस्ता उच्च जीवनशैली भएका मानिस पनि यसबाट बच्न सकेका छैनन् । आधुनिक सभ्यताकै अन्त्यको खतराको घण्टी बजाउने कोरोना भाइरसलाई गुर्जोको लहराले थेग्ला त ? मलाई शंका लागेर आउँछ ।
नेपाल पनि कोरोनाविरुद्धको युद्धमा हेलिएकै थियो । लकडाउन घोषणा भइसकेको थियो । अन्तर्राष्ट्रिय उडान र सीमा बन्द गरिएको थियो । सरकार यसबाट सिर्जित समस्याको व्यवस्थापनमा लागिरेहेकै थियो । औषधि, उपकरण र परीक्षण किट निजी क्षेत्रबाट खरिद गर्ने सम्झौता पनि भएको थियो । नेपालको जहाज चीन लगेर ती सामान ल्याउने सहमति भए अनुसार नेपाल वायुसेवा निगमको जहाज चीन गएर ती सामानको एक खेप ल्यायो पनि । संक्रमण बढेको खबर आएको थिएन । आवश्यक औषधि र उपकरणको जोगाड भइरहेको थियो । आशाको संकेतहरू देखिएका थिए । राज्यले यति तयारी गरेको अवस्थामा लकडाउनको उल्लंघन गरी के गुर्जोको लहरो खोज्न जानु ? म गइन ।
कोरोनाविरूद्धको युद्धमा निस्कनुअघि नै जुत्ताको तुना खुस्कियो । चीनबाट ल्याइएका औषधि र उपकरण बिरामीको सेवामा पुग्नुभन्दा अघि नै सामान किन्दा भ्रष्टाचार भएको, सामान गुणस्तरहीन भएको र टेस्ट किट पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोग गर्न अस्वीकार गरेको खबर बोकेका पत्रिका घरघरमा पुगे । स्वास्थ्य सेवा विभागले ठेकेदार कम्पनीले तोकिएको अवधिमा सामान ल्याउन नसकेको भनेर सम्झौता भङ्ग गर्यो । अब सबै खरिद प्रक्रिया पुनः शून्यबाट सुरु हुन्छ होला । अहिलेसम्मका सबै प्रगति शून्यमा शून्य सरी बिलाए । यो प्रक्रिया शून्यमा हराएको हुनाले अब कति शून्यमा बिलाउने हुन् ? देवकोटा बिलाए जस्तै, हाम्रा हजुर बा बिलाए जस्तै, अहिले कोरोनाका कारण ५४ हजार बिलाए जस्तै ! उता फेरि नेपालमा पनि कोरोना संक्रमितको संख्या थपियो ।
मृत्युको संकटबाट निस्कने बाटो खोज्दा मान्छेले दायाँबायाँ हेर्दैन । आफ्नो अध्ययन र अनुभवका दृष्टिले अर्थहीन मानेका काम पनि मानिसले त्यस क्रममा सजिलै गर्छ । जगदीश घिमिरेले आफूलाई क्यान्सर भएको तर झारफुकले निको नपार्ने थाहा हुँदाहुँदै पनि धामी समेत लगाएको कुरा लेखेका छन् । हो पनि, मृत्युको भयले हामीलाई हरेक उपाय अवलम्बन गर्न बाध्य पार्छ । हाम्रो विवेकको सीमा नै जीवन हो । बरू मरुँला, तर यसो गर्दिन भन्न सजिलो छ, गर्न गाह्रो । जस्तै कमसल वा बेकामे उपायलाई पनि सफल भए राम्रै भो, नराम्रो हुने त छँदैछ भनी मानिसले अपनाउँछ । हरेक आपत्तिमा पनि आफू अपवादमा परिने र जोगिने आशा मानिसलाई हुन्छ । मेरो अघिल्लो ब्लग ‘लकडाउन डायरी’ मा मेरा आदरणीय दाइ कृष्ण दाहालले लेख्नु भएको छ – पछाडि मडारिँदै आएको आँधीले लाखौं दियोहरू निभाउँदा पनि सलाइ खल्तीमा राखेर भाग्न मन लाग्दो रहेछ, आँधी रोकिएला, आफू सुरक्षित रहिएला अनि फेरि दियो बालुँला भनेर !
म पनि यो आँधीबाट दियो निभ्न दिन चाहन्न । कोही पनि चाहन्नन् । त्यसैले अब दुर्गा म्याडमले भन्नु भए झैं पुष्करजीलाई फोन गर्छु, गुर्जोका लहराको लागि । गुर्जोले नै जोगाउँछ भने भैगो नि ! ऋषिमुनिको वाणी हो, कसो गलत होला त ! पुष्करजीले पनि त्यो लहरो कसो नदेलान् त !
(कोरोना भाइरसको संक्रमणबाट गुर्जोले बचाउने वा नबचाउने भन्ने कुरामा मेरो केही जानकारी छैन । यसको खाने तरिका पनि बुझेको छैन ।)
