“मेनेजर साहेब, नमस्कार ।” उताबाट कसैको फोन थियो ।
“नमस्कार, को बोल्नुभयो होला ?” मेनेजरले फर्काए ।
“म शिवराम, निरीक्षण विभागबाट हो सर ।” उताबाट जवाफ आयो ।
“ओहो, शिवरामजी, के छ खबर ? कसरी सम्झनुभयो ?”
“हामी भोलि त्यहाँ निरीक्षणका लागि आउँदैछौं । सवा एक बजेको फ्लाइट छ । एयरपोर्टमा मोटर पठाइदिनुहुन्छ कि भनेर हो सर ।”
“ए भइहाल्छ नि । म ड्राइभरको नम्बर मेसेज गरिदिन्छु । सजिलो हुन्छ । अनि विशेष अरु केही ?”
“अरु कुरा भेटेरै गरौँला नि । अखिर त्यहीँ त आइएको छ ।”
“ल त अहिलेलाई राखेँ ।”
विराटनगर शाखाका मेनेजर रामकुमार शर्मा यो फोनपछि अलि चिन्तित देखिए । उनले एक गिलास पानी घुट्क्याए अनि पानपराग मुखमा चेपे । निरीक्षण बैंकको लागि एउटा नियमित प्रक्रिया भए पनि निरीक्षण टोली आएपछि टेन्सन बढिहाल्छ । उनीहरुलाई खुवाऊ, पियाऊ, बसाऊ । उनीहरुको चाहिने नचाहिने स्पष्टीकरणको जवाफ देऊ । काम गर्दा, गराउँदा कति व्यवहारिक समस्या पर्छ उनीहरुलाई मतलब हुँदैन । परिपत्रको एउटा दफामा टाङ अडाइरहेका हुन्छन् । त्यस्ता दफा सँधै पक्डेर त साध्य नै हुँदैन ।
‘फेरि अहिले त निरीक्षण टोली आउने बेला नै होइन ।’ उनको अनुभवी मनले उनलाई झस्कायो । तर भरखरै निरीक्षण विभागको शिवराम भोलि आउने खबर दिने टेलिफोन सेट आफैँ अगाडिको टेबुलमा बसिरहेको थियो । अनि शिवरामको बोली अझै कानमा गुञ्जिरहेको थियो ।
यो बेमौसमी निरीक्षण एउटा खतराको घण्टी बनेर बजिरहेको थियो ।
…………….. . . ……………….. ………………. . ………………. ………….
“किन सर ?” कर्जा फाँटका श्यामप्रसाद मेनेजर रामकुमारका अगाडि थिए ।
“ए… . अँ… ।” शुरुमा रामकुमार लकपकाए । अनि भने “श्यामजी, यस आर्थिक वर्षमा हामीले दिएका कर्जाका फाइल एकपटक फेरि हेर्नुहोस् त कुनै डकुमेन्ट नपुगेको छ कि ? पछि लिने भनेर छोडेको कुनै डकुमेन्ट लिन छुटेको छ कि ?”
“छैन होला सर । फेरि पनि म हेर्छु एक पटक । हामीले धेरै कर्जा नै दिएका छैनौँ ।”
“ठिकै होलान् पनि । अँ, अस्ति हीरालाललाई दिएको कर्जाको फाइल पनि हेर्नोस् न एक पटक । त्यहाँ केही छुटेको छ कि ?”
हीरालाल रामकुमारको स्कुल पढ्दाको साथी थियो । रामकुमार जागिरमा लागे र हीरालाल पुर्ख्यौली व्यापारमा । हीरालाल ‘फरेन गुड्स’ को कारोबार गर्थ्यो । ‘फरेन गुड्स’ को बजार पछि गएर त्यति राम्रो रहेन । बजारमा थुप्रै दोकान खुले तर भारतबाट खरिदारीका लागि आउने ग्राहक भने घट्दै गए । ‘फरेन गुड्स’ को व्यापार भारतीय ग्राहककै भरमा चलेको थियो । यसैले उसको कारोबार घटिरहेको थियो र हीरालालले बैंकको पुरानो ऋण चुक्ता गर्न सकेको थिएन । ऊ अब इलेक्ट्रोनिक्समा सिफ्ट गर्न चाहन्थ्यो तर पुँजी थिएन । पुरानो बक्यौता ऋणका कारण बैंकबाट कर्जा पाउन पनि सकिरहेको थिएन । रामकुमार मेनेजर भएर आएपछि हीरालालले भेटेको थियो र भनेको थियो, ‘रामकुमार, कर्जा मिलाइ दे यार ! अरुलाई दिने दस परसेन्ट तँलाई पनि दिउँला ।’ यसपछि रामकुमारले कर्जाका श्यामप्रसादलाई हीरालाल साथी भएकाले मिलाइदिन भनेका थिए । दस परसेन्टको कुरा त किन गर्नुपर्यो र ? हीरालाललाई यही कर्जामा केही कमजोरी छ कि भन्ने शंका थियो ।
“हीरालालले धेरै कर्जा माग गरेको थियो तर उसको ब्यालेन्ससीट भने राम्रो थिएन । उसलाई ब्यालेन्ससीट सच्याएर ल्याउनुस् भनेको थिएँ । गएको हप्ता नै नयाँ ब्यालेन्ससीट ल्याएर दिइसकेको छ । राम्रै छ ।” श्यामप्रसादले भने ।
“कुरो के भने श्यामजी भोलि निरीक्षण टोली आउँदैछ, काठमाडौबाट । तपाइँलाई थाहै छ यो नियमित निरीक्षणको समय होइन । त्यसैले यो विशेष निरीक्षण हुनुपर्छ । त्यो विशेष निरीक्षण के विषयमा हो थाहा भएन, सोध्ने कुरा पनि भएन । कर्जाहरुको फाइल अप टु डेट राख्नोस है ।” रामकुमारको संशय बोल्यो ।
“हुन्छ सर ।” श्यामप्रसाद पनि गम्भीर देखिए ।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंं …………….. …………………… ……………………. ………………….
‘कर्जापछि हेर्ने अर्को कुरा त्यही खर्च त हो ।’ रामकुमार अलि विश्वस्त देखिए । ‘घरभाडाको एग्रीमेन्ट त पुरानै हो । मासिक पचास हजार तिर्ने भनेको छ, तीस हजार तिर्ने हो, दस मैले राखेर दस माथि पठाउने हो । यो त मैले चलाएको चलन पनि होइन, थाहा पाउने आधार पनि छैन । कागज पचास हजार कै छ, कर पुरा तिरेकै छ, के को टेन्सन ? अरू स्टेसनरी र इक्वीपमेन्ट काठमाडौबाट नै आउने हो । अँ साँची, जेनेरेटर पो यहीँबाट किनिएको थियो ।’ उनको मन दौडिरहेको थियो ।
“प्रशासनको डिल्लीरामजीलाई बोलाउनुस् त ।” उनले पी.ए.लाई अह्राए ।
एकैछिनपछि डिल्लीराम रामकुमारका अगाडि थिए ।
“जेनेरेटर सप्लाइ गर्दा क्याटलग अनुसारको सामान भएन भनेर कुरा उठेको थियो नि, त्यो मिल्यो त ?”
“पछि मिल्यो, भुक्तानी नै भइसक्यो ।” डिल्लीरामले भने ।
“कसरी मिलाउनु भयो ?”
“सरले सामान ठीकै छ, मिलाएर भुक्तानी दिनु भन्नु भयो । मैले टेन्डर डकुमेन्टमा पेश गरेको क्याटलग चेन्ज गरिदिएँ । उसैले कसरी मिलायो कुन्नि, प्राविधिकले पनि स्पेसिफिकेसन अनुसार छ भनेर लेखे । त्यसैका आधारमा भुक्तानी भयो ।”
“मिलाएर त गर्नुभएको छ ? पछि अप्ठेरो त पर्दैन ।”
“नपर्नु पर्ने हो । सप्लाएरहरुले मिलेरै ठेक्का हालेका हुन् । कागजात त सब ठीक छ ।”
…………….. ………… ………….. …………… …………….. …….
कार्यालय बन्द भएपछि रामकुमार आवासतिर लागे । डाइभर चन्द्र उसलाई लिएर गइरहेको थियो ।
“चन्द्र भोलि एयरपोर्ट गएर निरीक्षणका सरहरुलाई लिएर आउनुपर्छ है । सबा एक बजेको फ्लाइट छ रे । म बिर्सौला, तिमीले नबिर्सनु ।”
“हुन्छ हजुर, अघिल्लो महिना आउनु हुने सरहरु हो कि अरु नै, सर ?”
“शिवराम आउने हो, चिन्छौ कि चिन्दैनौ ?”
“शिवराम सरलाई चिन्छु । पोहोर आउनु भएको थियो । हुन्छ हजुर, म उहाँहरुलाई लिएर आउँछु ।”
…………… …………… ………….. …………….. ……………… …….
शिवराम र सरोज निरीक्षण टोलीमा रहेछन् । डाइभर चन्द्रले शिवरामलाई चिन्यो र झोला बोकी मोटरतिर जान संकेत गर्यो । टोलीका सदस्यहरुलाई लिएर चन्द्र अफिसतिर लाग्यो ।
उनीहरु कार्यालयमा पुग्दा मेनेजर रामकुमार उनीहरुकै प्रतीक्षामा देखिन्थे । पानी र चियासँग गफगाफको शृङ्खला सुरु भयो । एकछिन सञ्चो बिसञ्चोका कुरा भए, एकछिन उडान ढिला भएको कुरा भए, एकछिन काठमाडौ र विराटनगरको मौसमका भिन्नताका कुरा भए । यसैबीच खाजा आयो र सँगै बसेर खाजा खाए । खाजाका क्रममा चीनको उन्नतिको कुरा भयो, भारतको चुनावको कुरा भयो, अमेरिकाबाट रुस भाग्ने सुरक्षा अधिकारीको चर्चा भयो तर रामकुमार जे सुन्न चाहन्थे, त्यसको कुरा भएन । उनीहरु यस समय कुन कुराको निरीक्षण गर्न आएका थिए, त्यसबारे कुनै कुरा निस्केन । रामकुमारको मुखसम्म जिज्ञासा नआएको होइन तर शिवरामले नै भनेको थियो, ‘त्यहीँ आएर अरु कुरा गरौला’ ।
कार्यालय नजिकको होटलमा खाना र बासको व्यवस्था भयो । त्यस होटलमा बैंकको आग्रह अनुसार बसेका पाहुनाहरुको बील बैंकले नै तिर्ने त पूर्व समझदारी नै थियो ।
“सर, साँझको व्यवस्था भइहाल्यो । यो फुर्सदको समयमा यसो जोगबनी पुगेर आउँछौ । आजै गइयो भने पछिलाई हतार पनि हुँदैन ।” शिवरामले भन्यो ।
साँझमा अफिसको मोटरले शिवरामको टीमलाई होटलमा छोड्यो र रामकुमारलाई बैंकबाट टिपेर क्वाटरमा पु¥यायो ।
…………… ………… ………… ……………………….. …………………….
राति रामकुमारलाई राम्रो निद्रा लागेन । उनी आफैं लेखापरीक्षण विभागमा बसेर कति निरीक्षण गरेका छन्, उनी आफैँले कति निरीक्षण झेलेका छन् । तर यो निरीक्षणले उनलाई बेचैन बनाएको छ । असमयमा आएको छ यो निरीक्षण । फेरि केही कैफियतको गन्ध नपाई त यो आएको होइन होला । कसले के सूचना दियो ? यो के हेर्न आयो ?
यो मुलुक बिचित्रको छ । रामकुमारलाई कहिलेकाहीँ यस्तै लाग्छ । र, आज पनि यस्तै लागिरहेको छ । भ्रष्टाचारको आहालमा मुलुक डुबिरहेको छ । तर कारबाहीको तरबार भने ऊ जस्तै सामान्य मानिसहरुमा ठडिन्छ । त्यही ठाउँमा त्यही काम अरुले गरेर अकुत सम्पत्ति कमाइरहँदा दुनियाँ बेखबर बसिरहन्छ र अरु त्यहाँ जाने बित्तिकै सबका आँखा त्यहीँ पुग्छन् । यही शाखाबाट अरुले कस्ताकस्ता मान्छेलाई कस्ताकस्ता कर्जा दिए, कस्ता कस्ता सामान कसरी किने, अहँ कसैले कहिले छानबिन गरेन । तर अहिले ? उसले गरेको के छ र ? आफ्नो अग्रसरतामा हीरालाललाई कर्जा दियो, कर्जा दिने त कामै हो । जेनेरेटर पनि त चाहिएकै थियो । कर्जा र खरिद यस्ता काम हुन् यसमा कसैले केही नलिए पनि लिएको छ भनेर दुनियाँले सोचिरहेको हुन्छ । सबैको अपेक्षा नै त्यही हुन्छ ।
‘त्यो विनोद पनि कुन दूधले नुहाएको प्राणी हो र ?’ रामकुमारको ध्यान निरीक्षण विभाग प्रमुख विनोदराजतिर गयो । ‘विर्तामोड शाखाको प्रबन्धक हुँदा इन्टेरियर डेकोरेटरसँग मिलेर तीन लाख झ्वाम पारेको बिर्स्यो कि क्या हो ? बाटो नभएको जग्गा धितोमा राखेर सालीलाई दिएको कर्जा पछिसम्म पनि असुल हुन सकेको थिएन । आफूले गरेको बदमासी मानिसले कति चाँडो बिर्सन्छ र अर्काको चियो चर्चोमा लाग्छ ? विनोदले ममाथि पो निगरानी राखेको रहेछ र विशेष निरीक्षण टोली पठाएको रहेछ ।’
‘हुन त मैले पनि अलि जोगिनु पर्ने नै हो । विनोद अर्को खेमाको मान्छ हो । उसले मेरो खेदो गर्नु त स्वभाविकै पनि हो । हाम्रो संस्थामा यस्ता हरकत त भइरहेकै छन् । त्यसैले त संस्थाको अवस्था पनि यस्तै छ, उकालो लाग्न सकेको छैन । प्रमोटरको गुटका आधारमा, राजनीतिका आधारमा, स्थानीयताका आधारमा, नातासम्बन्धका आधारमा हुने कर्मचारीको गुटबन्दीले संस्थाको संरचनालाई भत्काइरहेका छन् । अहिले कर्मचारीतन्त्र एउटा महाजाल भएको छ, यो महाजालमा कहिले को पर्छ ठेगान नै हुँदैन ।’
यस्तै सोच्दै राजकुमार झकाए ।
…….. …….. ………. ………… …………. …………… …………. ……… .
आज चन्द्रले रामकुमारलाई पर्खनु परेन । रामकुमार सवा नौ बजे नै खाना खाएर तयार भइसकेका थिए । समयमा नै अफिस पुग्नुप¥यो, त्यसमाथि निरीक्षणका लागि केन्द्रबाट टोली आएको थियो । केही कमी कमजोरी देखिए समाधान पनि गर्नुप¥यो । निरीक्षणले मनमा एउटा बोझ त थपिहाल्छ । यो बोझले मनमा एउटा हुटहुटी ल्याउँछ । त्यही हुटहुटीले छिटै उठाउँछ, छिटो खुवाउँछ, छिटो हिँडाउँछ ।
अफिसमा ऊ पुग्दा केही कर्मचारी आइपुगिसकेका थिए, केही आउँदै थिए । ‘निरीक्षण टोलीका साथीहरुसँग म मिटिङमा हुन्छु, तपाई अफिस चलाउँदै गर्नुस्’ भनी अपरेशन इन्चार्जलाई अह्राएर उनी आफ्नो कार्यकक्षतिर लागे ।
………….. …………… …………………….. ………………. ……………… ..
शिवरामहरु एघार बजेतिर मात्र अफिसमा आए । उनीहरु आएपछि कर्जा, अपरेशन र प्रशासन हेर्ने अधिकृतहरुलाई मेनेजरको कोठामा बोलाइयो । त्यसपछि शिवरामले कार्यालयका गतिविधिका बारेमा सोधखोज गरे । सम्बन्धित अधिकृतहरुले उत्तर दिए ।
“पहिलेका लेखा परीक्षणका कैफियतहरुको अवस्था के छ, सुधार भयो ?”
. … . . ……. …
“भाखा नाघेका कर्जाहरुको अवस्था के छ ?”
… .. … .. . ….
“नयाँ खाता कत्तिको खुल्दैछ ? बन्द हुने दर के छ ? बन्द गर्नेले के कारण बताएका छन् ?”
…. …. …… …. .. .. . .. . .. . .. ..
“यस आर्थिक वर्षमा अहिलेसम्म ठुला ठुला सामान के के किन्नुभयो ?”
………………. …
“अहिलेसम्म ठुलो ऋण ककसको कुन कुन कम्पनीलाई दिनुभयो ?”
…………… … ..
“सबै साथीहरुले त आफ्नो कुरा राख्नुभयो । अनि अरु के छ सर ?”
“ठीकै छ । साथीहरुले सबैजसो कुरा तपाईँलाई बताइहाल्नु भयो । कम्पिटिसन चर्को छ । लगानीको वातावरण राम्रो छैन । राम्रो ग्राहक खोजेर कर्जा दिनु भनेको त फलामको च्युरा चपाउनु जस्तो भयो । कार्यालयमा आवश्यक सामान किन्नु पनि गाह्रै रहेछ । सानो उपकरण किन्नुप¥यो भने काठमाडौबाट मगाउनुपर्छ भन्छन् सप्लाएरहरु । यसबाट भनेको सामान पाउन पनि मुस्किल, महँगो पनि पर्ने । तैपनि सन्तोषजनक रुपमा नै चलिरहेको छ ।”
“हामीले पनि देख्यौ सर । राम्रै रहेछ । कर्जा र खर्चको फाइल पछि नियमितरुपमा निरीक्षण गर्न आउने टिमले हेर्छ । हामी त अहिले अनुगमन भनेर आएको । खासमा लेखापरीक्षण गर्न आउँदा नै अनुगमन पनि गर्ने भन्ने कुरा छ । हामी चाहिँ निरीक्षण विभागको प्रमुख विनोद सरसँग विशेष अनुरोध गरेर दार्जिलिङ सिक्किम पनि घुमेर आउँछौ, अनुगमन पनि गर्छौ भनेर आएको । सरलाई यहीँ आएर भन्छु भनेको कुरा चाहिँ के थियो भने नि सर, मिल्छ भने भोलि विहान मोटरबाट काकरभिट्टासम्म छोड्ने व्यवस्था मिलाइदिनुस न ।”
“भैहाल्छ नि । म चन्द्रलाई भनिदिउँला । विहान छ बजे तयार हुनुहोला ।”
शिवराम र सरोज खुशी भए ।
रामकुमारले हलुका महसुस गर्यो । निरीक्षणको बहानामा उनीहरू त घुम्न पो आएका रहेछन् । निरीक्षणको तनाव यति सजिलै स्खलित होला जस्तो उसलाई लागेकै थिएन ।
(मिर्मिरे ३२७ अङ्कमा प्रकाशित)
