खजमजिएको सिभी

नेपाल राष्ट्र बैंकबाट अवकाश पाएको केही समयपछि जागिर खाने विचार आयो र एउटा निकायमा सेवाको मौका पनि पाइएला जस्तो देखियो । त्यसका लागि मैले आफ्नो सिभी तयार पार्नुपर्ने भयो । “एउटा सिभी बनाएर इमेल गरिदिनु न त !” नयाँ जिम्मेवारीका लागि पहल गरिदिने व्यक्तिले मलाई भन्नुभयो । “भैहाल्छ नि” मैले भनें ।

सिभी अर्थात करिकुलम भिटाइ । नेपालीमा व्यक्तिगत विवरण भन्दा पनि हुने हो तर चलेको छ यही । बरू रिज्युमे पनि सुन्छु म कहिलेकाहीं सिभीको साटोमा । कुनै जन्म, शिक्षा, योग्यता, अनुभव, प्रकाशित कृति आदि जानकारी समेटिएको व्यक्तिगत विवरण । त्यस्तो गाह्रो के छ र सिभी बनाउन ?

मलाई भने गाह्रो भयो सिभी बनाउन । जन्म, नाम, थर, ठेगानमा त केही अलमल हुने कुरै भएन । तर जब शैक्षिक योग्यता  अनुभवका विषयहरू आए, न नराम्रोसँग अलमलिएँ । शैक्षिक योग्यताको हकमा मैले नेपालीमा एम. ए. गरेको थिएँ, थेसिस लेखेर राम्रो अङ्क ल्याउने मौका नमिले पनि प्रथम श्रेणी ल्याउन सकेको थिएँ । नेपालीमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरे पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा कुनै काम गरेको थिइनँ । केही लेख रचना भए पनि ती सिर्जना अध्यवसायको परिणति हैन, लहडका परिणाम थिए । तिनको गुणस्तर त अर्को सवाल भइहाल्यो । कहिले यो किनारा चेपेर, कहिले अर्को किनारा चेपेर बग्ने तराई खोला जस्तो यसपालि यो सिद्धान्त र अर्को साल अर्को सिद्धान्त अङ्गीकार गर्ने नेपाली व्याकरणका नियमहरू पनि मैले आत्मसात गर्न पनि सकेको थिइन । नेपाली भाषा र साहित्य क्षेत्रका मानिसहरूसँग मेरो चिनजान, बसउठ र सङ्गत थिएन । मेरो नेपालीमा एम. ए. गरेको सर्टिफिकेट कोमामा थियो । यही कोमामा रहेको शैक्षिक योग्यता सिभीमा उल्लेख गर्न मलाई अप्ठेरो लाग्यो ।

मैले नेपाल राष्ट्र बैंकमा तिस वर्ष काम गरेको थिएँ । नेपाल राष्ट्र बैंक अर्थशास्त्र, बैकिङ, व्यवस्थापन विषयका दिग्गजहरूको केन्द्र हो । केन्द्रीय बैंकमा काम गरेको भन्नासाथ मानिसले अर्थशास्त्र वा वाणिज्य शास्त्र पढेको मानिस रहेछ भनेर अडकल काट्छ । उसो त सूचना तथा सञ्चार प्रविधि, कानुन र अन्य सहयोगी सेवा पनि केन्द्रीय बैंकलाई आवश्यक पर्छ तर दुनियाँले यसको उति लेखो राख्दैन । शैक्षिक योग्यता भने नेपालीमा एम. ए. अनि अनुभव चाहिँ केन्द्रीय बैंकमा काम गरेको ! प्रथम नजरमै मेरो व्यक्तित्त्व दुइटा नाउमा रहेको यात्रीजस्तो देखिन्छ । शैक्षिक योग्यताले अनुभवलाई गहन र अनुभवले शैक्षिक योग्यतालाई सुदृढ बनाउनु पर्ने हो । मेरो हकमा त उल्टो पो देखियो । मान्छेले त सोचिहाल्छ नि- नेपालीमा एम. ए. गरेको भए पनि केन्द्रीय बैंकमा तिस वर्ष काम गरुन्जेल पढेको कुरो के सम्झेको होला र अनि नेपाली पढेको मान्छेले केन्द्रीय बैंकमा काम गरे पनि कुरो चाहिँ के बुझेको होला भनेर ? यस सोचलाई परास्त गर्ने शक्ति मसँग छैन पनि । शैक्षिक योग्यता र अनुभवले एकअर्कालाई निरस्त गर्छन्, मेरो सिभीमा । अनि त्यस्तो अनुभवको पनि के अर्थ होला र ?

हुन त मैले बैंकमा काम गर्न थालेपछि अर्थशास्त्रको सर्टिफिकेट पनि गोजीमा पार्नुपर्छ भनेर एक विषयको मात्र परीक्षा दिने सुविधाअनुसार अर्थशास्त्रमा पनि स्नातक (सिङ्गल सब्जेक्ट) गरेको छु । आज आएर पेशागत क्षेत्रमा मानविकीतर्फ स्नातक गर्नु खास योग्यताको रूपमा मानिन छोडेको छ । नेपालीमा एम. ए. गरेको प्रमाणपत्र गोजीमा बोकेर अर्थशास्त्रमा बी. ए.  पास गरेको छु भन्न मलाई पनि मन लाग्दैन (यो भन्नुको कुनै तुक भए त मन पनि लाग्थ्यो पनि कि?) ।  अर्थशास्त्रको केही स्वअध्ययन पनि गरेको छु, केही तालिमबाट पनि ज्ञान हासिल गरेको छु, सङ्गतबाट नै पनि केही सिकेको छु । तर औपचारिक प्रमाणपत्रविनाका यी ज्ञान र सीपलाई बजारले चिन्दैन, चिने पनि किन्दैन । मैले सिभीमा यो योग्यता राख्नु मान्छे हँसाउनु मात्र हो भने तपाईंले पनि समर्थनमा टाउको हल्लाउनुहुन्छ ।

वाणिज्यशास्त्र र व्यवस्थापन पढ्ने मेरो चाहना सपना बने पनि डेबिट क्रेडिसँग मेरो जिन्दगीभर जम्काभेट भइरह्यो । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल भएदेखि नै डेबिट क्रेडिटको कर्म सुरु भएको थियो । राष्ट्र बैंकको सबै विभाग र फाँटहरूले डेबिट क्रेडिटको सामना गर्नुपर्दैन तर मभने लामो समय तिनै कर्ममा लागिरहें । लेखापरीक्षण गराउने सिलसिलामा लेखापरीक्षणसम्बन्धमा केही जानकारी पनि हासिल गरें । निरीक्षण र सुपरिवेक्षणसम्बन्धी कामको अनुभव पनि हासिल गरियो । तर यी सबै मैले मर्म नबुझी गरेका कर्म सावित देखिए । यसमा मेरो पकड थिएन, छैन ।

उसो त मेरो पेशागत पहिचानको अर्को स्वरूप पनि छ, म इजाजतप्राप्त अधिवक्ता हुँ । नेपाल राष्ट्र बैंकको जागिर सकिनु केही अघि अवकाशपछि वकालत पो गर्नुपर्ला कि भनेर कानुनको स्नातक तहको अध्ययन सुरू गरेको थिएँ । जागिरबाट अवकाश पाएको केही समयपछि पढाइ पूरा गरें । अधिवक्ताको इजाजत परीक्षा पनि उत्तीर्ण गरें र इजाजत पाएँ । तर अधिवक्तको इजाजत पाएपछि अर्को किसिमको काम गर्न थालें, वकालततिर लागिन । वकालत पनि कहाँ सजिलो रहेछ र ! केही वर्ष सिक्नुपर्ने, केही वर्ष भिड्नुपर्ने, केही वर्ष कुद्नु पर्ने अनि केही हातलाग्ने ! बाउन्न पचपन्न वर्षको उमेरमा वकालतको दुनियाँमा जन्मेर कहिले बामे सर्नु, कहिले उभिनु, कहिले हिँड्नु, कहिले कुद्नु ! हैट ! केही वर्षमै देउताहरूले ‘आउनुस् केदारजी, यतै ! यतै बस्नुस् ! औषधि खानु पनि पर्दैन, मुख बार्नु पनि पर्दैन’ भनेर लोभ देखाउन थाल्छन् । त्यसपछि आफ्नै ज्यानको म्याद थप थप्न डाक्टरकोमा तारिख धाउनु पर्ला, अर्काको तारिख बोकेर के साध्य लाग्ला र ? यही सोचेर अदालतको ढोका ढक्ढक्याउने काममा सहयोगी हुने आँट आएन । त्यसैलै एलएल. बी. को प्रमाणपत्र र अधिवक्ताको इजाजत हासिल गरेर पनि म आफूलाई वकिलको रूपमा चिनाउन चाहन्न । अदालत नटेकेको वकिल कस्तो वकिल ? यो योग्यता पनि सिभीमा त लेखौंला तर यसले मेरो सही प्रतिनिधित्व गर्छजस्तो लाग्दैन ।

कतै पढेजस्तो लाग्छ, कर्मचारीमा तीन गुण आवश्क पर्छ । पहिलो, समूहमा काम गर्नसक्ने क्षमता । एउटा व्यक्ति जति नै तिसमार खाँ भए पनि समूहको उचित सहयोग र परिचालनविना उसले अपेक्षित परिणाम हासिल गर्न सक्दैन । हाकिम समूहलाई परिचालन गर्नसक्ने हुनुपर्छ, कर्मचारी समूहमा काम गर्नसक्ने, चाहने । दोस्रो, नयाँ ज्ञान र सीप सिक्न सक्ने र चाहने । पुराना ज्ञान र सीप बदलिंदो संसारका नयाँ समस्याको समाधान गर्न अपर्याप्त हुनसक्छ र प्राप्त ज्ञानको आलोकमा समाधानको उपायका बारेमा जानकारी लिन थप अध्ययन गर्न तथा सीप सिक्न कर्मचारी तत्पर हुनुपर्छ । संसार र बजारको गतिसँग तादात्म्य कायम गर्न नसक्ने मानिस एक त बिक्नै सक्दैन, बिकिहाले पनि टिक्न सक्दैन । तेस्रो, समस्या समाधानमा केन्द्रित हुने सकारात्मक मनस्थिति । कुनै समस्या देखिनासाथ ‘फेरि लफडा सुरू भयो’ भन्ने मनोविज्ञानले समस्या समाधानमा सकारात्मक भूमिका खेल्न सक्दैन । समस्यालाई सङ्गठनको गतिका साथ उत्पन्न हुने स्वभाविक उपज मानी समस्याको जरोसम्म पुगेर समाधान खोज्न चाहने मानिस सङ्गठनलाई चाहिन्छ । यी गुण ममा प्रशस्त छ भनेर म दावा गर्न नसके पनि म यी कुराप्रति म सचेत भने छु । तर यो कुरो सिभीमा त कता लेख्नु र ?

यसो फर्केर हेर्दा म आफूलाई छिपछिपे मान्छेको रूपमा पाउँछु । ज्ञानको मात्रा अलिअलि भएको, बाँकी अन्योल र अज्ञान । मेरो बुद्धि र सीप बगर खेतजस्तो रहेछ, पहिलो चपरी खन्दा माटो आउने तर त्यहीँ अलि गहिरो गरी खन्यो भने ढुङ्गा र बालुवा भेटिहालिने । काम चलाउ ज्ञान, काम चलाउ सीप । कुनै पनि कुराको फेददेखि टुप्पोसम्म पुग्ने क्षमताको अभाव । म यस्तै रहेछु, मेरो सिभी यस्तै भएछ ।

उसो त मसँग भएको शैक्षिक योग्यता र अनुभवको संगमलाई एक तहमा विशिष्ट संयोजन मान्न पनि सकिएला तर यो जमानामा यस्तो सकारात्मक दृष्टिकोणको आशा कति गर्नु, कति नगर्नु !

मैले यो जुनी यही सिभीले कटाउने भएँ अब !

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *