सल्लाहकारको कानेखुशी

सल्लाहकारले बिगारे ।
हामीले दैनिक जसो सुनिरहेको टिप्पणी हो यो ।
के सल्लाहकारले बिगारैकै हुन् त ? के तिनीहरूले बिगार्न सक्छन् ? के बिग्रनुमा जिम्मेबार तिनलाई बनाउन सकिन्छ ? कस्ता हुन्छन् सल्लाहकार ? मनमा अनेक तर्कनाहरू आइरहे ।
महाभारत श्रृंखला हेर्दै र कहिलेकाँही किताब पनि पल्टाउँदै समय कटाउने क्रममा भेटिएको सल्लाहकार सम्बन्धी एउटा प्रसंग मलाई रोचक लागेकोले यहाँ उल्लेख गर्ने जमर्को गरेको छु । त्यसका आधारमा केही धारणा पनि अघि सारेको छु ।

वरणावतको लाक्ष्यागृहबाट बचेर निस्केका पाण्डवहरू द्रोपदीसँग बिहे गरेपछि पाञ्चालबाट हस्तिनापुर फर्के । सानामा विष खुवाएर भीमलाई र अहिले लाक्ष्यागृहमा आगो लगाएर कुन्तीसमेत पाँचै भाइलाई मार्न असफल षडयन्त्र गरेको हुनाले कौरवपक्ष अपराध बोध र डरले आक्रान्त थिए । त्यसैले धृतराष्ट्रले पाण्डवलाई थामथुम पार्न आधा राज्य दिई खाण्डवप्रस्थमा बस्न भने । त्यसपछि पाण्डव खाण्डवप्रस्थलाई इन्द्रप्रस्थ नामकरण गरी त्यहीं रहिरहेका थिए ।

एक दिन नारद पाण्डवसमक्ष आए र राजसूय यज्ञ गर्न सुझाव दिए । स्वर्गमा राजा हरिश्चन्द्र पुगेका तर छोरा युधिष्ठिरले राजसूय यज्ञ नगरेका कारण पाण्डु स्वर्ग जान नसकेको कारण नारदले यो सुझाव दिएका थिए । नारदको सुझाव पाएपछि राजसूय यज्ञ गर्नका लागि युधिष्ठिरले मन्त्री र भाइहरूलाई बोलाए सल्लाह माग्छन् । सबैले ‘यो एकदम राम्रो कुरा हो, यसमा विचार गर्नै पर्दैन’ भनी सल्लाह दिन्छन् । व्याससँग पनि युधिष्ठिरले परामर्श लिन्छन् र ‘त्यो कार्य एकदम उपयुक्त हो’ भन्ने सुझाव पाउँछन् ।

सबैबाट राजसूय यज्ञको पक्षमा सल्लाह पाए पनि युधिष्ठिरको चित्त बुझेन । आफ्नो शक्ति, साधन, देश, काल, आम्दानी र खर्चको विषयमा भलिभाँती विचार गरेर मात्र बुद्धिमान मानिसले निर्णय लिनुपर्छ भन्ने सोची उनले श्रीकृष्णसँग सल्लाह लिने विचार गरे र उनलाई बोलाउन दूत पठाए । अनि श्रीकृष्णसँग युधिष्ठिर भन्छन्-
श्रीकृष्ण ! म राजसूय यज्ञ गर्न चाहन्छु । तर राजसूय यज्ञ इच्छा गरेको भरमा हुँदैन भन्ने तपाईंलाई त थाहा नै छ । जो सबै कार्य गर्न सक्छ, जसको सबैतिर पूजा हुन्छ, जो सर्वेश्वर हुन्छ, उही राजसूय यज्ञ गर्न सक्छ । मेरा साथीहरू एक स्वरमा राजसूय यज्ञ गर्न मलाई उक्साइरहेका छन् । तर यसको टुंगो तपाईंको सहमतिबाट मात्र हुन्छ । धेरै मानिस प्रेम सम्बन्धका कारण र केही मानिस स्वार्थका कारण मेरो कमीकमजोरी मलाई नभनेर मसँग मिठामिठा कुरा मात्र गर्छन् । कतिपय त उनीहरूलाई फाइदा हुने काम नै मेरो भलाइको काम हो भनी सम्झेर सल्लाह दिन्छन् । यस प्रकार मानिस विभिन्न किसिमका कुरा गर्छन् । तर तपाई त स्वार्थभन्दा माथि हुनुहुन्छ । तपाईमा राग र द्वेषको कुनै संकेतसम्म पनि छैन । म राजसूय यज्ञ गर्न सक्छु वा सक्दिन भन्ने कुरा तपाईं नै ठिकठिक बताउन सक्नुहुन्छ ।

यसपछि श्रीकृष्णले जरासन्ध लगायत अन्य राजा र राज्यको बारेमा कुरा गर्नुहुन्छ । उनीहरूलाई परास्त नगरी राजसूय यज्ञ गर्न नसकिने राय श्रीकृष्णबाट प्राप्त हुन्छ । अनि जरासन्ध बध र अरू राज्यतर्फ विजययात्रा प्रारम्भ हुन्छ । पछि राजसूय यज्ञ पनि सम्पन्न हुन्छ ।
माथिका घटना विवरणका आधारमा सल्लाहकारका सीमा र कठिनाइका बारेमा केही चर्चा गर्न सकिने देखेको छु । यसरी चर्चा गर्ने क्रममा सल्लाहकारको वर्गीकरण र विश्लेषण पनि गरेको छु । कानूनले नै सल्लाहकार मानेका निकाय र पदाधिकारीलाई भने यसरी वर्गीकरण र विश्लेषण गर्न सकिन्न ।
1. आदर्श सल्लाहकारः नारदमुनिलाई आदर्श सल्लाहकार मान्न सकिन्छ । बडाबा (धृतराष्ट्र) ले दिएको आधाराज्यमा राज गरिबसेका पाण्डवलाई राजसूय यज्ञका लागि उनले सुझाव दिएका छन् । बाबु पाण्डवलाई हरिश्चन्द्रको जस्तो स्थान स्वर्गमा उपलब्ध गराउन नारदले युधिष्ठिरलाई यो सल्लाह दिएका थिए । उनले यसरी सल्लाह दिँदा इन्द्रप्रस्थको अवस्था र छिमेकीको चालबारेमा वास्ता गरेका थिएनन् । इन्द्रप्रस्थमा उनलाई मोहित बनाउने सभा मयले कैलास पर्वतको उत्तरमा रहेको मैनाक पर्वतबाट विभिन्न बहुमूल्य रत्न ल्याएर सहयोगस्वरू बनाइदिएको थियो । भरखर स्थपना भएको सानो राज्य थियो खाण्डवप्रस्थ । तर नारद ती कुराको परवाह गर्दैनन् र राजसूय यज्ञको सल्लाह दिन्छन् ।
योग्यताका बारेमा जानकारी नलिई अवसरको बखान गर्नेहरू, बजेटको वास्ता नगरी खर्च र लगानीको बाटो देखाउनेहरू, कठिनाइको वास्ता नगरी सुन्दर सपना देखाउने उत्प्रेरकहरूलाई मैले यही वर्गमा राख्ने गरेको छु । तिनीहरू इमानदार होलान् तर व्यवहारिक छैनन् । राम्रा मुखले यिनलाई धन्यवाद दिनु र आफ्नो तालमा लाग्नु बाहेक म चाहिँ अरू उपाय देख्दिन ।
लाख प्रयत्नपछि समयको कुनै कालखण्डमा उनीहरूले देखाएको सपना पूरा भएको अवस्थामा ‘मैले त पहिला नै भनेको थिएँ नि’ भन्न चाहिं यी चुक्दैनन् । यो कुरो त ठिकै पनि हो फेरि !

2. प्रिय सल्लाहकारः यस्ता सल्लाहकार आफूभन्दा कान्छा र तल्लो मर्यादामा रहेका हुन्छन् । उनीहरूलाई सल्लाहको गम्भीरताभन्दा सम्बन्धको मिठास र स्थायित्वको बढी चिन्ता हुन्छ । किन उसलाई रिसाउने बनाउनु वा किन उसको इच्छा विपरीतको कुरा गर्नु भनेर उनीहरू हाँ मा हाँ मिलाइरहेका हुन्छन् । उनीहरूले सत्यको अर्को पाटो देखे पनि राय बझाउने इच्छा र आँट गर्दैनन् । खराबी, कमजोरी र समस्या यिनले चिनाउँदैनन् । ‘सब ठिक छ ।’ ‘हजुरले बेश भन्नु भो ।’ ‘हजुरले भनेको भन्दा अर्को उपाय नै छैन ।’ ‘त्यसै गर्नुपर्छ हजुर ।’ यस्तै कुराबाट उनीहरू सल्लाह दिने औपचारिकता पूरा गर्न खोज्छन् ।
मानिस अक्सर यही वर्गबाट सल्लाह लिन सक्छ र चाहन्छ । सबैका वरिपरि अक्सर यस्तै मानिसहरू नै हुन्छन् । असल र सफल मानिसले यी वर्गका मानिसको आत्मविश्वास बढाएर उनीहरूलाई सही सल्लाह दिनसक्ने बनाउनु पर्छ । उनीहरुको सल्लाहलाई उचित महत्व दिने, सल्लाह लागु गर्ने, लागु गर्न नसकिएको अवस्थामा त्यसको कारण बताउने, आफ्नो सोचाइ प्रतिकूल सल्लाह दिए पनि उनीहरूप्रतिको स्नेहमा कमी नगर्ने जस्ता व्यवहारले यी वर्गका सल्लाहकारबाट राम्रो सल्लाह लिन सकिन्छ ।
आफूभन्दा तलको मार्यादामा रहेका तर उचित प्रेम र स्नेह नपाएका व्यक्तिबाट साँचो सल्लाह पाउन सकिन्न । चित्त नबुझे गाली खाइने मनोविज्ञानमा रहने हुनाले यी ब्रह्मले देखेको कुरा भन्न हिचकिचाउँछन् । यिनले ‘मलाई त पहिला थाहा थियो तर सल्लाह दिए पनि सुन्ने हैनन् । यीसँग राय बझाउनुभन्दा हस् भन्दियो सकियो’ भनेर पछाडि कुरा नकाट्लान् भन्न पनि सकिन्न । यसरी कुरा नकाटिहाले पनि यी धुपौरेभन्दा माथि उठ्न सक्दैनन् । अधिकांश तलबी सल्लाहकार यसै वर्गमा पर्छन् भन्ने मेरो मान्यता छ । तिनले रणनैतिक सल्लाह दिन सक्लान् तर नीतिगत सल्लाह दिन सक्दैनन् ।

3. स्वार्थी सल्लाहकारः आफ्नो हितलाई प्राथमिकतामा राखी सल्लाह दिने स्वार्थी सल्लाहकार हुन् । जे गर्दा आफूलाई फाइदा हुन्छ, त्यही गर्नु सर्वथा उपयुक्त हुन्छ भनेर सल्लाह दिनु यिनको आम प्रवृत्ति हो । व्यापारिक र आर्थिक विषयमा यिनको चासो हुन्छ । आफ्नो प्रतिद्वन्द्वीलाई तह लगाउन पनि यिनले आफ्नो भूमिकाको दुरूपयोग गर्न सक्छन् । मित्रले रोक्न वा मोड्न खोज्दैनन् । तर यिनले रोकेर वा मोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्छन् । यी स्वार्थ, रिस र द्वेषबाट आफू पनि वशीभूत हुन्छन् र सल्लाह पनि त्यही अनुसार दिन्छन् ।
यस्ता सल्लाहकारले लोभलालच देखाएर वा भ्रम पारेर एकपटक कुनै गलत निर्णय गराउन सके भने उनीहरू त्यसैको आडमा निर्णयकर्तालाई आफ्नो वशमा लिन पनि सक्छन् । यस्तो अवस्थामा निर्णयकर्ताको नैतिकताको पोल यिनको हातमा पुग्छ । पहिलोपटक सल्लाहकारको भूमिकामा रहेर निर्णयमा चुकाइसकेपछि उनीहरू धम्की दिने हैसियतमा समेत पुग्न सक्छन् । निर्णयकर्तालाई एकपछि अर्को गल्ती गर्न यिनीहरूले बाध्य पार्न सक्छन् । यस अवस्थामा निर्णयकर्ता सल्लाहकारको मुठ्ठीको माखो हुन पुग्छन् ।
महाभारतमा धृतराष्ट्र शकुनीको सल्लाह मान्दै जान्छन् । समय बित्दै जाँदा उनी यस्तो जालमा पर्छन् कि शकुनीको चित्त नबुझेको सल्लाह अस्वीकार गर्ने उपाय समेत भेट्दैनन् । यस अवस्थामा सुरूमा चालिएको एउटा गलत कदमले अर्को गलत कदमका लागि बाध्य पार्छ, सुध्रिने अवसर दिंदैन ।
यस्ता सल्लाहकारबाट भने जोगिनु पर्ने हो । यिनले गर्ने ‘आर्थिक हित’ को साझेदारीको प्रस्ताव लोभलाग्दो हुने भएकोले होला सल्लाहको बजारमा यिनको भाउ बढिरहेको पाइन्छ । यिनीहरूले सल्लाहकारको भूमिकामा दलाली गरिरहेका हुन्छन् । द्वापर युगमा त यस्ता सल्लाहकारले युधिष्ठिरलाई दिक्क लगाएका थिए भने आजको अवस्था अनुमान गर्न सकिन्छ ।
4. मित्र सल्लाहकारः युधिष्ठिरले अन्तिममा श्रीकृष्णको सल्लाह लिन चाहे । उनी मित्र सल्लाहकार थिए । उनमा राग, द्वेष र स्वार्थ थिएन । न थियो युधिष्ठिर रिसाउलान् भन्ने पिर । उनले निःसंकोच आफ्नो सल्लाह दिए । युधिष्ठिरले पनि पालना गरे । जरासन्ध बध भयो । विभिन्न देशहरुले पाण्डवको प्रभुत्व स्वीकार गरे । अनुकूल मौसमको कारण बालीनाली राम्रो भएपछि राजसूय यज्ञ पनि सम्पन्न भयो ।
सल्लाहकारको क्षमता साथीको जस्तै भएमा नै उसले निर्भिक र साँचो सल्लाह दिन सक्छ । सल्लाहकारले पनि आफ्नो पद जसरी प्राप्त भएको भए पनि र जुन तहमा आफू रहेको भए पनि सल्लाह भने निर्भीक भएर नै दिनुपर्छ । इमानदारिताले नै निर्भीकतालाई प्रोत्साहन गर्छ । सल्लाहकारले निर्णयकर्ताको दृष्टिविन्दुबाट परिस्थिति र समस्यालाई हेर्ने योग्यता र क्षमता राख्नुपर्छ ।
अर्को एक प्रसंगमा भीष्मले द्रौपदीलाई आफूले हस्तिनापुर (दुर्योधनको खटनको)को दुषित अन्न खाएको हुनाले चीरहरणको समयमा न्याय र सत्यको पक्षमा आवाज उठाउन नसकेको उल्लेख गरेका छन् । यसले जागिर वा पदमा अनुगृहित भएको व्यक्तिले उपयुक्त निर्णय दिन नसक्ने देखिन्छ । आजको युगमा सित्तै कुनै काम लगाउन त नसकिएला तर पद वा जागिरका लागि विवेकलाई बन्धक राख्‍ने व्यक्ति भने सल्लाहकार हुन सक्दैन ।
मानिसलाई आफू राम्रो लाग्ने र आफ्नो विचार गतिलो लाग्ने हुनाले आफूलाई मन पर्ने सल्लाह नै गतिलो लाग्छ । ऊ आफ्नो मन, भावना र विचार मिल्ने मानिसलाई नै आफ्नो सल्लाहकार राख्छ । आफ्नो क्षमताको परिपूरकको रूपमा होइन आफ्नो भावनाको उत्प्रेरकको रुपमा नै मानिसले सल्लाहकारको भूमिमा मन पराउँछ । आफ्नो स्वार्थ विपरीत सल्लाह दिने मानिस सल्लाहकारको रूपमा टिक्न गाह्रो हुन्छ । आफू राजा हुनुपर्नेमा पाण्डुलाई राजा बनाएर अन्याय गरिएको र कुनै हालतमा पनि दुर्योधनलाई चाहिं राजा बनाएर छोड्ने विचार धृतराष्ट्रमा नभएको भए शकुनीले हस्तिनापुरमा बास पाउने थिएनन् ।
सल्लाहकारलाई दोष दिएर निर्णयकर्ता पन्छिन पाउँदैन । युधिष्ठिरले पनि राजसूय यज्ञका लागि धेरैसँग सल्लाह लिए । श्रीकृष्णको सल्लाह माने । कदाचति त्यो सल्लाह गलत भएको भए पनि दोष श्रीकृष्णको होइन युधिष्ठिरको नै हो । त्यसलाई उनी अरू सल्लाह जस्तै नमान्न पनि स्वतन्त्र थिए । सल्लाहकार राख्ने, सल्लाह माग्ने र सल्लाह कार्यान्वयन गर्ने कार्यकारीले सबै दायित्व वहन गर्नुपर्छ । नाम पनि उसकै, बदनाम पनि उसकै । कतिपय स्वास्थ्य प्रयोगशालाको रिपोर्टमा ‘यो संकलित नमूनाका आधारमा तयार पारिएको रिपोर्ट हो, डाक्टरले बिरामी हेरेर र रोगको सत्यापन गरेर मात्र उपचार अघि बढाउनु पर्छ’ भन्ने आशयको चेतावनी पनि लेखिएको पाउँछु । सल्लाहकार पनि त्यही रिपोर्ट जस्तै हो, जिम्मेवारीका हिसाबले । सल्लाहकारको सल्लाह सर्वसाधारणको टाउको दुखाइको विषय होइन, निर्णयकर्ताको विवेकमाथिको प्रश्न हो ।
सल्लाह दिने र लिने काम आजको निर्णय प्रक्रियाको अङ्ग नै भइसकेको छ । सबैलाई सल्लाह चाहिन्छ र दिनुपर्छ । यसैले ठुला र महत्वपूर्ण पदाधिकारीहरूको लागि सल्लाहकारको व्यवस्था गरिएको हुन्छ । सकिन्छ भने विरोधी, विशेषज्ञ र समर्थकलाई सल्लाहकारको सूचीमा राख्नुपर्छ । विरोधीले परिस्थितिको विश्लेशण गरी जोखिमको आकलन गर्न सघाउँछन्, विशेषज्ञले नीति बनाउँछन् र समर्थकले सफल कार्यान्वयनका लागि उचित बाटो पहिल्याउँछन् ।
कम्प्युटरले हामीले गर्न नसक्ने गहन र धेरै तथ्याङ्कको अभिलेखीकरण र विश्लेषण गर्छ । तर त्यसमा कुनै समस्या आए हामीले नै जिम्मेवारी लिनुपर्छ, फेर्नुपर्ने भए हामीले नै फेर्नुपर्छ । सल्लाहकारले धेरै जान्दछ होला तर उसले त्यो ज्ञानका आधारमा दिएको सल्लाह उपयुक्त भए नभएको भन्ने टुंगो भने निर्णयकर्ताले नै गर्नुपर्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *