कविता: योद्धाको वाण

किसानबाट बाँस मागेर

चर्मकारसँग ताँदो मागेर

विश्वकर्मासँग ज्यावल मागेर

योद्धाले वाण बनायो

बलियो, तीक्ष्ण र अचूक ।

कहिले कुनै द्रोणाचार्य खोजेर

कहिले आफैं एकलव्य बनेर

कहिले चूकबाट सिकेर

योद्धाले निशानेबाजी जान्यो

बलियो, तीक्ष्ण र अचूक ।

एक बिहान घाम झुल्कनुअघि

चरा जाग्नुअघि, दुनियाँ उठ्नुअघि

पुरानै दिन बिहान बनेर जन्मनुअघि

योद्धाले वाण हान्यो

बलियो, तीक्ष्ण र अचूक ।

वाणको सरसराहटले चराहरु जागे

पहेंलिएको घाम मुस्कुराउँदै झुल्क्यो

गाउँलेहरु जागे, जागेकाले जगाए

र हेरे, लक्ष्यभेदी वेगिलो वाण

बलियो, तीक्ष्ण र अचूक ।

शक्तिका धरोहरहरु ढले

सत्ताका कुर्सीहरु लडे

दुर्भेद्य किल्लाहरु भेदन गरेर

बढ्दै गयो अघि त्यो वाण

बलियो, तीक्ष्ण र अचूक ।

एकाएक वाण दरबारको बगैंचामा पस्यो

अनि एउटा पोथ्रामा अल्झियो

खै कसरी निस्तेज बनेर

एउटा स्याउसँगै खस्यो त्यो वाण

बलियो, तीक्ष्ण र अचूक ।

कहाँ छन् ती बाँस दिने किसानहरु

के गर्दैछन् ताँदो दिने चर्मकार

अनि खै विश्वकर्मा र द्रोणाचार्यहरु

स्याउ खाँदैछ योद्धा वाण सिरानी हालेर

बलियो, तीक्ष्ण र अचूक ।

(युद्धप्रसाद मिश्रको १११ औं जन्मजयन्तीको अवसरमा रचित)

 

14 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *