तिमी आकाशमा थियौ
मैले केवल आकाश हेरें
तिमी अलप भयौ आकाशबाट
अनि मैले संसार देखें ।
तिमी अलप हुनु र मैले संसार देख्नु
निराशाको त्यो सुरुङ र मैले प्रकाश भेट्नु
त्यो निमेषको कुरा थिएन
त्यो पलको कुरा थिएन
त्यो वर्षको कुरा थिएन
त्यो एउटा जुनीको कुरा थियो
त्यो सिङ्गो जिन्दगीको सबाल थियो ।
तिमी अलप हुँदा म मरेझैं थिएँ
संयोगले बाँचे र यो संसार भेटें ।
अहिले पो डर लाग्छ
त्यो चोट, त तोड र त्यो वेदना
कसरी सहें, कसरी बाँचे, कसरी बौरिएँ
म लडेको भए त लडेको लडेकै हुने रहेछु
म सडेको भए त सडेको सडेकै हुने रहेछु
तिमीलाई प्रेम गरेर अन्धाधुन्ध
फूललाई मन पराउन छोडेको रहेछु
जूनलाई मन पराउन छोडेको रहेछु
चराहरूको चञ्चल नजर
मैले नजरअन्दाज गरेको रहेछु
सुम्पेर सारा जिन्दगी तिमीलाई
आफैंलाई हेला गर्न थालेको रहेछु
तिमीलाई मात्र हेरेर संसारको
सौन्दर्यबाट विमुख भएको रहेछु ।
कायाकल्पपछि म नयाँ जीवन बाँचिरहेछु
बिना आलम्ब प्रेमको अजस्र धारा बगिरहेछु
जिन्दगीका हरेक आयाम बाँचेर भरपूर
यो धराको सौन्दर्य र सुवास पाइरहेछु ।