शोधनान्तर भनेको के हो ?
शोधनान्तर भनेको एउटा मुलुकले बाँकी संसारसँग गरेको आर्थिक लेनदेन वा कारोबारको हिसाबकिताब वा लेखा हो । वस्तु वा सामानको आयात÷निर्यात, विदेशबाट आफ्नो मुलुकमा पठाइएको रकम वा ट्रान्सफर (रेमिटान्स), पुँजी लगानी भएकोमा सोको लाभांश, पर्यटन लगायतको सेवा क्षेत्रतर्फ भएको आय÷व्यय, ऋण तथा लगानीको देशभित्र र देशबाहिर भएको प्रवाहजस्ता कारोबारको हिसाबकिताब शोधनान्तर खाताको माध्यमबाट नै गरिन्छ । देशको अर्थतन्त्र बलियो भएमा वस्तु वा सेवाको निर्यात, विदेशमा गरिएको लगानीको प्रतिफल आदिका कारण शोधनान्तर खाता धनात्मक हुन्छ । खाता धनात्मक हुनुको अर्थ विदेशी मुद्रामा हुने व्यय हुुनुभन्दा आय बढी हुनु हो । यसबाट विदेशी मुद्राको मौज्दात बढी हुन्छ र मुलुकको बाह्य क्षेत्र सुदृढ भएको मानिन्छ ।
नेपालको अवस्था कस्तो छ ?
नेपालको शोधनान्तर खाता केही दशक यता धनात्मक नै थियो । अहिले भने नेपालमा विदेशी मुद्राको आप्रवाह (भित्रिने रकम) भन्दा व्यय (बाहिरिने रकम) बढी भएर शोधनान्तर घाटा भएको छ । आर्थिक वर्ष २०७२/७३ मा रु. १८८ अर्ब ९१ करोड बचत, २०७३/७४ मा रु.८२ अर्ब ११ करोड बचत, २०७४/७५ मा रु. ९६ करोड बचतमा रहेको शोधनान्तर खाता यस आर्थिक वर्षको पहिलो ३ महिनामा रु. ३५ अर्ब ४२ करोड (३१ करोड ६२ लाख अमेरिकी डलर) घाटा भएको छ । यसरी नेपालको शोधनान्तर बचत विगत केही वर्षहरुमा क्रमशः घट्दै गएर अहिले घाटाको अवस्थामा आइपुगेको छ ।
नेपालको शोधनान्तर खाता आयातभन्दा निर्यात बढी भएर उच्च व्यापार घाटा भएता पनि रेमिटान्स आयका कारण धनात्मक रहेको थियो । तर अहिले रेमिटान्स आयले व्यापार घाटा धान्न सकेन र शोधनान्तर घाटाको अवस्थामा नेपाल पुगेको छ । नेपालको अर्थतन्त्रको बाह्यक्षेत्र सुदृढ रहँदै आएकोमा हाल त्यसमा चुनौती देखिएको छ । मुलुकमा तरलता, विकास खर्चको वृद्धि, आर्थिक वृद्धि, राजस्व परिचालन, संघीयता कार्यान्वयनजस्ता कुराको चर्चा भइरहेको सन्दर्भमा शोधनान्तर घाटा हटाउन कदम नचाल्ने हो भने नेपाल अर्को आर्थिक दलदलमा फस्नसक्छ ।
किन यस्तो भयो त ?
हुन पनि नेपालले विदेशी मुद्रा आयलाई दृष्टिगत गरी व्ययलाई नियन्त्रित गर्न सकेको छैन । खुला अर्थतन्त्रका कारण आयातमा केही रोकावट छैन, भन्सारका दर क्रमशः सरल पारिंदै लगिएको छ । आर्थिक वृद्धि पछि परेकोले उपभोगका लागि पनि आयात बढिरहेको छ तर निकासीयोग्य वस्तुको खोजी र उत्पादन बढाउन सकिएको छैन । नेपालले विदेशी मुद्रा पर्यटनबाट भित्र्याउने हो तर अब पर्यटनबाट हुने आयभन्दा नेपाली विदेश घुमेर गर्ने खर्च दोब्बर जस्तो हुन थालेछ । औषधोपचार र अध्ययनका लागि विदेश जाने नेपाली पनि दिनप्रतिदिन बढिरहेका छन् । अध्ययन गर्न अमेरिका र अस्ट्रेलिया जाने नेपाली अक्सर उतै बस्ने भएकाले उनीहरुले पढाइमा विदेशी मुद्रा खर्च गरेका छन् तर नेपालले दक्ष जनशक्ति पाउने अवस्था पनि रहेको छैन ।
विदेशी मुद्राको सबैभन्दा ठुलो स्रोतको रुपमा वैदेशिक रोजगार रहेको छ । विदेशमा नेपालीले दुःख, हैरानी, पीडा र विभिन्न किसिमका शोषणको शिकार हुनुपर्ने मात्र होइन जिउज्यान समेत गुमाउनु पर्ने कारण यो आयस्रोत तीव्र आलोचनाको विषय पनि रहेको छ । सरकारले नै वैदेशिक रोजगारलाई कम गर्दै लाने सोच बनाएको देखिन्छ । दलाली र शोषण व्यापक रहेको वैदेशिक रोजगारी व्यवस्थापनलाई स्वच्छ पार्ने (कम दस्तुरमा पठाउने, विमानको टिकट रोजगारदाताले पठाउने आदि) क्रममा भएको संक्रमणकालले पनि केही समस्या परेको देखिएको छ । यसै क्रमले विदेश जाने व्यक्तिहरुको संख्या घटिरहेको छ । वैदेशिक रोजगारमा जानेलाई स्वीकृतिपत्र दिने प्रक्रिया पनि छिटोछरितो छैन । विदेशमा जानेले नेपालमा पैसा पठाउने बैंकिङ च्यानलको अभावले कमाएको रकम पनि अनौपचारिक माध्यमबाट पठाउनु पर्ने बाध्यता छ । हुण्डी कारोबारीको दबदबा कायमै छ । वैदशिक रोजगारबाट आउने विदेशी मुद्रा पूरै बैंकिङ प्रणालीबाट ल्याउन सकिएको छैन ।
मुख्यतः अमेरिका र अस्ट्रलिया पुगेका अधिकांश नेपालीले उतै बस्ने तारतम्य मिलाउने गरेका छन् । उनीहरुले उता कमाएको पैसा नेपालमा पठाउनु त परै जाओस् यताको सम्पत्ति पनि कानुनी÷गैरकानुनी संयन्त्रबाट उता लैजाने दाउमा छन् । नेपालीले विदेशमा घर किने, आफ्नै व्यवसाय सुरु गरे, नेपालीको लगानीमा विभिन्न कम्पनीको स्थापना भयो भन्ने सुनिन्छ । सार्वजनिक जीवनमा रहेका कतिपय व्यक्ति विदेश पलायन भएका छन् र राम्रो आर्थिक जीवन बिताइरहेका छन् । यसबाट उनीहरुले त्यहाँ अवैध रुपमा पुँजी पलायन गरेका थिए भनेर अनुमान गर्न गाह्रो छैन । नेपालबाट ठुलो परिमाणमा नगद विदेशी मुद्रा बाहिर लान लागेको अवस्थामा पक्डाउ परेका घटना पनि पत्रिकामा छापिएका छन् । यसैले नेपालबाट गैरकानुनी ढंगले विदेशमा पैसा पुगेको छैन भनेर ढुक्क हुने अवस्था छैन ।
विदेशी मुद्राको आप्रवाहको स्रोत नेपालमा आउने विदेशी लगानी र ऋण पनि हो । वैदेशिक लगानी नेपालमा भित्र्याउन विभिन्न कानुनी र संरचनात्मक व्यवस्था गरिए पनि त्यसको देखिने गरी सकारात्मक प्रभाव पर्न सकेको छैन । डुइङ बिजिनेस इन्डेक्समा नेपाल पछाडि परेको समाचार यस दृष्टिले पनि सकारात्मक होइन । त्यसमाथि नेपालमा आएको लगानी र ऋण केही समयपछि लाभांश र ब्याजसमेत फिर्ता हुने भएकाले विदेशी मुद्राका यी स्रोत निरापद भने छैनन् । आज पनि विदेशी लगानीका केही कम्पनीले लाभांश नेपालबाट बाहिर लैंजादा शोधनान्तर स्थितिमा नै नकारात्मक असर परेका उदाहरण पनि छन् ।
के हुन्छ त शोधनान्तर घाटा भइरह्यो भने ?
शोधनान्तर घाटा र यसको तरलतासँगको अन्तरसम्बन्धका कारण अहिलेको अर्थतन्त्र पीडित भएको छ । अहिलेको तरलता संकटको कारण शोधनान्तर घाटा पनि हो । विदेशबाट नेपालमा विदेशी मुद्रा आउँदा त्यो सटही भई बजारमा जान्छ, निक्षेपको रुपमा बैंकहरुमा जम्मा हुन्छ र त्यही निक्षेप पुनः कर्जाको माध्यमबाट प्रवाहित हुने वातावरण बन्छ । यसरी विदेशी मुद्रा नेपालमा आउने क्रम बढेमा तरलता बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ । नेपालबाट विदेशी मुद्रा बाहिरिने क्रममा नेपाली मुद्रा सटहीको प्रयोजनले केन्द्रीय बैंकमा थन्किन्छ र बजारमा मुद्राको प्रवाह कम हुन्छ । यसबाट भने बजारको पैसा केन्द्रीय बैंकमा पुग्छ र तरलता संकटको सिर्जना हुन्छ । फेरि सरकारी खर्च र तरलता बढेमा शोधनान्तर घाटा बढ्ने संभावना पनि रहन्छ । राष्ट्रिय उद्योगधन्दाको विकास कम भएको वर्तमान अवस्थामा बजारमा भएको पैसाको क्रयशक्ति अनुसारको वस्तु र सेवा आपूर्ति गर्ने प्रयोजनका लागि आयात बढ्छ र शोधनान्तर घाटा बढाउँछ । अहिले सरकारी खर्च नबढेका कारण विकासमा असर परेको छ तर यदि सरकारी खर्च अपेक्षित रुपमा बढेको भए शोधनान्तर घाटा झन् बढी हुने अनुमान गर्न सकिन्छ ।
शोधनान्तर घाटाले नेपालको विदेशी मुद्राको मौज्दात घटाउँदै लैजान्छ । २०७५ असारको तुलनामा २०७५ असोजमा विदेशी मुद्राको संचितिमा ५ प्रतिशत कमी आइसकेको छ । विदेशी मुद्रा पर्याप्त नभएमा विदेशबाट गर्नुपर्ने आयात, विदेश भ्रमण र औषधोपचारमा समेत समेत समस्या पर्नसक्छ । आज निर्वाध विदेशी मुद्रा खर्च ग¥यौ भने भोलि अति आवश्यक औषधि आयात गर्न समेत कठिन हुनसक्छ । हामीले आजसम्म लिएका विदेशी ऋणको सावाँब्याज विदेशी मुद्रामा तिर्न सकेनौं भने विभिन्न किसिमको दायित्वको सिर्जना हुनसक्छ । विदेशी मुद्राको मौज्दात कम भएको मुलुकबाट लगानी फिर्ता ल्याउन गाह्रो हुने भएकाले त्यस्ता मुलुकमा विदेशी लगानी पनि कम आउने सम्भावना रहन्छ । विदेशी मुद्राको अभाव भएमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ऋण सहयोग पाउन सकिन्छ तर यो शर्त सहितको हुन्छ । करिब ४० वर्ष अघि नेपालले यसरी ऋण लिएको थियो र कृषिमा दिइएको अनुदान हटाउने शर्त पालना गर्नु परेको थियो । आज पनि त्यस्तो शर्त मान्नुप¥यो भने समाजवादी अर्थतन्त्रतिरको हाम्रो यात्रा बाटैमा अलमलिनेछ ।
विदेशी विनिमय संचितिमा ठुलो कमी आयो भने विनिमयदरमा परिवर्तन गरी नेपाली मुद्रा सस्तो पार्ने कदम पनि चाल्नुपर्ने हुनसक्छ । यसले आयातमा आधारित अर्थतन्त्रमा मूल्यवृद्धिको बाढी ल्याउनेछ र जनजीवन थप कष्टकर हुनेछ ।
विदेशी मुद्रामा भएको कमी पूरा गर्न प्राकृतिक स्रोत साधनको बिक्री गर्नुपर्ने, महँगो ब्याजदर र अप्रीतिकर शर्तमा ऋण लिनुपर्ने र जनजीविकामा ठुलो असर पर्ने गरी विनिमयदर परिवर्तन गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्छ ।
अब के गर्ने त ?
आयात घटाउने, निर्यात बढाउने, पर्यटन प्रवद्र्धन गर्ने, विदेश घुम्न चाहने नेपालीलाई नेपालमै अल्मल्याउने (दोस्रो दर्जाको पर्यटकको व्यवहार नगर्ने), विदेशी लगानी भित्र्याउने, विदेश जान सजिलो र सुरक्षित पार्नुका सार्थ कामदारको दक्षता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्नु नै आजको आवश्यकता हो । नेपालको अर्थतन्त्रलाई संकटकालमा समेत जोगाएको वैदेशिक रोजगारले नै अल्पकालमा शोधनान्तरमा घाटाको घाउमा मलहम लगाउन सक्छ । आज वैदेशिक रोजगार विभागमा देखिएको अस्तव्यस्तताको तत्काल अन्त्य हुनुपर्छ ।
आयात नियन्त्रण गर्ने, आन्तरिक उत्पादन बढाउने, स्वदेशी वस्तुको उपयोग गर्न प्रचारात्मक अभियान चलाउने काम गरी व्यापार घाटा घटाउने प्रभावकारी उपायको अवलम्बन भएको अझै देखिएको छैन । नेपालमा उत्पादित वस्तुको उपभोग बढाउन मेड इन नेपाल कक्ष (http://kedaracharya.com.np/archives/115) काे स्थापना हुनुपर्छ मेरो व्यक्तिगत विचार छ ।
वैदेशिक व्यापारबाट फाइदा लिन कोरिया, चीन र जापानले आफ्नो मुद्रा सस्तो पारी निर्यातलाई प्रोत्साहित गरेका छन् । भारतीय रुपैयाँसँग निश्चित विनिमयदर तोकिएको र लामो समयसम्म त्यसमा परिवर्तन भने नगरिएको हुनाले हाम्रो मुद्रा भने महँगो भएको र निर्यात निरुत्साहित भएको अडकल काट्न सकिन्छ । विनिमयदर परिवर्तनका धेरै असर र जोखिम हुने भएकाले यो उपाय भने सजिलो देखिँदैन ।
विदेश भ्रमणमा हुने अनावश्यक खर्चलाई पनि कटौती गर्नु आवश्यक छ । यही समस्यालाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई २५०० अमेरिकी डलर दिँदै आएकोमा अब १५०० अमेरिकी डलर दिने नीति लिएको छ ।
विदेशी लगानी भित्र्याउन नेपालले आवश्कयक नीतिगत व्यवस्था, संरचानात्मक परिवर्तन र उच्च प्राथमिकता निर्धारणको काम गर्नुपर्छ । विदेशी लगानी आकर्षित गर्ने कार्यभार बोकेको राष्ट्रिय लगानी बोर्डलाई सबै सरकारी निकायले सघाउनु आवश्यक छ ।
अन्त्यमा,
आयात नियन्त्रण गर्ने, आन्तरिक उत्पादन बढाउने, स्वदेशी वस्तुको उपयोग गर्न प्रचारात्मक अभियान चलाउने काम गरी व्यापार घाटा घटाउने प्रभावकारी उपायको अवलम्बन भएको अझै देखिएको छैन ।
सादा जीवन, उच्च विचारको आदर्श अवलम्बन गरी विलासी जीवनप्रति लुब्ध नवधनाढ्यहरुलाई लाजमर्दो बनाउनुपर्ने अभिभारा बोकेका समाजका नेतृत्ववर्ग एक वा अर्को बाहानामा विलासी जीवनशैलीको अनुकरणमा लीन छन् । यसबाट विलासी वस्तुकाे अायात बढिरहेकाे छ । यस अवस्थामा परिवर्तन हुनु अावश्यक छ।
खुला आर्थिक नीतिले माग गरेको खुला आयात व्यवस्था र हाम्रो अर्थतन्त्रले मागेको आयातमा नियन्त्रणका बीच कुनै मिलन विन्दु खोज्नुपर्ने दायित्व आर्थिक जहाजका नाविकमा आइसकेको छ ।
पुँजी पलायन, हुण्डी र विदेशी मुद्राको अपचलन रोक्न कठोर कदम चाल्नैपर्छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित गरी विदेशी मुद्राको स्रोतको रुपमा प्रवद्र्धन गर्नैपर्छ ।
आसन्न लगानी सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन सकेमा शोधनान्तरका दृष्टिले समेत ठुलो उपलब्धि हुनेछ ।
