आज बिहान म उठ्दा पानी परिरहेको रहेछ । केही हप्ताबाट नै दिन धुम्मिएको छ । शायद प्रिमनसुनको समय भएर होला । वैशाखको महिनामा पनि चिसो महसुस भइरहेको छ । अझै घाम ताप्न मन लाग्छ । तर घाम उति लागिरहेको छैन । दिन नै अँध्यारो लागिरहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहरले ल्याएको त्रासदीको कारण मन पनि धुम्मिएको नै छ । हालसम्म आफू स्वस्थ नै रहे पनि आफन्त र चिनजानका मानिसहरू संक्रमणको चपेटामा छन् । तिनको चिन्ताले मनलाई जकडेर राखेको छ । आफैंलाई भोलि केही होला कि भन्ने त्रासले मनमा डेरा जमाएको मात्र हैन, घर नै बनाएको छ । मन पनि अँध्यारै छ, अहिले ।
हुन पनि कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा बढी भयावह देखियो । पहिलो लहरमा संक्रमण कम थियो, अस्पतालमा भर्नाको सुविधा थियो । निःशुल्क जाँचको व्यवस्था थियो । सरकारले नै उपचार गरेको थियो । कुनै समुदायमा कोरोना देखियो भने सरकारी स्वास्थ्य टोली गएर आवश्यक सेवा दिएका थिए । मृत्युदर कम थियो । सामान्यतयाः कुनै दीर्घरोग नभएका तन्नेरीहरूको ज्यान कोरोनाले लिन सकेको थिएन । मानिसमा निकै त्रास भएका कारण सुरक्षाका मापदण्डको पालना पनि अपेक्षाकृत राम्ररी भएको थियो । लकडाउन पनि दुई चरणमा लामो समयसम्म लगाइयो । त्यसैले कोरोनाको पहिलो लहरमा जनधनको क्षति कमै भयो भन्न सकिन्छ ।
कोरोनाको दोस्रो लहर भने अलि फरक परिस्थितिमा सुरू भयो ।सर्वसाधारणले पहिलो लहरको कोरोना देखेका र भोगेका हुनाले उनीहरूमा पहिलो लहरमा जस्तो कोरोनाप्रति डर रहेन । यो अलि कडा खालको रूघाखोकी हो भन्ने भ्रम पनि फैलियो, फैलाइयो । मृत्युदर उसै पनि कम नै थियो । यसकारण नागरिक स्तरबाट स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । विवाह, व्रतबन्ध र भोजभतेर पनि भयो । स्कुल, कलेज, कार्यालय, बजार, होटल, रेस्टुराँ, उद्योगधन्दा पहिले जसरी नै चले । कष्टकर सावित हुने ठानिएको हिउँद सजिलै बितेको हुनाले मानिसमा निश्चिन्तता बढ्यो ।
राजनीतिक खिचातानी तीव्र बन्यो । आमसभा, जुलुस, प्रदर्शन जस्ता कार्यक्रमहरू भए जसमा जनताको ठुलो संख्यामा उपस्थिति भयो । एकले अर्कोलाई देखाइदिने अभिमानको तुष्टिका लागि यी भेलामा देशभरका मानिस काठमाडौं ल्याइए र कार्यक्रमपछि गाउँ फर्काइए । चैत र वैशाखको सुरूमै भारतलाई कोरोनाको दोस्रो लहरले आक्रान्त पार्दा पनि नेपालमा लकडाउन र सीमा व्यवस्थापन गरिएन । त्यतिमात्र होइन उद्घाटन र शिलान्यासको लहर चल्यो । यी कार्यक्रममा स्वास्थ्य मापदण्डको पालना हुन सकेन । लकडाउनको व्यवस्थापन गर्न कठिन हुने कुरा भोगिसकेको सरकारले अब लकडाउन हुँदैन भन्न पनि भ्यायो । शैक्षिक क्षेत्र कोरोनाको हब हुँदै गएको समाचार आइरहँदा पनि शिक्षा मन्त्रीले विद्यालयमा बालबालिका सुरक्षित हुन्छन् भन्नुभयो र विद्यालय बन्द गर्न तदारूकता देखाउनु भएन । भर्ना गर्ने ठिक्क बेला भएकाले पैसा असुल्ने समयमा निजी विद्यालयका सञ्चालकहरू विद्यालय बन्द गर्न चाहन्नथे । पानी नाक माथि आइपुगेपछि उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा (लकडाउन) सुरू भयो । कोरोना प्रभावित अरू जिल्लाले पनि क्रमशः लकडाउन गर्दै गए । अहिले ६० भन्दा बढी जिल्लामा लकडाउन छ । यो क्रम बढिरहेको छ ।
आजका समाचारहरूले बताइरहेका छन्, लकडाउन ढिला भयो, विद्यालय बन्दको आदेश ढिला भयो, सीमा व्यवस्थापनको काम राम्ररी सम्पन्न भएन, क्वारेन्टिन र आइसोलेसन प्रभावकारी भएनन् । अस्पतालको क्षमता र सुविधा विस्तार पनि आवश्यता अनुसार हुन सकेन । अस्पतालको क्षमता र सुविधा आवश्यकता अनुसार विस्तार भएन । त्यसको परिणाम आज भोगिदैछ । संक्रमण तीव्र रूपमा फैलिएको छ । कोरोनाका बिरामीका लागि अस्पतालमा आईसीयुको त कुरै छोडौ, समान्य बेडको पनि अभाव छ । अक्सिजनको अभाव छ । यो अभाव काठमाडौंमा मात्र हैन, देशभर छ । अक्सिजनको अभावमा काठमाडौंका कतिपय अस्पतालले सेवालाई घटाएका छन्, वीर अस्पतालले नै अक्सिजनको अभावमा बेड बढाउन नसकेको जनाएको छ । रेम्डिसिभिर चरम अभाव र कालोबजारी व्याप्त भयो । सामाजिक सञ्जालमा अस्पतालमा बेड, आईसीयु, रेम्डिसिभिर र प्लाज्मा थेरापीका लागि रगतको आवश्यकता परेका सूचना आइरहेका छन् । परीक्षणको दायरा घटेको अवस्थामा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी कोरोना संक्रमण बढेको स्वास्थ्य विज्ञले बताइरहेका छन् । एक जना डाक्टरले चिकित्सकको परामर्शमा मात्र सेवन गर्नुपर्ने स्टेरोइड भएका औषधिहरू सास फेर्न कठिन भयो र उपचार पाइएन भने किनेर खानू भनी सामाजिक सञ्जालमा सुझाव दिनुभयो र बिरामीले अस्पतालमा ठाउँ नपाएको अवस्थामा यस्तो सुझाव दिनु बाध्यता भएको जानकारी दिनुभयो ।
उसो त महामारीमा सबै देशका स्वास्थ्य प्रणाली अपर्याप्त हुन्छ भनिन्छ । विकसित देशमा पनि कोरोनाको प्रकोपको समयमा अस्पतालको बेड नपुगेको समाचार नआएका हैनन् । तर हाम्रोमा भने स्वास्थ्य सेवा पहिलादेखि नै अपर्याप्त थियो । सरकारी अस्पतालमा उपचार गराउन घण्टौं लाइन बस्नुपर्थ्यो । अपरेसन वा अलि कठिन किसिमको जाँच गराउन हप्तौं वा महिनौं पालो कुर्नुपर्थ्यो । विशेषज्ञ डाक्टरलाई जँचाउने पालो पाउन कठिन थियो । हुनेखानेहरूका लागि महँगा निजी अस्पताल नखुलेका होइनन् तर ती अस्पताल आर्थिक क्षमता कमजोर हुने सर्वसाधारण नेपालीको पहुँचमा थिएनन् । अस्पताल खोल्नेहरूले नै विभिन्न प्रसङ्गमा नेपालीले उपचारका लागि विदेश जान नपरोस् भनेर यो अस्पताल खोलेका हौं भनेर आफ्नो लक्षित वर्ग विदेशमा पहुँच हुने उच्चवर्ग हो भनिसकेका नै थिए । हिजोआज त झन् बेड चार्जको परिवर्तित दर सार्वजनिक गरेका छन् र मागले मूल्य बढाउँछ भन्ने बजार अर्थशास्त्रको नियमलाई पुनः प्रमाणित गरेका छन् । एकताकाको समाजवादी पूर्वी युरोपको हावा लागेर पश्चिम युरोपमा जनमुखी बन्दै गएको पुँजीवाद नेपालमा पूर्ण अवतारमा प्रकट भएको छ । सरकारले स्वास्थ्यमा जनताको पहुँच बढाउन लगानी बढाउन सकेन । ज्यानभन्दा ठुलो धन हैन भनेर घरघडेरी, जग्गाजमिन लगायत सबै जेथोमेथो बेचेर सर्वसाधारण जनताले निजी अस्पतालमा महँगो उपचार गराएका थिए । निजी क्षेत्रको उपस्थितिको कारण सबैले स्वास्थ्य सेवा पाएको भनेर सबै मख्ख पर्ने काम भयो । हाम्रो स्वास्थ्य प्रणालीमा भएको यही अपर्याप्तता र विकृतिमा आज कोरोनाले ताण्डव मच्चाइरहेको छ ।
तर जिम्मेवार निकायलाई यो सत्यको सामना गर्न पनि गाह्रो भइरहेको देखिन्छ । नेपालको कोरोना संक्रमण नियन्त्रणमा नै रहेको भनेर प्रधानमन्त्रीले दिनुभएको अन्तर्वाता विदेशी सञ्चार माध्यममा प्रकाशित भएको धेरै भएको छैन । वैशाख २७ गते बेड पर्याप्त छ तर बेडको उपलब्धता र बिरामीको आवश्यकतामा भौगोलिक सन्तुलन नमिलेको होला भन्ने आशयको संसदमा दिइएको वक्तव्य टेलिभिजनमा हेर्यौं । त्यही समयमा बेड नपाएर एक अस्पतालबाट अर्को अस्पतालमा बिरामीहरूलाई दौडाइँदै थियो र कतै बेड नपाएर निराश भएकाहरूलाई अस्पतालको बरन्डामा उपचार गराइएको थियो । आइसीयुमा उपचार गरिनुपर्नेहरूले समान्य स्वास्थ्य सेवा पाउन पनि कठिन भएको थियो । कोरोनाको मुख्य लक्षण नै प्राणवायु अक्सिजनको कमी गराउनु रहेछ । अक्सिजनको संकटले यो महामारीको असरलाई अरू तीव्र बनायो । तर सरकारले अक्सिजन त छ तर वितरण मात्र व्यवस्थित हुन नसकेको मात्र हो भन्ने भ्रममा अक्सिजनको वितरण प्रणाली आफ्नो हातमा लियो । यसबाट केही फाइदा हुन सकेन । अक्सिजनको अभाव वास्तविक हो भन्ने बुझ्न नै समय लगाएको देखियो ।
यस विकराल अवस्थामा सरकारका समस्या र प्राथिमिकता भने अर्कै देखिन्छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिनुभएको छ र नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिएपछि विवादका बीच भरखरै पुनः नियुक्ति र शपथ लिनु भएकोमा उहाँविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । केन्द्रमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्ताव प्रतिनिधिसभामा पास हुन सकेन । केन्द्रमा पनि सरकार गठनको रस्साकस्सी नै छ । यसरी कोरोनाको हटस्पटमा राजनीतिक खिचलो भएकाले जनताको हक र हितका लागि काम गर्ने राजनीतिक दलहरूको प्राथमिकता अहिले सांसदको टाउको गन्ने भएको छ, यसबाट अस्पतालको बेड र अक्सिजनको सिलिन्डर गन्न कति समय बचेको छ, थाहा छैन ।
संकट यो घडीमा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, सफाइकर्मचारी जस्ता अग्रपंक्तिमा रहेर काम गर्ने पक्षको प्रयास र मिहिनेत अन्यन्त सराहनीय छ, वन्दनीय छ । खाने र सुत्ने समय कटौती गरेर उनीहरूले बिरामीको उपचार र सह्यार गरेका छन् । अस्पतालको बरण्डमा बिरामी राखेर उपचार गरिरहेका छन् । पिपिई किटमा जेलिएर लगातार घण्टौं हैन दिनौं उपचार गरेका छन् । नर्सहरू भर्याङमा विश्राम गरेर थकाइ मेटेका र डाक्टर आफैं बिरामी हुँदा पनि पाखुरामा नेबुला राखेर उपचारमा संलग्न भएका समाचार आइरहेका छन् । यस्तो प्रतिबद्ध, इमानदार, दक्ष र संवदेनशील शक्तिले पर्याप्त राजनीतिक साथ र समर्थन पाएको भए स्थिति अर्को हुन्थ्यो होला । तर दुर्भाग्य, राजनीति अरू नै कुरामा केन्द्रित छ । किनेका खोप ल्याउन सकिएको छैन, दातृ निकाय र सहयोगी मुलुकले दिन्छु भनेको सहयोग लिन सकिएको छैन । किटको अभावमा टेकु अस्पतालमा कोरोना परीक्षण रोकिएको छ । आपसी समन्वय, सक्रियता र प्रतिबद्धताको अपेक्षित स्तर कायम हुन सकेको छैन । यस विषम परिस्थितिमा पनि पत्रपत्रिकाले भ्रष्टाचार, कमिसन र कालाबजारीका समाचार लेखिरहेका छन् । तिनमा सत्यता कति छ थाहा छैन तर खै किन हो नकारात्मक समाचार पत्याउने बानी लागिसकेको छ ।
यसबीचमा केही प्रयास पनि भएका छन् । प्रधानमन्त्रीले विश्वसमुदायबाट सहयोग माग्नु भएको छ ।चीनबाट अक्सिजन सिलिन्डर आयो । उद्यमी र निर्माण व्यवसायीहरूले आफूसँग रहेका अक्सिजन सिलिन्डर स्वास्थ्य प्रयोजनका लागि सरकारलाई दिने भएका छन् । सबै सरकारी अस्पताल कोभिड अस्पताल भएका छन् । वीर अस्पतालको नयाँ भवनमा पनि अब कोरोना संक्रमितको उपचारको प्रबन्ध मिलाइने भएको छ । उपत्यकामा लकडाउनको अवधि फेरि पन्ध्र दिन थप गरियो । अन्यत्र पनि आवश्यकता अनुसार होला । तर भन्नैपर्छ यो प्रयास ढिलो भयो । परिस्थितिको गम्भीरता र समयको आवश्यकता बुझ्न समय लाग्यो । युद्धको तयारीमा हुने ढिलाइको परिणाम हुन्छ, पराजय । तैपनि, सबैको सहयोग र सत्प्रयासले कोरोनाविरुद्धको यस युद्धमा हामी ढिलोचाँडो जीत हासिल गरौंला । क्षति कम होस् भन्ने प्रार्थना त आजको दैनिकी भएको छ । यी अँध्यारा दिनमा सुन्दर भविष्यको आशा गर्न अलि कठिन देखिएको छ ।

राम्रो लेख लेख्न भावना पनि राम्रै भएको मान्छे हुनुपर्ने रहेछ । केदारजी तपाईंलाई सम्झदैं माया लाग्छ । आदर पनि लाग्छ ।” नामी ” बदमासहरूलाई पनि नराम्रो वचन नगरी मीठो व्यङ्ग्य गर्ने र सत्यलाई सरल रूपमा व्यक्त गर्ने जुन क्षमता र कला तपाईंमा छ नि त्यो बडो रमाइलो छ ।