अवकाश प्राप्त जीवनको वार्षिकोत्सव

आज चैत 14 गते । पोहोर आजैको दिन मैले नेपाल राष्ट्र बैंकको तीस वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएको थिएँ । आजबाट त्यसको एक वर्ष पुग्यो र दुईमा टेक्यो । त्यसैले आज त्यसको वार्षिकोत्सव ! पहिलो वार्षिकोत्सव !
अवकाश पाएकेमा विदेशमा भएका साथीहरुले बधाई दिइरहेका छन् तर नेपाली परिप्रेक्ष्यमा अवकाश प्रिय शब्द होइन । फेरि पनि, जागिरे जीवनको लागि अभिन्नप्रायः शब्द हो । जीवनमा आउने सबै क्षणहरु जस्तै जागिरेको जीवनमा अवकाश पनि आउँछ । अवकाशले दैनिक दिनचर्यामा विचलन ल्याउँछ, आय घटाउँछ र शक्तिबाट हटाउँछ । बाँकी संसारसितको सम्पर्क पनि अवकाशपछि घट्दै जाँदो रहेछ र जीवन पनि एकाकी जस्तो हुँदो रहेछ ।
तर त्यसले दिने राम्रा कुरा पनि छन् । त्यसले फुर्सद दिन्छ । सरकारी जागिरेले पेन्सन पनि पाउँछन्, मैले पनि पाएँ । जागिर खाँदा जोगाएर विभिन्न कोषमा राखेका रकम र संस्थाले अवकाश पाए वापत दिने रकम पनि उपलब्ध हुन्छ । मलाई पनि भयो । गुमेका कुराको क्षतिपूर्ति पाएका कुराबाट गर्दै जीवनलाई अघि बढाउनु पर्छ क्यारे ! म पनि त्यसैका लागि प्रयास गरिरहेको छु ।
चैतमा मैले अवकाश पाएपछि वैशाखमा हामी बुढाबुढी (मुना र म) विदेश घुमघाममा निस्कियौं । मलेसियाको क्वालालम्पुर, सिंगापुर र इन्डोनेसियाको बाली हाम्रा गन्तव्य रहे । यी तीनै ठाउँ म पनि यसअघि गएको थिइन, मुनाको त पासपोर्टमा छाप लागेकै पहिलो चोटि थियो । त्यो सस्तो प्याकेजको छोटो यात्रा थियो तर यात्रा रमाइलो नै रह्यो । मलेसियाको वटु गुफा र जेन्टिङ डाँडा, ट्वीनटावर र सेन्ट्रल मार्केट तिर घुमियो, दरबार र युद्ध स्मारक हेरियो । क्वालालम्पुरदेखि जोहर बारु हुँदै सिंगापुरको यात्रा उस्तै कौतुहलपूर्ण थियो ।
सिंगापुरका मुस्तफा, मेरिना बे र सेन्तोसा आइलैन्डतिरको घुमघाम स्मरणीय थिए । म्याडम टुसाडमा कहिल्यै भेट्न नसकिने मानिसहरुसँग फोटो खिचाइयो । सेन्तोसा वरिपरि घुम्ने केबुलकारको आनन्द लिइयो । सिलोसो बिचमा एकछिन बरालिन पाइयो । फोर-डी सिनेमा हेरेर डरायौं । विङ्स अफ टाइमले छक्क पार्‍यो । सिंगापुरको वैभव देखेर वाल्ल पर्‍यौं ।
बालीको भ्रमण पनि निकै रमाइलो थियो । अघिल्ला दुई ठाउँ घुमेर थाकेका हामीले यहाँ अलि आरामसाथ घुम्न पायौं । होटल नजिकै भएको समुद्री किनारको फाइदा उठायौं । किन्तामणि गयौं, उलुआटु र तन-हा-लट मन्दिरको दर्शनको मौका मिल्यो । सुन चाँदीका गहनाका प्रदर्शनी हेर्‍यौं मात्र, कपडा बुनाइ र रंग्याइ प्रदर्शनीमा केही किन्यौं पनि । क्रुज यात्रा र डिनर कति रमाइलो थियो, धेरै नथाकेको भए नजानीनजानी नाच्थें पनि होला ! यसरी हामी दश दिनको घुमफिर सकेर घर फर्क्यौं ।
जेठमा एलएल.बी. तेस्रो वर्षको परीक्षा थियो । पढ्नलाई पर्याप्त समय पाएँ । पढ्नलाई समय होइन, इच्छा आवश्यक हुन्छ । तर समय हुनु पनि नराम्रो भने होइन । समय भए मन लागेको वेला पढ्दा हुन्छ, समय पाएको वेला पढ्नै पर्ने भन्ने हुँदैन । परीक्षा ठिकै भयो । पुसमा रिजल्ट आयो पास भएको रहेछु ।अघिल्ला दुई वर्षको परीक्षामा पास भइसकेको थिएँ ।अवकाशको पहिलो वर्षको उपलब्धिको रुपमा एलएल.बी. को डिग्री पाएँ ।
वर्षामा खासै केही गरिएन । शायद झरी हेरेर दिन बिताइयो होला । केही किताब पढें कि ?
असोजमा भने हामी (गङ्गा-मनुता पोखरेल, गणेश-कृष्णा ओझा र हामी दुई) भारततिर लाग्यौं । आगराको ताजमहल र आगरा फोर्ट, अकबरको मकबरा हुँदै हामी वृन्दावन आएर बस्यौं । भोलिपल्ट बिहान वृन्दाबनका विभिन्न मन्दिरको दर्शन गरी श्रीकृष्ण जन्मभूमि मथुरा हुँदै दिल्ली आयौं । दिल्ली तीन दिन बसेर हरिद्वार गयौ । हरिद्वारमा गंगादर्शनपछि मन्दिरहरुको दर्शन गरी ऋषिकेश पनि घुम्यौं । मसुरीको ताल र केम्प्टी झरना पनि हेरियो । जाँदा भैरहवा हुँदै गएका थियौं, फर्कंदा महेन्द्रनगरतिरबाट आयौं ।
घुमघामबाट फर्कंदा बाटैबाट मुनालाई केही सञ्चो भएन । दसैंको अष्टमीको दिन उनलाई अस्पताल भर्ना गरेर टीकाको दिन बिहान डिस्चार्ज गरियो । एकादशीका दिन नेपालटार गएँ । तर दसैंपछि मुनाको अलि राम्ररी चेकअप गराउनु पर्ने भएकाले लामो समय नेपालटारमा नबसी फर्कें । यसपालिको दसैं राम्ररी मान्न सकिएन । मलाई फुर्सद छ भनेर दसैं लामो समय रहने पनि त होइन । कुदाकुदमै दसैं बित्यो । तिहार भने काठमाडौंमा यथावत मनाइयो, बहिनी हीरा आएकी थिइन् ।
दसैं र तिहारको बीचमा फेरि नेपालटार जाने मौका मिल्यो । पञ्चावती सद्‍भाव समाजले वितरण गर्ने विभिन्न पुरस्कार दसैं र तिहारका बीचमा वितरण गर्ने निधो भयो । समाजका अध्यक्ष मधुरमण आचार्य उदयपुरगढीमै हुनुहुन्थ्यो । यताबाट पूर्व अध्यक्ष ओमबहादुर राउत, उपाध्यक्ष विष्णुप्रसाद ढुंगाना, महासचिव पद्मराज कार्की, दीपक कोइराला र म गएका थियौं । म त्यो संस्थाको कोषाध्यक्ष भएको र जान फुर्सद पनि भएकाले त्यो मौका मिलेको थियो । पञ्चावती माध्यमिक विद्यालयमा पाँच किसिमका पुरस्कार वितरण गरी खाटडाँडाको विद्यालयमा पनि दीनानाथ दाइ र पार्वती दिदीले छोरी लक्ष्मी दाहाल (विनिता) को स्मृतिमा स्थापना गर्नुभएको पुरस्कार पनि वितरण गर्‍यौं ।
यसै अवधिमा पञ्चावती सद्भाव समाजका दुई वटा साधारण सभा सम्पन्न भए । जेठमा र यही चैतमा । चैतमा भएको साधारण सभा भने वनभोजको रुपमा घ्याम्पे डाँडामा सम्पन्न भएको थियो । निकै ठुलो जमघट भएकाले निकै रमाइलो पनि भयो ।
फागुनमा छिमेकीकी छोरी र नातेदारका छोराका बीचमा भएको विवाहमा सामेल हुन विराटनगर गयौं । विराटनगरको बसाइ र घुमघाम पनि रमाइलो रह्यो । केही आफन्त र साथीभाइहरुसँग भेट भयो, कतिपयलाई भेट्न सकेनौं । काठमाडौंबाट विराटनगर पुगे पनि जोगबनी भने गइएन । विराटनगरमा खुलेका ठुला डिपार्टमेन्ट स्टोरहरुले जोगबनीको तिर्सना मार्‍यो। जोगबनीमा पनि के नै थियो र ? उही दुई रुपियाँ सस्तो भनेर कुदिन्थ्यो । विकास निर्माणका कार्यहरु देखेर पनि निकै सन्तोष लाग्यो । अहिले भत्काइएका बाटाघाटा बनेपछि विराटनगर साँच्चै “विराट” हुनेछ । अहिले पनि फैलावटका दृष्टिले त विराट नै छ । प्रदेशको राजधानी कहाँ हुने निश्चय भइसकेको छैन तर यो दौडमा विराटनगर नै अघि रहेको अडकल काटियो ।
यो एक वर्ष मलाई समय कटाउन कुनै गाह्रो महसुस भएन । घरमा आउने पत्रिकाको संख्या पहिला नै बढाएको थिएँ । लेखपढ सम्बन्धी काममा पनि समय लगाएँ । मन लागेको कुरा पढ्ने हो भने समय त के बढी हुन्छ र ? यही वेबसाइट खोलेर यसैमा “केही” थप्न पनि ध्यान दिएँ । मेरा पाठक धेरै छैनन् तर जति छन् त्यो पनि कम हैन। आफ्नो कुरा सुनाउन तँछाडमछाड हुने समयमा अरुका कुरा पढ्ने मानिस पाउनु आफैंमा गाह्रो कुरा हो ।
पुसको आधाआधीबाट एउटा सार्वजनिक संस्थासँग आबद्ध भएको छु । छोटो समयको लागि निर्धारित यस आबद्धताको अवधि समाप्त हुन लागेको छ । र अवकाशको फुर्सदिलो समय यथावत् रहने छ । यस आबद्धताले बालुवाटारमा नेपाल राष्ट्र बैंकका साथीहरुले सञ्चालन गर्नुभएको संस्कृत कक्षा छुट्यो । यसमा चाहिं अलि थकथक लागिरहेको छ ।
नेपाल राष्ट्र बैंकका अग्रज पूर्व कर्मचारीहरुले स्थापना गर्नुभएको नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघमा आबद्ध भएको छु । त्यसको अर्को हातको रुपमा रहेको सहकारी संस्थामा पनि भूमिका पाएको छु । साथीहरुले गर्नुभएको विश्वासले आत्मविश्वास बढाउँदो रहेछ ।
अवकाश-जीवनको पहिलो वर्ष रमाइलै गरी बित्यो ।कामना छ, बाँकी वर्षहरु पनि रमाइलै गरी बितून ! साँच्चि, यी बाँकी वर्ष पो कति छन् कुन्नि ?

81 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *