त्रिभुवन विश्वविद्यालयबाट २०७६ साल पुस ३ गते आयोजना गरिएको दीक्षान्त समारोहमा म पनि सरीक भएँ । पत्नी मुना, छोराहरू आभाष र आकृत पनि मसँग थिए । गए साल एलएल.बी. उत्तीर्ण गरेको हुनाले मैले यो समारोहमा भाग लिन पाएको थिएँ । बी.ए. र एम.ए. काठमाडौंमै पढेको भए पनि दीक्षान्त समारोहमा सामेल हुने अवसर यसअघि मिलेको थिएन । दीक्षान्त समारोहमा पोहोर आभाष दीक्षित हुँदा पनि पुगेको थिएँ तर आफूले दीक्षान्तको पोशाक लगाएको यो नै पहिलो पटक थियो ।
मानिस परिवारमा जन्मन्छ र हुर्कन्छ, विद्यालय र विश्वविद्यालयबाट शिक्षा लिन्छ अनि समाजमा फर्कन्छ । स्नातक वा सोभन्दा बढीको शैक्षिक योग्यता हासिल गरेपछि उसले दीक्षाको अवसर पाउँछ । यो व्यक्तिको सामान्य शैक्षिक चक्र हो । विद्यार्थी विश्वविद्यालयबाट समाजमा जाने समयमा पढेका ज्ञानको सही उपयोग, विवेकको प्रयोग, इमानदारिताप्रतिको प्रतिबद्धता र समाजका चुनौतीको समाधानका लागि स्पष्ट र सही दृष्टिकोणको प्रत्याभूतिका लागि दीक्षा दिन दीक्षान्त समारोहको आयोजना गरिन्छ । यो कार्य व्यक्तिको दृष्टिकोणको विकास गर्न लक्षित हुन्छ । शिक्षित व्यक्तिबाट समाजमा अपेक्षित आचार र व्यवहारको बारेमा जानकारी दिनु र व्यक्तिलाई त्यो जिम्मेवारी पूरा गर्न सक्षम बनाउनु मात्र होइन समाजको लागि शिक्षित व्यक्तिको आचार र व्यवहार अनुकरणीय होस् भन्ने कार्यक्रमको अभिप्राय हो । व्यक्तिको आवश्यकता र सामाजिक दायित्वका बीचमा तालेमेल मिलाउनु अबको आवश्यकता हुन्छ । व्यक्ति र समाजको सर्वाङ्गीण हितको खोजीमा यो कार्यक्रम केन्द्रित हुन्छ ।
दीक्षान्त समारोहको शैली पश्चिमी पाराको देखिए पनि पूर्वीय संस्कृतिमा पनि दीक्षाको प्रचलन थियो । शिक्षाको अन्तिम चरणमा अनुकूल आचरण नभएका कारण शिक्षाको प्राप्तिबाट विमुख गरिएका केही उदाहरण पनि पुराकथामा छन् । कसैलाई चाहिएको बेला मन्त्र बिर्सने श्राप दिइएको ग्रन्थहरुमा भेटिन्छ । विवेकरूपी तेस्रो नेत्र खुल्ने अभिप्रायका साथ ब्रतबन्धलाई उपनयन भनिन्छ । शायद त्यो पनि प्रकारान्तरले दीक्षा आज जस्तो व्यवस्थित शैक्षिक संस्था नभएर गुरुकुलमा अध्ययन गर्ने प्रचलन भए पनि प्राचीन कालमा दीक्षान्तको परम्परा थियो ।
दीक्षान्तको यति धेरै महत्व भए पनि त्रिभुवन विश्वविद्यालयले यसको उचित प्रबन्ध गर्न सकेको देखिएन । यसैपालि पनि करिब 70 हजार विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन योग्य भए पनि केवल करिब 10 हजार विद्यार्थीहरुले मात्र समारोहमा भाग लिन इच्छा देखाएर फारम भरेका रहेछन् । बाँकीलाई पनि दीक्षित भएको घोषणा गरियो । कार्यक्रममा पुगेकाहरुमध्ये पनि विशेष योग्यता हासिल गरेका (पिएच्.डी. उपाधि, विभिन्न पदक हासिल गर्ने) बाहेक अरुले गाउन लगाएर चौरमा जम्मा हुने, सामूहिक रुपमा सकारात्मक कआचार र व्यवहार गर्न प्रतिबद्धता व्यक्त गर्ने, तोकिएको काउन्टरबाट प्रमाणपत्र लिने, फोटो खिचाउने बाहेक अरु कुनै भूमिका पाउँदैनन् । जीवनको महत्वपूर्ण शैक्षिक उपलब्धिको प्रमाणपत्र महत्वपूर्ण व्यक्तिको हातबाट लिन पाउनुको महत्ता अर्कै हुन्छ । तर त्यसलाई ध्यान दिइएको छैन । विश्वविद्यालयमा धेरै विद्यार्थी पढ्ने हुनाले हरेक विद्यार्थीलाई मञ्चमा बोलाएर प्रमाणपत्र प्रदान गर्नु अव्यवहारिक पनि मानिएला । तर शिक्षा दिन सकिन्छ भने उपयुक्त तरिकाले दीक्षा दिन पनि सकिएला नि ! अध्ययन संस्थान अनुसार अलग अलग कार्यक्रम पनि गर्न सकिएला । सबैमा कुलपति वा उपकुलपति पुग्ने अवस्था हुँदैन भने अधिकार प्रत्यायोजन पनि गर्न सकिएला । यसपालि नै कमजोर स्वास्थ्य अवस्थाका कारण कुलपति दीक्षान्त समारोहमा उपस्थित हुन सक्नु भएन र सहकुलपति दीक्षान्त समारोहको अध्यक्षता गर्नु भयो ।
समारोहको आयोजना जे जस्तो भए पनि यस समारोहप्रति विद्यार्थी र तिनका अभिभावकोको ठुलो दिलचस्पी छ । यही दीक्षान्त समारोहमा पनि अनेक विद्यार्थी आफ्ना अभिभावकका साथ उपस्थित थिए, म पत्नी र छोराहरूका साथ उपस्थित भए जस्तै । त्यो अनुपम भेलामा आफ्नो उपस्थितिलाई उनीहरुले अत्यन्त गौरवका रुपमा लिएका थिए । नेपालका सबै भूभाग, संस्कृति, समुदाय र वर्गको उपस्थिति यसमा थियो । सानो बच्चा बोकेर गाउनमा आएका थिए विद्यार्थीहरू दीक्षित हुन । पाको उमेरमा शैक्षिक योग्यता र उपाधि हासिल गरेर दीक्षित हुन आउनेहरु पनि थिए । भर्खरै विश्वविद्यालयको पढाइ सकेका युवाहरुको त कुरै भएन । उनीहरु आफ्ना समूहमा भेला भएर खुशी साटिरहेका थिए, हर्ष बाँडिरहेका थिए । आफ्नो जीवनमा बिरलै आउने सफलताको यो मौकामा उनीहरू रमाइरहेका थिए ।
अझै पनि धेरै नेपाली विद्यार्थी र अभिभावकको विश्वास नेपालका विश्वविद्याल र शैक्षिक संस्थामा छ । त्रिभुवन विश्वविद्यालयमा पनि यही नियम लागु हुन्छ । विद्यार्थी संख्याको दृष्टिले यो संसारकै ठुला विश्वविद्यालयमा पर्छ होला । तर संसारभर शिक्षाको विकास र महत्ता बढिरहेको अवस्थामा नेपालमा शिक्षा खिइँदो छ, विश्वविद्यालयहरू विवादित बनेका छन् । राजनीतिकरण, भ्रष्टाचार र अनियमितता विश्वविद्यालयको नामसँग एक वा अर्को प्रकारले देखिँदै आएका छन् । पढ्नको नाममा विदेश जाने मात्र होइन, पढ्नकै लागि विदेश जानेहरु बढिरहेका छन् । प्रयोग, अनुशीलन र अनुसन्धानमा हाम्रा विश्वविद्यालय पछि परेका छन् । कहिले शिक्षक, कहिले कर्मचारी त कहिले विद्यार्थी आन्दोलनमा रहेकै हुन्छन् । विश्वविद्यालयबाट क्याम्पसलाई दिइने सम्बन्धन चोखो सम्बन्ध मात्र रहेको छैन । हाम्रा शैक्षिक संस्थाले अविवादित प्राज्ञिक थलोको छवि बनाउन सकेका छैनन् ।
पूर्वीय सभ्यता र संस्कृतिको विरासत हामीले नै पाएका छौं भनी बखान गरे पनि लामो समय नेपाली समाज शिक्षाबाट बञ्चित रहनु पर्यो । शिक्षाको विकास गर्न चाहने श्री ३ महाराज तथा प्राइममिनिस्टरलाई त डाँडा कटाइयो भने शिक्षाको विकास गर्न चाहने जनताले कति भुक्तमान खप्नुपर्यो होला ! पुस्तकालय खोल्न चाहनेले सजाय पाएका थिए र लाइब्रेरी काण्डको रूपमा त्यो घटना इतिहासमा उल्लेख छ । शिक्षाको क्षेत्रमा त्यति दुःख भोगेका हामीले अहिले कसरी शैक्षिक संस्थाको गरिमा राख्न सकेनौ, बुझिनसक्नु छ ।
शिक्षा नै ज्ञान र अनुभव एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने एकमात्र माध्यम हो । हाम्रो पूर्वीय संस्कृतिको महत्त्व र गरिमा जति बढी भए पनि शिक्षा लिनेदिने परम्परा खस्केको कारण मध्यकालको लामो समय यो खण्ड अन्धकारमा रहनु पर्यो । मानवजातिले आजसम्म अर्जेको ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्न नसके त्यसको दीर्घकालीन महत्त्व रहँदैन । विद्या सम्पत्ति जस्तो इच्छापत्रको आधारमा हस्तान्तरण हुँदैन । शैक्षिक संस्था, शिक्षक, विद्यार्थी, शिक्षाविद् र प्रशासक लगायत सबै सरोकारवालाहरूको सम्झौताहीन प्रतिबद्धताबाट मात्र शिक्षा क्षेत्रको विकास हुन्छ र ज्ञानको पुस्तान्तरण हुन्छ । यो विद्यार्थीको त तपस्याको प्रतिफलको रुपमा प्राप्त हुन्छ । यति मेसो मिलेन र विद्याको पुस्तान्तरण हुन सकेन भने हाम्रो सभ्यता खिइँदै जान्छ, हामी भासिँदै जान्छौं ।
पचास कटेपछि एलएल.बी.पास गरेको खुशीमा मैले यस पटक दीक्षान्त समारोहमा भाग लिने विचार गरेको थिएँ । जेठो छोराको सहयोगमा फारम भरे, गाउन ल्याएँ र समयमै कार्यक्रमस्थलमा पुगेँ । ससाना नानीबाबुहरू दीक्षित हुन आएका थिए, गाउनमा सजिएर । म त बाउन्न वर्षको उमेरमा दीक्षित हुन गएको थिएँ । सत्ताइस वर्षमा स्नातकोत्तर तह उत्तीर्ण गर्दा पनि नमिलेको दीक्षान्तको मौका यस पटक मिल्यो । जागिरबाट रिटायर भइसकेको थिएँ । मलाई अलि संकोच पनि लाग्यो । तर तुरुन्तै आफूलाई व्यवस्थित गरें । मेरो आफ्नै जीवन छ, आफ्नै गन्तव्य र आफ्नै यात्रा । अरुसँग तुलना गरेर आफ्नो प्राप्तिलाई अमिलो बनाउनुमा कुनै बुद्धिमानी थिएन । जीवनको कुनै कालखण्डमा त यो दिन मैले देख्न पाउँछु भनेर सोचेको पनि थिइन । यो निश्चय नै मेरो लागि निर्विवाद रुपले गर्वको विषय थियो र उमेर, अवस्था र परिस्थितिमा तुलनाबाट उत्पन्न हुनसक्ने नकारात्मक विचारलाई कुनै स्थान दिनु कुनै अर्थमा पनि उपयुक्त थिएन । यस्तो पाको उमेरमा दीक्षान्त समारोहमा आएँ र नै त पत्नी र परिपक्व छोराहरूलाई साथमा पाएँ ! अप्ठेराहरुलाई पेलेर सफलताको तेल निकाल्नुमै त मजा छ ।
समयले साथ दियो भने म त्रिभुवन विश्वविद्यालयको अरु २,३ वटा दीक्षान्त समारोहमा उपस्थित हुनेछु, अभिभावकको रुपमा । आशा छ, त्यतिबेला विश्वविद्यालको गरिमा अझ बढेको हुनेछ, कलेज/क्याम्पस लक्ष्मीको साधन होइन, सरस्वतीका मन्दिर हुनेछन् र शिक्षकहरू प्रेरणाको अनन्त स्रोतको रुपमा स्थापित भएका हुनेछन् । अहिले केही संस्थाले मात्र विशुद्ध र स्वच्छ प्राज्ञिक थलोको बिँडो थामिरहेको आजको स्थितिमा परिवर्तन हुनेछ र सबैजसो संस्था राम्रा हुनेछन् ।

यो सस्मरण अत्यन्त मननयोग्य मात्र नभएर अनुकरणिय पनि छ ।यसबाट ग्रहण गर्नुपर्ने खुराकिको थाली मालिकको घरमा पुगोस ।