अवकाशप्राप्त कर्मचारीले पाउने सुविधा लिन जाँदा नेपाल राष्ट्र बैंक परिसरमा पूर्व कर्मचारी साथीहरुलाई भेट्छु । मैले दश वर्षको पेन्सन लिइसकेको हुनाले वर्षमा एकदुई पटकमात्र यस्तो अवसर मिल्छ । कतिले मलाई सम्झन्छन्, कतिले सम्झंदैनन् । बीस वर्षअघि भेट भएको बाइस-पच्चीस वर्षको केटोलाई अहिलेको मेरो हुलिया देखेर के चिनुन् पनि । उसो त उहाँहरुलाई चिन्न मलाई पनि कम हम्मे पर्दैन । समयको फोटोसपले उहाँहरुको अनुहारलाई पनि त निकै परिवर्तन (इडिटिङ) गरेको छ । कसैलाई मोटो बनाएको छ, कतै चाउरी थपेको छ, कपालको रङ र घनत्व अनि दाँतको संख्यामा भारी संशोधन गरेको छ । चिनजान नवीकरण भएपछि संवाद सुरु हुन्छ । ती जताबाट पनि सुरु हुन सक्छन् ।
‘अनि बसाइ कता हो ?’
‘जडीबूटीतिर बस्छु ।’
‘अनि विराटनगर छोड्नु भो ?’ मेरो पुर्ख्यौली घर उदयपुर जिल्लाको नेपालटार भए पनि लामो समय विराटनगर बसेकाले धेरै मानिसले मलाई विराटनगरको रैथाने भन्ठान्छन् ।
‘अहिले यतै छु । जडीबुटीतिर सानो घर किनेको छु ।’ यो ‘सानो’ भन्ने शब्द नभनेको भएपनि हुने हो । तर फ्रायडले भनेका छन् क्यारे नि, अवचेतनमा रहेको कुरो मौका पर्नासाथ बाहिर निस्किहाल्छ, चेतनले हरदम नियन्त्रण गर्न सक्दैन । यसैको असरले यो ‘सानो’ निस्कन्छ ।
यो ‘सानो’ले दैनिक व्यवहारमा केही समस्या ल्याए पनि र मेरो अवचेतनलाई कब्जा गरे पनि मेरो चेतन भने यसमा सन्तुष्ट नै छ । मेरो घाँटीले त्यो बेला योभन्दा ठुलो घर निल्नै सक्दैनथ्यो । यही घर निल्नका लागि त कति साथीहरुको घाँटी सापटी लिनु परेको थियो । दुई छाक खान र एक रात सुत्न ठाउँ छँदैछ । बाँकी देखाजाला । फेरि दरबार जस्ता घरमा घरबार गर्नेको कुरा सुन्दा उनीहरुलाई त उनीहरुको घर चित्त बुझेको देखिएन । मलाई चाहिँ किन चित्त बुझ्नु परेको छ त !
‘घर किन चाहियो त ठुलो ? दुई जना बस्ने होला । छोराछोरी बाहिरै होलान् !’
कुराकानीको श्रृंखला अर्कोतिरबाट पनि सुरु हुनसक्छ ।
‘रिटायर हुनुभएछ तपाई पनि ! के काम गर्दैहुनुहुन्छ अहिले ?’
‘केही काम गरेको छैन । खोजी पसेको पनि छैन । पेन्सनले पाल्छ भनेर ढुक्क पो छु । 10-5 को जागिरबाट अवकाश पाइयो । अब बुढेसकालमा निजी क्षेत्रको 9-6 को जागिर के खोजिरहनु ?’ पेन्सनले पाल्छ भन्नेमा म ढुक्क छु अहिले पनि । तर दुईचार दिन अघि दिनभरि ‘अब कर्मचारीलाई दसैं खर्च नदिने, पेन्सन रकममा वृद्धि नगर्ने’ आदि ‘सद्विचारहरु’ टेलिभिजनमा सुनेर बेलुकातिर तरकारी बजार गई एक सय रुपैयाँमा एक किलो काँक्रा किनेर ल्याएदेखि मेरो मनमा अलि चिसो पसेको छ ।
‘हो पनि ! पुगिहाल्छ नि ! उही दुई जनाको जहान त होला ! छोराछोरी बाहिरै होलान् !’
धेरै जनाको धारणा के हुँदो रहेछ भने सबैजसोका छोराछोरी बाहिर अथवा विदेश जान्छन् । यो धारणा राख्नु पनि ठिकै हो । धेरैका छोराछोरी विदेशमै छन् । उनीहरुका छोराछोरी पनि विदेशमै होलान् । ग्र्याजुयसनमा सरीक हुन वा घुम्न विदेश पुगेर खिचेका फोटाहरुले धेरै साथीहरुको फेसबुकको वाल भरिएको हुन्छ । विदेशमा छोराछोरी पठाउनु त विस्तारै उच्चताको पहिचान जस्तो पो हुन लागेको छ । त्यति मात्र होइन, विदेश जानु स्वभाविक हो, विदेश जानसक्ने क्षमता भए पनि नेपालमै बस्छु भन्नु हठ हो भन्ने पनि पो सोच्न थालिएको छ । म पनि त राष्ट्र बैंकको कर्मचारी, छोराछोरी किन विदेश पठाइन होला र !
‘होइन, यही छन् । पढ्दैछन् ।’ हो पनि, दुइटै यहीँ पढ्दैछन् । जेठो पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मास्टर्स गर्दैछ, कान्छो त्यहीँ ब्याचलर पढ्दैछ ।
त्यसपछि उनीहरुले मेरो आँखामा गौर गरेर हेर्छन् । कहीँ म झुटो त बोलिरहेको छैन भनेर सत्यापन गर्नका लागि होला । म पनि उनीहरुको आँखामा हेर्छु । उनीहरुको आँखामा अनेक भाव ओहोरदोहोर गरिरहेका हुन्छन् ।
भाव १. विदेशमा भन्दा राम्रो के अवसर नेपालमा देखेर तिनीहरु यहाँ बसेका छन्, हँ ? हामीले त त्यस्तो केही अवसर देखेनौं त ! डलर वा पाउण्डलाई कुन अर्थमा नेपाली पैसाले जित्ला र, हँ ?
भाव २. यसले जागिरबाट कमाएको पैसा कतै सक्यो र छोराछोरीलाई विदेश पठाउन सकेन कि, के हो ?
भाव ३. यसका छोराछोरी त्यति गतिला छैनन् कि, के हो ?
भाव ४. यसले छोराछोरीमाथि नपुग्ने/नथेग्ने लाडप्यार दिएर हुर्काइरहेको छ र त्यही कारण छोराछोरी जान नचाहने र यो पठाउन नसक्ने अवस्था छ कि, क्या हो ?
यस्तै अरु मैले कल्पना गर्न नसकेका भावहरु पनि छन् कि !
छोराछोरीलाई विदेशतिर पढ्न र उतै बस्ने व्यवस्था मिलाउन साथीहरु नेपालमै बसेका छोराछोरीका बारेमा थप सोधखोज गर्नतिर लाग्दैनन् । छोराछोरी विदेश पठाउन नसकेर दुःखी भइरहेको मनमा के नुनचुक लगाउनु जस्तो पनि लाग्दो हो । मलाई पनि विदेशतिरको बारेमा केही जानकारी नभएको हुनाले कसरी चासो जनाउनु पर्ने हो भन्ने भेउ पाउँदिन । छोराछोरी यतै छन् भन्नेमा पुगेपछि कतिपय अवस्थामा गफ सकिनतिर लाग्छ । मलाई पनि गफ सकिएकै जाती जस्तो लाग्छ । हाम्रो गफ मिल्दैन पनि होला । मलाई युरोप थाहा छैन, अमेरिका थाहा छैन, अस्ट्रेलिया, चीन, जापान, कोरिया केही थाहा छैन । ती देशको कमाइको बारेमा थाहा छैन, खर्चको बारेमा थाहा छैन, जीवनशैलीका बारेमा थाहा छैन । अमेरिकी डलरसँगको नेपाली रुपियाँको विनिमयदरको कारण अमेरिकामा छोराछोरी हुनेले एक भन्दा मैले एक सय दश बुझ्नु पर्छ । यसरी के कुरो बुझ्नु, के कुरा गर्नु र के कुरो मिल्नु !
‘नेपालमा पनि राम्रै छ ।’ उनी चिसो सास फालेर मतिर हेर्छन् र बिदाइको हात बढाउँछन् । यो चिसो सासमा मप्रतिको सान्त्वना झल्किन्छ । म पनि बिदाइको हात अघि बढाउँछु र हामी छुट्टिन्छौं ।
यो वार्तापछि म फेरि आत्मसमीक्षातिर लाग्छु । युवाहरुको पलायनको यस परिदृश्यमा र यस्ता गफगाफको अन्त्यपछि आफ्ना छोराछोरी यही बसेर अलमलिएका त छैनन् भन्ने सोच मनमा पलाउँछ नै । गाउँ हुँदै गएको विश्वमा असल गन्तव्यको खोजी मानिसको पहिलो प्राथमिकता बनेको छ । त्यसैको लागि म गाउँबाट यहाँ आएँ । अरु कतै जाँदैछन् । आज बसाइँ शब्द पचास वर्षअघिको जस्तो निराशाजनक सुनिदैन । कतिपय सन्दर्भमा मलाई नेपालटारबाट काठमाडौं आउनुभन्दा सजिलो छ आज विदेश जान । मानिस बसाइँ जाने जात हो । एशियामा बस्ने धेरै जसो कैयौं वर्षअघि युरोपबाट नै ककेससको पहाड काटेर आएका रे ! आज पनि मानिस बसाइँ आइरहेका छन् । आज पनि बसाइँ गइरहेका छन् । हामीलाई ग्रीनकार्ड र पीआर (परमानेन्ट रेसिडेन्सी) नभई भएको छैन, कतिपयलाई नेपाली नागरिकताको प्रमाणपत्रको उस्तै खाँचो परेको पनि देखिएकै छ ।
मेरो मनमा छोराछोरी विदेश जाऊन् भन्ने पनि छैन, नजाउन् भन्ने पनि छैन । उनीहरु जे चाहन्छन्, गरुन् । जान चाहन्छन् भने जाऊन् भनेर पासपोर्ट बनाइदिएको छु । पार्टीपार्टीमा झगडा र गुटबन्दी, नियुक्तिमा नातावाद, कृपावाद र सुटकेसवाद, भ्रष्टाचार र अनियमितता, दण्डहीनता, उत्तरदायित्वको अभाव, संवेदनहीन मनोवृत्ति जस्ता विषय पत्रिकामा छापिएका कतिपय दिनहरुमा मैले ‘जान्छौ भने जाऊ’ भनेर ‘नो अब्जेक्सन लेटर’ पनि जारी गरेंहुँला । तर आजसम्म गएका छैनन् । भोलि के गर्छन्, थाहा छैन । यी केटाले जिन्दगीका अनेक बाध्यता र आवश्यकताको राप र चाप बुझेकै छैनन् । ती राप र चापको भुँमरीमा परेपछि पो के सोच्दा हुन् ?
विदेशमा छोराछोरी हुनु पनि एउटा सुरक्षा जस्तो पनि लाग्छ । गरिखान पाउने ठाउँमा छन् । सन्तानको भविष्य सुरक्षित, बुढ्यौली सुरक्षित । सुविधाको जीवनशैली । यता हामी एक्काइसौं शताब्दीको पात्रो मात्र पल्टाइरहेका छौं, उता उनीहरुले एक्काइसौं शताब्दीको जीवन नै बाँचिरहेका छन् । आफू पनि मनलागे जान पाइयो, बस्न पाइयो । यो देश त कहिले बन्नु, कसले बनाउनु, किन बनाउनु, बनाउन कहिले थाल्नु र कहिले सक्नु ?
अर्को मनले भन्छ, उनीहरु यहीँ बस्नु त झन् राम्रो हो । मातृभूमिका लागि भनेर विश्वको इतिहासमा धेरै मानिसले धेरै युद्ध गरेका छन् । भाग्यवश हाम्रा पुर्खाको देनको रुपमा यो मातृभूमि हामीमाझ सुरक्षित आइपुगेको छ । यसमा रमाएर बस्न सके त्योभन्दा बढी खुशी के होला र ? जन्मभूमि नछोड्नुको निर्णयले पश्चात्ताप निम्त्याउँछ भने त्यो पश्चात्तापको पीडा भोग्नका लागि सन्तान तयार हुनैपर्छ । आफ्नो भौतिक अवस्थालाई सिद्धान्तको जामा समेत पहिर्याएर म अलि आश्वस्त हुन चाहन्छु । विदेशमा छोराछोरी हुने निश्चिन्त देखिएका छन्, काखमा र साथमा छोराछोरी हुने म धरमर महसुस गरिरहेको छु । के भएको यस्तो ? यसको उल्टो पो हुनुपर्ने होइन र ?
यी विभिन्न चिन्तना र तर्कनाका बीच पनि छोराछोरीसँगको बसाइ रमाइलै छ । तिनीहरु कहिले भोक लाग्यो भन्दै घर आउँछन्, कहिले तिर्खा र कहिले थकाइ लाग्यो भन्दै आउँछन् । भोक, तिर्खा र थकाइ त विदेशमा पनि लाग्दो हो, तर भाइबरमा गफ गरेर खाजापानी माग्न पनि मिल्दैन, दिन पनि सकिन्न ।अहिले परीक्षामा फेल हुँदा ‘बार गयो, जुनी गएको छैन’ भनेर ढाडस दिन र पास हुँदा ‘क्या बात्’ भनेर उनीहरुको भावनालाई पोषण दिन पाइरहेका छौं । विदेशमा रहनेसँग पनि आधुनिक सञ्चार माध्यमबाट कुरा गर्न पाइन्छ । तर त्यसका लागि दुवैको समय मिल्नु पर्यो र दुवै पक्ष राजी हुनुपर्यो । फेरि यस्तो वार्तामा उसै सेन्सर लाग्छ । कति कुरा छोराछोरीलाई सुनाए उनीहरु चिन्ता गर्लान् भनेर हामी कुरो लुकाऔंला, बाउआमा पीर गर्छन् भनेर उनीहरु आफ्ना कठिनाइ नभन्लान् । घण्टौ गफ गरे पनि हाम्रा दिमागका विचार, मनका भावना र आत्माका सन्देशहरु पठाउन असमर्थ रहौंला, त्यस अवस्थामा ।यो सामीप्यमा आफ्नै आनन्द छ, शायद असीम आनन्द छ ।
छोराछोरीका भविष्यका बारेमा मनले अनेक सोच्छ, अनेक कल्पना गर्छ । यी तमाम मनोवैज्ञानिक रस्साकस्सीका क्रममा एक मनले भन्छ, भावनामा बगेर हुन्न, मायाले थेग्दैन । अर्को मनले सोध्छ, मायाले नथेगे केले थेग्छ त ?
वास्तवमा केले थेग्छ हँ ?
