पञ्चावती सद्भाव समाजद्वारा पुरस्कार वितरण

पञ्चावती सद्भाव समाजले २०८१ साल जेठ महिनाको पहिलो साता उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकास्थित श्री पञ्चावती माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रे र श्री नमुना माध्यमिक विद्यालय भलायडाँडा खाटडाँडामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा पञ्चावती सद्भाव समाजको तत्त्वावधानमा विभिन्न महानुभावहरूले स्थापना गर्नुभएका विभिन्न पुरस्कारहरू सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।

२०८१ साल जेठ ७ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो विद्यालयका  स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने श्री काशीनाथ काफ्ले एवं पुष्पा काफ्ले र माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ । २०७९ सालको ८ कक्षाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी कविता मगर र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उमेश परियारले यो पुरस्कार प्राप्त गर्नुभएको थियो । यसैगरी २०८० सालको पुरस्कार भने सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने चण्डिका लामा र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी गोविन्द थापालाई यो पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ ।

यसै समारोहमा २०८० सालको वार्षिक परीक्षामा विद्यालयभरिमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा हेलरी तामाङलाई सो विद्यालयका पूर्वप्रधानाध्यापक तथा पञ्चावती सद्भाव समाजका सदस्य दीनानाथ दाहालले पुरस्कृत गर्नुभएको थियो ।

सो कार्यक्रममा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर तामाङ र सदस्यहरू, प्रधानाध्यापक नेत्र बहादुर तामाङ एवं शिक्षकगण, पुरस्कार संस्थापक तेजमणि काफ्ले र गोमा काफ्ले, अभिभावक, लब्धप्रतिष्ठित स्थानीय महानुभावहरू एवं विद्यार्थीहरूको उपस्थिति थियो ।

यसैगरी श्री पञ्चावती माध्यमिक विद्यालयमा २०८१ साल जेठ ८ गते पुरस्कार वितरण समारोहको आयोजना गरियो । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको लागि यसै विद्यालयमा अध्यापन गर्ने विभिन्न शिक्षकहरू तथा शिक्षासेवीहरूको सम्मान र सम्झनामा स्थापना भएका विभिन्न पुरस्कारहरू यस समारोहमा वितरण गरिएको थियो । यस क्रममा वितरण भएका पुरस्कारहरू यस प्रकार रहेको छ ।

क्र. सं. पुरस्कारको नाम पुरस्कार स्थापनाकर्ता पुरस्कार पाउने आधार साल पुरस्कृत विद्यार्थी
१. अनुज स्मृति पुरस्कार स्वर्गीय अनुज निरौलाको स्मृतिमा उहाँका पिता टीकादत्त निरौला एसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी २०७९ चानस राउत
२. त्रिलोचन-देवमाया-बेनुका स्मृति पुरस्कार समाजसेवी त्रिलोचन कोइरालाको स्मृतिमा उहाँका सन्ततिहरू एसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्रा २०७९ सलोनी भण्डारी
३. दुर्गाप्रसाद-इन्दिरादेवी स्मृति पुरस्कार समाजसेवी दुर्गाप्रसाद आचार्यको स्मृतिमा उहाँका सन्ततिहरू कक्षा बाह्रमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी २०७९ तिलक नारायण श्रेष्ठ
४. माधव-सुशीला स्मृति पुरस्कार पञ्चावती मा वि का पूर्व गणित शिक्षक माधव दाहालको स्मृतिमा उहाँका सुपुत्र मदन दाहाल एसइईमा गणित विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी २०७९ बसन्ता तामाङ
५. ईश्वरीप्रसाद-पूर्णकुमारी स्मृति पुरस्कार पञ्चावती मा वि का पूर्व नेपाली एवं संस्कृत ईश्वरीप्रसाद निरौलाको स्मृतिमा उहाँका सन्ततिहरू एसइईमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी २०७९ चानस राउत
६. अमृत बहादुर- लक्ष्मीकुमारी कार्की पुरस्सकार समाजसेवी अमृत बहादुर कार्कीको सम्मानमा उहाँका सन्ततिहरू कक्षा ८ को परीक्षामा सर्वोत्कष्ट अङ्क हासिल गर्ने एक जना छात्र र छात्रा २०७९ विनिता राई नमस राउत
२०८० दपेक्षा रनपाल हेम कुमार सुनुवार

यी सबै पुरस्कारको राशि रु. ५,०००/- रहेको छ ।

 

 

 

पुरस्कार वितरणको क्रममा १ देखि ९ कक्षासम्म २०८० सालको वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीहरूलाई (कक्षा ८ का प्रथमलाई अलग्गै पुरस्कार प्रदान गरिएको हुनाले यस क्रममा पुरस्कृत नगरिएको) पञ्चावती सद्भाव समाजका तर्फबाट रु. १०००/- का दरले पुरस्कार प्रदान गरिएको थियो । यसैगरी सो परीक्षामा विद्यालय प्रथम हुने छात्रा पवित्रा श्रेष्ठलाई समाजका सक्रिय सदस्य लोकेन्द्र कुमार थापाले पुरस्कृत गर्नुभएको थियो ।

सोही समारोहमा यस संस्थाका उपाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज कार्कीको पहलमा नेपाल दूरसञ्चार संस्थानबाट उपलब्ध गराइएक डायरी शिक्षकवर्गमा वितरण गरिएको थियो भने दिलिप कार्कीले मोबाइल बाइफाइ उपकरण विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज कार्की (पुरस्कार संस्थापक) र सदस्यहरू, प्रधानाध्यापक भक्तबहादुर राई एवं शिक्षकगण, पुरस्कार संस्थापक डम्बर कार्की, लब्धप्रतिष्ठित स्थानीय महानुभावहरू, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो ।

पुरस्कार वितरण शृङ्खलाको अन्तिम कडीको रूपमा २०८१ साल जेठ ९ गते नमुना माध्यमिक विद्यालय खाटडाँडा भलायडाँडामा लक्ष्मी स्मृति पुरस्कार वितरण समारोहको आयोजना गरियो । सो विद्यालयका पूर्वप्रधानाध्यपक दीनानाथ दाहाल र पार्वती दाहालले उहाँहरूकी दिवंगत छोरी लक्ष्मी (विनिता)[ दाहालको स्मृतिमा यो पुरस्कारको स्थापना गर्नुभएको हो । एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई प्रदान गरिने यो पुरस्कार २०७९ को लागि  पार्वती बस्नेतलाई प्रदान गरिएको थियो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ ।

यस विद्यालयमा समेत कक्षा १ देखि कक्षा ९ सम्म २०८० सालको वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीहरूलाई पञ्चावती सद्भाव समाजका तर्फबाट रु. १०००/- का दरले पुरस्कार प्रदान गरिएको थियो ।

   

सो कार्यक्रममा उदयपुरगढी गाउँपालिका वडा नं ८ का अध्यक्ष थिर बहादुर राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार कार्की र सदस्यहरू, प्रधानाध्यापक देवी बहादुर राई एवं शिक्षकगण, पुरस्कार संस्थापक दीनानाथ दाहाल, अभिभावक  एवं लब्धप्रतिष्ठित स्थानीय महानुभावहरू र विद्यार्थीहरूको उपस्थिति थियो ।

पुरस्कार वितरण कार्यक्रममा पञ्चावती सद्भाव समाजका अध्यक्ष डिल्लीरमण आचार्य उपाध्यक्षद्वय पदमराज कार्की र बोधकुमार घिमिरे महासचिव प्रदीपकुमार निरौला कोषाध्यक्ष केदार आचार्य सदस्य दीनानाथ दाहाल र साधारण सदस्य लोकेन्द्र कुमार थापा सक्रिय सहभागी हुनुभएको थियो । समारोहमा उपस्थित महानुभावहरूको मन्तव्यबाट विद्यार्थीहरूलाई प्रेरणा र हौसला मिलेको विश्वास लिइएको छ । समाजका पूर्वअध्यक्षद्वय ओमबहादुर राउत र मधुरमण आचार्यले कार्यक्रममा प्रत्यक्ष सहभागी हुन असमर्थता व्यक्त गर्नुका साथै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *