‘अब यसपटक त मलाई प्रधानमन्त्री दिनुपर्छ सभापतिज्यू ।’ – अध्यक्षले बोलिहाले ।
सभापतिलाई अरू कसैलाई प्रधानमन्त्री दिन मन हुने कुरै थिएन । भरखर ठुलो लगानी लगाएर संसदीय दलको नेताको चुनाव जितिएको थियो । कतिलाई मन्त्री बनाउँछु भनेर भोट हाल्न लगाइएको छ, कतिलाई नोटको खाम थमाएर भोट हाल्न लगाइएको छ । तिनलाई मन्त्री पनि बनाउनु पर्यो, बाँडिएको खामबाट पुगेको क्षतिको पुर्ताल पनि गर्नुपर्यो । चुनावमा गरेको बाचा पनि त पूरा गर्नु पर्यो । प्रधानमन्त्री हुनेलाई भोट हाल्नु, हेलिकप्टर चढेर आउन सक्नेलाई भोट हाल्नु भनेर उनले पनि भोट मागेकी छन् । अहिले त बिर्सिसकें तर आफूले पनि त केही भने हुँला, चुनाव प्रचार गर्न गएको थिएँ । कसरी छोड्नु प्रधानमन्त्री ?
‘मने चुनावमा जानुअघिकै सल्लाह थियो, चुनावपछि म प्रधानमन्त्री बन्ने भन्ने ।’ – यो शून्यता अध्यक्षलाई मन परेको थिएन । उनले सहमति लिन बल गरे ।
‘पार्टीमा छलफल गर्नुपर्छ ।’ – साह्रै थोरै बोल्ने सभापतिले यति बोले ।
‘पार्टी’मा छलफल पनि भएको थियो । पार्टी अर्थात् पार्टनर, पार्टनर आर्थात लाइफ पार्टनर । राजीतिक संगठन त दल हो । संविधानले नै दल भनेको छ । दल मतलब दलदल । केटाहरू मिलेर फसाउन मात्र खोज्छन् ।
‘बूढानीलकण्ठको घर मर्मत हुँदैछ । प्रधानमन्त्री छोडेर बस्न कहाँ जाने ? भाडाको घरमा ? बरू अर्को अढाइ वर्ष तपाईंलाई दिउँला भनिदिनुस् न ! रात रहे अग्राख पलाए । अढाइ वर्षपछि भरसक पद छोड्नु पनि नपर्ला । कथम् कदाचित छोड्नु परे पनि घर त मर्मत भइसक्छ । अहिले नछोड्नुस् ।’
पार्टीबाट यही आदेश आएको थियो ।
अध्यक्षलाई नै प्रधानमन्त्री बनाएर उनलाई उपप्रधानमन्त्री बनाउने र बालुवाटारबाट उपप्रधानमन्त्री निवास जाने भन्ने पनि सोच नआएको हैन । तर आफ्नाे नाम अनुसारको काम त त्यो हैन भन्ने मनमा आएपछि त्यो विचार उसै सामसुम भयो ।
वेला न कुवेला प्याच्च बोल्ने आफ्नै बानी पनि पटक्कै मन परेन उनलाई । चुनावअघि के सुरमा ‘प्रधानमन्त्री भनेर भन्देखुन तपाईं नै हुनुहोस्’ भनेर भनेछु जस्तो लाग्यो । फेरि त्यति नभने गठबन्धन नै नटिक्ला जस्तो पनि थियो । गठबन्धन टुटाउन बालकोटका अध्यक्ष लागिपरेका थिए । सजिलै चुनाव जित्ने उपाय पनि त त्यही थियो । आफ्नै दलका केटाहरूले पनि अनेकथरि बखेडा झिकिरहेका थिए । के भनिसक्नु छ र ? फेरि पहिला त मंसिरमा चुनाव हुँदा नयाँ सरकार गठन हुँदा फागुनमा लागिसकेको थियो । संविधान उही छ, कानुन उही छ, किन छिटो भएको हो यसपालि ?पुसमै के भाउँतो आइलागेको हो यो ? २७५ सिटको संसदमा जम्मा ३२ सिट जितेर पनि प्रधानमन्त्री हुन्छु भन्ने आँट पनि कसरी आएको हो फेरि !
‘आजै हो प्रधानमन्त्रीमा दाबी गर्ने अन्तिम दिन । चाँडैं निर्णय दिनुस् । नत्र म बालकोट जान्छु ।’- अध्यक्ष रोकिएनन् ।
‘पख्नुस् । म पार्टीमा छलफल गर्छु ।’- उनले निर्णय दिन सकेनन् ।
अध्यक्ष त उठेर हिँडिहाले ।
यी अध्यक्ष पनि अचम्मका छन् । बालकोटको ब पनि सुन्न सक्दिन भनेर पटकपटक भनिरहन्थे । उनकै लहैलहैमा अरूले पनि बालकोटसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए । अहिले गठबन्धन तोडेर, ती आशामुखीलाई छोडेर यी अध्यक्ष कसरी बालकोट जान सकेका ? फेरि तेलपानी एकातिर पिना बाहिर हुने भो त ? बिपीले त भनेका थिए, वामपन्थीको भर पर्नु हुन्न भनेर । तर के गर्नु ? बिपीलाई जस्तो सजिलो कहाँ छ र अहिले ? खाउ र खान देऊ नै राजनीति बनेको छ अहिले । फेरि यस्तै वेला त हो नि बिपीलाई सम्झन पाइने । अरू बेला त ठेकेदार र व्यापारीको कुरो सुन्दै समय जान्छ । व्यापारीको कुरो त सुन्नै पर्यो, भनेर भन्देखुनलाई ! आफ्नै छोरो पनि व्यापारमै छ । अब के पो हुने हो कुन्नि !
कार्यकर्ताले कुरा पहिला नै मिलाइसकेका हुनाले बालकोटका अध्यक्ष यी अध्यक्षलाई स्वागत गर्न तयार नै थिए । बालकोटको बार्दलीमा दुई अध्यक्षका बिच भालाकुसारी भयो ।
‘जनआन्दोलन, महान् जनयुद्ध, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र र मेरो आफ्नो प्रधानमन्त्री हुने चाहनाको रक्षाको लागि मने म त यहाँ पो आइपुगें । अलिअलि अप्ठेरो पनि लागिरहेको छ । ऐतिहासिक पृष्ठभूमिका आधारमा वर्तमानमा मैले चालेको गठबन्धन परिवर्तन गर्ने यो अग्रगामी छलाङ अलि आश्चर्यजनक पनि छ कि ?’ – अतिथि अध्यक्षले भने ।
‘किन अप्ठेरो मान्ने ? गोरू नाङ्गो देखेर कसलाई आश्चर्य लागेको छ र ?’ – आतिथेय अध्यक्षले यसो भनेर परिस्थितिलाई सहज बनाइहाले ।
‘तपाईंलाई प्रधानमन्त्री चाहिएको छ । प्रधानमन्त्री पहिलो दुई वर्ष तपाईंलाई भो । त्यसपछि म हुन्छु । अरू कर्याककुरूक पद मेरो पार्टीलाई दिनुस् । कुरो खत्तम, खेल खत्तम !’ – सन् १९७० को हिन्दी फिल्मको गीत जस्तो यही मनमोहक र सुरिलो स्वर सुन्न त उनी यहाँ आइपुगेका थिए । यति सुनेपछि उनलाई बालुवाटार छोडेर बालकोटतिर हिंडेको ठिकै भो जस्तो लाग्यो ।
‘मेरो अग्रगमनको अजेन्डा अध्यक्षज्यूले बुझिहाल्नु भो । अब मिलेर जान सकिन्छ भन्ने हाम्रो बुझाइ छ । बुढा नसहनेदेखि राजा चाहिने, घुस नचाहिनेसम्मका पार्टीलाई मिलाएर सरकार बनाउनु छ । अब मिलेरै जाने हो । सबैलाई कम्फरटेबल हुने गरी सरकार चलाउने बिचार गरेको छु । अहिले रूक्माङ्गत पनि छैनन्, पशुपतिमा पुजारी जोसुकै होस् अब ! अलि सजिलो पनि ठानेको छु । जाउँ त शीतल निवास । दिन पनि बित्न लाग्यो ।’- पाहुना अध्यक्षले यसो भन्दा उनका दुवै कुमले सिलिङ ताकिरहेका थिए ।
‘तपाईं पहिला त्यसै रिसाउनु भो र उता लाग्नु भो । हामी दुवैजना बोइङका को -पाइलट थियौं । तपाई जानुभएपछि मैले बोइङबाट केही यात्रु खसालेर अलि हलुका बनाएर उडाउनु पर्यो । मैले पहिला पनि म प्रधानमन्त्री भए तपाईं दोस्रो अध्यक्ष, तपाईं दोस्रो अध्यक्ष हुँदा म प्रधानमन्त्री हुन्छु भनेकै थिएँ ।’ आतिथेय अध्यक्षले वाक्पटुता प्रयोग गरी दुवै अवस्थामा आफैंलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका थिए । तर उनकै सहयोगमा प्रधानमन्त्री बन्न लागेको समयमा किन यो कुरा उठाउनु भनेर अतिथि अध्यक्ष चुप लागे ।
‘अध्यक्षलाई बालकोट पठाउँदा प्रधानमन्त्री त गयो गयो, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री के के गयो गयो ! पटकपटक आफूलाई सघाएका तनहुँका बाजेको सपना पनि सोम शर्माको सपना हुने भो । हजुरले के गरिस्सेको यस्तो ? सकेसम्म दङ्ग्याउनु पो भनेकी त ! जान लाग्दा च्याप्प पक्डेर कुरो मिलाउनु पर्दैन । अब वामपन्थीसँग मिल्नु हुन्न भनेर पहिलदेखि कराउने केटाहरूले दलको बैठकमा आगो बाल्छन् ।’ – यो कसबाट मर्जी भयो होला भनेर पाठकले नबुझ्ने कुरै भएन । अध्यक्ष हिँडिसकेपछि र दलका अरू नेताहरूलाई नबोलाइएको अवस्थामा बालुवाटारमा अरू को बाँकी थियो होला र ?
‘घर मर्मत चाइन्जो घर मर्मत ! यही घर मर्मत भइरहेको हुनाले कता सर्ने भन्ने चिन्ताले ठिकसँग सोच्न पनि सकिएन भनेर भन्देखुनलाई ! त्यसरी फ्याट्ट हिंड्छ कोही ! गठबन्धन छोड्दिन भनेर यसरी हिँड्ने ।’ वार्ताका लागि आएका सहयात्री बालकोट लागेपछि भुतभुताउनुबाहेक के उपाय थियो र !
‘फोन गर्नुस् अब ! प्रधानमन्त्री जो बन्छ बनोस् ! पार्टी सत्तामा त रहनै पर्छ । एक वर्ष हैन, दुई वर्ष हैन, पूरै पाँच वर्ष ! के गरेर बस्नु ! लार्भाजस्ता कति खाए पनि नअघाउने कार्यकर्तालाई चारो छर्नै पर्यो । पाँच वर्ष व्रत बस्न सकिन्छ कतै !’ -पार्टीको निर्देशन परिवर्तन भयो ।
‘अब तपाईं प्रधानमन्त्री बन्नुस् । मिलेर जाउँ अब ।’ बालकोटमा फोन गरेर उनले भने ।
‘तपाईंकहाँबाट हिंडेका अध्यक्ष पनि यहीं हुनुहुन्छ । हाम्रो कुरो मिलिसक्यो । तपाईं पछि पर्नु भयो । सहकार्य पछि गरौंला ।’ – बालकोटमा घरपट्टि अध्यक्षले यसो भन्दा पाहुना अध्यक्ष मुस्कुराइरहेका थिए ।
बालुवाटारबाट फोन अब बालुवाटार छोडेर बालकोट पुगेका अध्यक्षलाई आयो – ‘लु लु भो, अब तपाईं नै प्रधानमन्त्री । पार्टीमा कुरो मिल्यो आइहाल्नुस् ।’
‘अब बालकोटबाट यताउता लाग्ने कुरै छैन, सभापतिज्यू ।’ यति भन्दा एक गठबन्धनबाट अर्को गठबन्धनका यात्रा गरिरहेका अध्यक्ष निकै इमानदार सुनिन्थे । अहिले चाहिँ उनलाई को-पाइलट मात्र हैन क्याप्टेन नै बनेको अनुभूति भयो ।
‘अब केटाहरूलाई बोलाउनु पर्यो । भाडाको घर खोज्नुपर्यो । बालुवाटार छोड्न नखोज्दा दलको मुखमा आएको सत्ता उम्कियो । ए ती यता घुमिरहने नेताहरूलाई बोलाओ ।’
‘सभापतिज्यू के सेवा गरौं ?’ यो आवाज उनका वरिपरि उपग्रहझैं घुमिरहने संस्थापन गुटका नेताहरूमध्ये जोसुकैको हुनसक्थ्यो ।
‘घर खोज एउटा । सर्नु परेन ?’ सभापति झर्के ।
‘घर खोजे पनि एक महिनाको लागि खोज्नुपर्छ सभापतिज्यू । विश्वासको मत लिने वेलासम्ममा पासा पल्टाउनु पर्छ । बालकोटका अध्यक्ष त हजुरका महाकाली सन्धिदेखिका परम मित्र हुनुहुन्छ । हजुरले सुरुमा प्रतिनिधिसभा विघटन र मध्यावधिको विरोध नगरेर उहाँलाई राजनीतिक गुन पनि लगाउनु भएको छ । फेरि प्रधानमन्त्रीकै अफर हानेपछि कसो मन नपग्लेला ? बरू सल्लाह सुरु गरिहाल्नुपर्छ । हजुर नयाँ प्रधानमन्त्रीको शपथग्रहणमा जानुपर्ला, यसो पुगेझैं गरी फर्केर आइहाल्नु होला । सल्लाह गर्नुपर्छ ।’
सभापतिजीको आँखामा अनुपम चमक देखियो । ज्योतिषीको तोलाको बोली खोलामा कसरी जाला त !
(सत्यता र यस लेखको बिचमा गोरू बेचेको साइनो पनि छैन ।)
