विदेश यात्रा मजस्ता मानिसको लागि सजिलो कुरा होइन । पहिलो त यो महँगो छ । घरका दुई जना एक हप्तामात्र विदेश घुम्न चाहिने पैसाले करिब वर्षदिन खान पुग्छ । यो चानचुने खर्च होइन । फेरि रिटायर भएर बसेको अवस्थामा आम्दानीको स्रोत केही छैन । दोस्रो, हामीलाई भिसा दिन हत्पति कोही तयार हुँदैन । अमेरिका र युरोपको भिसा पाउनु दुर्लभ प्रायः छ । एशियाका पनि सम्पन्न देशहरूले निकै कडाइँ गरेका छन् । नेपालीहरूले अक्सर घुम्ने थाइल्यान्ड र युएई (दुबई) मा पनि भदौमा भएको आन्दोलनपछि भिसामा कडाइ भएको बुझिन्छ । यसका अतिरिक्त खानपान नमिल्ने जस्ता समस्या पनि हुनसक्छन् । यस्तो परिस्थितिमा विदेश यात्राको तारतम्य मिलाउनु मेरा लागि सजिलो थिएन, छैन ।
जागिरबाट अवकाश पाएको र अवकाशको पत्रसँगै केही रकम पनि हात परेको अवसरमा हामी दुई जनाले पहिलो पटक विदेश यात्रा गरेका थियौ । मलेसिया, सिंगापुर र इन्डोनेसियाको केही दिने भ्रमण गरेका थियौं । त्यो रमाइलो भ्रमणको समाप्तिमा दुईचार वर्षको अन्तरालमा भए पनि यस्तो भ्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर त्यो पूरा हुनु सजिलो थिएन । पैसा सकिँदै गयो । समय तानिदै गयो । भारतका तीर्थहरू घुम्ने मौका मिले पनि ठुलो प्लेन चढ्ने चाँजोपाँजो चाहिँ मिलेन ।

त्यसपछि त झन् घर बनाउने काम आइलाग्यो । त्यसमा पनि एक वर्षभन्दा बढी समय लाग्ने भैहाल्यो । अति झन्झट र तनावयुक्त यो काम हामीले लामो समयसम्म पन्छाइरहेका थियौं । फेरि पनि त्यो काम गर्नैपर्ने भयो, घर बनाउनै पर्ने भयो । त्यही वेला मनलाई सान्त्वना दिएको थिएँ- आफ्नै हातले पैसा खर्च गरेर किफायती तरिकाले घर बनाउने र घर बनाइसकेपछि एकपटक फेरि विदेश घुम्न जाने ।
तर कथा सोझो रेखामा बगेन । घर बनाउने अनुभव थिएन । आफ्नो अनुभव नभएको कारण कुनै कन्सट्रक्सन कम्पनीलाई घर बनाउने जिम्मा दिने सोच पनि नआएको होइन तर केही कारणले कन्सट्रक्सन कम्पनीलाई घर बनाउन दिइएन । पहिलो, आफ्नो पैसा आफ्नो हातले खर्च गर्नुको आनन्द लिन । दोस्रो, सामानको मात्रा र गुणस्तरको विषयमा कन्सट्रक्सन कम्पनीसँग आउनसक्ने विवादबाट बच्न । तेस्रो, घर बनाउने कामको अनुभव आफ्ना छोराहरूले पनि लिन सकुन भन्ने अभिप्राय । चौथो, आफ्नो हातले पैसा खर्च गर्न पाउँदा केही किफायत पनि हुन्छ कि भन्ने आश । अरू सोचाइ त ठिकै पनि भयो तर पैसा किफायत गर्ने सोच सही प्रमाणित भएन । आफ्नो अनुभव नभएपछि जसोजसो बाहुन बाजे उसैउसै स्वाहा गर्नुको विकल्प थिएन । यसरी स्वाहा गर्दै जाँदा आफ्नो पैसा नै स्वाहा भयो । किफायत गर्न खोज्दा झन् महँगोमा परियो कि जस्तो लागिरहेको छ ।
कुनै पनि काम गर्दा समय र बजेट नाघ्ने प्रवृत्ति सरकारमा मात्र होइन रैछ । घर बनाउने काम पनि न निर्धारित समयमा सकियो न सोचेको पैसाले पुग्यो । खर्च गर्दै जाँदा ‘घर बनाउने कोष’ त सकिने भैहाल्यो, भैपरी आउने कोषको पैसा पनि रकमान्तर गरी घर बनाउने शीर्षकमा नै रकमान्तर गरियो । बैंकमा पहिला नै खोलेको ओभरड्राफ्ट खाताले आफ्नो अन्तिम सीमा छोएर विश्राम लियो । केही काम र भुक्तानीहरूले छोराहरूको तलब पर्खिए । केही सप्लायरहरूको अफिसमा उधारो खाता खोलियो। यसमा सन्तोषको कुरा के छ भने माखामुद्रा बजार पुगेनन्, ऋणको थप खाता खुलेन ।
यसरी घर बनाउन नै आकासपाताल गरेर खर्चको व्यवस्था गर्नु परेकाले घर बनाइसकेर घुम्न जाने कुरा हावादारी सपना जस्तो हुन थाल्यो । बजारमा उधारो खाता जिउँदो राखेर फेसबुकमा भ्रमणको फोटो हाख्नु त्यति शोभनीय लागेन पनि । पहिला त्यो उधारो हिसाब मिलान गर्नु थियो । नभन्दै केही समयपछि तानतुन गरेर उधारो खाता पनि बन्द गरियो।
अब विदेश घुम्न जाने कार्यक्रम भारत तीर्थयात्रामा रूपान्तरित भयो । भदौको अन्तिम साता अयोध्या लगायतका केही तीर्थस्थलहरूको भ्रमण गर्ने करिब दश दिनको कार्यक्रम तय भइसकेको थियो । त्यही समयमा जेन-जी आन्दोलन भयो । आन्दोलनले मन विचलित बनायो । त्यो परिस्थितिमा भ्रमणको आनन्द लिन सकिने कुरै थिएन । पासपोर्ट बोकेर जानुपर्ने तेस्रो देशको यात्रा त सपना भएकै थियो, नागरिकताको प्रमाणपत्र बोक्दा पुग्ने भारत यात्रा गर्न पनि असमर्थ भइयो । हाम्रो यात्रा रद्द भयो । हाम्रो झोला कुनामा थुप्रिएरै बस्यो ।
यस्तैमा केही पूर्वसहकार्मी साथीहरूले ‘हामी त विदेश घुम्न जाँदैछौं, तपाई पनि जानुहुन्छ भने सँगै जाऊँ‘ भनेर प्रस्ताव राखे । हाम्रो विदेश जाने मुर्झाएको सपनाले पानी भेटे झैं भयो । तर उहाँहरूको गन्तव्यमा हामी पहिला नै पुगिसकेको हुनाले कुरा मिल्न सकेन । राम्रा ठाउँमा जतिपटक पुगे पनि हुने हो तर एकै ठाउँमा दोहोर्याएर जाँदा हाम्रो पैसाले उचित मूल्य पाउँदैनथ्यो । विना काममा नै सही, पैसा खर्च गर्दा भ्यालु फर मनी हेर्नै पर्छ । हामी सँगै नजाने भयौं ।
कहिले जाने भनेर मच्चियो, अनि नजाने भनेर थच्चियो । यसै गरी हाम्रो समय बितिरहेको थियो । ‘जाने भए कुनै प्याकेज हेरेर गइहालौं, नभए वास्तै नगरौं । यसरी बारम्बार मच्चिदाँ र थच्चिँदा त घर बसीबसी गलिसकियो ।‘ सहयात्रीको यस्तो प्रस्ताव आए पछि एउटा निष्कर्षमा पुग्नु नै पर्ने नै भयो । छोराहरूले पनि ‘जानू, घुमेर आउनू‘ भनेर उकासिरहेका थिए ।
ट्राभल एजेन्टमार्फत यात्रा गर्नु महँगो भए पन विदेशको यात्रा आफैंले व्यवस्थित गर्न सकिन्छ जस्तो मलाई लाग्दैन। बुढेसकालमा अलमलिएर दुःख पाउनुभन्दा अलिकति पैसा बढी खर्च गर्नु नै सस्तो लाग्छ मलाई । अरू देशको प्रणाली बुझ्न नै केही समय लाग्छ होला । हाम्रो देशमा मेट्रोको त कुरै छोडौं, बस पनि व्यवस्थित नभएकाले मलाई त त्यहाँको सार्वजनिक यातायात प्रयोग गर्न पनि अप्ठेरो लाग्छ । ती प्रणाली अप्ठेरा छैनन् भन्ने मलाई थाहा छ तर मेरालागि अपरिचित छन् । अपरिचितसँग अभ्स्त हुने लाग्ने समय र धैर्य मसँग छैन । स्थानीय भाषा नबुझिने र स्थानीयले अंग्रेजी नबुझ्ने अवस्थामा त अझ असजिलो हुन्छ । त्यसैले विदेश भ्रमणको क्रममा म ‘प्याकेजमं शरमं गच्छामी’ नै हुन्छु ।
साथीहरूले आफ्नो प्याकेज कन्फर्म गरिसकेका थिए । गन्तव्य अलग्गै भए पनि एउटा प्याकेज खरिद गर्न म पनि साथीहरूकै ट्राभल एजेन्टकोमा गएँ । एकछिन गफगाफपछि हामी निष्कर्षमा पुग्यौं। भियतनामको दानाङ र हानोइ घुम्ने एक हप्ते भ्रमण कार्यक्रममा सहमति भयो । केही अग्रिम भुक्तानी गरेर म घर फर्कें ।
विदेश घुम्न जान उक्साउने छोराहरूले खातामा केही पैसा हालिदिए । यसले गर्दा विदेशी मुद्रा साट्न र ट्राभल एजेन्सीलाई बाँकी भुक्तानी गर्न सजिलो भयो । अनि हाम्रो विदेश यात्रा सुनिश्चित भयो । यसरी चाँजोपाँजो मिलाएर २०८२ साल माघ ५ गते राति ११ बजेतिर हामी भियतनाम जाने क्रममा सिंगापुर एयरलाइन्सको जहाज चढेर सिंगापुरतर्फ लाग्यौं ।
(बाँकी फेरि जाँगर चलेपछि)
