बोधकुमार घिमिरेको कथा सङ्ग्रह ‘बलिदानका कथाहरू’ पढें । नातामा दाजु भए पनि मित्रवत् सम्बन्ध भएकाले यो किताब उपहारस्वरूप नै पाएको थिएँ । साहित्य सिर्जनामा लामो समयदेखि तल्लीन रहेका लेखकको यो पहिलो पुस्तकाकार कृति हो । यसका लागि म लेखकलाई बधाई दिन्छु ।
यस कथा सङ्ग्रहमा एघारवटा कथा छन् । यी कथाहरूले नेपाली समाजको सजीव चित्रण गरेका छन् । जनमानसमा रहेको विश्वास प्रकट गर्ने मिथक पनि यस सङ्ग्रहमा छ ।
कथानक
यी कथाका कथावस्तु मूलतः सामाजिक यथार्थवादमा आधारित छन् । समाजमा भएका र हुनसक्ने घटनाका आधारमा कथानक बुनिएको छ । कल्पनाभन्दा पनि सत्यघटनाको प्रस्तुतिमा कथाकारको जोड रहेको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृश्य’, ‘आस्थाको अवसान’ र ‘पल्लो घरको बत्ती’ शीर्षकका कथामा समाजमा माओवादी ‘जनयुद्ध’ क्रियाशील हुँदा त्यसले समाज र व्यक्तिमा त्यसले पारेको असर र प्रभावको विहङ्गम चित्रण रहेको छ । ‘सेतो लुगा’ले एकातिर आफूलाई द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने कथित क्रान्तिकारी व्यक्तिका रूढीग्रस्त मानसिकता र आडम्बर देखाएको छ भने अर्कोतिर सोच होइन बोली मात्र प्रगतिशील भएका कार्यकर्ताको दास मनोविज्ञान पनि उजागर गरेको छ । कथा संग्रहको शीर्षक ‘बलिदानका कथाहरू’ चयन गरेबाट लेखकले यिनै कथाहरूलाई प्राथमिकता दिएको देखिन्छ ।
‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ मा उदयपुरगढी आसपास प्रचलित मिथकलाई कथाको आकार र स्वरूप प्रदान गरिएको छ । मिथक भए पनि पुस्तान्तरण हुन नसकेर लोप हुन लागेका विश्वासहरूलाई (म त्यही ठाउँमा हुर्किएको भए पनि मैले यी मिथक सुनेको थिइनँ) यी कथाका माध्यमबाट दीर्घजीवन प्रदान गरिएको छ ।
‘पश्चात्ताप’, ‘भिडियो कल’ र ‘हराएको लेखक’ समसामयिक नेपाली जनजीवनका भोगाइहरू हुन् । ‘पश्चात्ताप’ र ‘भिडियो कल’ ले रेमिटान्स संस्कृतिको आलोकमा पारिवारिक विघटनको कथा भनेको छ भने ‘हराएको लेखक’ ले सामान्य ढंगले घरपरिवार चलाएर साहित्य सिर्जना र सामाजिक रूपान्तरणको काम गर्दाको कठिनाइ देखाएको छ ।
लेखक प्रगतिवादी कला र राजनीतिको हिमायती भए पनि यी कथाहरू परम्परागत अर्थमा प्रगतिवादी होइनन् । प्रगतिवादी साहित्यमा समाजको चित्रण हुनाका साथै त्यसमा भएको खराबीलाई हटाउन परिवर्तनको हुटहुटी पनि पाइन्छ । यसमा समाजको चित्रण छ तर परिवर्तनको हुटहुटी भने देखाइएको छैन, बरू परिवर्तनका कथित बाहकहरूमा भएको विकृतिको पर्दाफास गरिएको छ । परिवर्तनको आशा र सपना बोक्ने पात्रको पनि सर्वथा अभाव छ, केही छन् भने पनि ती पनि पराजित भएका छन् । ‘अधुरो चाहना’ मा जमुना र ‘अन्तिम दृष्य’ मा रामे र उसका बाउको शहादत, ‘आस्थाको अवसान’ मा बाउ, आमा, छोरा र बुहारीको सामुहिक आत्महत्या, ‘प्रतिज्ञा’ मा उर्गेनको मृत्यु, ‘पल्लो घरको बत्ती’ मा पल्लाघरे माइलाको परिवारकै हत्या, ‘सेतो लुगा’ मा जसवीर र ‘हराएको लेखक’ मा लेखकको पलायनले पूरै कथासंग्रहलाई वियोगान्त बनाएका छन् । ‘पश्चात्ताप’ को रविलालको विदेश यात्रा पनि पलायन नै हो । उदयचन्द्रको रथ र दलमुखीको अवस्था पनि त्यो भन्दा फरक छैन । विद्रोहको बारेमा लेखकको धारणा बलिदान गर्ने क्रान्तिकारीहरूको भन्दा फरक परेको (पेज नं. १२ को अन्तिम अनुच्छेद) र त्यो बलिदानले कुनै सकारात्मक परिवर्तन ल्याएको समेत नदेखिएको हुनाले यी कथाहरू वास्तवमा ‘बलिदानको कथाहरू’ नभएर ‘अर्थहीन उत्सर्गका कथाहरू’ हुन पुगेका छन् ।
जमुना (अधुरो चाहना) र उर्गेन (प्रतिज्ञा) को निधन भएपछि उनीहरूको समाधिमा समयमै पुग्न ती पात्रसँग अत्यन्त माया गर्ने पात्र चुकेका छन् । यसले ती पात्र आफ्नो भावनाप्रति इमानदार नभएको देखाएको छ र कथालाई कमजोर बनाएको छ । जेठी छोरी जन्मेको डेढ वर्षपछि आएर पन्ध्र दिनमा नै अंश खोज्ने छोराबुहारीको लागि उनीहरूको गर्भमा रहेको शिशुको पनि अंश लगाइएको छ (पश्चात्ताप) । यो घटनालाई समयचक्रले अनुमति दिन्छजस्तो लाग्दैन ।
पात्र
यस कथामा महिला र स्त्री पात्र सराबरी नै आएका छन् । उनीहरू कथालाई अघि बढाउन सक्रिय छन् । ‘अधुरो चाहना’ की जमुना, ‘उदयचन्द्रको रथ’ की केउवती, ‘प्रतिज्ञा’ की उर्गेन, ‘पश्चात्ताप’ की सरिता, ‘भिडियो कल’ का सासुबुहारीले कथालाई प्रमुख पात्रको भूमिकामा अघि बढाएका छन् । अन्य कथामा पनि सहायक पात्रको रूपमा मनग्गे नारी पात्र देखापरेका छन् । मिथकका पात्रलाई मानवीय पात्रका रूपमा सफल चित्रण गरिएको छ । अरू मानवीय पात्रहरू पनि हाम्रा समाजमा पाइने सामान्य, स्वाभाविक र जीवन्त पात्रहरू हुन् । यी पात्रहरूले निम्नमध्यम वर्गको प्रतिनिधित्व गर्छन् ।
कथामा आएका अधिकांश पात्र अपरिवर्तशील छन् । शिक्षा र अनुभवले उनीहरूमा तात्त्विक सुधार गर्न सकेको छैन । ‘अधुरो चाहना’ की जमुनाले स्वास्थ्यकर्मी लेखकको सल्लाह मान्दिनन् र राजनीतिक धार बदल्दिनन्, ‘अन्तिम दृष्य’ को रामे बाउको सल्लाह मानेर घरमा बस्दैन (माओवादीतिर लाग्छ नै), ‘आस्थाको अवसान’ मा घर फर्केका लडाकुले नयाँ जीवन सुरू गर्न सक्दैनन्, ‘पश्चात्ताप’ को रविलालको दृष्टिकोणमा पत्नीको व्यवहार र बाउआमाको सल्लाहले कुनै परिवर्तन ल्याउँदैन, ‘भिडियो कल’ मा झगडालु सासुबुहारी छोरा र पतिको आत्महत्यापछि पनि बाझिरहन्छन् । ‘सेतो लुगा’ मा न त नत्थुलाल न जसवीर, कसैले पनि बदलिँदो परिस्थिति अनुसार आफ्नो सोच परिमार्जन गर्न सक्दैनन् । ‘हराएको लेखक’ का निराश लेखकको पलायनले पनि उनमा कुनै परिवर्तनको सङ्केत देखाउँदैन । यस्ता अपरिवर्तनशील पात्रहरूको कारण पनि यी कथामा प्रगतिशील विशेषताको अभाव देखिएको हो ।
कथाका प्रमुख पात्रहरूले सारभूतरूपमा कडा निर्णय लिएको, सो निर्णयका कारण कथानकमा असामान्य मोड आएको र ती पात्रको जीवनमा असाधारण दुःख वा सुख प्राप्त भएको सन्दर्भ पाउन सकिन्न । प्रमुख पात्रको जीवनमा वातावरण र सहायक पात्रको भूमिका अहम् देखिन्छ । साथीको लहैलहैमा जनयुद्धमा सामेल हुने जमुना, रामेलगायतका पात्रहरू, पत्नीको लहैलहैमा लाग्ने रविलाल, आमा र पत्नीको झगडाका कारण झुण्डिने पात्र, सहयोद्धाको प्रश्नबाट भागेर खोलामा हामफाल्ने जसवीर, छोरा, सामाजका खराब तत्त्वहरू र किताब छाप्न नसकेको कारण पलायन हुने लेखक यसका केही उदाहरण हुन् । यस कथाका पात्रहरू परिस्थितिका दास छन् र स्थिति परिवर्तनका लागि सार्थक प्रयास गर्न सकेका छैनन् । यसैले कथानकमा कुनै चमत्कारिक मोड देखिएको छैन ।
कतिपय कथामा पात्रको नामकरण गरिएको छैन, ऊ, बाउ, छोरा, सासु, बुहारी भनेर पात्रलाई चिनाइएको छ । यसले गर्दा पात्र चिन्न पाठकलाई केही असजिलो पर्नसक्छ । पात्रलाई नामका साथ परिचय गराउँदा पाठकलाई पात्रको कल्पनिक पुनः सिर्जन गर्न सजिलो हुन्छ र कथा प्रभावकारी हुन्छ ।
परिवेश
अधिकांश कथाहरूमा उदयपुरगढी र नेपालटारको आसपासका इलाकालाई नै घटनाहरूको आधारभूमि बनाइएको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृष्य’, ‘आस्थाको अवसान’, ‘उदयचन्द्रको रथ’, ‘दलमुखी’, ‘प्रतिज्ञा’ र ‘हराएको लेखक’ शीर्षकका कथाको परिवेश प्रत्यक्ष वा प्रच्छन्नरूपमा उदयपुरगढी र आसपासको क्षेत्र नै छ । ‘प्रतिज्ञा’ कथाले पाठकलाई इलामतिर पनि पुर्याउँछ र लेप्चा जातिसँग चिनजान गराउँछ । अरू कथाको परिवेश स्पष्ट छैन ।
उदयपुरगढीको भूगोल, इतिहास र संस्कृति (मिथक) लाई पाठकसम्म पुर्याई लेखकबाट आफ्नो जन्मभूमिप्रति ठुलो सम्मान र स्नेह प्रकट भएको छ । दुई मिथक कथाबाट यस क्षेत्रका विभिन्न स्थानहरूको नामकरणमा प्रकाश पार्न खोजिएको छ । उदयपुरगढी, नेपालटार, गाइघाट, कटारी, लाहान, दर्बे, सान्धाने, डुम्रे, गजेथुम्का, ओख्रेनी, गोहिया, बगपती, चित्रेथाम, आम्बोटे आदि स्थानका नाम उल्लेख भएका छन् । दलमुखी कथामा नेपालटारको विस्तृत परिचय दिइएको छ । चिया पसलमा गरिने गफ (भिडयो कल) त नेपालटारको विशेषता नै हो ।
उदयपुरगढीको इतिहासमा नाम लेखिनुपर्ने पात्रहरू प्रसङ्गवश यस संग्रहका कथाहरूमा आएका छन् । गम्भीर बहादुर थापा, मोहनसिंह, शमशेर बहादुर, राममणि पोखरेल, अर्जुन खड्का, जीवराज ढुङ्गाना, विष्णु बहादुर राउत, भीम प्रसाद सेढाइँ, ध्रुव तिम्सिना जस्ता यस इलाकाका अग्रजहरूले यस संग्रहमा ठाउँ पाएका छन् ।
यस संग्रहमा भएका केही कथाहरूको उद्देश्य उदयपुरगढी र आसपासका क्षेत्रलाई पाठकसामु प्रस्तुत गर्नु पनि एक रहेको भन्न सकिन्छ । यस दृष्टिले यो कथा संग्रह आञ्चलिक विशेषता भएको कथा संग्रह भन्न सकिन्छ ।
सन्देश
यस कथा सङ्ग्रहमा राजनैतिक र सामाजिक विकृति र विसंगतिलाई उजागर गर्ने प्रत्यक्ष अनि त्यसविरूद्ध पाठकलाई जाकरूक र जुझारू बनाउने परोक्ष उद्देश्य रहेको देखिन्छ । खासगरी माओवादी जनयुद्धको क्रममा भएका राम्रानराम्रा घटनाहरूको वर्णनबाट त्यसक्रममा भएको विसङ्गतिको चित्रण भएको छ । ‘अधुरो चाहना’ मा कार्यकर्ताको संरक्षण र उपचारमा भेदभाव, ‘अन्तिम दृष्य’ मा क्रान्तिकारी पार्टीमा गलत तत्त्वको घुसपैठ, ‘आस्थाको अवसान’ मा रोमाञ्चक युद्ध उन्मादको चरम पतन र निराशा, ‘पल्लो घरको बत्ती’ मा सरकार र विद्रोही पक्षबाट भएको ज्यादती र ‘सेतो लुगा’ मा वैचारिक खुराक नपाएका ढुलमुले र दास कार्यकर्ता, प्रश्न उठाउने कार्यकर्तामाथि हुने ज्यादती, अन्धविश्वासबाट माथि उठ्न नसकेका भौतिकवादी नेताको चित्रण भएको छ । यसले विसङ्गति र विकृतिलाई उजागर गर्नु यस सङ्ग्रहका कथाहरूको उद्देश्य भएको प्रमाणित हुन्छ ।
माओवादी जनयुद्धको घोषित उद्देश्यप्रति कुनै विमति प्रकट गरिएको छैन तर युद्धको अपरिपक्व शैली र अर्थहीन बलिदानप्रति सधैं प्रश्न गरिएको छ ।
‘उनमा प्रचण्ड विद्रोह, त्याग र बदलाको भावना थियो । तर त्यसै अनुसारको अध्ययन र चेतना पटक्कै थिएन ।’
(अधुरो चाहना)
‘कति दुःखले हामीले जिताएको आफ्नै गाउँको माननीय त नचिनुला जस्तो गर्छन् ।’
‘समाजको यथास्थितिको विरूद्धमा विद्रोह त सिकायो तर त्यसपछिको समाधान सिकाएन ।’
(अन्तिम दृष्य)
‘ऊ र ऊ जस्ता पुराना र त्यागीहरू बिस्तारै पाखा लाग्दै जानथाले । ठुला साना नेताहरूले आआफ्नो स्तर अनुसार घरघडेरी जोडे । गाडी किने ।’
(आस्थाको अवसान)
‘गोली चले, बम फुटे । सर्वत्र आतङ्क छायो । दुवैतर्फका मरे । कतै नलाग्ने पनि मरे ।’
(पल्लो घरको बत्ती)
“कमरेड रक्तिमको बाबु मर्दा जान दिएको होइन ? काजक्रिया गर्न टालो बाँधेर बसेको होइन ?” साँझमा नन्दलालले प्रश्न गर्यो (जनयुद्धमा लागेको नन्दलाललाई भने बाबु मर्दा घर जान दिइएको थिएन) ।
“उनीहरू नेता, हामीले के बोल्न सक्छौं र ?” उसले जवाफ दियो ।
(सेतो लुगा)
‘प्रतिज्ञा’, ‘पश्चात्ताप’ र ‘भिडियो कल’ मा पनि सामाजिक क्षेत्रमा भएका विभिन्न विकृति उजगार भएको छ । समाजका गलत तत्त्वको पर्दाफास गरेर लेखकले असल पक्षको पक्षपोषण गरेका छन् ।
यी कथाले पाठकलाई वैकल्पिक धारको जीवनशैली अपनाउन अप्रत्यक्षरूपमा प्रेरित गर्छन् ।
भाषाशैली
पुस्तकाकार कृति पहिलो भए पनि लेखक लामो समयदेखि रचनाकर्ममा लागेका हुन् । त्यसैले उनको भाषाशैली राम्रो छ । लोकप्रचलित झर्रा र अनुकरणात्मक शब्द, जीवन्त संवाद, उखानटुक्काको प्रयोगले कथा सरर पढ्न सकिने नै छ । वर्णविन्यास र मुद्रणसम्बन्धी त्रुटिबाट यो पुस्तक पनि बच्न सकेको छैन ।
कथाभित्रका उपकथा (कथाको मुख्य पात्र वा कथानकसँग सोझै नजोडिएको कथा) र पूर्वकथा (फ्ल्यासब्याक) को संयोजन अझ राम्रोसँग गर्न सकिने गुञ्जाइस छ । लामा उपकथा र पूर्वकथाले कथालाई बोझिलो बनाउँछन् । समय र स्थान परिवर्तन भएको अवस्थामा कथालाई फरक खण्डमा विभाजन गरेर प्रस्तुत गरेको भए अझ राम्रो हुनेथियो । हराएको लेखकमा वृत्तात्मक कथानक छ (लेखक हरायो भनेर सुरू भएको कथा लेखक हरायोमा नै पुगेर सकिन्छ) । यो नयाँ प्रयोगले कथालाई शैलीगत रूपमा रोचक बनाएको छ ।
सुललित लेखनको एउटा उदाहरण-
‘बाटो माथि दुवै सरकारको अभियोग छ । यसले सुराकी ओसार्छ, सहरी सिपाही भित्र्याउँछ, जङ्गली सेनालाई खद्यान्न ओसार्छ, सदरमुकाम धावा बोल्न मद्दत गर्छ आदि । बाटो निरुत्तर छ, के सफाइ देओस् ।’
(पल्लो घरको बत्ती)
कथाहरूमा अक्सर तृतीयपुरूष र सर्वव्यापी दृष्टिविन्दु अपनाइएको छ । यी कथाहरूमा प्रयुक्त पात्रहरूको लागि नाम वा तृतीय पुरूष सर्वनामको प्रयोग गरिएको छ । यस्ता कथाहरूमा लेखक सबै पात्रको मन र कार्य एवं परिवेशको बारेमा धेरथोर जानकारी राख्छन् । ‘अधुरो चाहना’ मा भने प्रथमपुरूष र सीमित दृष्टिविन्दुको प्रयोग छ । यसमा लेखक नै पात्र बनेर उपस्थित भएका छन् ।
अन्त्यमा,
यो कथा सङ्ग्रह पनि एउटा पठनीय कृतिको रूपमा मैले पाएको छु । उदयपुरगढी क्षेत्रको भूगोल, इतिहास, समाज र संस्कृतिको अध्ययनको लागि यो एउटा सहायक सामग्री बन्न पुगेको छ । यो प्रकाशनले सफलता प्राप्त गरोस् र लेखकलाई समसामयिक कथाकारहरूको छोटोसूचीमा स्थापित गराउन सकोस् भनी कामना गर्दछु ।
एक स्वास्थ्यकर्मी, समाजसेवी र राजनीतिक कार्यकर्ता भएको कारण लेखकको अनुभव र कल्पनामा राम्रो कथा हुनसक्ने अनेकन विषयवस्तु खचाखच भएको अड्कल गर्न सकिन्छ । त्यसको स्पष्ट प्रमाण बलिदानका कथाहरू ले देखाइसकेको छ । कथाको प्रस्तुति कौशलमा केही परिमार्जन गर्नसके लेखकबाट निकै उच्चस्तरीय कथाको सिर्जना हुनसक्ने देखिन्छ । म चाँडै अर्को संग्रहको आशा गर्दै बिट मार्छु ।
