पुरानो पात झर्छ र नयाँ पाउला पलाउँछ । सृष्टिको नियम यही हो ।
हाम्रो सनातन संस्कृतिमा पनि चार आश्रमको व्यवस्था गरिएको थियो । अन्तिममा सन्यास आश्रमको व्यवस्था थियो जहाँ मानिस परिवार र समाजका झन्झटबाट मुक्त भएर बाँच्ने प्रावधान थियो ।
अहिले पनि मानिसहरू बुढो हुँदै गएपछि घरव्यवहार छोराछोरीलाई जिम्मा लगाएर बस्छन् । कर्मचारी त निश्चित अवधिपछि कानुनी रूपमा नै सेवा निवृत्त हुन्छन् । खेलाडी, कलाकार, व्यवसायी, राजनीतिज्ञहरू आफ्ना कामबाट घोषितरूपमा अलग भएको पनि बारम्बार सुनिन्छ । तर नेपाली राजनीतिमा भने पुस्तान्तरण अपेक्षित रूपमा स्वभाविक हुन सकेको छैन ।
पटकपटक व्यवस्था फेरेर, सत्तरी वर्षमा सातवटा संविधान ल्याएर, अनेक समीकरणका सरकार बनाएर पनि आफ्नो भाग्य र भविष्य सुरक्षित महसुस गर्न नसकेको नेपाली जनमानसले अब नेतृत्त्व परिवर्तनको माग गर्न लागेको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा यस कुराले प्रश्रय पाएको पनि थियो । दलीय व्यवस्थामा पार्टीका मुख्य पदाधिकारीहरू नै सरकारमा पनि जाने र उनीहरूको कार्यशैलीले देश र जनताको भाग्य र भविष्य बदल्न सक्ने हुनाले दलको नेता चुनिने महाधिवेशनमा सर्वसाधारण जनताको समेत चासो रहनु स्वभाविकै हो ।
नेकपा (एमाले) को अधिवेशनमा अध्यक्षले नै भावी कार्यसमितिमा रहने नेताहरूको नाम पढ्ने व्यवस्था मिलाइएकोले त्यहाँ पुस्तान्तरणको वातावारण रहेन । केही नेताहरूले प्रतिस्पर्धाको माग गरेकाले निर्वाचन भए पनि त्यो पुस्तान्तरणका लागि सहयोगी रहेन । पार्टी फुटेर/चोइटिएर एकीकृत समाजवादीका रूपमा नयाँ पार्टी गठन भएकाले पनि होला एमालेले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणतिर ध्यान दिन चाहेन । आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकार र पार्टीका गतिविधिहरूको सम्यक मूल्याङ्कन समेत नगरी स्थापित नेतृत्वलाई थप सबलीकरण गर्ने नीति अङ्गीकार गरेर एमालेको महाधिवेशन सकियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष पदमा युवा नेता निर्वाचित भए । त्यहाँ नेतृत्व हस्तान्तरण/पुस्तान्तरण सम्भव भयो । तर पूर्व अध्यक्षको प्रतिक्रिया हेर्दा भने नेतृत्व परिवर्तनलाई स्वभाविक रूपमा लिन गाह्रो परेको देखियो ।फेरि, नेपाली राजनीतिको अग्रगामी मानिएको धारलाई पछाडि फर्काउने नीति भएको दलले युवा नेता पाउनुलाई कुन अर्थमा ग्रहण गर्ने भन्ने प्रश्न पनि सजिलो छैन ।
नेपाली कांग्रेसको सभापति पदमा साविककै अनुहार दोहोरिए । अन्य प्रभावशाली पदमा नयाँ र युवा नेताहरू चुनिएर आएका छन् । यसले पार्टीमा नेतृत्वको हस्तान्तरण/पुस्तान्तरण अप्ठ्यारो भए पनि असम्भव भने नरहेको देखिएको छ । नेपाली कांग्रेसमा निकै पहिलादेखि ‘सभापति नै पार्टी, पार्टी नै सभापति’ भन्ने संस्कृतिको विकास भएको छ (यो संस्कृति अरू पार्टीमा पनि फैलदै गएको छ) । यो संस्कृतिले निरन्तरता पायो भने अरू पदमा नयाँ पदाधिकारी चुनिनुको महत्त्व कम हुने जोखिम छ ।
भरखरै महाधिवेशन सकेका केही पार्टीहरूको यो अवस्था रहँदा नेकपा (माओवादी केन्द्र) लगायत कतिपय कम्युनिस्ट पार्टीहरूको नेतृत्व केही दशकदेखि लगातार एकै व्यक्तिको हातमा रहेको छ ।नयाँ दर्ता भएको एकीकृत समाजवादी पार्टी पनि एमालेमा लामो समय महासचिव हुनुभएका नेताले नै हाँकिरहनु भएको छ ।
पश्चिमी मुलुकमा निश्चित समयावधिसम्म राज्य वा पार्टीको प्रमुख पदमा रहेपछि ती व्यक्तिहरू सदाका लागि सक्रिय राजनीतिबाट बाहिरिन्छन् । नेपालमा भने २०४६ सालको परिवर्तनपछि राजनीतिक पद लिएका/पाएका नेताहरू अहिले पनि “मैले नै मौका पाउनुपर्छ” भनेर कस्सिइरहेका छन् ।
नेपाली राजनीतिक दलहरूमा हस्तान्तरण/पुस्तान्तरणको प्रक्रिया किन यति गाह्रो भएको होला ! मैले सोच विचार गर्दा केही कारणहरू अडकल गरेको छु ।
- स्पष्ट सिद्धान्त, नीति र कार्यक्रमको अभाव
नेपालमा ठुला राजनीतिक परिवर्तनहरूमा दलहरूको नै प्रमुख भूमिका रह्यो तर ती परिवर्तनको क्रममा दलका नीति निर्माण गर्ने संस्थागत निकायको भूमिका भने कमजोर रह्यो । दलका मुख्य नेताले जे भने, दलको नीति नै त्यही बन्ने संस्कृतिको विकास भयो, त्यो प्रचलन आज पनि यथावत् छ । आज पनि नेताले जे भन्छन्, पार्टीको नीति त्यही हुन्छ । पार्टीको नेतृत्व गर्नु भनेको पार्टीलाई आफूले चाहेको बाटोमा लैजानु हो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आज स्थापनाकालीन मान्यताबाट धेरै टाढा आइसकेका छन् । यसमा पार्टीको संस्थागत निर्णय प्रक्रियाभन्दा तत्कालीन नेतृत्त्वको भूमिका बढी छ । पार्टीलाई आफ्नो व्यक्तिगत सोच, चाहाना र कतिपय अवस्थामा स्वार्थ अनुसार हिंडाउन पाइने भएकाले कोही पनि पार्टीको नेतृत्वबाट हट्न चाहदैन ।
- परिवर्तनको जोखिम लिन नचाहने युवा
नेतृत्व दिने कुरा होइन, लिने कुरा हो । युवा पुस्ता वा वैकल्पिक नेतृत्वले अब म आउँछु र पार्टीलाई नयाँ उचाइतिर लैजान्छु भन्न सक्नु पर्छ । कतिपय युवा नेतामा यस्तो हिम्मत देखिएन । पुराना पुस्ताका नेताको किल्ला रुँगेर बस्ने र तिनैले दिएको जिम्मेवारी र लाभमा चित्त बुझाउने युवाहरूको बाहुल्य देखिएको छ । स्थापित नेतृत्वसँग प्रतिपर्धा गर्नु सजिलो र जोखिमरहित त छैन तर राजनीति जोखिम लिन आँट नगर्नेका लागि होइन पनि ।
राजनीति अब देश र जनताको हित र श्रीवृद्धिको विषयभन्दा शुभलाभको विषय भएकाले यो जोखिम लिन कमैले चाहेका छन् । पराजयको मूल्य चुकाउन नसकेर युवाहरू विजयको यात्रामा जान हच्केका छन् । नेताको छत्रछायाँमा नै कतिपय युवा नेताले आफ्नो भविष्य सुरक्षित मानेका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा नै संस्थापनइतर भनिएका कतिपय नेताहरू संस्थापनको छत्रछाँयामा नै रहेको देखियो ।
- अनन्त सत्ता सुखको चाहना
पार्टीको नेतृत्वमा रहेमा सत्तामा पुगिने र सत्तामा पुगेपछि सत्तामा रहँदा पाइने स्वभाविक/अस्वाभाविक फाइदा उठाउने चलन हाम्रो जस्तो देशमा नौलो होइन । नेपाली कांग्रेसको अधिवेशनमा म सभापतिमा रहिन भने यो सरकार पनि टिक्दैन भनेर भोट मागेको पनि पढियो ।
राजनीतिमा लागेर आज जो जति धनी भए पनि अधिकांश नेताहरू समान्य हैसियत भएका परिवारका सदस्यहरू हुन् । आज राजनीतिको बाटोबाट पद, प्रतिष्ठा, घरजग्गा, धनदौलत कमाएकाहरूलाई त्यो सत्ता सुख छोड्न कठिन छ । राजनीति देश र जनताको सेवा गर्ने माध्यम थियो, अब कमाउने माध्यम भएको छ । सरकारी बहीखातामा बेरुजु बढिरहेको छ, स्विस बैंकमा नेपालीको निक्षेप बढिरहेको छ । राजनीति नै पेशा भएको छ र जोगी हुन राजनीति गरेको हैन भनेर कमाउने कामलाई नीतिगत रूपमा हाकाहाकी पृष्ठपोषण गरिएको छ । भ्रष्टाचारको जरो राजनीतिमा जोडिएको छ, राजनीतिक आडमा विभिन्न अपराधमा उन्मुक्ति समेत दिइएको छ । कानुनले दिएको र जनताले अपेक्षा गरेजस्तो मात्र काम गर्नका लागि त सत्तामा यस्तो लुछाचुँडी किन हुन्थ्यो होला र ? यस्तो विकृत राजनीतिबाट सन्यास लिन सजिलो हुने कुरै भएन ।
सत्ता र शक्तिको दुरूपयोग गरी धनी बनेका नेताहरूलाई प्रकारान्तरले चोरको संज्ञा दिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका नयाँ अध्यक्षले उल्टै राम्ररी हिँड्न नजान्ने बाच्छाको उपाधि पाए । हो पनि, नेपालमा अधिकांश नेता आफू नयाँ हुँदा स्थापित हुन सुशासनको कुरा गर्छन्, स्थापित भइसकेपछि खानेदाउ मात्र हेर्छन् ।
- अपारदर्शी कार्यप्रणाली
पार्टी र सरकार सञ्चालन हिजोभन्दा आज, आजभन्दा भोलि झन् जटिल भएको छ । पार्टीको आर्थिक स्रोतका रूपमा पार्टीका कार्यकर्ता र शुभेच्छुकहरू रहने कुरा अब इतिहास भइसकेको छ । देशभित्रका व्यापारी र उद्यमीबाट चन्दा लिने र सत्तामा रहँदा उनीहरू अनुकूल नीति निर्माण गर्ने वा ठेक्कापट्टा लगाउने कुरा नौलो रहेन । विदेशी शक्तिसँगको सम्बन्ध पनि पारदर्शी छैन । कतिपय दूतहरू र नेताहरूका बीच गोप्य मन्त्रणा भएको सुनिन्छ । त्यसपछि हामीलाई दुई पक्षीय हितका विषयमा कुरा भएको भनी बताइन्छ, विषयवस्तु अपारदर्शी नै रहन्छ । परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत नराखी भएका यी वार्ताका विषय पार्टी पङ्तिमा सहजै बताउन सकिने अवस्था पनि नहोला । ती चन्दा दिने व्यक्ति र विदेशी शक्तिप्रतिको दायित्व बहन गर्न आफैं नै सत्तामा आउनु उनीहरूका लागि अपरिहार्य छ । लिखित र घोषित नीति र कार्यक्रम त पार्टी प्रमुखको पदमा जो चुनिएर आए पनि कार्यान्वयन गर्ला । तर यी अघोषित सम्झौता र साँठगाँठ आफू नै सत्ता र शक्तिमा नपुगी कार्यान्वयन गर्न सकिन्न ।
यही कारण नेतृत्वले आफ्नो उत्तराधिकारीको विकास गर्न र स्वभाविकरूपमा सत्ता हस्तान्तरणको कार्य गर्न सकिरहेको छैन । आफ्नो उत्तराधिकारीको विकास गर्न नसक्ने नेतृत्व नै नेतृत्व विकासका दृष्टिले सबैभन्दा कमजोर नेतृत्व हो । नेपाल त्यसैको शिकार बनेको छ ।
- स्वतन्त्र व्यक्तित्वको अभाव
आजका हाम्रा कतिपय नेताहरूको राजनीति बाहेक अरू कुनै पहिचान छैन । राजनीतिबाट उनीहरू बाहिर आएपछि उनीहरूको व्यक्तित्व अर्थहीन हुन्छ । अमुक पार्टीको अमुक पदमा रहेको बाहेक ऊ अरू केही पनि होइन । उनीहरू पदमा रहेनन् भने आफ्नो अस्तित्वको अर्थ लगाउन उनीहरू आफैंलाई कठिन पर्छ । अनि राजनीतिमा दौडन नसके पनि घस्रन्छन् र देशकै गति अवरूद्ध पार्छन् ।
- दलहरूका बीचको साँठगाँठ
दलहरूका बीचमा आपसी सम्बन्ध हुनु स्वभाविकै हो । नेपालका दलहरूका बीचमा हुने सम्बन्धको पनि आफ्नै कथा छ । यहाँ कुनै निश्चित सिद्धान्त, विचार र कार्यक्रमका आधारमा दलहरूबीच सम्बन्ध विकासित भएको देखिदैन । हिजो शत्रुवत् व्यवहार गरेका दल र नेताहरू आज मिलिरहेका हुन्छन्, आज मिलेका दल र नेताहरू भोलि सत्तोसरापमा उत्रिएका देखिन्छन् । सत्ता स्वार्थले तिनलाई मिलाउँछ र अलग्याउँछ । यस क्रममा भएका गोप्य सहमति र साझेदारी, आलोपालोको परिपाटीले नेतालाई सँधै लोभ्याइरहन्छ । फेरि, बाहिरबाट हेर्दा दलहरूबीच मतमतान्तर जस्तो देखिए पनि पद र पैसाको मामिलामा यिनका बीचमा अविच्छिन्न एकता छ । संक्षेपमा भन्दा नेपालमा सत्ता र शक्तिको सिन्डिकेट चलिरहेको छ । जुन संविधान र जुन प्रणाली आए पनि कमबेशी उनै नेता स्थापित छन् । यो सिन्डिकेटभन्दा बाहिर जान कोही तयार छैन । भरखरै सम्पन्न महाधिवेशनमा भाग नलिएका नेपाली कांग्रेसका नेताले समेत राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति रहने बताएका छन् । आश र लोभको कुनै सीमा हुँदैन ।
नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरो गर्दा सिंगापुरका लि क्वान यु, मलेसियाका महाथिर र कोरियाका पार्क चुङ हीको लामो कार्यकाललाई पनि ध्यान दिनु त पर्ला । ती मुलुकमा ती नेताहरूले तीव्र विकासको नमुना नै प्रस्तुत गरेका थिए । तर आजको समयले त्यो युगको दृष्टान्त पचाउन सक्दैन । आज विज्ञानको, अझ सूचना प्रविधिको युग हो । हिजोको कुरा आज पुरानो भइसक्छ । हरेक दिन नयाँ सम्भावनाका मुना पलाइरहेका हुन्छन् । मुलुक र समाजले ती मुनालाई हुर्कने मौका दिएन भने ती ओइलाउँछन् र अपूरणीय क्षति व्यहोर्नुपर्छ । नेपालका वासिंगटन, अम्बेडकर र मन्डेला बुढा नेताहरूको भाषणमा ताली पिट्दापिट्दै मक्किएलान् कि भन्ने चिन्ता धेरैलाई छ । यी नेताले गरेको देखियो, अब यो भन्दा राम्रो गर्ने अरूले पालो पाउन् भन्ने सोचाइ नराम्रो होइन ।
राजनीतिलाई फोहोरको नालीबाट बाहिर ननिकालुन्जेल नेतृत्व हस्तान्तरण कठिन छ र नेतृत्व हस्तान्तरण नगरी राजनीतिको शुद्धीकरण सम्भव नहोला जस्तो भइसकेको छ । यो दुष्चक्रको अन्त्य होला भन्ने आशा र कामना गरौं ।
पुरानो पात झर्छ र नयाँ पाउला पलाउँछ । सृष्टिको नियम यही हो । सृष्टिको नियम त कसरी गलत होला र ?
