सधैंझैं मैले आज मेरो मुटुमा हात लगें
खाटा बसेको पाप्रो फेरि चलाउन खोजें
सानो खत छोडेर, घाउ निको भएछ
त्यो चोटले खै कसरी, प्रेम साहित्यलाई चुनौती दिएछ ।
हातमा घाउको पाप्रो लिएर म सोचिरहेछु
तिमी भविष्यद्रष्टा रहिछ्यौ
म निष्ठुरी रहेछु
म निष्ठुरी नभए कसरी निको भो ?
दुनियाँले असाध्य मानेको
बिछोडको त्यो घाउ ?
म निर्दयी पनि रहेछु
नत्र कसरी गाड्न सक्थें ?
आफ्ने मुटुमा चिहान खनेर तिमीलाई !
तिमीले वेलैमा नखसालेको भए कल्पनाको उडानबाट
म कति माथि पुगेर खसालिन्थें होला
कति चोट खान्थें होला, कति दुःख भोग्थें होला
तिमीले नदिएको भए बिछोडिनुको पीडा
म कसबाट पाउने थिएँ होला ?
एक पल्ट नखाएको भए धोका जिन्दगीमा
सायद जिन्दगीभर खाइरहन्थे होला ।
कसरी बुझ्थे होला म दुखान्त प्रेम साहित्य
फिलिम, नाटक र अरूका आँखाहरू
मुना मदन पढ्दा रून नसक्ने
म भावनाको गरिब हुन्थें होला ।
जिन्दगीका अनेक रङहरू चिन्न नसकेर
म ‘कलर ब्लाइन्ड’ हुन्थें होला ।
अब मनमा कुनै रोष छैन, दुःख छैन, पिर छैन
बरू साधुवाद छ, ती साना चोटहरूका लागि !
पीडाहरूमार्फत मेरो जिन्दगीको पूर्णताको लागि !