हिजो (२०७९ मंसिर २३ गते) त्रिभुवन विश्वविद्यालयको अठचालिसौं दीक्षान्त समारोह सम्पन्न भयो । हाम्रो कान्छो छोरा आकृत आचार्यको दीक्षित हुने पालो पनि यसैपल्ट परेको थियो । यो जमानामा कोही स्नातक हुनु ठुलो कुरा त रहेन, तैपनि आफ्नो काखमा हुर्केको सन्तान दीक्षित हुँदा बाउआमाको मनमा गौरवको अनुभूति त भैहाल्छ नै ! त्रिभुवन विश्वविद्यालयले त फगत् एउटा विद्यार्थी दीक्षित भएको ठान्ला, बाउआमाको मनमा त एउटा सन्तानले कामचलाउ शिक्षा प्राप्त गर्यो, तन्नेरी भयो, गरिखाने बाटो बनायो, एउटा सपना साकार भयो भन्ने पनि लाग्छ । हामी पनि गएका थियौं, छोराको खुशीमा रमाउन, आफैं पनि खुशी हुन । दिनभर पुल्चोकको घाम तापेर फर्कियौं ।

दीक्षान्त समारोह प्राज्ञिक जगतको लागि सबभन्दा गरिमामय कार्यक्रम हो जस्तो लाग्छ मलाई । अझ, यो एउटा शैक्षिक चाड हो । यस समारोहमा भाग लिन थुप्रै युवाहरू आएका हुन्छन् । गाउन लगाइरहेका, स्कार्फ मिलाइरहेका, टोपी उडाइरहेका, फोटो खिचाइरहेका, साथीहरूसँग हाँस्दै गफिइरहेका युवाहरूले पुल्चोक परिसर भरिएको हुन्छ । अलि पछि अध्ययन गर्ने मौका पाएका प्रौढहरू पनि युवा जोशका साथ त्यहाँ हुन्छन् । सानो बच्चा च्यापेर पनि दीक्षान्त समारोहमा आएको देख्छु । उपलब्ध र अनुकूल भएसम्म आफ्ना अभिभावक र आफन्त पनि ल्याएका हुन्छन् । हामी पनि त गएका थियौं । हरेकको आँखा बोलिरहेको हुन्छ, मुहार खुलिरहेको हुन्छ । यो जोश र यो खुशीले सबैको मनमा भएको निराशालाई एकछिनको लागि भए पनि नामेट पार्छ । क्षेत्र र क्षमता फरक पर्न सक्ला, आज दीक्षित हुनेले नै त भोलि देश हाँक्ने हुन् ।
मलाई त्यो भीडमा पनि आधा ठाउँ खालि भए जस्तो लाग्छ । हो त, यो त दीक्षित हुने युवाको आधा संख्या मात्र हो, आधा त विदेशमा पो होलान् । राम्रो शिक्षाको लोभ, गरिखाने वातावरणको आश, मौका मिले उतै समायोजन हुने चाहनाले युवालाई विदेश कुदाइरहेको छ । विदेशप्रतिको आकर्षण बढ्दो छ, नेपालप्रतिको विकर्षण कम हुन सकेको छैन । जन्मभूमि र आफन्तको मायालाई तुलोबाट झिकिदिने हो भने युवाको लागि नेपालको बसाइमा तौल नै पुग्दैन । जो बसेका छन्, बाध्यताले बसेका छन् भन्दा कुरो मिल्न खोज्छ । बाध्यता फरक होलान्, कतै भौतिक, कतै भावनात्मक । हुन त आफ्नो देश अरूले बनाइदिएन भनेर पलायन हुने हैन, तर त्यसभित्रका कथाव्यथा पनि सानातिना छैनन् । अहिले कै कुरो गरौं न !
भरखरै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सकिएको छ । कुनै दलले बहुमत ल्याउन सकेका छैनन् तर सत्ता गठबन्धन बहुमत नजिक पुगेको छ । अहिले समानुपातिकतर्फ कसलाई छान्ने भन्ने रस्साकस्सीमा दलहरू छन् । समानुपातिक कोटामा संसदमा आवश्यक मानिएका तर चुनावमा जान नसक्ने, जान नचाहने क्षेत्र, वर्ग र व्यक्तिको प्रतिनिधित्व गराउनु पर्ने हो तर समानुपातिक पद्धतिको मानक सिद्धान्तलाई नेपालमा प्रवेश निषेध छ । ठुला नेताका नातेदार, गुटका हिस्सेदार, आर्थिक स्वार्थका साझेदारहरूलाई समानुपातिक पद्धितको माध्यमबाट संसदमा पुर्याउने खेल भइरहेको छ । नेपालको आर्थिक, सामाजिक, शैक्षिक कुनै पनि क्षेत्र सन्तोषजनक छैन तर प्रगतिको बाटो खोल्ने हैन, नेपाललाई यथास्थितिमा राख्ने प्रयास जारी छ ।
राजनीतिमा युवाको उपस्थितिले नेपालको अवस्थामा सुधार आउला कि भन्ने जनतामा आशा छ । युवाको जनसंख्या बढी भएको मुलुकमा उनीहरूको भावना अनुसार काम गर्न युवा नै चाहियो भन्न थालिएको छ । राजनीतिका सबैजसो प्रयोग असफल सावित भइसकेको अवस्थामा अब नयाँ रगतले केही गर्छ कि भन्ने आश बाँकी छ । स्थानीय चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङको जितले यसैलाई प्रतिबिम्बित गरेको छ । यो चुनावमा पनि प्रतिनिधिसभामा ४० वर्ष नकटेका १० जना सांसद चुनिएका छन् । यीमध्ये नयाँ पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी) बाट ५ जना छन् । तर यी युवाहरूलाई राजनीतिकको स्थापित मञ्चमा खिसी र हाँसोको पात्र मानिएको छ । युवाहरूलाई राजनीति तिम्रो वशको कुरो हैन भनेर भनिदैछ । समाचार भन्नुपर्ने राजनीतिमा आएका छन्, बिरामी जाँच्नु पर्ने राजनीतिमा आएका छन्, प्लस टु सक्यो राजनीतिमा आयो भनेर तिनको हुर्मत लिइएको छ । यति मात्र हैन, युवा नेतृत्वको कारण युक्रेनले युद्ध भोग्नु पर्यो भनेर युक्रनी जनताको राष्ट्रप्रेमलाई हेला गरिंदैछ । युवाले गद्दी खोस्लान कि भन्ने डरले टाइम पत्रिकाको सन् २०२२ का वर्ष पुरूष जेलेन्स्कीले नेपालमा गाली खाइरहेका छन् । यी युवाले नेपालमा धेरै पार्टी भएका कारण राजनीतिक अस्थिरता भएको हो, दुई पार्टी मात्र हुनुपर्छ भन्ने कतिपय नेताको भाष्यमा धावा बोलेका छन् । यदि नेपालमा दुई पार्टीको सिन्डिकेट हुन्थ्यो भने बुढा नेताको झोला पनि नबोक्ने र थैली भेट पनि नगर्ने यी युवा कहिले संसद हुन्थे ?
आज पुल्चोकमा युवाहरूको यो उत्सव चलिरहँदा राजनीतिमा यी युवालाई कसरी रोक्ने भनेर तानाबाना बुनिदै छ । विचार र सिद्धान्तको कुरा गर्नु अव्यवहारिक भइसकेको छ, सबै सबैसँग मिलेर सत्तासुख भोग्न तयार छन् । सातसालको क्रान्ति, अठ्ठाइस सालको विद्रोह, छत्तीस सालको जनमत संग्रह, छयालिस सालको पहिलो जनआन्दोलन, दशवर्षे ‘जनयुद्ध’ र दोस्रो जनआन्दोलनको कुरो झिकेर अझै त्यसैको साउँब्याज खान वृद्धतन्त्र दाँत उद्याउँदै छ । तिनले भनेको मान्दै जाने हो भने यी पुराना नेताको ऋण कहिले तिरिसक्नु ? तिमीले गरेको योगदान बापत मान र दाम पाइसक्यौ, अब भो भन्न कहिले पाउनु ? आफू र आफनाका लागि पद सुरक्षित भएको भए पञ्चायतमा पस्न तयार थियौ, राजासँग मिल्न तयार थियौ भनेर कहिले झाँको झार्नु ? इतिहास हैन भविष्य हेरेर भोट हाल्ने परिपाटीको विकास कहिले हुनु ? स्थापित पार्टीका युवा बोलबोल मछली मुखभरि पानीको अवस्थामा छन् । जसरी कसैको शारीरिक अवस्थाको बारेमा टिप्पणी गर्नु राम्रो हैन, उसैगरी विस्मृतिको रोगबाट पीडित व्यक्ति प्रधानमन्त्रीको दौडमा रहनु पनि राम्रो हैन । पार्टी बाहिरका युवा संगठित छैनन्, संगठितको शक्ति सुदृढ भइसकको छैन । पहिले मैलो छ भनेर फालेको राप्रपालाई अहिले फेरि टक्टक्याएर लगाउन जनता तयार हुँदै गएको देखिएको छ । अरू झन् मैलो लागेर त होला !
नेपालको लोकतन्त्र अचम्मको छ । जनमत आफ्नोतर्फ भए आफू लोकप्रिय भन्न पनि पाइने । जनमत आफ्नोतर्फ नभए जनताले कुरो बुझेनन् भन्न पनि पाइने । कहिले जनलहरको लेखाजोखा, कहिले प्राविधिक परिणामको दुहाइ । जनमतको दुहाइ दिइएको छ तर यसपालि युवाको पक्षमा जनलहर आएको मान्न स्थापित दलका स्थापित नेता तयार छैनन् । नेपालको यो लोकतन्त्र राजको हातबाट झरेर नेतारूपी भारदारको हातमा अड्केको छ, जनतासम्म आइपुग्न सकेको छैन । आसमान से गिरा, खजुर पे अटका ! त्यसैल यो लोकतन्त्र नेताको मात्र सेवा गर्न अभिसप्त छ । युवा त्यही प्रवृत्तिको शिकार भएका छन् । अब गम्भीर हस्तक्षेपको आवश्यकता छ, सबै दलभित्रबाट, बाहिरबाट पनि !
असत्यका विरूद्ध लड्न सजिलो छ, अर्धसत्यका विरूद्ध लड्न गाह्रो ! त्यसैले यो विकृत लोकतन्त्रका विरूद्ध जनचेतना बढाउन समय लागिरहेको छ । नाम समाजवाद छ, नाम लोकतन्त्र छ, नाम जनताको शासन छ । काम के छ, के छ ? यसलाई कसरी चिर्नु ? चुनावमा युवाहरूको सहभागिता र जितबाट केही उपलब्धि हासिल भएको छ । शुद्धीकरणको यो अभियान सबै पार्टीमा सुरू हुनुपर्छ । राम्रोको विकल्प झन् राम्रो तयार नपारी यो लोकतन्त्र सुदृढ हुँदैन, सुशासन कायम हुँदैन, भ्रष्टाचार घट्दैन, आर्थिक विकास हुँदैन, युवाहरू पलायन हुने क्रम रोकिन्न । युवालाई नेपालमै अध्ययन र रोजगारीको राम्रो अवसर प्रदान गरेर नेपालका विश्वविद्यालयको दीक्षान्त समारोहमा रौनक थप्न नेपालले नयाँ यात्रा सुरू गर्नैपर्छ । र, आज भेटेका युवाको आँखाले बताएका छन्, अब त्यो यात्रा सुरू हुन्छ । सुरूमा स्वीटर फुस्काउन गाह्रो हुन्छ । तर जब धागो खुस्किन सुरु हुन्छ, स्वीटर सकिन केही बेर लाग्दैन । यो राजनीतिक सिन्डिकेटको जालो पनि यो चुनावले उधार्न सुरू गरिसकेको छ । बाँकी भविष्यको गर्भमा छ । युवाको बढ्दो भूमिका यो देश र जनताको लागि फलदायक हुन्छ भन्ने कामना गरौं । युवाले गर्दैनन् भने कसले गर्छ, युवाले सक्दैनन् भने कसले सक्छ ?
घेर्छन् छाया जब विपतका दूरमा गर्जिएर
छिप्छन् मान्छे जब घरघरै त्रासमा तर्सिएर
त्यो वेला हे युवक खतरा खोज्नको निम्ती निस्क
आँधीबेरीसित जुध तिमी कालसाथ जिस्क ।
अग्ला सिंहासनहरू हिले क्रूर अन्याय काँपे
सामन्तीका खण्डहरमहाँ क्रान्तिका दूत नाचे
काला धब्बा रगतका खुर्कए स्वार्थ हारे
गर्जी गर्जी जब युवकले ज्यानको आश मारे ।
(नवयुवक, माधव घिमिरे)
कान्छो छोरो लगायत आज दीक्षित हुनुहुने सबैमा हार्दिक बधाई र उत्तरोत्तर प्रगतिको कामना !
