बाहुनबाट सिकौं सुशासन

आज रक्षाबन्धन र जनैपूर्णिमा । नजिकको मन्दिरमा गई आज सम्पादन भएका धार्मिक गतिविधिको अवलोकन गर्दा र धार्मिक सेवा प्राप्त गर्ने क्रममा सुशासन त बाहुनबाट पो सिक्नुपर्ने जस्तो लाग्यो । किन र कसरी ? तल पढौं न !

  • विस्तारित सेवाः मन्दिरहरूमा पुजारी बस्ने र धार्मिक कार्य गर्ने गराउने चलन छ । आज हुने भीडलाई ध्यानमा राखी पुजारीले आफू मात्र होइन आफ्ना घरका अन्य सदस्य र नातेदारालाई पनि सेवामा खटाएर विस्तारित सेवा प्रदान गरेका थिए । यसबाट जनै फेर्ने र डोरो बाँध्ने ग्राहकले लामो समय लाइनमा बस्नु परेन ।
  • कार्टेलिङ र सिन्डिकेटको अन्त्यः मन्दिरमा सँधै बस्ने पुजारी र उनका आसेपासे मात्र हैन अन्य व्यक्तिले पनि मन्दिर परिसरमा डोरो बाँध्ने र जनै फेराउने काम गरिरहेका थिए । कार्टेलिङ र सिन्डिकेट खडा गरी कसैलाई सेवा प्रदान गर्नबाट वञ्चित गरिएको थिएन ।
  • पहिले आउनेलाई पहिले सेवाः लाइनमा जो पहिले आउँछ उसैले सेवा पाउने व्यवस्था थियो । मन्त्री, नेता र उच्चपदस्थको सोर्स लगाएर आउनेका लागि विशेष व्यवस्था थिएन । बिचौलियाको लागि पनि कुनै स्थान थिएन ।
  • स्वस्थ प्रतिस्पर्धाः ‘मेरोमा डोरो बाँध्नुस्, जनै फेर्नुस्’, ‘जनै लगाउनेलाई डोरो सित्तैमा’ भनेर सस्तो प्रचारप्रसार गर्ने, ग्राहक खोज्न दलाल पठाउने जस्ता अस्वस्थ प्रतिस्पर्धा थिएन ।
  • समायिक नीतिगत सुधारः नियमपूर्वक नुहाएर रूद्री पाठ गरी जनै र डोरो मन्त्रणा गरेर सेवा प्रदान गर्दा कम्तीमा बिहानको ११ बज्ने देखिन्छ । तर यो धार्मिक व्यवस्थामा सुधार गरी बिहानैदेखि जनै फेर्ने र डोरो बाँध्ने सेवा प्रदान गरिएको थियो । बाहुनहरूले नियम देखाएर ग्राहक तर्साउने काम गरेका थिएनन् ।
  • सरल प्रमाणीकरणः जनै व्रतबन्ध गरेका तागाधारीहरूले मात्र लगाउन पाउने मान्यता छ । तर जनै फेर्न आउने ग्राहकको व्रतबन्ध भए/नभएको वा ऊ तागाधारी समुदायको भए/नभएको विषयमा कुनै प्रमाण मागिएको थिएन । साथै, उनीहरूले जनै लगाउनका लागि वाञ्छित आचार व्यवहार गरे/नगरेको तर्फ पनि चासो राखिएको थिएन । ग्राहकको स्वघोषणालाई नै अन्तिम प्रमाण मानी जनै फेर्न चाहने सबैलाई जनै उपलब्ध गराइएको थियो ।
  • पर्याप्त सेवाः जनै र डोरो दुवै आयात हुन्छ । तर ग्राहकको सेवालाई ध्यानमा राखी यी सामग्रीको पर्याप्त मौज्दातका साथ निर्बाध सेवा प्रदान गरिएको थियो । ३ घण्टा लाइनमा बसेपछि कोरोनाको खोप सकिएको जानकारी पाएर त्यत्तिकै फर्कनु परेको घटना यहाँ द्रष्टव्य छ ।
  • गुणस्तरीय सेवाः सबै सेवाग्राही आफूले लगाएको डोरो र जनैको गुणस्तरमा ढुक्क देखिन्थे ।
  • साधनको किफायती उपयोगः नारीमा लगाएको धागो गाँठो पार्न ठिक्क पुग्नेगरी नै चुँडाइन्थ्यो, धागो खेर जान दिइदैनथ्यो ।
  • आधुनिक सोचको सम्मानः पुरूषले दायाँ हातमा र महिलाले बायाँ हातमा डोरो बाँध्ने शास्त्रीय मान्यता पाइन्छ । नारी र पुरूष समान रहेको भन्ने आधुनिक सोचको सम्मान गरी महिला सेवाग्राहीको पनि दायाँ हातमा डोरो बाँधिएको थियो ।
  • समाजवादी राजस्व प्रणालीः न यो सेवा लिएको यति भनी कुनै दस्तुर तोकिएको थियो न दस्तुर नतिरी सेवा नपाइने कडा व्यवस्था थियो । आवश्यक सेवा लिने र सकेको दस्तुर तिर्ने समाजवादी अझ साम्यवादी राजस्व प्रशासनको अवधारणा अवलम्बन गरिएको थियो ।
0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *