समाजमा विभिन्न किसिमका मानिसहरू रहन्छन् । समाजमा रहेका मानिसलाई विभिन्न तरिकाले विभाजन एवं वर्गीकरण गर्नु र तिनलाई विभिन्न खेमामा सङ्गठित गर्नु नै सायद राजनीति हो । राजनीति विभाजनको खेल हो । नेपालमा पनि विभाजनका विभिन्न शृंखला चलिरहेका छन् । वर्ग विभाजनका शृंखला, जात, धर्म, वर्ण, क्षेत्र, लिङ्गका आधारमा विभाजनका शृंखला र अहिले आएर नयाँ र पुरानाबिचको विभाजनको शृंखला । नयाँ दल तथा शक्तिहरू एकातिर संगठित र एकीकृत हुँदैछन्, अर्कातिर पुराना दलहरू पनि नयाँ रणनीति अख्तियार गर्दैछन् । पुराना दलमा पनि नयाँ व्यक्तिलाई अवसर दिने, नयाँ नेतृत्त्व छान्ने लहर चलिरहेको छ ।
जेन-जी आन्दोलनपछि पुरानाले केही गर्न सकेनन्, अब पालो नयाँको भन्ने भाष्य जोडतोडले अगाडि बढिरहेको छ । दोस्रो जनआन्दोलन र नयाँ संविधान निर्माणपछि जनतामा छरिएको विकासको आशा पूरा हुन नसकेको हुनाले यो भाष्यको सिर्जना भएको हो । निरपेक्षरूपमा हेर्दा हामी विकासको बाटोमा छौं । बाटाघाटा, अस्पताल, स्कुल बनेका छन् । सापेक्षरूपमा हेर्ने हो भने हामी आफ्ना समकक्षीहरूभन्दा तल खस्केका छौं । कुनै समयमा भारत र चीनसँग तुलना हुने हाम्रो आर्थिक अवस्था अहिले तुलना हुन नसक्ने स्थितिमा पुगिसकेको छ । हाम्रो इतिहासको गौरव र हाम्रो प्राकृतिक सम्पदाको महिमा गानमा मग्न भएर बसिरहेका छौं, हाम्रा आफ्ना पौरखका गीत रच्न सकेका छैनौं । तीव्र गतिमा अगाडि बढिरहेको विश्वको तुलनामा हाम्रो गति सुस्त छ, मति भ्रमित छ । त्यसैले पुरानाले केही गर्न सकेनन् भन्ने भाष्य सिर्जना भएको छ । केही गर्न नसकेको मात्र होइन, गलत गरेको आरोप पनि छ ।
हामी कहाँ पुरानाले केही गर्न सकेनन्, सक्दैनन् भन्ने भाष्य सिर्जना भइरहँदा विश्वमा पुरानाहरूको वर्चस्व कायम भएको छ । रूसमा पुटिन, चीनमा सी, भारतमा मोदी प्रमुख कार्यकारी पदमा लामो समयदेखि कार्यरत छन् । अमेरिकामा ट्रम्प बिचमा एक अवधि विश्राम लिएर दोस्रो कार्यकाल बिताइरहेका छन् । इतिहास नै हर्ने हो भने पनि सिंगापुर र मलेसियाको विकासको आधार नै क्रमशः लि क्वान यु र महाथिर महमदको लामो कार्यकाल हो । नयाँ शासन व्यवस्थाको सुरूवातको क्रममा भारतमा नेहरू र चीनमा माओको शासन लामै समय (आजीवन) चल्यो र त्यसले शासन व्यवस्थाको संस्थागत विकासमा योगदान नै पु¥यायो । हामी भने नयाँ शासन व्यवस्थाको सुरूमै राजनीतिक अस्थिरताको भुँवरीमा छौं । पुरानाहरूसँग मोहभङ्ग भएको अवस्थामा छौं ।
पुराना गलत र नयाँ नै विकल्प भन्ने सोचको यो मौसममा एउटा पुस्तक (अतृप्त अवसरः स्वर्णिम वाग्ले) पढ्दै जाँदा विन्सटन चर्चिल (सन् १८७४-१९६५) सन् १९०८ तिर मन्त्री भइसकेको प्रसङ्ग आउँदा म झस्के । उनी त दोस्रो विश्वयुद्धकालका (सन् १९४०-१९४५) बेलायतका प्रधानमन्त्री थिए । पछि गुगलमा हेर्दा उनी सन् १९०० देखि १९६४ का बिचमा ६२ वर्ष संसद सदस्य रहेका रहेछन् । पछि सन् १९५१-१९५५ मा पनि उनी प्रधानमन्त्री भएका रहेछन् । आज पनि संसारका धेरै मानिसले सम्झने राजनीतिक पात्र बन्न उनले धेरै अनुभव हासिल गर्नुपरेको स्पष्टै देखिन्छ । प्रतिभा, शिक्षा र अनुभव नै मानिसलाई उन्नत बनाउने उपकरण हो । प्रतिभा नैसर्गिक क्षमता हो, शिक्षा अरूबाट हासिल गर्न सकिन्छ तर अनुभव आफैंले लिनुपर्छ । उनी मात्र होइन, संसार प्रसिद्ध मानिसहरू केवल प्रतिभा र शिक्षाबाट मात्र अघि बढेका छैनन्, उनीहरू अनुभवबाट पनि खारिएका छन् । ‘रोम एक दिनमा बनेको होइन’ भन्ने उखान छ । व्यक्तिले पनि छोटो समयभित्र विराट व्यक्तित्त्व हासिल गर्दैन । नयाँ व्यक्तिमा रहेका सम्भावनाहरू समयको चक्रमा घुमेर नै परिपक्व वास्तविकता हुन पुग्छन् ।
पुरानाहरूसँग जनताको मोहभङ्ग भएको कारण नै कतिपय राजनीतिक दलहरूले अहिलेसम्म अवसर नपाएका मानिसलाई मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सदस्यको रूपमा प्रस्तावित गरेका छन् । यो प्रवृत्ति कमबेसी मात्रामा सबै पार्टीमा देखिएला । भोलि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि नयाँ अनुहारलाई नै अधिक संख्यामा अगाडि बढाइने सम्भावना छ । नयाँ राजनीतिक दलले त स्वाभाविकरूपमा नै नयाँ अनुहारलाई अगाडि सार्ने भइहाले । यसरी पुरानाले केही गर्न सकेनन् भनेर सबै पुरानालाई एकै धोक्रोमा हालेर बहिष्कार गर्ने र नयाँलाई मात्र अवसर दिने भाष्य निर्माण हुँदा अनुभवी नेतृत्त्वबाट मुलुक वञ्चित हुने खतरा छ । संविधान र विभिन्न कानुन निर्माण गरेका, राजनीतिक विग्रहको सुलहमा भूमिका खेलेका, विदेशसम्बन्धको कडी र जडी थाहा पाएका, नेपालको सर्वाङ्गीण र समावेशी विकासको मार्गचित्र भएका अनुभवी राजनीतिज्ञलाई समयको वेगमा बगेर बिर्स्यौं भने अप्ठेरो हुनेछ । विदेश सचिवबाट निवृत्त हुनासाथ एस. जयशङ्करलाई भारतीय जनता पार्टीको मोदी सरकारले विदेश मन्त्रीको जिम्मेवारी दियो र त्यो जिम्मेवारी अझै कायम छ । विदेश मन्त्री हुने इच्छा राख्ने नेता पार्टीभित्र नभएको कारणले उनलाई विदेशमन्त्री बनाइएको होइन होला । राज्यको सेवालाई तलबभत्ता, सुविधा पाउने अवसरको रूपमा मात्र व्याख्या गर्दा र सो अवसर पालैपालो सबैलाई पु¥याउने होडमा लाग्दा योग्य र अनुभवी व्यक्ति पाखा लाग्न पुगी राज्यको ढाड लुलो हुने अवस्था आउन सक्छ । राज्यको भाग्य र भविष्य त्यसलाई प्रतिनिधित्त्व गर्ने मानिसको योग्यता, क्षमता, विवेक र निष्ठामा भरपर्छ नै । रबर्ट क्लाइभले बेलायतको लागि भारतमा उपनिवेशको झण्डा गाडे, गद्दार मिर जाफरको कारण बङ्गालको राजपाठबाट सिराजुद्दौलाको किलो उखेलियो ।
हामीमा विवेकको कमी छ । हामीमा आँटको कमी छ । हामीमा मूल्याङ्कन क्षमताको कमी छ । त्यसैले हामी अक्सर सोलोढोलो तरिकाले विश्लेषण गर्छौं र अवैज्ञानिक निष्कर्षमा पुग्छौं । कहिले सबै मधेशी खराब देख्छौं, कहिले सबै पहाडे खराब देख्छौं । कहिले सबै क्षेत्रीबाहुन खराब लाग्छन्, कहिले जनजातिहरू खराब लाग्छन् । कहिले जातिका आधारमा, कहिले धर्मका आधारमा, कहिले क्षेत्रका आधारमा, कहिले अरू नै आधारमा हामीलाई विभाजित गर्न खोजिन्छ र राजनीति गर्न खोजिन्छ । अहिले नयाँ र पुरानाको विभेद पनि त्यही हो । हामीले गति सकिएका र मति बिग्रिएका केही पुराना नेताको नाकमा औंलो पु¥याएर ‘तिमी यस कारण खराब भयौ र अब अस्वीकार्य छौ’ भन्न नसकेको कारण नै सबै बुढा खराब भन्ने सोलोढोलो भाष्यमा पुगेका हौं । हामी देखिरहेकै छौं, कतिपय युवाहरू बुढाभन्दा खराब छन् र कतिपय प्रौढहरूको गति र मति बिग्रेको छैन । युवाहरूले गरेको आन्दोलनपछि बनेको सरकारमा पनि प्रौढहरूको वर्चस्व छ ।
समाजमा केही विभेद हुन्छन् र तिनका आधारमा विभाजन हुन्छ । लैङ्गिक भेदभाव र छुवाछुत हाम्रा सामाजिक समस्या हुन् । मूल र सर्वव्यापी (सायद सर्वकालिक पनि) समस्या भनेको आय र अवसरमा असमानाता वा वर्गीय विभेद नै हो । मार्क्सवाद, समाजवाद वा साम्यवादमा विश्वास गर्नेहरूको त कुरै छोडौं, त्यो दर्शनमा विश्वास नगर्ने जनउत्तरदायी र कल्याणकारी सरकारले पनि संसार भर नै आर्थिक असमानता हटाउने र समान अवसर प्रत्याभूत गर्ने प्रयास गरिरहेका छन् । हाम्रो समस्या पनि मूलतः त्यही हो । तर त्यो समस्या समाधान हुन नदिन निदान (डायग्नोसिस) नै गलत देखाउने प्रपञ्च गरिएको छ । अब गति र मति ठिक भएका युवा र बुढा सबै नेपाली मिलेर उचित निदान र उचित उपचार खोज्नु पर्नेछ ।
नयाँ र पुरानाको परिभाषा समय अनुसार बदलिँदै जान्छ । आज पुराना भनिएका नेताहरू पनि एक जमानाका जाज्वल्यमान् व्यक्तित्त्व थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनीहरूको ठुलो भूमिका थियो । नेपालमा रहेका र आएका अनेकन समस्याको समाधानमा उनीहरूको ठुलो योगदान छ । समयको वेगलाई कसैले रोक्न सक्दैन । आजका नयाँ नेताहरू पनि भोलि पुराना हुनेछन् । उनीहरूमाथि पनि कति अवसर पायो भन्ने प्रश्न उठ्ला । कुरो यत्ति हो, गतिमान र मतियुक्त नेताहरू राजनीतिमा रहनुपर्छ, गति र मति बिग्रेकाहरूले विश्राम लिनुपर्छ । नयाँ र पुराना भन्दा पनि यो गति र मतिको प्रश्न हो । यो उमेर भन्दा पनि योग्यता र क्षमताको प्रश्न हो, जनता र देशप्रति इमानदारीको प्रश्न हो, समयको पदचाप बुझ्न सक्नु र नसक्नुको प्रश्न हो ।
आज देश वृद्धतन्त्रको आडमा मौलाएको कुशासनबाट पीडित भएको कारण अहिले पुराना र नयाँबिचको विभाजन र कित्ताकाट देखिएको हो । समयक्रममा योग्यता, दक्षता, क्षमता, अनुभव र इमानदारीमा आधारित भएर मानिसलाई मूल्याङ्कन गर्ने परिपाटी अवलम्बन गर्नुको विकल्प छैन ।
